Posted by: somewhereondearth February 12, 2011
अदितिको साथी
Login in to Rate this Post:     1       ?         Liked by
 भाग -२,

कहिले काँहि समय यस्तो उत्ताउलो भइदिन्छ, गुनेका सबै कुरा उत्तानो पर्छन् । उमेर सोह्र होस या सत्तरी, कतिले यहाँ मायाका लागि आनन्द मनले संसार हारेका छन्, हार्दैछन्, फेरि पनि हार्नेछन् । तर हारेको लडाँईमा माथि माया हार्न पर्दा भने नमिठो बिझाउँछ । मैले अदितिलाई हारि नै हालेको त होइन तर उनि पढेको कलेमा भन्दा अर्कै कलेजमा भर्ना हुन पर्ने भयो । बाउले चिनेका मान्छे ठाउँमा भइदिंदा तन्नेरी छोरालाई अनेक अफ्ठेरा पर्दछन् । बुवाको चिनजानले मेरो ‘इन्जिनियरिङ्ग’ निकै सस्तोमा मिल्ने भयो, तर बिडम्बना अर्को कलेजमा । कहाँ मेरा मायाका सपना, कहाँ इन्जिनियरिङ्गका मोलतोल । मैले निकै तर्क राखे, सबै फोस्रा भइदिए । एकपछि अर्को ठेस, समाजले आफूलाई चिनाउँदै थियो । म समाजलाई चिन्दै थिए ।

मेरो पहिलो बर्ष शुरु भयो । पढाइ घस्रिन थाल्यो । मायाका भेटहरु हाट सरह हुन थाले । हामी कि शनिबार कुर्दथ्यौं कि उपत्यका बन्द । हामीलाई भेटन बहाना चाहिन्थ्यो, कहिले जुट्थ्यो कहिले जुटाउन पर्दथ्यो । म महाराजगन्जको ठोकर पछि गमी भएको थिंए । तन्नेरी जोश पछारिएको थियो, अदिति भन्दा एक ब्याच जुनियर थिए । कैयन पटक भाले अस्तित्वको सोचाइ नआएको होइन । तर यहाँ बार्ने लाई रुघा लाग्छ । सुस्केराले उडाइ जाने माया थिएन मेरो, मैले जानेको त्यहि हो । मैले मेरो माया त्यति हलुको हुन किन दिन्थे र । मैले डाक्टरी सपना हारेको अवस्य थियो । तर अदिति मेरो सत्य थिइ । मैले उसलाई जितिरहेको थिंए, उसले मलाई जितिरहेकि थिइ ।

अदिति लगभग उस्तै थिइ, बोलिरहन पर्ने । अझ उसका बातमा ‘इन्जिनियरिङ्ग’ छिरेको थियो । उ कुरा पोख्दथि, फिंजाउँथी, चलाउँथि । म एकनास उसका कुराहरु टिपिरहन्थे । बेला बेला म उसका कुरा पक्रन्थे, उ रिसाउँथि । एकै छिन बोल्दिन थिइ, म फकाए झैं गर्दथे, उ फकिइदिन्थी । समय निमेषमै बित्दथ्यो । हिड्ने बेलामा म अदितिका सबै कुरा बटुल्थे, पोको पार्थे अनि उ बाट पर हुँदा एकान्तमा फुकाएर मिलाउँथे, सजाउँथे ।

माया पनि भाग हुँदा रहेछन । अध्याय हुँदा रहेछन । अनुच्छेद हुँदा रहेछन ।  म सम्झंछु, हो त्यहि बेला, मेरो मायाको त्यहि अध्यायमा मलाई आइ एस्सीको मायाको अध्याय सांकेतिक लाग्दथ्यो । जाबो छड्के आँखा हेराइ, २-४ लबस्तरा हाँसो अनि मायाको स्वीकारोक्तिलाई के सम्पूर्ण माया भन्नु । मैले मायाको त्यो अध्यायबाट अघिल्लो अध्यायलाई त्यस्तै देखे । तर बिडम्बना कथा नसकिएसम्म अध्यायका जोखाइ चोखा भन्न के सकिन्छ र! यहाँ भोगाइले जोख्ने सत्य र तिनका अनुभवले जोख्ने सत्य फरक भइदिन सक्दा रहेछन । भोगाइ भन्दा तिनका अनुभवको भार बढि हुँदो रहेछ ।  

‘इन्जिनियरिङ्ग’ चल्दै गयो । म अब्बल बिद्धार्थी भने भइन । धाएको खेती, धाएको माया उस्तै उस्तै रहेछ । मायामा लागेका तन्नेरीका अनेक जिम्मेवारी थिए । म जसोतसो धान्दै थिए । तर पनि हाम्रो मायाको कुरो हामीले सकेसम्म लुकाएर नै राखेका थियौं । चुनिएका केहि र पुराना केहि साथीहरुलाई मात्र थाहा थियो । कलेज फरक भएकाले पनि धेरैले थाह पाउन सकेका थिएनन् । साथीभाइका मायाका कुरा चुहिंदा म मन्द रुपमा दंग पर्दथे । मेरो कुरो लुकाउन सकेकोमा ।

विचारहरु स्वतन्त्र मनमा धेरै उम्रिन्छन्, ब्यस्त मनमा भन्दा । मेरो मन व्यस्त थियो, मेरा सपना व्यस्थ थिए । म खुसी थिए । तर मनलाई परिवर्तन हुन घटना घट्न पर्दैन । एउटा झिनो तरंगले छोइयोस, निमेषमै मन एक ब्रम्हाण्ड बाट अर्कोमा ब्रम्हाण्डमा पुगिदिन्छ ।  हामी मनको यो गतिको अगाडि निरिह छौ । अनि एउटा भावना गोड्दै गरेका हामीलाई सरक्क लगेर शंका, तर्क र अविस्वासको घना जंगलमा छोडिदिन्छ । अनि ति भाव हामी छाँट्न खोज्छौ, तिनले हामीलाई बेर्दै जान्छन् ।  

हामी कक्षा चढ्दै गयौं, बिषयहरु साँधुरा र ठाडा हुँदै गए । अदितिले मलाई course material  मा सहयोग गर्दथी । म पढे झैं गर्दथे, बुझे झैं गर्दथे । कुरो उ तेस्रो बर्षमा हुँदाको हो । उसले मलाई दिएका material मा नचिनेका अक्षर देखे । मनमा चस्स भयो । 

क्रमश:

meaninglessthinkings@somewhereondearth

Read Full Discussion Thread for this article