Posted by: Deep August 17, 2010
थुक्क!
Login in to Rate this Post:     3       ?         Liked by
थुक्क!

 

 

 

पानी आउनु अघि हावा दरो गडगडाएर आउँथ्यो अनि मिटर फिरीरी घुमाउँथ्यो (ए! बन्द गर बन्द गर-- पैसा भुसुक्कै चढ्ने भो अब भनेर मान्छे कराउँथे), हावा जस्तै पानी पनि दरो आउँथ्यो र त घरको धारामा आएको पानी आफ्नै सुरमा चार तला माथिको ट्याङ्कीमा पुग्थ्यो। थोत्रो ट्रान्समिटर पडकिएर गयो भने गयो नभए बिजुली हतपत जाँदैनथ्यो। ख्याक, भुत, मसान, किचकन्नी, बाईपंखे घोडा जस्ता थरी थरीका कहानीमा पोख्त हाँडीगाउले बिद्वानहरुले समेत १६ घण्टे लोडसेडिङ कल्पना गर्न सकेका थिएनन। राती हिन्दा चोर, डाँका, बिच्किएका कामरेड आदि ईत्यादीका भन्दा  भुत प्रेत पिशाचको डर उग्र हुन्थ्यो।  हाँडीगाँउबाट चाबेल, धुम्बाराही, सिफल तिर हेर्दा घर भन्दा धेरै फाँट देखिन्थे। धोबीखोलामा पनि पानी बग्थ्यो। बजार बन्द त हुन्थ्यो तर रात भरी, बिहान खुल्थ्यो। त्यस्तै त्यस्तै बिचित्रका कुराहरु हुने त्यो बेला पत्याईनसक्नुको थ्यो।

 

 कैलेको कुरो गर्या रे? मेरा काकाले एस् एल् सी देको बेलाको कुरा गर्या नी।

 

जाँच दिए देखि काका एस् एल् सीको कुरा गर्न रुचाउँदैन थिए। झर्किन्थे, फन्किन्थे, तर्किन्थे एस् एल सी भन्यो की। अलि उपल्लो दर्जाका नातेदार कसैले "कस्तो भो जाँच?" भनेर सोधे भने राम्रो भो भन्थे। त्यो भन्दा धेरै भन्न खोज्दैन थिए।

 

कैले गहनाखोज्ने पोखरी तिर, कैले सत्तेनारन थान तिर, साँझ साँझ तिर मालीगाउँ नभए धुम्बाराही तिर भेटीन्थे काका। गल्ली भित्रको एक दुईटा घरबाट निस्किदा धेरै चोटी धेरै तिर पल्याक पुलुक हेरेर मात्रै निस्किन्थे। कैले बेस्सरी ल्वाङ्ग चपाउँदै घर छिर्थे, कैले चिया पत्ती चपाउँदै आउँथे। उनी र उन्का साथीहरुका अगाडी सुन्दरीहरु कि त आत्तिदै हिनेका देखिन्थे, कि सराप्दै। नाकका पोराबाट मुस्लो धुवाँ छोड्दै ईँटाभट्टाले हरीसिद्धी बिगार्यो भन्थे। उनको एउटा टोली थियो, त्यो टोलीको उनी उपसभापती थिए क्यारे। सभापती उनी भन्दा उग्र थिए। छोटकरीमा मेरा काका झन्नै झन्नै मेरा आदर्श थिए भन्दा हुन्छ।

 

एस् एल सीको रिजल्ट हुने बेला त भाको थिएन, चर्चा भने बेला बेला सुरु हुन थालेको थियो। हजुरबालाई छोराले फर्स्ट डिभिजन ल्याउनेमा कुनै शंका थिएन। उनले सबैलाई त्यही भन्थे। उनले छोरालाई रातब्यान भेटदा कहाँ थिईस भनेर सोध्ने गर्थे, काकाको सधै एउटै जस्तो उत्तर हुन्थ्यो, "पढेर आको--घराँ बाताबरण मिल्दैन"। अब त्यस्तो बाताबरण मिलाएर पढ्ने छोरोले कता कता बोर्डै ल्याउला नभएनी फर्स्ट डिभिजन त चुत्थोमा भन्ने बिश्वास हजुरबामा हुने नै भो।

 

के कस्तो जोग मिलेर हो हजुरबा र काकाको ग्रह असाध्यै मिल्तीमा थिए। काकाको बिरुद्ध सुनीएका हरेक घरेलु उजुरीहरु हजुरबा "घरमै दुश्मन् छन अनि बाहीरका लाई के भन्नु भन्थे"। बाहीरका कसैले "छोरो बदमास छ" भन्यो भने त्यो भन्नेको लहरो तानेर त्यता को कोले के के बदमासी गरेका थिए त्यो सुनाउँथे। "अर्काले राम्रो गरेको त देखिनसहने ए!" भन्दै कुरो सकाउँथे हजुरबा। कैले कैले हाम्रा बाले काकाको चालचलनमा टीप्पणी गरे भने "जवानीमा मान्छे अलि अलि त बहकिईहाल्छ नी -- तैले आफुलाई बिर्सीईस्?" भनेर सम्झाउँथे। त्यसपछी बा ले के सम्झिन्थे कुन्नी, धेरै बोल्दैनथिए।

 

कौसीमा एकदिन हजुरामाले कुरो झिकिन, "बाबु एस एल सीको रिजल्ट आउने बेला भो --कस्तो गर्या छस जाँच----" भात खाने ठिक्क बेला भैनसक्या भए त्यस्को जबाफ दिनु सट्टा उनी एकातिर लागिसकेका हुन्थे तर भात छोडेर जान सकेनन र भने "१०० जनामा १२/१५ जना पास हुन्छन एस एल सीमा। ख्याल ख्याल हो?"

 

हजुरमाले भनीन "ख्याल ख्याल त कस्ले भन्या छ र? तैले कस्तो गर्या छस भन्या नी --अरुहरु त पास हुन कि फेल -- त्यै १२/१५ जनामा पर्छस कि पर्दैनस तँ? त्यो भन्न"

 

"मैले पर्छु पर्दिन भनेर हुन्छ? कापी कहाँ पुगी रछ, कुन डाँडाको कुन खैराँतेले जाँच्ने हो --मैले मात्रै राम्रो लेखेर हुन्छ?"

 

यत्तिकैमा भात पस्कीसकेको खबर आयो। भान्छा तिर लागे।

 

भात खाँदै थिए, हाम्री आमाले नी त्यै राग छेडीन "अनि बाबु, रिजल्ट त हुने बेला भो क्यारे --"

 

काकाले बिचैमा भने "मैले आमालाई भनीसकें, एउटै कुरो कति चोटी भन्नु"।

 

धमाधम भात खान थाले -- किन भ्याइ नभ्याई गर्या भनेर आमाले सोध्या "हतार छ" भने। अनि टाकटुक पनि नसकी छडकिए।

 

एक दुई दिन पछी चिया पिउँदै गर्दा हाम्रा बाले सोधे काकालाई, "कलेज कहाँ ज्वाईन गर्ने बिचार गर्या छस, अब रिजल्ट पनि हुने बेला भो--कति जति पर्सेन्टेज ल्याउने होस --"

 

घोरीएर जम्मै बाफ स्वाट्टै पार्न ला हुन की झै गरी उनले भने "परसेन्टेज त राम्रो आउनु पर्ने हो --तर कापी पो कुन चै ट्वाँटीस्ट गँजडी कहाँ पुग्या छ --"
Read Full Discussion Thread for this article