Posted by: BKMailo September 29, 2010
Bhojpur
Login in to Rate this Post:     0       ?        

भोजपुरमा उपभोग्य सामाग्रीको अभाव

भोजपुर, आश्विन १३ -
दशैं नजिकिंदै आएको बेला भोजपुरमा उपभोग्य सामाग्री अभाव भएको छ ।
बर्षायाममा बिग्रिएको सडक मर्मतसम्भार नभएपछि यातायात सेवा संचालन नहुँदा
ढुवानी नभएपछि उपभोग्य वस्तुको अभाव भएको हो ।


भोजपुर सदरमुकामस्थित व्यापारीका अनुसार चिनी, खाद्यान्न, नुन, तेल,
मटितेल, दाल, चामल, थुक्पा, चाउचाउ, बिस्कुट, चिउरा लगायत बिभिन्न उपभोग्य
वस्तुहरुको अभाव हुन थालेको छ । यातायात नचलेपछि धनकुटाको लेगुवादेखि
भोजपुरका लागि सामान ढुवानीमा कठिनाई भएको छ ।


बर्षायाममा अत्याधिक बर्षा र बाढीपहिरोको कारण अबरुद्ध हिले-भोजपुर
राजमार्ग सडक बिभागले मर्मतसम्भार नगरेपछि यातायात सेवा बन्द छ । धनकुटा र
भोजपुरको सिमावर्ती अरुण नदीमा पानीको बहाव नघटेपछि सवारी आवागमनको लागि
अस्थायी रुपमा संचालित फेरी समेत बन्द छ । बर्षायाममा अत्याधिक पानी परेपछि
बाढी र पहिरोले क्षती पुर्‍याएपछि लेगुवादेखि भोजपुर हुँदै खोटाङ सदरमुकाम
दिक्तेलसम्म यातायात सेवा अबरुद्ध छ । सडक बिग्रिएपछि ढुवानी तथा
यात्रुबाहक सवारी चलेका छैनन् ।


मालबाहक सवारी नआएपछि भोजपुरमा उपभोग्य वस्तुको अभाव हुन थालेको भोजपुर
उद्योग बाणिज्य संघले जनाएको छ । भोजपुर सदरमुकामस्थित व्यापारीले तीन
महिनादेखि सामान ढुवानी गर्न पाएका छैनन् । एक साताभित्र यातायात संचालन
नभए भोजपुर सदरमुकामलगायत आसपासको बासिन्दालाई हाहाकार हुने उद्योग वाणिज्य
संघका उपाध्यक्ष डम्बर श्रेष्ठले बताए ।


ढुवानीका लागि संचालित ठूला मालबाहक ट्रकहरु नचलेपछि कतिपयले
ट्रयाक्टरद्वारा सामान ढुवानी गर्दै आएका छन् । तर ट्रयाक्टरलाई समेत
लेगुवादेखि भोजपुर आइपुग्न १० देखि १५ दिनसम्म लाग्ने गरेको व्यापारी शिव
श्रेष्ठले बताए । ट्रयाक्टरबाट जोखिमपूर्ण सडकमा सामान ढुवानी गरेवापत
ट्रयाक्टर व्यावसायीले चर्को भाडा अशुल्ने गरेका छन् । कपडा व्यापारीले
ट्रयाक्टरलाई प्रतिकेजी २२ रुपैंयाँका दरले भाडा दिएपछि दुई सातामा सामान
ल्याइ पुर्‍याउने गरेका छन् । सुख्खा मौसममा ढुवानी दर प्रतिकेजी ४
रुपैंयाँ छ । उपभोग्य सामाग्रीमा महङ्गो भाडा तिर्दा उपभोक्ता मारमा पर्ने
भएकोले सडक मर्मतसम्भार गरेपछि मात्र सामान ढुवानी गर्ने व्यापारी
श्रेष्ठले बताए ।


कच्ची सडकमा ट्रयाक्टर चलाउँदा ट्रयाक्टरको चक्काले सडक भासिने, खाल्डो बनाउने र बिग्रने गरेको छ ।


जरायोटार, प्याउली, तिवारीभन्ज्याङ, श्यामसिला, भैंसिपंखालगायत बिभिन्न
ठाउँमा सडक बिग्रिएको छ । सडक बिभागले दशैंअघि यातायात खुलाउनका लागि सडक
मर्मतसम्भार गर्ने आश्वासन दिएपनि हालसम्म काम शुरु नगरेपछि दशैंका लागि
व्यापारीले कुनै पनि सामाग्री ढुवानी गर्न नसक्ने जनाएका छन् । व्यापारीले
दशैंअघि घर पेन्टिङ र  लिपपोत गर्ने चुना, इनामेललगायत रङ्गका सामाग्री
ल्याइसकेका छैनन् ।


इनामेल लगायत रङ्ग पेन्टीङ सामाग्री नपाएपछि भोजपुर बजारबासीले यसपाली घर
रङ्गाएका छैनन् ।  भात पकाउने ग्यास पुरै अभाव रहेको ग्यास बिक्रेता बुद्ध
धातु सप्लायर्सका बद्री श्रेष्ठले बताए ।


गतबर्ष यातायात व्यावसायी आफैले १५ लाख रुपैंयाँ संकलन गरेर सडक
मर्मतसम्भार गरेर दशैंका लागि सवारी संचालन गरेका थिए । यसपाली भोजपुर
जिविस र सडक बिभागले दशैंअघि नै खुलाइदिने आश्वासन दिएपनि हालसम्म चासो
नदिएको उद्योग वाणिज्य संघले जनाएको छ ।


धनकुटास्थित सडक बिभागका इन्जिनियर कमलदेव साहले तत्काल जनशक्ति परिचालन
गर्ने आश्वासन दिएपनि हेभिइक्विप्मेन्ट डोजरले मात्रै सडक मर्मत चाँडो हुने
यातायात व्यावसायीले बताएका छन् । सडक बिभागले बर्षा नरोकिएकोले सडक मर्मत
गर्न कठिनाई भएको जनाएको छ । लेगुवादेखि भोजपुरसम्म ६६ किलोमिटर सडक
बिभागले र भोजपुर जिविसले सदरमुकामदेखि चिहानडाँडासम्म ४२ किलोमिटर सडक
मर्मतसम्भार गर्नुपर्नेछ । सडक मर्मत गर्न रकम अभाव रहेको सडक बिभागका
इन्जिनियर कमलदेव साहले बताए । कर्मचारीको तलव सापटी लिएर भएपनि सडक
मर्मतको लागि यथाशिग्र जनशक्ति परिचालन गर्ने इन्जिनियर साहले बताए ।

Source: http://www.ekantipur.com/np/2067/6/13/full-news/318508/

Read Full Discussion Thread for this article