Posted by: sukla April 22, 2011
Criminal investigationagainst Anuja, thehonesty girl
Login in to Rate this Post:     0       ?        
९१ लाख रुपियाँ र हिराको हार लिएको मानिस सार्वजनिक बसमा चढेर गएको उल्लेख समाचारहरुमा छ। के त्यत्रो सम्पत्ति बोकेको मानिस सार्वजनिक बसमा चढ्छ ? अष्टमीका दिन काट्न फूलपातीको दिन ल्याएको खसी त हराउला भनेर रातभर जागै रहने नेपालीमा यो सम्भव छ ? अर्को कुरा कसैले छाडेको झोला आफूले लिएर गएको उनले बताएकी छिन्। ९१ लाख रुपियाँ एउटा सामान्य झोलामा अट्नै सक्दैन। एकातर्फ वित्तीय संस्थाले सबै नोट हजारकै दिन्छ भन्ने छैन। अर्कोतर्फ हजारै हजारको दिएछ भने पनि एकानब्बे बिटा उनले भनेजस्तो सामान्य झोलामा अट्ने सम्भावना नै हुँदैन, जुन सहजै बोकेर लैजान सकून्।

पैसा पाउनेले झोलै नहेरी घर लगेको र भोलिपल्टमात्र हेरेको बताएकी छिन्। पोको लिएर जान सक्नेले भोलिपल्टसम्म नहेरी बस्न सक्छ ? कौतुहलता रोक्ने क्षमता उनमा कसरी विकास भयो ? के उनी कुनै असाधारण मान्छे हुन ? अनि उनले आफूले फोन नं. पत्ता लगाएर त्यो पैसा हराउनेवालालाई बोलाएको अनि सलले छोपेर लगेर बजारमा दिएको बताएकी छिन्। के पैसामा सम्पत्तिवालाको फोन नं. पनि हुन्छ ? पैसा भएको झोलामा डायरी हुन्छ नै भन्ने छ ? डायरी भए पनि त्यसमा सम्पर्क नम्बर हुन्छ नै भन्ने के छ ? त्यसैले 'काकापट्टिको न मामापट्टिको' मान्छे, ज‍ो हुलियाविनाको छ, उसको नम्बर पत्ता लगाइवरी पाएको ठूलो सम्पत्ति फिर्ता दिने कुरा 'एकादेश' मा मात्र सम्भव हुन्छ।

पैसा हराएका भनिएका मानिस पुरुषोत्तम पौडेल नामक व्यक्ति (जो कसैको सम्पर्कमा छैनन्, न अनुजाले नै उनको नम्बर दिन सकेकी छिन्, जसको थरसमेत कतै पौडेल र कतै पोखरेल भनेकी छिन् उनले) ले घरजग्गा किन्नका लागि उक्त पैसा लाँदै गरेको बताएका छन्। घरजग्गा किन्नकै लागि हो भने त्यतिबेला दिनुपर्ने पैसा ४० लाख रुपियाँभन्दा माथि नगद कारोबार गर्न पाइन्न। चेक चाहिने सरकारी नियम छ। यस्तो नियम हुँदाहुँदै उनले नगदै किन लगे ? यो अर्को अपत्यारिलो तर्क छ।

यो दुनियाँमा को त्यस्तो व्यक्ति छ, जसले इनामवापत दिइएको रकमसमेत लिन मान्दैन ? त्यसमाथि पनि दुई दुई लाख ! साधु सन्तले समेत र्‍याल चुहाउने र महादेवका समेत तीन नेत्रका रुपमा परिचित 'धन', त्यसमाथि धेरै नेपालीको सपना 'हिराको हार' नरुचाउने व्यक्ति साधारण हुनै सक्दैन। अनि ती पौडैल/पोखरेल कति भलाद्‍मी रहेछन्, जो त्यत्रो पैसा हराउँदा पनि प्रहरीमा उजुरीसमेत गर्न गएनन्। लुसुक्क घर फर्के। जसलाई देखेर प्रहरीसमेत छक्कै परेको छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त पैसावालले आइएमइबाट पैसा झिकेर लैजाँदै गरेको बताएका समाचारमा आएको छ। जबकि यति धेरै पैसा त्यो दिन उनले झिकेको भनिएको इटहरी शाखाबाट भुक्तानी नै नभएको यसका पदाधिकारीले बताइसकेका छन्। अचेल ब्याङ्कहरुले अलि धेरै पैसा झिक्ने ग्राहकलाई सुरक्षा माग गरेमा घरै वा गन्तव्यसम्मै सुरक्षा दिएर पुर्‍याइदिने व्यवस्था छ। यस्तो अवस्थामा उनले सार्वजनिक बसमा यति धेरै पैसा लैजाने अवस्था नै आउँदैन।

यस्तो अवस्थामा सत्य-तथ्यविना कसैले ठट्टा गरिदिएकै भरमा समाचार बनाउने सञ्चार माध्यमले समाचारका सामान्य सिद्धान्तसमेत पालना गरेको देखिन्न। पैसा पाएको भन्नेले त्यो किन प्रहरीलाई खबर नगरेर घर लगेको ? उनले ब्याग पाएको भनिएको दिन इटहरीको आइएमइ शाखाबाट त्यत्रो रकम भुक्तानी भएको थियो वा थिएन ? जस्ता प्रश्नको उत्तर, जुन सामान्य समाचारका लागिसमेत आवश्यक हुन्छ, यसतर्फ ध्यान दिएको पाइन्न। अर्कोतर्फ हराएको त्यत्रो पैसा पाउने 'भाग्यमानी' को प्रतिक्रिया पनि आवश्यक ठानिएन।

खबरवालाले त खबर दिए दिए। मुलुककै प्रमुखको बागडोर सम्हालेर बसेका राष्ट्रपतिले किन यति हतारमै उनलाई फोन गरिगरी धन्यवाद दिनुपर‍्‍यो भन्ने रहस्य पनि बुझ्न सकिएको छैन। यसले एकातिर राष्ट्रपतिको फुर्सदिला दिन प्रष्ट्याउँछ भने अर्कोतर्फ उनलाई कस्ता हल्काफुल्का विषयवस्तुले आकर्षित गर्दोरहेछ भन्ने रहस्य पनि खुलेको छ। हुँदाहुँदा प्रधान न्यायाधीशमात्र हैन, मुलुककै 'ठूला लेखक', 'समाजसेवी', 'अर्थविद्' आदिसमेत अनुजाको गुणगान गाउनमा हतारिए। यथेष्ठ तथ्य र प्रमाणहरु जुटाएर त्यसैका आधारमा मात्र बोल्ने आदत परेका न्यायमूर्तिसमेत यसरी हतारमा प्रतिक्रियाका लागि लालायित हुन्छन् भने अरुलाई के नै भन्ने ?

source: nagariknews @ Raghu Lamichhane
Read Full Discussion Thread for this article