Posted by: Geology Tiger March 13, 2011
ल नेपालमा सुन र तामाको पहाड रहेछ भन्ने पनि थाहा भयो..
Login in to Rate this Post:     0       ?        
प्रतिकृयाको लागि सबैलाई धन्यवाद!

राहुलदाइले भने जस्तै नेपालमा यो खानि छ र त्यो खानि छ भन्ने कुरा हामीले बच्चा बेलादेखि पढ्दै र सुन्दै आएको हो तर जति पढेका र सुनेका छौ सत्य त्यो भन्दा निकै पर पनि हुनसक्छ। भन्नेहरुले त यतिसम्म भने कि यदी नेपालको तराइमा पेट्रोल निकाल्यो भने भारतको आसमको खानि सुक्छ भनेर भारतको सरकारले नेपालमा पेट्रोल निकाल्न नदिएको हो। यस्ता कहानीहरु त बनि नै रहन्छन्। तर माथिको भिडियोमा बिषयवस्तुलाई जसरी प्रस्तुत गरियो त्यो वास्तवमा हाँस्यास्पद नै छ। पुरै पहाड सुनको र पुरै पहाड तामाको रे! भयो अव!

Kadie जि ले भने जस्तै यी पत्रकारहरुले खानि विभागका अधिकारीहरुलाई आफ्नो प्रश्न त राखे तर उनीहरुले दिएको उत्तरलाई चाँही आफ्नै पाराले व्याख्या गरे। यदि यहाँले खानि विभागको अधिकारीको कुरा ध्यान दिएर सुन्नु भयो भने सुन र तामा जस्ता धातुमा भन्दा चुनढुङा जस्ता औद्योगिक  खनिजहरुमा जोड दिएको पाउनुहुनेछ।

यसको साथै धर्केले उठाएको कुरा पनि सान्दर्भिक छ। कुनै पनि खनिज खानिको उत्खनन् आज आर्थिक रुपमा संभव नभए पनि प्रविधीको बिकास र मुल्यमा आउने बृद्दीले भविष्यमा उत्खनन् गर्न योग्य हुनसक्छ तर स्थिती उल्टो पनि हुनसक्छ, उदाहरणको रुपमा गणेश हिमालको जस्ता खानिलाई लिन सकिन्छ जुन पछी विश्व बजारमा ठुल्ठुला खानि फेला परेर मुल्यमा आएको गिरावटले गर्दा बन्द गर्नु परेको थियो।

वास्तविकता के हो भने कुनै नयाँ खानि पत्ता नलागेसम्म र धर्केले भने जस्तै प्रविधीमा सुधार नभएसम्म नेपालमा एक दुइटा बाहेक आर्थिक रुपले उत्खनन् गर्न संभव धातुका खानिहरु छैनन्। आर्थिक रुपले उत्खनन् गर्न संभव नहुनुको प्रमुख कारणहरुमा पहिले त खानिको आकारको कुरा आउँछ। नेपालमा पत्ता लागेका अधिकांश धातुका खानिहरुको आकार सार्है नै सानो छ। त्यस पछी त्यो खानिमा कति प्रतिशत धातु र कति प्रतिशत काम नलाग्ने ढुङ्गा माटो छ भन्ने कुरा आउँछ जसलाई ग्रेड भनिन्छ। नेपालमा पत्ता लागेका अधिकांश खानिहरुको ग्रेड कम छ। माथिको भिडियोमा पत्रकारहरुले भने जस्तै पुरै पहाड सुनको भन्ने कुरा संभव छैन। त्यसपछी उद्योगको लागि चाहिने पुर्वाधारहरु बाटो र बिजुलीको उपलब्धता; यस्ता पुर्वाधार खानिकै लागि बनाउन लागियो भने खनिको लागत मुल्यमा निकै बृद्दी हुन्छ र खानि संचालन गर्नु आर्थिक रुपले संवभ हुँदैन।

खानि उद्योग संचालनको अर्को महत्वपूर्ण पक्ष भनेको खानिले पार्ने बातावरणीय प्रभाव पनि हो। फुल्चोकीमा रहेको फलाम खानि उत्खनन् गर्नु आर्थिक रुपमा पनि संभव छ तर बातावरणीय दृष्‍टिले यो उपयुक्त छैन। हिमाल सिमेन्ट बन्द हुनुको विविध कारण भए पनि त्यसको बातावरणीय पक्ष पनि प्रमुख हो।

त्यसो भए के नेपालमा खानिहरु नै छैनन् त? होइन हामीसँग खानिहरु छन् तर धेरै जस्तो खानिहरु औद्योगिक खनिजका छन् जसमा प्रमुख त चुनढुङा नै हो। हाम्रो देशको दैनिक सिमेन्ट मागको ज्यादै थोरै भाग मात्र स्वदेशी उत्पादनले धानी रहेको छ। भारतबाट आयात गरिने अधिकांश सिमेन्टको गुणस्तर नेपाली सिमेन्टको तुलनामा निकै कम छ। हामीसँग चुनढुङाको खानि पनि छ र देशमा सिमेन्टको माग पनि छ, त्यसो भए सिमेन्ट उद्योग खोल्न केले रोकेको छ त? उत्तर हो पुर्वाधारहरुको अभाव; खोइ बिजुली? सारा देश लोड शेड्डिङको अन्धकारमा बसेको बेला उद्योग खोल्न कहाँबाट बिजुली पाउनु। अनि खै बाटो? सिमेन्ट बनाउन खाली चुनढुङा मात्र भएर पुग्दैन फलाम पनि ल्याउनु पर्छ, कोइला पनि चाहिन्छ, अनि बनेको सिमेन्ट बजारमा पुर्याउने बाटो पनि त चाहियो। सल्यानको कजेरी (खलङा नजिकै) भन्ने ठाउँमा ज्यादै उच्च गुणस्तरको चुन्ढुङाको निकै ठुलो परिमाण छ तर त्यो चुन्ढुङालाई आवश्यक पर्ने बिजुली तुलसिपुरसम्म पुग्दा पनि छैन। फेरी तुल्सीपुरबाट कजेरी जाने बाटोमा शरदा खोला माथि को पुलले ८ टन मात्र धान्छ, त्यस्तो बाटोमा सिमेन्ट उद्योगको लागि चाहिने गाडीहरु कसरी चल्ने? आज नेपालमा खानि विभागसँग चुन्ढुङा अन्वेषन र उत्खनन् गर्नको लागि लाइसन्स लिने उद्योगहरु धेरै छन तर पुर्वाधरको अभावमा खाली लाइसन्सको म्याद थप्दै बसेका छन्, समस्या यो मात्र होइन समस्या खानि वरपरका स्थानीय समुदायहरु पनि हुन्। माओवादीले चलाएको जनयुद्दसँगै अहिले नेपालका जनताहरु यति अनुशासनहिन भएका छन् कि कुरै नगरौ, एउटा उद्योग के खोल्नुपर्छ सबलाई जागिर दिनुपर्छ, सबलाई खर्च भर्नुपर्छ, यस्तो स्थितीमा कसरी चल्छन् उद्योगहरु? बरु खुलेका उद्योगहरु पनि धमाधम बन्द हुँदैछन् ।

चुनढुङा बाहेक, हामीसँग म्याग्नेसाइट अनि बहुमुल्य किमती पत्थरहरुको खानिहरु पनि छन्। त्यो बाहेक मार्वल र ढुङ्गा खानिहरु पनि प्रशस्तै छन्। कोइलाको कुरा गर्ने हो भने हामीसँग राम्रो गुणस्तरको कोइला छैन तर हाम्रो विभिन्न आवश्यकताको लागि काम लाग्छन्। नेपालको तराइको सतहमुनिको भागमा भएको जस्तै भौगर्विक बनावटबाट बंगलादेश र भारतले पेट्रोलियम पदार्थ निकालेबाट नेपालमा पनि पेट्रोलियम पाउने आशा गरिएको हो। एउटा भौगर्भिक संभावना के पनि हुनसक्छ भने, हिमालयको उत्पत्तीसँगै हाम्रोमा भएको पेट्रोलियम पदार्थ बढी पाकेर अथवा चुहिएर नष्ट भैसकेको पनि हुनसक्छ। तर त्यस्तो नभएर हामीसँग पेट्रोलियम भएको पनि हुनसक्छ। यसको लागि अन्वेषनको खाँचो छ। तर किन नेपालको तराइको विभिन्न ब्लकमा पेट्रोलियम अन्वेषन गर्न लाइसन्स लिएका अन्तर्राष्ट्रिय कम्पनीहरुले केही गरिरहेका छैनन्? खै देशमा सुरक्षा? जहाँ पनि तोडफोड जहाँ पनि हुल्लडबाज, कसले लगोस् करोडौ पर्ने आफ्ना मसिनहरुलाई त्यहाँ? आखिर औद्योगिक सुरक्षा भनेको पनि त चाहियो नि, एउटा खाडलको फोटो हेरेर त्यो पेट्रोलको खानि हो मात्र भनेर त भएन।

यो लामो गन्थनलाई तुर्ने क्रममा के भन्न चाहन्छु भने नेपालमा मिडियामा प्रचार प्रसार गरिएको जस्तो सुनको पहाड र पेट्रोलको खाडल नभए पनि केही खनिजका खानिहरु छन् र अरु थप संभावनाहरु पनि छन् तर पत्ता लगाइ सकेका खानिहरु संचालन गर्नु र नयाँ खानिको उत्खनन् गर्नु भन्दा पहिले देशमा शान्ती सुरक्षा कायम हुनु र उद्योगलाई चाहिने पुर्वाधारहरुको विकास हुनु आवश्यक छ।                                       
Read Full Discussion Thread for this article