Posted by: BKMailo October 4, 2010
Bhojpur
Login in to Rate this Post:     0       ?        

भोजपुरको साना जलविद्युत गृह जिर्ण

भोजपुर , आश्विन १८ -
जिल्लाको एक मात्र सिक्तेल खोला साना जलविद्युत गृह मर्मत अभावका कारण
जिर्ण बनेको छ । आर्थिक अभाव र दक्ष जनशक्ति नहुँदा मर्मतसम्भार नभएकाले
बिद्युतगृहका उपकरण लगायत सामाग्री जिर्ण बनेको हो ।


द्वन्द्वको बेला ध्वस्त साना जलविद्युत केन्द्र स्थानिय उपभोक्ता समितिले
पुनःनिर्माण गरी संचालनमा ल्याएपनि मर्मतसम्भारमा पर्याप्त रकम जुटाउन
नसकेपछि क्षमता अनुरुप विद्युत उत्पादन हुन सकेको छैन । करिब २५ बर्षअघि
निर्मित २५० किलोवाट क्षमताको विद्युत केन्द्रबाट यतिबेला मुस्किलले ९०
किलोवाट विद्युत उत्पादन भइरहेको छ । विद्युतगृहको टर्बाइन, प्यानल बोर्ड,
कुलो, मुहान, पोखरी, पोल, ट्रान्सर्फमर, मिटरबक्स लगायत बिभिन्न उपकरणहरू
जिर्ण भइसकेको भोजपुरस्थित नेपाल विद्युत प्राधिकरण कार्यालय प्रमुख
इन्जिनियर रामप्रमोद साहले बताए । स्थानिय विद्युत केन्द्रको लाइनमा
केन्द्रीय प्रशारण लाइन समेत थप गर्नुपर्ने भएकोले तत्काल मर्मतसम्भार
गर्नु पर्ने भएको छ । जिर्ण विद्युतगृह मर्मत गर्न करिब एक करोड ६० लाख
रुपैंयाँ खर्च हुने इन्जिनियर साहले बताए । उनले मर्मतसम्भारको निम्ति
विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा रकम माग गरिसकेको बताए  छन्
।                     


केन्द्रीय विद्युत प्रशारण लाइनसित जोडदा स्थानिय लाइन पुनःसंरचना
गर्नुपर्ने अवस्था छ । भोजपुर बजार लगायत आसपासमा रहेका विद्युत पोलहरू
खिया लागेर ढल्ने खतरामा छन् । विद्युत गृहका पूराना उपकरणहरू खिया लागेर
काम नलाग्ने भएको छ । उपभोक्ताको घर घरमा राखिएका मिटर बक्सहरु थोत्रा
भइसकेकाले विद्युत प्राधिकरणको लोगोसहितको नयाँ मिटरबक्स वितरण गर्नु पर्ने
भएको छ । विद्युत प्राधिकरणले धनकुटाको हिलेस्टेसनबाट ३३ किलोभोल्ट
प्रशारण लाइन भोजपुरमा दसैंअघि नै जडान गर्ने तयारीमा रहेको जनाएको छ ।
भोजपुरस्थित निर्माणाधिन विद्युत सवस्टेसनगृहको उपकरण हिले-भोजपुर सडक
अबरुद्ध भएकोले ढुवानी हुन सकेको छैन । सैनिक हेलिकप्टरबाट विद्युत
सामाग्री ढुवानी गर्न विद्युत प्राधिकरणले १२ लाख रुपैंयाँ जम्मा गरिसकेको
भएपनि खराब मौसमका कारण ढुवानीमा अवरोध पुगेको छ । विद्युत सामाग्री ढुवानी
भएलगत्तै भोजपुर सदरमुकाबासीलाई विद्युत लाइन वितरण गर्ने प्राधिकरणको
फिल्ड कार्यालयले जनाएको छ ।

SOURCE: http://www.ekantipur.com/np/2067/6/18/full-news/318725/

Read Full Discussion Thread for this article