भाग-९
"ल, बधाइ छ, आजदेखि तिमी पूर्ण रुपमा यहाँको कर्मचारी भयौ।" तालिम सकेको दिन सुपरवाइजरले मलाइ अङालो मारी। मलाइ अलि अलि डर डर लाग्यो। पहिले पो उसको पछि पछि लाग्यो, उसैलाइ सोध्यो, सबै उसैको जिम्मा हुन्थ्यो। अब गार्हो दिनहरु आइरहेझैँ भान भयो। तर मैले उसलाइ धन्यबाद दिँए।
"तिम्रो मातहतहतमा ५ जना कर्मचारी हुनेछन्। तिमीले समय, बिरामीको अबस्था र कर्मचारीको दक्षता हेरी उपयुक्त निर्णय लिन सक्नु पर्नेछ।"
मैले लामो स्वाश फेरेँ। सबै नयाँ, सबै नौलो। त्यसमाथि खाउ भने कान्छा बाउको अनुहार, नखाउ भने दिनभरिको शिकार जस्तो काम। यताउता पल्याक पुलुक हेर्दा, ज्याक र एउटी महिला कर्मचारी मलाइ नै हेरी कुरा गरिरहेको देखेँ।
"आज देखि तिमीहरुको सुपरबाइजर उनी हुन्।" सुपरवाइजरले म तिर देखाउदै भनी। उनिहरु नजिकै आए।
"यिनी शेरी र उ ज्याक।" सुपरवाइजरले परिचय गराउन खोजी।
ज्याकले एकचोटि मलाइ सर्लक्क मलाइ हेर्यो, फिस्स हाँस्यो मात्र केहि भनेन तर शेरी ले हात मिलाइ। "म त हाम्रो नया सुपरवाइजर अग्लो, ६ फुटको ज्याङो मान्छे होला भनेको त, तिमी त मै जत्रो पो रैछ्यौ।" उ हाँस्दा मलाइ अपहेलित महसुस भयो।
"बाइ द वे, म यहाँको सबै भन्दा पुरानो स्टाफ हुँ, तिमी जस्तो कति जना हाकिमसङ काम गरेँ, केहि बुझेनौ भने मलाइ सोध्नु तर मेरो अनुमति बिना केहि पनि परिबर्तन गर्ने कोशिश नगर्नु।" शुरु मै धम्कि को भाषा बोली शेरीले, मलाइ कस्तो कस्तो लाग्यो।
मैले मेरो सुपरवाइजरलाइ हेरे। उसले कुरा बुझी क्यारे, बाताबरणलाइ सजिलो बनाउन शेरीलाइ भनी" तिमी पुरानो उ नयाँ, सबै मिलेर काम गर्नु पर्छ, कसैसङ कसैले जोरी खोज्नु हुँदैन।"
पछि सुपरवाइजरले मलाइ शेरीको बारेमा सबै बताइ। शेरी त्यो ठाँउको सबै भन्दा ज्याद्रो स्टाफ रैछे, कसैले तह लाउन नसकेको, कर्मचारी युनियनतिर पनि लागेकी, काम ठग्न एक नम्बर सिपालु अनि हकिम बिरोधी तत्व। सबै उसले कहिले काम छोड्ली भनेर पर्खी बसेका रहेछन्। हिस्प्यानिक मुलकी, हिँड्दा सिपाही जस्ती शेरीसङको पहिलो भेट धेरै नराम्रो लाग्यो मलाइ। मैले आफ्नो भबिष्यमा सबैभन्दा ठुलो चुनौति उसैलाइ देखे। उ मेरो मातहतको कर्मचारीहरुको हाकिम, तर मेरो हाकिम हैन र पनि उ पहिलो दिनमै मेरो उपहास गर्दैथी। के मेरो शरीरको अग्लाइले मेरो कार्य दक्षता झल्काँउछ। कस्तो नराम्रो बुझाइ मानिसहरुको ? यत्रो समान हक र अधिकारको कुरा गर्ने देशमा पनि मानिसहरु रङ, जात र शारिरिक बनावटको आधारमा पुर्ब धारणा बनाउन चुक्दैनन्। कत्रो बिडम्बना ?
"फुच्चि पो रैछ हाम्री नयाँ हाकिम त !" भन्दै अर्की काली अधबैशे आइमाइ ड्र्याकुला हाँसेजस्तो ठुलो अट्टहास गरी। मुडुली, गन्जी जस्तो बाक्लो भेस्ट, क्रिम रङको पाँइट लगाएकी तिनिलाइ नजिक बाट हेर्दा मात्र आइमाइ भनेर चिनियो, टाढाबाट उ लोग्नेमान्छे जस्तै देखिन्थी।
"यिनी सुफि, तिम्रो सहयोगी!" सुपरवाइजरले चिनाइ। सुफिले म सङ हात मिलाइ, उसको हात काठभन्दा कडा थियो। मान्छे पनि कडै देखिन्थी।
"अरु दुइ जना स्टाफ आज बिदामा छन्। भोली भेटौली।" भन्दै सुपरवाइज अर्कै वार्डतिर हिँडी।
"हामीलाइ आफ्नो काम थाहा छ।" भन्दै सुफि अट्टहास गर्दै अर्कैतिर लागी।
"यो मात्र कति दिन टिक्ली र?" शेरीले ज्याकलाइ भनेको मैले प्रस्टै सुने। ज्याक फेरि फिस्स हाँस्यो, शेरीले आँखैले नहाँस्ने इशारा गरी। म सबै देखेर, सुनेर पनि नसुनेको झै गरे।
"स्वागत छ तिमीलाइ!" लुइस झ्यालबाट म सङ कुरा गर्न खोजिरहेको थियो।
"धन्यबाद!" भने।
"म यहाँको सबै स्टाफ र बिरामीलाइ राम्ररी चिन्छु।" लुइसले आँखा झिम्कायो।
"तपाइ पनि यही जागीर खाने बेला भयो जस्तो छ।" मैले पनि जिस्काँए लुइसलाइ।
"यहाँ कर्मचारीहरु नै पागल जस्तो छन्, सद्धे मान्छेलाइ काम गर्नै दिन्नन्। बरु बिरामीहरु सद्धे जस्तो देखिन्छन्।" लुइसले यताउति हेर्दै भन्यो।
"तिमी झन सानै देखिन्छौ, यिनीहरुले तिमीलाइ टेर्ला जस्तो छैन।" लुइसले ओँठ लेप्र्याँउदै भन्यो।
"उमेरले काम गर्ने हैन नि, आफ्नो बुद्धि, बिबेक र क्षमता अनुसार पो काम गर्ने हैन र?" मैले हाँस्दै सोधेँ।
"तैपनि यिनीहरु धेरै अटेरी छन्। कसैले तह लाउन सक्दैनन्। तिमीलाइ नि दुख दिन्छन् हेर्दै जाउ न।" लुइसले सानो स्वरमा भन्यो।
"मलाइ किन दुख दिने?" मैले लुइसलाइ सोधे।
"तिमी पनि त बिश्वको माइनरिटी बर्गमा पर्छौ नि। यहाँ तिमी हामी जस्तो एथ्निक माइनरिटीलाइ कसैले पुछ्दैनन्।" लुइसले के भनेको मैले बुझिन। उ पो कालो हो म त हैन नि।
"कसरी म एथ्निक माइनरिटीमा परे?" मैले लुइसलाइ सोधेँ।
"सर्बप्रथम त तिमी नारी, तिमी पुरुषको तुलनामा कतै पनि अघि बढ्न सक्दिनौ---"
"--यो २१ औँ शताब्दि हो महाशय!" मैले लुइसको कुरालाइ बिचैमा काटेर भनेँ।
"तिम्रो रङ सेतो छैन, अनि तिमी पटिट साइजकी छौ। तिमी त्यसै पनि हार्ने समुहमा पर्छौ। तिमीलाइ कसैले जित्न दिदैँनन्।" लुइस हे हे गरेर हाँस्यो।
"हार्ने र जित्ने भन्दा पनि आफ्नो कर्तब्यमा बिस्वाश राख्छु। यदि म आफ्नो बाटोमा सहि उदेश्य लिएर हिँड्छु भने कुनै पनि अबरोधले मलाइ छेक्न सक्दैन। चाहे त्यो मेरो लिङ, रङ वा साइज किन नहोस्।" मैले जति नै आत्म-बिस्वाशको साथ भने पनि मनको एउटा कुनामा भने डर रहिरह्यो।
"हेर्दा त तिमी त्यस्ती निडर देखिदैनौ। तर कुरामा त कसैले जित्न सक्दैन जस्तो छ। तिमीलाइ मेरो शुभकामना, फुच्चि केटि!" लुइस फेरि हे हे गर्दै हाँस्यो।
"लुइस, के तिमीलाइ मेरो नाम थाहा छैन?" लुइसले हाँसो बन्द गर्यो।
"तिम्रो नाम जे भए पनि म त तिमीलाइ फुच्ची नैं भन्छु। म त भाँगे।" भन्दै लुइस गयो।
साँच्चै म नारी, पहेँली र सानी भएकै कारणले मेरो चुनौतीहरु अप्रत्याशित रुपमा अरुको भन्दा बढी हुनुपर्छ भन्ने के छ?
क्रमश: