Posted by: chanty399 March 18, 2010
Nepalese Army: A rapist Gang
Login in to Rate this Post:     0       ?        

सिकारी महिलालाई सेनाले मार्‍यो

Font size: Decrease font Enlarge font
image

रक्षामन्त्रीको क्रूर बयान
काठमाडौं

 

 

ठाकुरसिंह थारू, बर्दिया

रक्षामन्त्री विद्यादेवी भण्डारीले बर्दिया राष्ट्रिय निकुन्जभित्र नेपाली सेनाद्वारा मारिएका तीन दलित महिला सिकारी भएको आरोप लगाएकी छिन् ।

कुनै आमसभामा भाषण गर्दा उत्तेजित भएर होइन, संसद्को महिला, बालबालिका र समाजकल्याण समितिले जवाफका लागि बोलाएपछि तयारीका साथ गएकी मन्त्री भण्डारीले मारिएका दलित महिलालाई सिकारी भन्दै उनीहरूमाथि सेनाले गोली चलाएको दाबी गरिन् ।

रक्षामन्त्री भण्डारीका अनुसार(काउलो टिप्न गएका दलित महिला) सिकारीले गोली चलाएपछि आत्मरक्षाका लागि सेनाले गोली चलाएको हो । 'आरक्षभित्र चोरी-सिकारी गरिरहेको समूहबाट पहिलो फायरिङ भएपछि सेनाको जवाफी कारबाहीमा सिकारी महिलाहरूको मृत्यु भएको हो, दुई सिकारी महिलाको तत्कालै मृत्यु भयो, एक सिकारी महिलाको उपचारका क्रममा मृत्यु भयो,' मन्त्री भण्डारीले भनिन् 

घटनाको स्थलगत अध्ययन गरेका मानवअधिकारवादी संस्थाहरूले सेना र वनरक्षकले नियन्त्रणमा लिई हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको अर्को दिन रक्षामन्त्री भण्डारीले 'सिकारी महिला'को हत्या भएको दाबी गरेकी हुन् 

स्थलगत अध्ययनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यपश्चिम क्षेत्रीय कार्यालय र एड्भोकेसी फोरमले दलित महिलाई नियन्त्रणमा लिएर हत्या गरिएको प्रतिवेदन मंगलबार मात्र सार्वजनिक गरेका थिए । स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रतिवेदनमा महिलालाई नियन्त्रणमा लिएको भोलिपल्ट मात्रै हत्या भएको आशंका गरिएको छ 

मन्त्री भण्डारीले भने संसदीय समितिमा घटनास्थलबाट मृतकहरूका हतियार र बन्दोबस्तीका सामान पनि बरामद भएको दाबी गरिन् । सेनाको ४ नम्बर बाहिनीले घटनाका सम्बन्धमा गरेको छानबिनमा त्यही देखिएको उनको जिकिर छ 

गत २६ फागुनमा आरक्षभित्र काउलो टिप्न गएका सुर्खेत हरिहर- २ का अमृता विक, देवीसरा विक र उनकी १२ वर्षीया छोरी चन्द्रकलालाई सेनाले गोली हानी मारेको थियो । श्रीमती देवीसरा, छोरी चन्द्रकला र बुहारी अमृता गुमाएका कृष्ण अहिले पनि सेनाको हिरासतमा छन् । सेनाले नियन्त्रणमा लिएर बलात्कारपछि तीनैजना महिलाको हत्या गरेको आरोप स्थानीय बासिन्दाले लगाइरहेका छन् 

रक्षामन्त्री र सेनाले दोहोरो गोली हानाहानमा महिलाको मृत्यु भएको दाबी गरे पनि घटनास्थलमा १२ वर्षीया बालिकाको पेन्टीसमेत बाहिर भेटिएको थियो । 'गोली हानाहान भएको भए घाउ पो लाग्थ्यो, भित्री वस्त्र चौरमा आयो कसरी ?' स्थानीय बासिन्दाको भनाइ छ 

घटनाको ८ दिनपछि संसदीय समितिमा उपस्थित मन्त्री भण्डारीले भने मृतकहरूको बलात्कार नभएको दाबी गरिन् । 'बलात्कारपछि हत्या गरिएको भन्ने कुरा आएपछि पुनः पोस्टमार्टम गरिएको छ । तर, त्यो रिपोर्टमा पनि बलात्कार भएको देखिएको छैन,' उनले भनिन् । तर, सात दिनपछि पुनः पोस्टमार्टम हुँदा लास कुहिएर गन्हाइसकेकोले बलात्कार भए-नभएको पुष्टि हुन नसकेको जानकारी फरेन्सिक विशेषज्ञको छ । पहिलो पोस्टमार्टम भने सेनाले एक्लै गराएको थियो 

तर, मन्त्री भण्डारीले भने आरक्षभित्र चोरी-सिकारी भइरहेको सूचना आएपछि गस्तीमा गएको सेना र वन सुरक्षाकर्मीको संयुक्त टोलीले सिकारी महिलाहरूलाई फेला पारेको बताइन् । 'सिकारीहरूको समूहबाटै पहिलो फायर खोलिएपछि सेनाले जवाफी फायर गरेको हो,' उनले भनिन् 

सभासद्हरूले भने मन्त्री भण्डारीको भनाइप्रति असहमति जनाउँदै सरकार र सेनाको चर्को आलोचना गरे । मारिएका दलित महिला सिकारी भएको र उनीहरूबाटै पहिलो फायरिङ भएको भन्ने रक्षामन्त्रीको भनाइ तथ्यहीन भएको भन्दै समितिमै सभासद्हरूले आक्रोश व्यक्त गरे 

सेनाले महिलाहरूको बलात्कारपछि हत्या गरेको सभासद्हरूको आरोप थियो । 'मृतक महिलाहरू न सिकारी हुन् न उनीहरूसित हतियार नै थियो । उनीहरूको अपराध भनेको गरिब र विपन्न हुनु मात्रै हो,' बैठकमा बोल्दै सभासद् मंगल विकले भने, 'सेनाले महिलाहरूलाई भोग गरेर हत्या गरेको हो ।' हत्या गर्ने सैनिकहरूले नै घटनाको छानबिन गर्दै छ भनेर रक्षामन्त्रीले भन्दा 'आफैं झाँक्री, आफैं बोक्सी'को उखान चरितार्थ भएको उनले बताए 

सभासद् शारदा नेपालीले घटनास्थलमा मृतकहरूबाट हतियार र सुकुटी भेटियो भन्ने रक्षामन्त्री भण्डारीको भनाइ पूरै गलत भएको दाबी गरिन् । हत्या गरिसकेपछि सेनाले नै हतियार र सुकुटी मृतकहरूको छेउमा राखेको उनले बताइन् । 'सेनाले सुकुटी र भरुवा बन्दुक पनि आफैं राखेको हो, अनि हवाईफायर पनि आफैंले गरेको हो,' उनले भनिन् । सरकारले तलबभत्ता खुवाएर राखेको सेनाले सर्वसाधारणमाथि 'साँढे'को जस्तो व्यवहार गर्ने गरेको आरोप उनले लगाइन् 

सभासद् विनोद पहाडीले सेनाले मानवअधिकारकर्मीहरूलाई समेत घटनास्थलमा जान नदिएर थप शंका उत्पन्न भएको बताए । 'घटनाको हप्ता दिन बित्दासमेत सरकार किन मौन बस्यो ?' उनले मन्त्री भण्डारीसित प्रश्न गरे, 'तपाईं मन्त्री मात्र होइन, एउटी महिला हो र आमा पनि हो, एउटी १२ वर्षकी बालिकाले हतियार बोकेर सिकार खेल्न गइन् भनेर तपाइं कसरी पत्याउनुहुन्छ ?' तर उनको प्रश्नको जवाफ मन्त्री भण्डारीले दिइनन् 

सभासद् पुरन दयालले पुरुषलाई कब्जामा लिएर महिलालाई मात्रै गोली हान्नुले पनि घटनालाई थप रहस्यमयी बनाएको बताए । परिवारका तीनजना मारिएर विक्षिप्त भएका पीडितलाई उल्टै पक्राउ गरेर सरकारले मानवीय संवेदनासमेत नदेखाएको उनले बताए 

छानबिन समिति

यसैबीच सरकारले बर्दिया घटनाबारे छानबिन गर्न सहन्यायाधिवक्ता सरोज गौतमको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति बनाएको छ । समितिमा वन मन्त्रालयका सहसचिव र रक्षा मन्त्रालयका उपसचिव सदस्य रहेका छन् 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले छानबिन समिति गठन गरेको गृहमन्त्री भीम रावलले बताए । त्यस्तै, मृतकहरूको काजकिरिया गर्न प्रतिव्यक्ति २५ हजार रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको उनले बताए 

 

सभासद्हरूका दस प्रश्न जसको रक्षामन्त्रीले जवाफ दिइनन्

१) मन्त्रीज्यू तपाईं एउटी आमा पनि हो । भन्नोस्, कुनै १२ वर्षीया बालिका मध्यराति हतियार बोकेर जंगलमा चोरी-सिकारी गर्न जान सक्छे ?

२) सरकारले तलबभत्ता खुवाएर सेनालाई 'साँढे’ बनाएर जंगलमा छाडिएको हो कि जनता र देशको सुरक्षा गर्न ?

३) मारिएका महिला भित्री वस्त्रसमेत खोलिएको अवस्थामा फेला परेका छन् । गोली हान्दा भित्री वस्त्रसमेत कसरी खुले ? कसरी जंगलमा छरपस्ट भए ?

४) आफ्नै परिवारका तीनजना मारिएका पीडितलाई पक्राउ गर्नुपर्ने हो कि मान्छे मार्नेलाई ?

५) घटनास्थलमा रहेका एकजना पुरुषलाई पक्राउ गर्नसक्ने सेनाले महिलाहरूलाई मात्रै किन गोली हानेर मार्‍यो ? हतियारले सुसज्जित त्यत्रो सेनाले उनीहरूलाई पनि गोली नहानेर पक्राउ गर्न सक्थ्यो नि ?

६) मन्त्रीज्यू तपाईंले भनेजस्तै मारिनेहरू चोरी-सिकारी गर्ने हुन् कि चोरी-निकासी गर्ने हुन् ? चोरी-सिकारी र चोरी-निकासीमा धेरै फरक छ ?

७) सेना र प्रहरीसित जोडिएर जे-जति घटना भएका छन्, ती सबैमा उल्टै पीडितहरू मात्रै किन थप पीडित बन्छन् ?

८) घटना भएको एक हप्तासम्म सरकार किन बोलेन ? बर्दियाको घटनाका बारेमा सरकारलाई सूचना आउन यति समय लाग्छ ?

९) मन्त्रीज्यू तपाईं मन्त्रीसँगै महिला पनि हो । महिलामाथि यत्रो दुःखद् घटना हुँदा तपाईं हप्ता दिनसम्म मौन बस्न कसरी सक्नुभयो ?

१०) मारिनेहरूमा अपांग पनि छन् । अपांगहरू हतियार बोकेर चोरी-सिकारी गर्न मध्यराती जंगल जान सक्छन् ?


इन्सेक र एड्भोकेसी फोरमको स्थलगत प्रतिवेदन

अनुगमनबाट प्राप्त तथ्यः

घटनास्थल हरिहरपुर गाविस १, २ र ३ नम्बर वडाका जनताको गौचरन, घाँसदाउरा काट्ने र जडीबुटी संकलन गर्ने क्षेत्र रहेको पाइयो 

सीमारेखादेखि दक्षिणपट्टिको भाग निकुन्ज क्षेत्रमा पर्ने भए पनि उत्तरतर्फको भाग हरिहरपुरवासीको जंगल क्षेत्रमा रहेको कारण सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्न सजिलो भएको पाइयो 

हरिहरपुर गाविस-२ कप्सेरीका बलदेव गिरी, उनका छोरा भक्तराज गिरी, रत्नबहादुर विक, तुलबहादुर विक ०६६ फागुन २३ गतेदेखि काउलो काट्न बाँसपानी कालिकास्थानको जंगल क्षेत्रमा बसेको पाइयो 

जीवन गुजाराका लागि प्रतिकेजी रु. २३ पर्ने काउलो काट्न तथा सुकाएर ल्याउन गएका उनीहरूसँग हँसिया, बन्चरो र बसुलाबाहेकको हतियार केही नभएको पाइयो 

आफ्ना पुरुष आफन्तहरूले काटेको काउलो लिन ०६६ फागुन २६ गते साँझ तुलबहादुरकी पत्नी देवीसरा, छोरी चन्द्रकला, रत्नबहादुरकी पत्नी अमृता र बलदेवको छोरी भूमिसरा साँझ ६ बजेको समयमा बाँसपानी पुगेको र सोही दिन राति करिब पौने नौ बजे सो क्षेत्रमा वनरक्षक र सेनाको टोली पुगेको पाइयो 

गाउँले बसेको स्थान नजिक पुग्नासाथ सेना र वनरक्षकको टोलीले माथिबाट मुढा फ्याँकेको र टर्च बालेर हवाई फायरिङ गर्दै भागिस् भने मर्छस् भनेको पाइयो 

सेनाले हवाईफायरिङ गरेपछि त्यहाँ रहेका पुरुषहरू भागेको र महिलाहरू ओडारमा लुकेको पाइयो 

हवाईफायरिङबाहेक सो रात जंगलमा कुनै फायरिङ नभएको र २७ गते दिउँसो मात्र पुनः फायरिङको आवाज सुनिएको गाउँलेले बताए 

ओडारमा लुकेका महिलाहरूलाई सेना र वनरक्षकहरूको टोलीले घेरा हाली नियन्त्रणमा लिई रहस्यमय हत्या गरेको पाइयो 

मृतकहरूको लास ०६६ फागुन २७ गते सेनाको थप टोलीसमेत घटनास्थलमा आई उठाएर लगेको पाइयो 

मृतक महिला र भागेका पुरुषहरूसँग सेनालो बताएजस्तो सिकार खेल्न प्रयोग हुने बन्दुकलगायतको हतियार नरहेको र सिकारमा प्रयोग हुने प्रकृतिका अन्य कुनै पनि साधन पनि नरहेको पाइयो 

सो क्षेत्रमा यसअघि हालसम्म सेनाको गस्ती नआएको र स्थानीयवासीले सो क्षेत्र वरपर गौचरन र घाँसदाउरा काट्ने गरेको पाइयो 

सेनाको अनुमतिबाटै बाँसपानीदेखि २ किलोमिटर दक्षिणमा पर्ने बसाह भन्ने स्थानबाट हरिहरपुर गाविस-२ र ३ का जनाताले खानेपानीसमेत ल्याएको पाइयो। स्थानीयवासीसँगै अनुगमन टोली घटनास्थलमा पुग्दा बाँसपानीमा हरिहरपुर-२ र ३ का जनताका गाईबाख्रा चरिरहेको पाइनुले पनि त्यस स्थानसम्म त्यहाँका जनता सहजै आउनेजाने गर्दथे भन्ने कुरा पुष्टि गरेको छ 


घटनाका रहस्यहरू
घटनास्थलमा छरपस्ट अवस्थामा मृतकका कपडा भेटिनु, दिसा र रगत देखिनु, उनीहरूले ओढ्न-ओछ्याउन लगेको कपडा अन्यत्रै लगेर जलाइदिएको पाइनु, घटनामा भागेर ज्यान जोगाएकाहरूले हवाईफायरिङबाहेक गोली प्रहार भएको आवाज नआएको बताउनु, तीनजनाको गोली प्रहारद्वारा हत्या हुँदा तीनवटा फरक ठाउँमा रगत हुनुपर्नेमा एक ठाउँमा थोरै मात्र रगत लागेको देखिनु, स्थानीयवासीले २७ गते दिउँसो १ बजेको समयमा गोलीको आवाज आएको बताउनु, २७ गते तेलपानीको बाटो हुँदै शव लैजाँदा आलो रगत पाइनु, घटनाबाट जोगिएर भागेकाहरूले मृतक बालिकाको चित्कार सुनेको बयान दिनु, घटनाबाट ज्यान जोगाएर भागेका रत्नबहादुर विकले घटनास्थलमा फेला परेको पेटिकोट देवीसराको, कुर्तासुरुवाल आफ्नी पत्नी अमृताको तथा पेन्टी र सल चन्द्रकलाको हो भन्ने दाबी गर्नु, पुरुषहरू भागिसकेपछि भागेकामाथि गोली प्रहार नभई लुकेर बसेकाहरूमाथि गोली प्रहार हुनु, नियन्त्रणमा लिन सकिने अवस्था हुँदाहँदै हत्या गरिनु, नियन्त्रणमा लिएका पुरुष सकुसल रहनु, सेनाले गाउँलेसँग हतियार थियो र फायरिङसमेत भएको थियो र घटनास्थलमा तीनथान भरुवा बन्दुक फेला परेको भनी झुटो दाबी गर्नु, सेनाले लास सर्वसाधारणलाई हेर्न र सञ्चारकर्मीहरूलाई तस्बिर लिनसमेत नदिनु, पोस्टमार्टम रिपोर्ट ढिला गरेर सार्वजनिक गरिनु, पोस्टमार्टमपूर्व मृतकका आफन्तहरूलाई लास हेर्नसमेत नदिइनु, मृतकहरूको शरीरको कुन भागमा कतिवटा गोली लागेको छ भन्ने सार्वजनिक नगरिनु, घटनास्थलमा फेला परेको भनिएको बन्दुक सेनाले सार्वजनिक नगर्नु, घटनाको सम्बन्धमा सेनाको फरक-फरक भनाइ आउनु आदिले घटनालाई रहस्यमय बनाएको छ 


निष्कर्ष 
यस घटनाका सम्बन्धमा प्रकाशित सामग्रीहरूको अध्ययन, स्थलगत अनुगमनका क्रममा पाइएका तथ्यहरू, घाइते, प्रत्यक्षदर्शी, घटनाबाट ज्यान जोगाएर भागेका व्यक्तिहरू, स्थानीय नागरिक समाज, राजनीतिक दल, गाउँले, सामाजिक कार्यकर्ता, बर्दिया राष्ट्रिय निकुन्जका वार्डेन प्रमुख टीकाराम अधिकारी, गणपति प्रकाश देउजासँगको कुराकानी तथा छलफलबाट टोली घटनामा मारिएका एक बालिका र दुई महिलालाई वनरक्षक र सेनाको संयुक्त टोलीले नियन्त्रणमा लिएर रहस्यमय हत्या गरेको निष्कर्षमा पुगेको छ । नेपाल सरकारद्वारा वन्यजन्तु ऐनअनुसार संरक्षित गरिएको राष्ट्रिय निकुन्ज परिसरमा सर्वसाधारणहरू प्रवेश गरी कैयौँ दिन रात बिताउनु र जंगलबाट जडीबुटीजन्य वस्तुहरू संकलन तथा आयात-निर्यात गर्नु कानुनविपरीत भए पनि र निकुन्ज क्षेत्रको सुरक्षार्थ खटिएका वनरक्षक र नेपाली सेनालाई निकुन्ज परिसरमा अवैध प्रवेश गरेकाहरूमाथि बल प्रयोग गर्न सक्ने कानुनी अधिकार भए पनि मारिएका बालिका र महिलालाई नियन्त्रण लिई हत्या नगर्दा सुरक्षाटोलीलाई कुनै खतरा हुने र अपि्रय घटना हुन सक्ने अवस्था सो घटनास्थलको अनुगमनबाट पाइएन । त्यस्तै, सेनाले सो घटनामा गाउँलेलाई आत्मसमर्पणको प्रयास गराउने, निशस्त्र हुन आह्वान गर्ने र घाइते मात्र बनाउने किसिमको सुरक्षा-विधि नअपनाई शक्तिको दुरुपयोग गरी निहत्था महिला र बालिकालाई नियन्त्रणमा लिएर रहस्यमय हत्या गरेको देखिन्छ । तसर्थ यो घटनामा सेनाले मानवअधिकारको उल्लंघन गरेको अनुगमन टोलीको ठहर छ 

Read Full Discussion Thread for this article