Posted by: hit.the.hot May 9, 2010
'बुद्धिजीवीलाई भिजिलान्ते भन्ने दाहालको अभिव्यक्ति अमर्यादित'
Login in to Rate this Post:     0       ?        

'बुद्धिजीवीलाई भिजिलान्ते भन्ने दाहालको अभिव्यक्ति अमर्यादित'

कान्तिपुर संवाददाता

काठमाडौं, वैशाख २६ - विभिन्न पेशाकर्मी र बुद्धिजीवीले आफूहरुलाई भिजितान्तेको लान्छना लगाएर घेराबन्दीमा पार्ने भनी माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट व्यक्त अभिव्यक्ति अमर्यादित भएको बताएका छन् ।

कुलचन्द्र गौतम, प्रेमबहादुर खड्का, केदारनरसिंह केसी, शम्भु थापालगायतका २७ जना पेशाकर्मी, बुद्धिजीवीले आइतबार एक विज्ञप्ती जारी गरी नेपाली मतदाता र तमाम नागरिकको सम्मानमा आँच पर्ने किसिमले युद्ध र धम्कीको भाषा नबोल्न र नेताको गरिमा कायम राखी सार्वजनिक रुपमा क्षमा याचना गर्न आह्वानसमेत गरेका छन् । माओवादी अध्यक्ष दाहालले शनिबार राजधानीको खुलामन्चमा आयोजित एक सभामा सहरी क्षेत्रमा बस्ने बुद्धिजीवीलाई युद्ध चाहने भिजिलान्तेको संज्ञा दिदै सबैको हिसाब किताब राखी घेराबन्दीमार्फत कारवाही गरिने बताएका थिए ।

'शान्ति, संविधान र सहमतिका लागि राजनीतिक दल र सरकारलाई दबाव दिन पेशागत एवम् बौद्धिक संस्थाको संयोजनमा आयोजित शान्ति भेलामा स्वस्र्फुत रुपमा सडकमा उर्लिएको जनसागरप्रति अनावश्यक लान्छना लगाउदै सहरी क्षेत्रमा बसोबास गर्ने सचेत आम जनता, बुद्धिजीवी तथा व्यवसायीप्रति माओवादी अध्यक्षबाट अशोभनीय विषबमन हुनुले शान्ति, संविधान, सहमति र लोकतन्त्रको मार्गमा झन् कटुता र उत्तेजना बढाउने काम गरेको छ,' जारी विज्ञप्तीमा छ ।

राष्ट्रसंघका पूर्व उपमहासचिव तथा नागरिक अगुवा कुलचन्द्र गौतमले यी असल र यी खराब भनी नेपाली जनतालाई विभाजन गर्नु राम्रो नभएको बताए । 'दक्षिण अफ्रिका नेता नेलशन मन्डेलाले काला र गोरा नभनी जनतालाई एकता सुत्रमा बाँधे र सफल भए । त्यसैको छिमेकी जिम्बाबेका नेता रोबर्ट मुगावेले रंगभेदको नीति अपनाएर जनतामा विभाजन ल्याए । एकताको सन्देश दिने नेता मात्र विश्व इतिहासमा सधैभरी सम्मानित छन्,' विश्व उदाहरण प्रस्तुत गर्दै उनले भने, 'हामीलाई प्रचण्डजी प्रगतिशील, उच्च नेताजस्तो लागेको थियो । तर उहा त तुच्छ नेता हुनुहुदोरहेछ ।' आजको विश्वमा प्रगतिका लागि सबैभन्दा आवश्यक ज्ञान भएका मानिसलाई सत्रु भन्नु झनै नराम्रो भएको उनले बताए ।

बरिष्ठ अभिवक्ता हरिहर दाहालले बुद्धिजीविका नाममा सरकारबाट पालित, पोषित गुण्डा भनेकोमा आफूलाई चित्त दुखेको बताए । 'शान्तिका निम्ति कामना गरिएको विषयलाई सकारात्मक रुपमा लिनुपथ्र्यो । यसले दाहालजीको नै मान बढ्थ्यो,' उनले भने । डाक्टर केदारनरसिंह केसीले राष्ट्रियस्तरको जिम्मेवार नेताबाट त्यस्तो अमर्यादित अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण बताए । अभिव्यक्तिले आफूहरुलाई ठूलो चोट पुर्‍याएको जानकारी दिदै उनले भने, 'माओवादीलाई शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार भएझै हामीलाई पनि शान्तिपूर्ण उपस्थिति हुने अधिकार छ ।'

माओवादी प्रवक्ता दीनानाथ शर्माले भने अध्यक्ष दाहालले पेशाकर्मी, बुद्धिजीवीलाई भिजिलान्ते नभनेको दाबी गरे । 'केही बुद्धिजीवीले विषयबस्तुलाई तोरमरोड गरी अतिरन्जित पार्ने, राजनीतिक पूर्वाग्रह साध्ने काम गरेको प्रति उहाको टिप्पणी थियो,' जारी विज्ञप्तीप्रतिसमेत टिप्पणी गर्दै उनले भने, 'अध्यक्षले कुनै व्यक्ति विशेषलाई किटेर भन्नुभएको थिएन । त्यसो भए सम्बन्धितले आपत्ति जनाउनु स्वाभाविक थियो । केहीको प्रवृत्तिमाथि गरिएको टिप्पणीमा आफूलाई बुद्धिजीवी भन्न चाहनेले समूहमा विज्ञप्ती जारी गरेर चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचालेजस्तो किन गर्नुपर्‍यो ? किन मोर्चाबन्दी गर्नुपर्‍यो ?'

Source: Ekantipur.com


Read Full Discussion Thread for this article