कति पानीमा छन् विनोद चौधरी ?
सोमबारका छापा विनोद चौधरीमय भएको छ, कारोबार दैनिकले कारोबारी समाचार लेखेको छ, कान्तिपुरले विनोद चौधरीको विज्ञापन वक्तव्य छापेको छ । कारोबारी समाचार छपाउने र विज्ञापन वक्तव्य लेख्ने विनोद कति नटवरलाल छन्, त्यसका लागि सबैभन्दा पहिले यो समाचार । अनि चौधरीले उठाएका प्रश्नको जवाफ ।
सबैभन्दा पहिले समाचार
चौधरी समूह अन्र्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र कान्छा भाई अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनी नक्कली भ्याट बिल प्रकरणमा फसेका छन् । चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट ६ करोड रुपैयाँ बराबरको नक्कली बिल फेला परेको छ ।
चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट बिल प्रकरणमा छ । छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच कम्पनीमध्ये सिजी फुड पनि छ । आन्तरिक राजस्व विभाग स्रोतले दिएको जानकारिअनुसार सिजी फुडबाट पनि झण्डै १० करोड रुपैयाँका नक्कली भ्याट विल फेला परेको छ ।
स्रोतका अनुसार सिजी इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सको नक्कली भ्याट बिल वापत चौधरीले झण्डै साढे चार करोड रुपैयाँ राजस्व तिनुपर्दछ । चौधरी गु्रपकै सिजी फुडबाट मात्रै चौधरीले आठ करोड रुपैयाँ राजस्व तिर्नुपर्दछ । चौधरीले इमान्दारीपूर्वक राजस्व तिरेको भए तीन कम्पनीबाट छ करोड राजस्व तिरे पुग्थ्यो अब चौधरीले १२ करोड रुपैयाँ राजस्व तिर्नुपर्दछ ।
नेपालबाहिर दर्जनौं होटल खोल्ने भनेर चर्चामा आएको चौधरी समूहको सीजी इलेक्ट्रोनिक्स र सीजी इम्पेक्सले नेपालमा एलजी, सीजी कम्पनीका विद्युतीय उपकरणको विक्री गर्दै आएको छ । उता सीजी फुड भने वाईवाई चाउचाउको उत्पादक कम्पनी हो ।
सभासद् चौधरीका कान्छा भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको पनि १६ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेको छ । विभागले आठ वटा सवारीसाधनको अधिकृत विक्रेताको छानविन गरेको थियो । आठ कम्पनीबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ । सबैभन्दा ठूलो अरुण इन्टरकन्टिनेन्टलको हो, विभाग स्रोतले बतायो ।
चौधरी समूह यस अघि पनि आयकर छलिमा कारबाहीमा परिसकेको छ । पाँच वर्ष अघि एभरेष्ट बैंकको टेकु शाखामा चौधरी समूहबाट स्रोत नखुलेको १८ करोड फेला पारेपछि राजस्व अनुसन्धान विभागले छानविन गरेको थियो । विभागले पाँच करोड रुपैयाँ कर निर्धारण गरेपछि समूहले कर फछ्र्यौट आयोगमार्फत मुद्धा फछ्र्यौट गरेको थियो ।
अब विनोदलाई जवाफ
कान्तिपुर दैनिकको विज्ञापन वक्तव्यमा विनोद चौधरीले रामेश्वर खनाललाई उद्घृत गर्दै लेखेका छन्, ‘एकथरि र्फमले हिसावकिताब तलमाथि गरर कर छली गरेका छन् । विश्वभरिको कर प्रशासनमा यो सामान्य प्रवृत्ति हो । आन्तरिक राजस्व कार्यालयले यसमा दण्ड जरिवाना असुलेर कारवाही टुङ्गयाउन सक्छ ।’ तर रामेश्वर खनालले आइतवार नागरिकमा प्रकाशित अन्तरवार्तामा त्यति मात्र भनेका छैनन्, खनालले थप भनेका छन्, ‘अर्काथरि कर कार्यालयले मूल्याङ्कन गरेको यस्तो रकम तिर्न आनाकानी गरिरहेका छन् । बरु विभिन्न नक्कली कागजात बनाएर भुलाउने काम गरिरहेका छन् । यस्ता व्यापारीलाई जेल सजायसम्म गर्न सकिन्छ । अहिले फेला परेको डरलाग्दो अपराध भ्याट बील, सही, छाप, विवरण सबै र्फजरी पेश हुनु हो । यो राजश्व चुहावट वा कर छली हैन । राजश्वको डकैती हो । यस्तो अपराधमा राजश्व चुहावट ऐन र किर्ते कागजसम्वन्की कारवाही गर्ने तयारी आन्तरिक राजस्व विभागले गरेको थियो । यस्तो जघन्य अपराधमा विभागका अधिकारीले सम्झौता गरेर खुकुलो निर्णय गर्लान भन्ने विश्वास मलाई छैन । कानुनले हदैसम्म सजाय तोकेको अपराधमा कसैले घटाउने दुस्साहस नगर्ला ।’
अर्थसचिव खनालले नक्कली भ्याट बिल छली प्रकरणमा संलग्न चौधरी जस्ता समूहलाई भन्न खोजेको प्रसङ्ग पहिलो होइन्, दोस्रो प्रसङ्ग हो । दोस्रो प्रसङ्गअनुसार चौधरी जेल जानुपर्दछ । नक्कली भ्याट बिलका लागि चौधरीका तीनवटा र्फमले पनि नक्कली भ्याट बिल बनाएका छन्, सही छाप किर्ते गरेका छन् र कर छलि गरेको होइन भनेर देखाएका विवरण नक्कली छन् । त्यसैले यो राजस्व चुहावट वा कर छली हैन । यो पुरै राजस्वको डकैती हो र खनालको शब्दमा यो ‘जघन्य अपराध’ हो ।
त्यसैले अहिले भन्नुपर्ने अवस्था आएको छ, चौधरीले राजस्वमा डकैती गरेका हुन्, उनले तपाई हामीजस्ता सर्वसाधरणसँग उठाएको भ्याट सरकारी खातामा दाखिला नगरेर जघन्य अपराध गरेका छन् । उनी यतिवेला संविधानसभाको चौतारीमा होइन खनालको शब्दमा भन्ने हो भने जेलमा हुनुपर्दछ ।
चौधरीले भाई अरुणप्रति समवेदना राख्दै भनेका छन्, ‘चौधरी गु्रप अन्तर्गत रहेका ४० भन्दा बढी उद्योग/व्यवसाय प्रोफेसनलहरुले सञ्चालन गर्छन् । कमसेकम तीन हजारको संख्याका भ्याटमा दर्ता भएका सप्लायर्समार्फत हाम्रा कम्पनीहरुले सेवा तथा वस्तु खरिद गर्छन् । यस्तो पृष्ठभूमिमा कतिपय अवस्थामा सरकारमा दर्ता भएका यस्ता सप्लायर्स विवादमा पर्छन् भने मैले त के मेरा ती ४० प्रतिष्ठानका ‘बिजनेस युनिट हेड’ले समेत संधै लेखाजोखा गर्नसक्ने कुरा होइन । जब कुनै अपि्रय घट्ना हुन्छन्, हाम्रो संस्था पनि अनुसन्धानमा लाग्छ । वास्तवमा ठगी गर्नेबाट जो पनि ठगिन सक्छ सरकार वा उद्यमी व्यवसायी वा उपभोक्ता पनि ।’
जीवन जीउनका लागि राम्रो रोजगारी/व्यवसाय नभएको व्याक्ति ठग हुन्छ, अर्को उद्योग/व्यापार भएपनि सत्ताको आडमा अझ बढी धनी हुन ठग्छ । विनोदको इतिहाँस भन्छ, उनी सत्ताको आडमा अझ बढी पैसा बनाउन ठगी गर्छन । के एभरेष्ट बैंकको टेकु शाखामा उन्को जानकारी विना आयकर नतिरिकनै १८ करोड रुपैयाँ राखिएको थियो ? के अहिलेको नक्कली भ्याट विल प्रकरणमा उन्का र्फमको संलग्नता विनोदलाई थाहा थिएन ? नक्कली भ्याट बिल प्रकरणमा अनुसन्धान गरेका अधिकृतहरु भन्छन्, यो नक्कली बिल प्रकरणको पुरै जानकारी विनोदलाई थियो ।
बरु विनोदका ‘विजनेश युनिट हेड’लाई यो जानकारी नहुन सक्छ । किनकी नक्कली भ्याट बिल प्रकरणमा छलि गर्न ‘विजनेश युनिट हेड’ चाहिंदैन । मात्र चाहिन्छ, चार्टड एकाउण्टेण्ट । विनोदको निर्देशन विना चार्टड एकाउण्टेण्टले नक्कली भ्याट बिल बनाएको हुनै सक्दैन । त्यसैले विनोदकै शब्दमा, ‘वास्तवमा ठगी गर्नेबाट जो पनि ठगिन सक्छ, सरकार वा उद्यमी, व्यवसायी वा उपभोक्ता पनि ।’ यसपटक उपभोक्तासँग उठाएको कर नतिरेर एउटा व्यवसायीले, एउटा उद्योगीले सरकारलाई ठगेको छ, रकम उठाइएका उपभोक्ता ठगिएका छन् ।
विनोदले कान्तिपुरको विज्ञापन वक्तव्यमा भनेका छन्, सम्पूर्ण घटनाक्रममा देखिएका पात्रहरुको शुक्ष्म अध्ययनपछि थाहा भयो, हामीलाई भ्याट प्रकरण मुछ्ने उद्देश्य त सत्ताको एउटा डरलाग्दो र फोहोरी खेल पो रहेछ । भ्याट छली प्रकरण सत्ताको एउटा डरलाग्दो र फोहोरी खेल होइन्, त्यो त्यतिवेला मात्र सत्ताको एउटा डरलाग्दो र फोहोरी खेल भयो, जतिवेला विनोद चौधरीको समूहले भ्याट छलीबाट जोगिन सत्ताको डरलाग्दो प्रयोग गर्यो ।
भ्याट छलीबाटै जोगिन अर्थमन्त्रीको परिवर्तन गरियो, जनता र कार्यकर्ताबाट तिरस्कार भएका वयोवृद्ध नेतालाई अर्थमन्त्रीका रुपमा प्रस्तुत गरियो । विनोदले २० वर्षदेखिका मित्र भरतमोहन अधिकारीलाई अर्थमन्त्रीमा प्रस्ताव गर्नु र अर्थमन्त्री परिवर्तन भएपछि अर्थसचिव परिवर्तनका खेल खेल्नु पो डरलाग्दो भयो । यो पो सत्ताको फोहोरी खेल भयो । यसै पनि नक्कली भ्याट बिल प्रकरणमा फसिसकेका व्याक्तिलाई सार्वजनिक गर्नु सत्ताको डरलाग्दो र फोहोरी खेल हुन नपर्ने हो ।
चौधरीका विषयमा कारोवारमा समाचार छ, ‘हामी वर्षको पाँच अर्ब राजस्व बुझाउँछौं ।’ उद्यमी/व्यवसायीलाई ठूलो भ्रम छ राजस्व हामीले तिर्छौं । तर यथार्थमा राजस्व उद्यमी/व्यवसायीले होइन जनताले तिर्छन । जनताले तिरेको राजस्व व्यवस्थित ढंगले बुझाउने जिम्मेवारी उद्यमी/व्यवसायीको हो । तर उद्यमी व्यवसायीहरु जनताले बुझाएको राजस्व दाखिला गर्दैनन्, उनीहरु जनताले बुझाएको राजस्व आफ्नो सम्पत्ति बढाउनमा प्रयोग गर्छन । उनीहरु जनताको करलाई आफ्नो सम्पत्ति ठान्छन् । कर उद्यमी/व्यवसायीको सम्पत्ति होइन, यो त उपभोक्ताबाट उठाएको रकम सरकारलाई बुझाउने उद्यमी व्यवसायीको दायित्व हो । जतिवेला उद्यमी/व्यवसायी जनताको करलाई सम्पत्ति ठान्छ, त्यतिवेला उ उद्यमी/व्यवसायी हुन सक्दैन, उ मात्र ठग हुन सक्छ ।
चौधरीले भनेका छन् ‘मुलुकका प्रतिष्ठित मिडियाले मलाई जोड्ने प्रयास गरेका छैनन्’ यो चौधरीको महानता होइन्, यो हामी जस्ता जनताको महानता हो । जहाँ मिडिया जनताको पछि होइन्, उद्यमी/व्यवसायीको पछि हुन्छ । जहाँ सञ्चार उद्योग पनि पैसा बनाउने चक्करमा हुन्छ । उद्यमीलाई पिरोल्दा सञ्चार उद्यमी पनि पिरोलिन्छ । जनता पिरोलिंदा सञ्चार उद्यमीलाई घाटा हुँदैन्, उद्यमी पिरोलिंदा सञ्चार उद्यमीलाई घाटा हुन्छ । त्यतिवेला चौधरीलाई मुलुकका प्रतिष्ठित मिडियाले पिरोल्दैनन्, यो नेपालको यथार्थ हो ।
चौधरीले अरु धेरै प्रश्न उठाएका छन्, ती प्रश्नको जवाफ दिंदा होइन, प्रश्नलाई प्रश्नका रुपमा राख्दा जवाफ मिल्नेछ । ‘यो सबै राजनीतिक जीवन समाप्त गर्ने खेल हो ।’ ‘आफ्नो जीवनमा संधैभरी स्वाभिमानको लडाईं लड्दै आएको छु ।’ ‘विनोद चौधरीलाई पैसा कमाउन राजनीति वा सरकारी पद चाहिंदैन ।’ ‘राजनीतिमा खर्चिने समयमात्रा आफ्नो व्यापारमा खर्चिन पाए आय अहिलेभन्दा धेरै थपिन सक्छ । त्योआय कुनै सानो आकारको पक्कै पनि हुनेछैन ।’
अन्तिममा
चौधरीले भनेका छन्, ‘मैदानबाट भाग्ने मेरो कहिल्यै बानी भएन । यस्तो अफवाह फैलाउनेहरुलाई मेरो आग्रह छ, देशका नेताहरुलाई त्यति हल्का रुपमा प्रस्तुत नगर्नुस्, बरु विमति छन् भने आउनुस्, सार्वजनिक मञ्चहरुमा यी सबै मुद्धा एवं लगाइएका आरोप र तिनको गुण दोषबारे खुलेर बहस गरौं ।’ अहिले चौधरीसँग बहस आवश्यक छैन, किनकी रामेश्वरको शब्दमा, ‘नक्कली भ्याट विल प्रकरण राजश्वको डकैती हो, यो एउटा जघन्य अपराध हो ।’ यस्ता व्यक्ति कहाँ हुनुपर्दछ, यसको जवाफ दिने जिम्मेवारी पाठकको ।
यो पनि पढ्नुहोस्