नौ वर्षीया घरेलु कामदार बालिका जसलाई आफ्नै साहुले एक वर्षदेखि लगातार बलात्कार गरे । परिणामतः पाठेघर क्षतविक्षत भएर भविष्य बर्बाद भएको छ । दिसापिसाब एकै ठाउँबाट निस्केर वर्तमान पनि बेहाल भएको छ ।
अबोध बालिकाको जीवन बर्बाद गर्ने 'पुरुष' मनोज घिमिरे एक सरकारी इन्जिनियर हुन् । उनी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलमा कार्यरत छन् । ४८ वर्षीय घिमिरे अहिले महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा छन् ।
पीडित परिवारका अनुसार इन्जिनियर घिमिरेले विराटनगर चारझोराकी बालिका (नाम गोप्य) लाई पढाइदिने सर्तमा ०६४ जेठ ११ गते काठमाडौं ल्याएका थिए । घिमिरेले बालिकालाई घरमा काममा त लगाए, तर विद्यालय भर्ना भने गरेनन् । बरु लगातार बलात्कार गरे ।
बालिका पाँच वर्षकी हुँदा बाबुसँग झगडा गरेर आमा पोइल गइन्, बाबुले अर्की श्रीमती ल्याए । सौतेनी आमासँग दुःख भएपछि फुपूले बालिकालाई काठमाडौं ल्याएर घिमिरेको घरमा काममा लगाइदिएकी हुन् ।
घिमिरेले घरमा काम गराउने र त्यसबापत पढाउने वाचा गरेका थिए । 'स्कुल त जानै दिएन, घरमा कोही नभएको मौका हेर्दै जबर्जस्ती गर्यो, पछि साहुनीको अपरेसन भएपछि त कोठामा सुताएर जबर्जस्ती गर्न थाल्यो,' बालिकाले रुँदै नयाँ पत्रिकासित भनिन्, 'मेरो ओच्छ्यान त भुइँमा थियो, तर ढोका लगाएर खाटैमा तान्थ्यो ।'
घिमिरेले सुरुदेखि नै बलात्कार गरे, तर उनकी श्रीमतीको ०६४ भदौमा पेटको अपरेसन भएपछि बलात्कारको क्रम निक्कै बढ्यो । पीडित बालिकाकी फुपू चन्दा श्रेष्ठ भन्छिन्, 'हरेक राति ढोका लगाएर जबर्जस्ती गरेछ, कसैलाई भनिस् भने मार्दिन्छु भनेर चुपचाप सहन बाध्य पारेछ ।'
नियमित बलात्कारपछि बालिकाको दिसापिसाब एकै ठाउँमा खुस्कन थाल्यो, शरीर दुर्गन्धित हुन थाल्यो, तब मात्र आफन्तलाई बोलाएर तिम्री बच्ची तिमी नै लग भनेर जिम्मा लगाए । फुपूहरूले आफ्नो डेरामा ल्याएपछि मात्र बालिकामाथि भएको ज्यादती पर्दाफास भयो ।
फुपू चन्दाले बालिकालाई १० चैतमा आफ्नो डेरामा ल्याएकी हुन् । चन्दाले भनिन्, 'ऊ बसेको ठाउँमा झिंगा भन्किरहन्छन्, गन्हाएर छेउमा बस्न पनि सकिँदैन । के भएको छ भनेर सोध्दा बोल्न सकिनँ । नभने उपचार गर्न सकिँदैन र मर्छेस् भनेपछि घटनाको बेलिविस्तार लगाई ।'
भदै बलात्कृत भएको चाल पाएपछि चन्दा प्रहरीमा जाहेरी दिन महानगरीय प्रहरी परिसर हनुमानढोका पुगिन् । तर, महानगरीय प्रहरी परिसर हनुमानढोकाले घटनाको अनुसन्धान नगरी प्रहरी वृत्त कालिमाटीलाई पत्र लेख्यो । कालिमाटीले घटना आफ्नो क्षेत्रमा नभएको भन्दै नयाँबानेश्वर प्रहरीलाई पत्राचार गर्यो । नयाँबानेश्वर वृत्तले पनि कुनै कारबाही गरेन, बरु घटनास्थल सिनामंगल महानगरीय प्रहरी प्रभाग गौशालाको क्षेत्रमा पर्छ भन्दै पन्छाइदियो । चन्दा गौशाला प्रहरीको शरणमा पुगिन् । गौशाला प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गर्न प्रसूतिगृह थापाथली पठायो ।
'बालिकाको पाठेघर नै ड्यामेज भएको छ, त्यसैले दिसापिसाब एकै ठाउँबाट हुन्छ,' प्रसूतिगृहले रिपोर्ट दिएको छ । फुपूले बालिकालाई कान्ति बाल अस्पताल पुर्याइन् । कान्तिले भिडियो एक्सरे गरेर रिपोर्ट दियो, 'बालिकाको पाठेघर कुहिएको छ ।'
पीडित पक्षको उजुरी पर्यो, अस्पतालको रिपोर्ट आयो । तर पनि महानगरीय प्रहरी प्रभाग गौशालाले आरोपी घिमिरेलाई पक्राउ गर्न चासो देखाएन । विवश आफन्त आफैंले घिमिरेलाई समातेर महानगरीय प्रहरी वृत्त बौद्धमा बुझाइदिएका छन् । 'रुँदा, कराउँदा, रिपोर्ट देखाउँदा र अपराधीको घर देखाउँदा पनि गौशाला प्रहरीले समातेन, त्यसैले हामीले नै समातेर बौद्धमा बुझायौँ,' चन्दाले भनिन् ।
बौद्ध प्रहरीले बालिका करणीको आरोपमा घिमिरेविरुद्ध अनुसन्धान गरिरहेको छ । वृत्तप्रमुख डिएसपी ओमबहादुर रानाले भने, 'बालिकाको बयान लिइसकेका छौँ, अरू अनुसन्धान भइरहेको छ ।'
हिरासतमा परेपछि घिमिरेले उन्मुक्तिका लागि पीडित पक्षलाई फकाउन थालेका छन् । उनले पीडित बालिकालाई महिनाको १५ हजार तिरेर बोर्डिङ स्कुलमा पढाइदिने प्रलोभन पनि दिन थालेका छन् । 'अस्तिसम्म सरकारी स्कुल त नपठाउनेले अहिले महिनाको १५ हजार तिरेर पढाइदिने कुरा गर्छ, मेरो खुट्टा समातेर माफी पनि मागेको छ, तर त्यसले मेरो खुट्टा समात्दैमा यो बिचरीको भविष्य र्फकन्छ र ?,' फुपूले प्रश्न
गरिन् ।