Posted by: BKMailo May 9, 2010
BHOJPUR
Login in to Rate this Post:     0       ?        

भोजपुर एक महिनादेखि अखबारबिहीन

भोजपुर , वैशाख २६ -
काठमाडौं र बिराटनगरबाट नियमित हवाई उडान नहुँदा एक महिनादेखि भोजपुर
अखबारबिहीन भएको छ । उसै त ढिलो गरी आउने पत्रपत्रिका लामो समय नआएपछि
हजारौं पाठकहरु अखबारबाट बञ्चित भएका छन् ।


बषौंदेखि एक छत्र उडान भर्दै आएको नेपाल वायु सेवा निगमले नियमित सेवा दिन
नसक्दा सर्बसाधारणले सास्ती खेप्नु परेको छ । यातायात सेवा नियमित
भइनसकेको अवस्थामा अखबार ल्याउने हवाईमार्ग एक मात्र माध्यम हो । भोजपुरमा
कान्तिपुर, गोरखापत्र, राजधानी, समाचारपत्र, अन्नपूर्ण, नागरिक, राइजिङ
नेपाल, द काठमाण्डु पोष्ट, द हिमालयन, नयाँपत्रिका दैनिक, साप्ताहिक
कान्तिपुर, जनआस्था, जनादेश, नेपाल म्यागेजिन, हिमाल पाक्षिक, शिक्षक
मासिक, नेपाली टाइम्स, युवामञ्च, वेभ लगायत बिभिन्न पत्रपत्रिका आउने गरेका
छन् । नेपाल वायु सेवा निगमका कर्मचारीले जहाजमा अखबार नियमित लोड
नगरिदिंदा एकै दिन तौल धेरै हुनाले हवाइमार्गबाट ढुवानीमा कठिनाई भएको छ
।   


पत्रपत्रिकाको ग्राहक संख्या कम रहेपनि पाठकको संख्या हजारौं रहेको
बिक्रेता पार्वती श्रेष्ठले बताइन् । उनले सबैको रुचि कान्तिपुर, कान्तिपुर
साप्ताहिक र नेपाल पाक्षिकको माग बढी रहेकोले धान्न गाह्रो भइरहेको बताइन्
। समयमा ढुवानी नहुने भएकोले मागअनुसार अखबार बिक्री गर्न नसकेको अर्का
बिक्रेता राजेन्द्र प्रधानले बताए । 'पाठकसंख्या बढदैछ, पत्रिका ल्याउनै
कठीन छ,' उनले कान्तिपुरसित भने -'यातायातको असुबिधाले अखबार ढुवानी गर्न
सकिएको छैन ।' यो महिना तीन दिनको मात्र पत्रिका ढुवानी भएको छ ।
हवाइमार्गबाट पत्रपत्रिका ढुवानी गर्न महङ्गो पर्ने गरेको छ । जहाजमा
कम्पनीले व्यहोरे पनि टक्सार बिमानस्थलदेखि भोजपुरको मुख्य बजारसम्म
आइपुग्दा भरियालाई प्रतिकिलो सात रुपैंयाँका दरले ज्याला दिनुपर्ने भएकोले
महङ्गो हुने गरेको हो ।


भोजपुरमा बिद्युतको असुबिधाले टेलिभिजन, इमेल, इन्टरनेटको पहुँच राम्रो
छैन । छिटो संचारको निम्ति बिद्युतीय माध्यमको रुपमा रेडियो नेपाल, एफएम
रेडियो प्रभावकारी भएपनि बिश्लेषणात्मक लेख, रचना, समाचारको निम्ति
सर्बसाधारणले अखबार नै खोज्ने गरेका छन् । स्थानीय पत्रपत्रिका नियमित
प्रकाशन नभएकोले राष्ट्रिय अखबार नै पर्खिनुपर्ने यहाँको बाध्यता छ । सबै
अखबार नपुगेपनि ठूला आकारका मुख्य अखबारहरु भने भोजपुरमा बिक्रेताहरुले
ल्याउने गरेका छन् ।   


सबै पत्रिकाको ग्राहक बन्न नसक्ने पाठकहरुले सार्बजानिक केन्द्रहरुमा
अध्यायन गर्दै आएका छन् । जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयमा
सबै पत्रपत्रिका नपाइने भएकोले नेपाल पत्रकार महासंघद्वारा संचालित सूचना
तथा संचार केन्द्रमा पाठकहरुको घुईंचो लाग्ने गरेको छ । केन्द्रमा सबै
किसिमको अखबार पत्रपत्रिका अध्ययन गर्न सकिन्छ । नियमित अखबार नकिन्ने
पाठकहरुले चाहेको दिन पत्रिका पसलबाट किन्न पाउदैनन् । त्यस्ता पाठकहरु
हरेक दिन संचार केन्द्रमा बिहान ७ देखि बेलुकी ६ बजेसम्म पत्रपत्रिका
अध्यायन गर्न आउने गरेको महासंघले जनाएको छ । पत्रपत्रिका ढुवानीमा वायु
सेवा निगमले पाठकको निम्ति सहज बनाइदिनुपर्ने पत्रिका बिक्रेताहरुले माग
गरेका छन् ।

Source: http://www.ekantipur.com/np/2067/1/26/full-news/311330/

Read Full Discussion Thread for this article