Posted by: SimpLe_KeTa February 7, 2011
कविता पढ्ने भए भित्र आउनुस
Login in to Rate this Post:     1       ?         Liked by

घुम्ने मेचमाथि अन्धो मान्छे

दिनभरि
सुकेको बाँसझै
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझै
आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर,
घाउहरु कोटयाएर;

दिनभरि
सल्लाघारीझै एकलासमा
अव्यक्त वेदनाले सुँक्क-सुँक्क रोएर;
दिनभरि
पाते च्याउझैं
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफुलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँ सडक - असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,
टुक्रिएर,
अखबार, चिया र पानको पसल बन्छ,
किसिम-किसिमका पोशाकमा
ओहोर-दोहोर गर्छन् थरीथरीका हल्लाहरु
फुल पारेको कुखुराझै कराउँदै
हिंड्छन् अखबारहरु
र ठाउँ-ठाउँमा अन्धाकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तर्सेर
अनि असंख्य मौरीको भुन्भुन् र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैं
र नपाएर बिस्मृतिको 'लेथे' नदी
रक्सीको गिलासमा हाम्फाल्छु
र बिर्सन्छु आफ्नो पूर्व कथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधै
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ,
सधै रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी - पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि,
दृश्यहरुदेखि,
रमाइलोदेखि,
प्रर्दशनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै ।

# गद्य कविता
# भूपि शेरचन
# घुम्ने मेचमाथि अन्धो मान्छे


Last edited: 10-Feb-11 11:48 PM
Read Full Discussion Thread for this article