Posted by: fucheketo January 6, 2011
भिँडभित्रको एउटा दिन(भाग-१)
Login in to Rate this Post:     1       ?         Liked by
 साझावासीहरुमा लामो समय बिश्राम लिएको मा क्षमा माग्दै साथै यो कथा सिध्याउने भरमग्दुर प्रयास गर्नेछू भन्ने वाचाका साथ अनी साहीँलीलाई घच्घच्याउन नछोडेको मा बिशेष धन्यवाद र समवेर अन द अर्थ दाई बाट  थोरै शब्द सापटी लिएको छु भन्ने जानकारी दिँदै कथा आरम्भ गर्ने अनुमति माग्छू !!!!!!!!!!!



मेरो कोठाको पंखालाई फेरि मैले पुलुक्क हेरेँ उ अनन्त गतिमा घुम्दै नै थीयो । उ गल्दैन जवसम्म उसको मालिकले उसलाई अराउँछ जवसम्म उ धर्म निभाउन सक्छ उसले आफ्नो धर्म निभाउँछ । उ कर्तव्य बाट टाढिँदैन , उ सँग वहाना छैनन् कर्म नगर्ने म जस्तै , उ घुमिदिन्छ जवसम्म म स्विच निभाउँदिन वा जवसम्म रामेले ढोका बन्द गर्ने बेलामा स्विच निभाउँदैन । पहिला पहिला लोड शेडींग मा उ सुस्ताउन पाउँथ्यो तर आजकल मेरो पनि अफिसमा इन्भर्टर आएको छ । काम मा गतिशिलता ल्याउनलाई आएको रे इन्भर्टर ! 
किन मान्छे फगत अरु माथि दोष थूपार्छन् कहिले कसैमाथि कहिले कसैमाथी । मैले वत्ति भएको समयमा पनि धेरै समय अरु ठाउँमा खर्च गरेको देखेको छू सवैले तर म प्रतिकार गर्दिन म भिँडमै बग्न रुचाउँछू । मलाई थाहा छैन यो मेरो समस्या हो मेरो धैर्यता वा अरु नै केहि ! तर आजकल साधा कागज भएको छू नितान्त सत्य कुरो , केहि कोर्न रुचाउँदिन ,केहि लेखिन रुचाउँदिन मात्र ठूलो चांगको विचमा कसैको आँखा नपर्ने गरी वस्न खोज्छू । जहाँ कसैले मेरो खोजी नगरोस् धेरै ले मलाई लुकाउन् । म पनि कसैलाई लुकाउने भिँडको अंग बनुँ । 
यस्तै यस्तै कुरा मनमा खेलिरहन्छ सँधै । अफिस छिर्दै गरेको बेला भेटिने हरेक सँग हाँसेर हिँड्ने गरेको छू । मैले भोगेको छू जव मान्छे झूटो हाँसो हाँस्न सक्छ तव मान्छे सवैको प्रिय बन्छ त्यहि झुटो हाँसो देखाउने प्रयास गर्छु सवैलाई ।मुटु कस्ले नै पो चिर्न खोज्छ र । अझ मेरो , मेरो त बोक्रो नै कडा बनाएको छु मैले। 
मैले फेरि घण्टी बजाएँ । यो पनि मेरो नियमित नै प्रकृया भएको छ । यसमा कुनै नयाँपन छैन । फेरि रामे देखिनेछ  खिस्स हाँस्दै म फेरि चिया माग्छु अनि उ दंग पर्दै जानेछ । हरेक चियामा उसको स्वार्थ लुकेको छ मलाई थाहा छ । तै पनि म उसलाई स्विकारिदिन्छु , को नै पो स्वार्थि छैन र आखिर ! फगत हामी के लाई स्वार्थ मान्छौ त्यसको नै त फरक हो , रामेको स्वार्थ उसको वाध्यता होला , मेरो स्वार्थ मेरो मोह होला वा अरु कसैको स्वार्थ रहर होला , स्वार्थ आफ्नो नाम परिवर्तन गरिरहन्छ हरेक व्यक्तिविशेषमा !!!!मलाई स्वार्थ मन पर्छ किनकी उसले व्यक्ति व्यक्तिमा स्वरुप बदलेर बास बस्न जानेको छ ।कहिले नशाको नाममा कहिले स्वाभिमानको नाममा कहिले माया को नाममा !!
रामे टुप्लुक्क देखा पर्यो ।

"कति ढिलो ?"
 म झर्किए जस्तो गरेँ , मलाई थाहा छ यो मैले गर्नु जरुरी छ किनभने मैले यति गरे पनि रामेले धेरै गर्यो भने वाहिर गएर उसकै साथी सँगीलाई खैनी खाँदा आफ्ना पहेँला दाँत देखाउँदै "आज सर फेरि रिसाउनु भयो !" सम्म भन्नेछ तर मैले गरिन भने उसले मलाई टेर्ने छैन दुई दिन पछी ! मान्छे किन सजिलै भेटिने सहयोग , मायाको उपेक्षा गर्छ , मलाई थाहा छैन तर मैले बुझेको छु त्यो हुन्छ ।
"सरको घण्टी बिग्रेको छ , म वाहिरै थीएँ सरले हात ले थिचेको देखेर म आएको !"

मैले बजाउन खोजेँ घण्टी बजेन , म अवाक भएँ । गल्ति मेरै निस्कियो । तर मैले आडम्बर छोडीन म तल झर्नु हुन्न यो मेरो पहिलो गल्ति नै त हो । म गल्ति दोहोर्याउन पनि सक्छु ।तेहेर्याउन पनि सक्छु । 
"चिया लिएर आउन एउटा !"
म थोरै नरम भइदिएँ । उ खुशि भयो कुनै पुरस्कार पाए जस्तो । 
................ ........... ................. .............. ................ ................. ................ ............ .................. ....


वाइकमा शायद मैले आज मोबायलको भाइब्रेसन थाहा नपाएको हुनुपर्छ । कटन पेन्ट को वेफाइदा , मोवायल उफ्रिने धेरै ठाउ पाउँछ । मैले एउटा मोवायल त्यहि कटन पेन्टबाट झारेर हराइसकेको छू ।सुशिलको मिस्ड कल थियो । आउने वित्तिकै अफलाईन मेसेज पनि भेट्टाएँ कम्प्युटरमा " संजिवको बाइक एक्सिडेन्ट भएको छ , मोडल हस्पिटलमा राखेको छ , जाने भए मलाई कल ब्याक गर !!!!"
धेरै कुरा घुमेर आए दिमागमा , त्यो मोरो धेरै पिउँछ , कन्ट्रोल छैन राती नै भएको होला एक्सिडेन्ट ! कस्तो एक्सिडेन्ट लेखेको छैन ?? अनि अन्तिममा सुधा पनि त हस्पिटलमैँ होली , के म उसलाई भेट्ने आँट नै गरेर जाउँ त ??? उसलाई फोन गरेर कति खेर जाने सोधेँ अनि बेलुका मेरो अफिसमै आउने कुरा भयो । 
"सर चिया !"
रामेले चिया राखेर वाहिर निस्कियो । मैले पर्दा खोलेँ । चर्को घाम लागेको थियो । अनि चैते वतास पनि शायद , रुखहरु मच्चिदैँछन् वाहिर । तलको जुत्ता बनाउने मान्छेको छाता देखियो । दुइटा दुलो परेछ छातामा । जुत्ता बनाउनेलाई छाता सिउन आउँछ कि आउँदैन होला । आउँदैन होला नत्र उसले सिलाउने थीयो । आफ्नै कुराको हिफाजत त गरिहाल्थ्यो नि । फेरि सोचेँ म जस्तै लथालिंगे मतलव नगर्ने पनि त हुन सक्छ ।


सुधा मुस्कुराउँथी जव जव म अलि मान्छे जस्तो भएर उसको सामु देखा पर्ने गर्थेँ ।
अनि सोध्थी ,"तिमी सँधै किन यस्तो रहिरहन सक्दैनौँ !"
म पनि हाँसेर जवाफ फर्काउँथे " म यस्तै रहिरहे परिवर्तन खोई त??"
उ एकछीन चुप हुन्थी अनि भन्थी
"तिमी अनि तिम्रा कुराहरू !!! म बुझ्दिन !!!!"
मैले पनि उसलाई कहाँ नै बुझ्न सकेँ र !!


टेवल को चिया चिसो भएछ ।
सुरुप्प पारेँ । हुन त यो चियामा कुनै रस छैन तर यो मेरो आवश्यकता भएको छ मलाई म बनाएर जोगाइराख्ने । म टुक्रा टुक्रामा म भएको छू आजकल । म चिया खान रुचाउँछू एउटा टुक्रा भएको छ मेरो । म धेरै बोल्दिन एउटा टुक्रा भएको छ मेरो । म कसैलाई गाली गर्दिन यथास्थिति मै रमाईदिन्छू एउटा टुक्रा भएको छ मेरो । सिंगो म कतै हराएको छ कसैलाई थाहा छैन शायद मलाई पनि !!!
मैले चिसै भए पनि सिध्याइदिएँ । रामे हेरिरहेको थियो शायद आएर कप लिएर गयो । किन ढिलो चिया खाएको भनेर उ मलाई गाली पनि त गर्न सक्दैन ।
घडी हेरेँ दिउँसो को चार बजेको थीयो । पाँच बजे सुशील आउँछू भनेको छ । छ अझै एक घण्टा । थोरै फाइल पल्टाएँ । एउटा लामो थकाई मार्न पाए हुन्थ्यो । यस्तो रात जहाँ निन्द्रा होस् तर सपना नहुन तन्द्रा नहुन अनि बिउँझाइदिने कोहि नहुन मात्र कालो शुन्यता ! छ्या कति निरस भएको छु म !! जीवनले रस निचोरिदिए जस्तो !!
ढोका वाहिर घर तिर निस्किने क्रम शुरु भइसकेको थीयो । कसले नै पो टेर्छ र घडीलाई । घडी पनि विवश छ उ चार बजेको देखाउन सक्छ तर मान्छेलाई पाँच बजेसम्म रोक्न सक्दैन । मैले पनि चार बजे नै आइज भनिदिएको भए हुन्थ्यो सुशिललाई । तर केहि छैन । मोडल त्यति टाढा पनि त हैन ।
रामे कपाल कन्याउँदै भित्र छिर्यो ।किन नुहाउँदैन यो । शायद पानी छैन होला । उसको आफ्नो वाध्यता । तिनवटा छोराछोरीको भारमा दवेको छ उमेर नपुग्दै दवेको छ मोरो । कहिलेकाहिँ आग्रही आँखाले मलाइ हेर्छ । म टेरिदिन्न नबुझे जस्तो गर्छू । कहिले काहिँ मुखै फोरेर केहि माग्छ । म पहिल्यै भन्नु पर्दैन भनेर हकारीदिन्छू । उ खिस्स हाँसिरहन्छ । उसको आग्रह पुगेको दिन दंग पर्छ नपुगेको दिन पनि खिस्स हास्न छोड्दैन । मैले बुझेको छु जव मान्छे झूटो हाँसो हाँस्न सक्छ तव मान्छे सवैको प्रिय बन्छ
"सर हजुरलाई भेट्न कोहि आउनुभएको छ !"
पक्कै सुशिल होला!
"लिएर आउ न त ! अनि चिया दुइटा पनि !"
"सर मेरो आज चाँडै जानु पर्ने थियो !" वाहिर निस्किँदै गर्दा रामेले रहर पोख्यो !
"ठीकै छ , म पनि निस्किन आँटेको !" मलाई मेरो बारेमा त थाहा छैन तर रामे खुशी थियो ।









Read Full Discussion Thread for this article