Posted by: crazy_love May 21, 2010
बेहुली।
Login in to Rate this Post:     2       ?         Liked by

भाग-१


घामको किरणहरु मधुरो हुँदै गैरहेको थियो, तर त्यो सानो काठको झ्याल अझै अध्याँरो कोठामा केहि प्रकाश छर्ने कोशिशमा थियो। कोठामा केहि सामान थिएन, केहि थोत्रो गुन्द्रिहरुमा लगभग ५-६ छायाँहरु खुसुरफुसुर कुरा गर्थे। उनिहरु बेला बेलामा उहि सानो काठको झ्यालतिर नजर पुर्‍याउथेँ। साना नानीहरु बयस्कहरुको कुरा ध्यान दिएर सुन्दै थिए, तर उनिहरुलाइ बोल्ने अनुमति दिइएको थिएन। इस्माइल आफ्नो लामो दारीलाइ सहलाउदैँ बेला बेलामा खुइय सुस्केरा हाल्थे। अलिक पर बसेकि उसकी जहान जारा लोग्नेको सुस्केरा सङै आफ्नो आँखाको आँसु पुच्छ्दै बस्थिन्। शमा सबै भन्दा ठुली छोरी थी, उ भाइ बहिनीहरुलाइ भुलाउने कोशिश गर्दै थी। शमा ११, शायरा ९, शमिना ७ र सबै भन्दा कान्छो भाइ इकबाल भर्खर ५ बर्षको थियो। शमा केहि बुझिरहेकी थिइन तर कुनै ठुलो समस्या आइपुगेको कुरा आमा र बुबाको अनुहारमा देखिएको भावहरु बाट प्रस्टै देख्थी। भाइ बहिनीहरु उसलाइ सोधिरहन्थे, तर उ केहि अड्कल काट्न सकिरहेकी थिइन। अस्तिको हप्ता मात्र उनिहरु पुरानो गाँउबाट नयाँ बस्तीमा आएका थिए। एक हप्तामा उनिहरुको पकाउने भाँडाकुडा पनि जोर्न सकिएको थिएन, फेरि अरु कुनै टाढा बस्तीमा सर्नु पर्ने बाध्यता आइ परेको थियो।


 


बिहान बजारबाट इस्माइलले किनेर ल्याएको केहि सुख्खा रोटीहरु पानिसङै निल्दै शायरा, शमिना र इकबाल उँघ्न थाले, शमा सोच्न थाली। आमा र बुबाले उसलाइ केहि नभने पनि उसले आउने दिनहरु जटिल छन् भन्ने कुरा अनुमान गरी। यसपालीको अफिम खेती पुलिसहरुले नाश नगरेको भए, उनिहरु पुरानै गाँउमा आफ्ना साथीहरुसङ खेलिरहेका हुन्थे। अफिमको फूल फुलेर पनि चोप निक्लने बेला भैसकेको थियो। त्यो चोप सबै जम्मा गरेर बेचेपछि इसमाइलले केहि पैसा जोर्ने योजना थियो। तर लगभग अफिममा सारा पसिना र मेहनत लगाएपछि कुनचाहि दुश्मनले सरकारलाइ उजुरी दिएको थियो। त्यसको लगत्तै आधारातमा दुइ जीप सिपाहीहरु आएर सारा अफिम नष्ट गरिदियो। इसमाइललाइ तिन रात थुन्यो तर उ बाट एक पैसा नि नझर्ने देखेपछि बेसरी पिटेर अर्ध बेहोश भएपछि मर्ला भन्ने डरले कतै अनकन्टार ठाँउमा फालेका थिए। इस्माइल होश खुलेपछि आफै घिस्रिदै लत्रिदै आफ्नो घर फर्क्यो र भोलिपल्टै बिहानै हुनु अगाबै सबै परिवारलाइ लिएर अर्को कुनै अन्जान बस्तीतिर हिँड्यो।


 


"अब त भाग्न सकिएला जस्तो छैन!" इसमाइलको कुरा सुनेर शमाको मनको शंका साँचो हुन लाग्यो। उसले कान थापेर सुनी, उसकी आमा जारा बिस्तारै सुँक्क सुँक्क गरीरहेकी थी।


 


"नसीम र जाबेद यही बस्तीमा आइपुगेका छन्। उनिहरुले हामीलाइ नैँ खोज्दैछन्। बिहानै मैले तिनीहरुलाइ चिया दोकानमा देखेँ। उनिहरुले मलाइ देखे कि देखेनन् थाहा भएन। तर तिनीहरु कुनै पनि बेला यहा आउन सक्छन्। उनिहरु कुकुर भन्दा नि तेज छन्, सुँघ्दै सुँघ्दै भोली बिहानै यही आइपुग्न बेर छैन। के गर्ने होला??" इसमाइल चिन्तित थियो।


 


"तिनीहरुले त्यसै छोड्दैनन्! हजारौँ रुपैयाको मामला छ। अरु जे जस्तो दुख भोग्नु परेनि यी बच्चाहरु निर्दोष छन्, यिनिहरुको गल्ती भनेको गरीब परिवारमा जन्मनु हो। यीनीहरुलाइ लिएर तिमी यहाँबाट भाग। म उनिहरुसङ कुरा गरेर आँउछु, बाँचिएछ भने तिमीहरुलाइ जरुर भेट्छु, मरे भने अल्लाहको नाममा मेरो आत्माको शान्तिको कामना गर्नु।" बुबाको त्यस्तो निराश कुरा सुनेर शमा डराइ।


 


"त्यसरी हिम्मत हार्नु हुदैन, मरे नि बाँचे नि हामी तपाइसङै हुन्छौ!। म तपाइलाइ एक्लै यहाँ छोड्न  सक्दिन। म एक्ली आइमाइ यीनिहरुलाइ लिएर कता जाँउ, के गरौँ?"" शमाले आमाको स्वर सुनी। आमाको कुरा सही लाग्यो उसलाइ। बाबालाइ एक्लै छोडेर कहिँ जान सकिन्न। बाबा उनिहरुको आकाश, जता गए पनि उनिहरुलाइ आकाशको ओत चाहिन्छ।


 


"त्यत्रो पैसाको रिण लिएका छौँ, अफिम खेतिको लागि। अब त मरे पनि छोड्दैनन् तिनिहरुले, नर्क मै पनि पछ्याउन सक्छन्। तिर्नु त पर्ने हो, तर एक पैसा कमाउने बाटो छैन। उनिहरु आफ्नो पैसा उसुल नगरी छोड्दैनन्। मलाइ कमारो बनाए पनि केहि छैन, तर यी बच्चाहरुले अरु दुख पाउनु हुदैन। जारा, तिमी मैले भनेको मान। शमा बुझ्ने भैसकी, तिमीलाइ काममा मद्दत गर्छे, र भाइ बहिनी पनि राम्ररी हेरचाह गर्छे। तिमीहरु जाउ कतै टाढा। जहाँ यी कुकुरहरु पिछा गर्न नसकुन।"


 


इस्माइल जारालाइ बराबर उही कुरा सुनाइरहेको थियो। शमालाइ बुबा आमाको कुरामा केहि भन्न मन लागेको थियो। तर सानो मान्छेले ठुलो मान्छेको कुरामा केहि बोल्नु हुँदैन जस्तो लाग्यो उसलाइ। तर पनि बाबालाइ छोडेर आमासङ जाने कुरा उसलाइ पनि चित्त बुझेन। धेरै बेर सोचेपछि उसले आफ्नो बाबासङ सोधी।


 


"बाबा, हामी सबै यहाँ भन्दा टाढा कुनै गाँउमा जान सक्दैनौ? जहाँ नसीम र जाबेदले हामीलाइ खोज्न सक्दैन। आज एक रात त बितोस्, भोलि झिसमिसेमा हामी यो ठाँउ छोडौला नि। हुन्न र बाबा?" शमाले डराउदै आफ्नो मनको कुरा भनी इसमाइललाइ।


 


"हामी कहिँ लुक्न सक्दैनौ शमा! उनिहरुले हामीलाइ जमिनमुनि पनि भेट्टाउछन्। गरीबहरुको रगत पिएर बाँच्छन र हामीजस्तो गरीबहरुलाइ सकेसम्म निचोर्छन् उनिहरु। छोरी, तिमी आमा र भाइ बहिनीहरुलाइ लिएर जाउ।" इसमाइल शमालाइ पनि त्यही कुरा बुझाउन चाहन्थ्यो।


 


बाबाको कुरा सुनेर शमा एकछिन स्तब्ध भइ। गरीबी उनिहरुको लाचारी हो, तर बाबाबिनाको जीवन झन ठुलो अभाव हो सहाराको। बाबा उनिहरुको जिबनको हिम्मत, आशा, छाहारी, उर्जा हो। बाबा बिना उनिहरुको जिवन अधुरो छ, अपुरो हुन्छ।


 


ढोकाबाहिर केहि पदचापहरुको आवाज आयो, बाबा, आमा र छोरी तिनै जनाको स्वास फुल्न थाल्यो, मुटु धड्किन थाल्यो। उनिहरुको मुखबाट केहि शब्द निस्किएन। तिन जना साना नानीहरु निद्रामा मस्त सपना देखिएरहेका थिए। नभन्दै कसैले बाहिरबाट ढोकामा "ढक, ढक" गर्न थाल्यो। इसमाइल, जारा र शमा चुपचाप केहि नसुने झैं गरी बसे।


 


"इसमाइल! ढोका खोल।" बाहिर बाट एउटा रुखो धोद्रो आवाज आयो।


 


जारा डरले थरथर काम्न थाली, शमाले जाराको हात दरो गरेर समाइ, र कानैमा " आमा नरुनु है!" भनेर सम्झाइ रही।


 


"इसमाइल! हामीलाइ थाहा छ तिमी यही लुकेको छौ, ढोका खोल।" बाहिरबाट फेरि उही आवाज आयो।


 


जाराको हिक्काहरु छुट्न थाले, शमा आमालाइ अङालेर आफ्नो आँशु पुछ्न थाली। इसमाइल ढोकातिर एक्नासले हेरिरह्यो।


 


 


क्रमश:


 


 

Read Full Discussion Thread for this article