ईतिहासकारहरु कसरी आफ्नो सोच र चाहना अनुसार मनगढन्त काहानीहरु मिसाएर वास्तविक ईतिहासलाई बंगाउन सक्छन् भन्ने कुराको एउटा राम्रो उदाहरण हुनसक्छ माथि प्रस्तुत नेपालको ईतिहास। जब ईतिहासलाई एक पक्षिय रुपमा बढाई चढाई प्रस्तुत गरिन्छ त्यसको विश्वसनियतामा स्वाभाबिक रुपमा शंका पैदा हुन्छ। माथिको ईतिहास सर्सर्ती पढ्दा लाग्छ यी ईतिहासकार जसरी पनि काठमाडौंका तत्कालिन मल्ल राजाहरुलाई राम्रो देखाएर गोर्खाका शाह राजाहरुलाई कुनियत भएका राजाहरुको रुपमा प्रस्तुत गर्न चाहन्छन्। स्कूल पढ्दाका दिनहरुमा मैले जुन ईतिहास पढे त्यो पढ्दा लाग्थ्यो पृथ्वीनारायण शाह जस्तो असल, सहासी र जनता प्रेमी राजा नेपाली ईतिहासमा अरु कोही छैनन्। तर जब मैले स्कूल र कलेज बाहिरका किताबहरु पनि पढ्न थाले अनि मैले थाहा पाए कि उनले धेरै नराम्रो काम पनि गरेका रहेछन् र हामीलाई स्कूलमा पढाईएको ईतिहास अपूरो रहेछ। यद्दपी नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले खेलेको भूमिकाको म सदैव प्रशंसा गर्छु र पक्का पनि उनीबाट नराम्रा भन्दा राम्रा काम बढी भएका छन् भन्ने विश्वास गर्छु।
जबसम्म एउटा ईतिहासकारले कुनै पनि घटना र ब्यक्तिको बारेमा लेख्दा तटस्थ भएर भएका राम्रा र नराम्रा सबै कुरा खुलाएर लेख्दैन कि त त्यो भजन हुन्छ कि त मिथ्या निन्दा हुन्छ। जसरी यी ईतिहासकारले कप्तान किन्लोकको नेत्रित्वमा भएको युद्द सब नाटक हो भनेका छन् त्यो पढ्दा ईतिहास खोतल्न सक्ने उनको क्षमताप्रति शंका पैदा हुन्छ कम से काम अङ्रेजहरुलाई त्यस्तो नाटक गर्नु पर्ने कुराको आवश्यकता मैले देखेको छैन। अर्को भुल्न नहुने कुरा मल्ल राज्यको पतनको कारण पृथ्वीनारायण शाहको चातुर्यता र मल्ल राजाहरुको सोझोपना मात्र थिएन, मल्ल राजाहरुको आपसमा रहेको खिचातानी र एक अर्कामा कायम असहयोग पनि प्रमुख थियो। तर ईतिहासकारले यो बिषयमा केही पनि बोलेका छैनन्। नरभूपाल शाहको माटोको सिँहासन भन्ने कुरा पनि कता कता नपच्दो छ, कम से काम काठको भनेको भए पनि एउटा कुरा हुन्थ्यो।
मलाई कहिले काँही अचम्म लाग्छ कसरी एउटै घटनालाई विभिन्न ईतिहासकारहरु फरक फरक ईतिहासको रुपमा प्रस्तुत गर्छन्, तर रमाइलो कुरा के भने उनीहरु सबैसँग आफ्नो ईतिहासलाई प्रमाणित गर्ने प्रमाण पनि हुन्छ।