Posted by: fucheketo March 16, 2010
एक रात दुइ कथा...
Login in to Rate this Post:     0       ?        
तेश्रो भाग-

बाहिर आकाशमा जुन टल्किरहेकै होला । आज आकाशमा बादल थिएन ।ताराहरु पनि बिस्कुन सुकाए जस्तै छरिरहेकै होलान । मैले प्रतिकलाइ हेरिरहेँ । प्रतिक पनि त खुल्दै थियो।वास्तवमा मान्छेका धेरै बोक्राहरु हुन्छन् बन्दाकोपि जस्तो कुन वास्तविक उ हो पत्ता लगाउनै गाह्रो ! हरेक पत्रमा वास्तविकता भेटे जस्तो लाग्छ त्यो पत्र नउक्कुन्जेलसम्म !!!उसले एक घुट्को लगाएर शुरु गर्यो ।

“ खुशी ,एउटा यस्तो नाम दाइ जुन नाम मेरो जीवन हो भन्नको लागि पर्याप्त थियो !”
उसले अघि कुरा गरेको माया को नाम खुशि रहेछ मैले त्यसैबाट लख काटेँ ।
“ कस्को नाम हो त खुशी ?”
मैले प्रष्ट हुन फेरी सोधेँ । फेरि मेरो जीवनको हो दाइ भन्देला भन्ने पिर !!!
“बिहा हुन आँटेको थियो मेरो , मेरो कलेजको साथी पनि !” उ आफुले भख्खर रित्याएको गिलास हेर्दै चुप भयो !

“संगिता ! एक क्वार्टर अरु , अनि मुला ,गाँजर प्लेटमा !!” म फेरि कराएँ । म उसका शब्दहरुमा बिराम चाहन्न ।
“ ठूला आँखाहरु थिए उसका , एकै चोटिमा धेरै कुरा देख्थे जस्तो लाग्ने , म सँधै उसकै आँखामा अटाइरहन्छु लाग्ने , सामान्यतय कुर्ता लगाउँथी तर भिन्नै भिन्नै रंगका धेरै कुर्ताहरु थिए उ सँग ! मलाई लाग्थ्यो त्यो दिनको मेरो लक्कि कलर त्यहि नै हो !  म उसलाई देखेर ठोकेर भन्न सक्थेँ राम्रो मान्छेलाई श्रींगार चाहिन्न !”


    हामीले गिलासमा फेरि थप्यौँ । संगिता अडिई एक छिन । शायद उ चाहन्छे म प्रतिकलाई प्रतिकको कोठामा पुर्याएर फेरि फर्किउँ ।तर मैले संगिताको आग्रहलाई ध्यान दिइन आज , अरु दिन भएको भए उसलाइ सर्भ गर्दा गर्दै चिमोट्न भ्याइसकेको हुन्थेँ , उ थोरै रिसाए जस्तो गरेर आग्रही आँखाले मलाइ हेर्थी तर आज म चुप नै बसेँ । संगिता बाहिर निस्किइ बिस्तारै म उसका शब्दहरुमा बाँध बाँध्न चाहन्न ।

“ उ सँधै छ बजेर पन्ध्र मिनट जाँदा चोकमा निस्किन्थी म दश मिनट अघि त्यहाँ पुगेर पर्खिरहेको हुन्थेँ । हुन त मेरो घरबाट कलेज नजिकै छ तर पनि म पर्खिन्थेँ मलाई त्यो क्लासरुम पुग्नु अघिको सय पाइला सँगै हिँडेको रमाइलो लाग्थ्यो !”
    प्रतिक बगिरह्यो ! उसको आजको बगाइ अनौठो थियो मलाइ लाग्यो । मानौँ मेरा कृयाकलाप हरु कसिंगर हुन् उसको निम्ति । उ आज यसरि बग्नेँछ कि सबै कसिंगरलाई समेत बगाएर लानेछ उसको आत्माको समुन्द्रमा !
“ म उसलाई टोलाएर हेरिरहन्थेँ , उ जवाफ मुस्कानले दिन्थी । मलाई संसार भरिका शब्दहरु बेक्कार लागेर आउँथे । यहाँ सम्म कि मैले भन्न जरुरी पनि ठानिन म तिमीलाई माया गर्छु भनेर ! अचम्मको थियो दाइ त्यो सम्बन्ध !”

“ के थाहा थियो त खुशिलाई तिम्रा भावनाहरुको बारेमा ?”
    यसपालि मेरो मनमाँ शंका पलायो ! उसले अन्त्य सम्म भनेन उसको मनको कुरा खुशिलाई । यसलाई बोलाउनलाई त पियाउनु पर्दो रहेछ ! केटीको जात न हो अरु नै कोहि खोजीहोली । कसरी बुझोस् मौनता खुशीले । कतोन्जेल पर्खियोस् मौनता खुशीले ?
प्रतिक एक छिन चुप भयो । म अब कसरी बुझौँ उसको मौनता म त खुशी हैन। अनि उसले फेरि गिलास रित्यायो । मैले उसको किलकिलो तल माथी भएको नियाँले । मान्छेलाइ शब्द ओकल्न साँच्चै धेरै समय चाहिन्छ , अनि बल पनि ! आज बल तरल बनेर उ भित्र छिर्दैछ । अनि शब्दहरु निक्लदैँछन् बाहिर बिस्तारै बिस्तारै !
“ थाहा थियो दाइ , सोह्रै आना थाहा थियो । उ जिस्क्याउँथी मलाई कहिलेकाहिँ शब्द प्रयोग गरेको , मलाइ राम्री भनेको पनि राम्रो भनेर ! म सोच्थेँ म किन भनुँ राम्री उसलाई ? म किन दाँजु उसलाई , किन परिभाषा दिउँ उसको सौन्दर्यलाई अनि भनिदिन्थे मलाइ थाहा छ तिमी मेरो मौनता बुझ्छ्यौ , म किन प्रयोग गरौँ यी सुका मोहर दामका शब्दहरु ?”
    हो उ किन प्रयोग गरोस् सुका मोहर  दामका शब्दहरु !उसले शुरुमैँ चिनाउँदा खुशि सँग उसको विहा हुन आँटेको थिय पो भनेको थियो त । बिर्से होला , अहिले मलाइ संगिता कस्ती छे भनेर सोध्यो भने पनि भन्न सक्दिन नि ! हो बिर्सिनु मेरो त्यति ठुलो दोष हैन । मैले आफुलाइ सान्त्वना दिएँ !
“तातो पानी सिद्दिएछ संगिता !” मैले फेरि आवाज लगाएँ
“ भैगो छोडीदिनु कति दुख दिनुहुन्छ त्यसलाई! अब निट खाउँ !” प्रतिकले मलाई हेर्दै भन्यो !
“ म तिमी जस्तो आँटी कहाँ छु र राजा !” मैले प्रतिकलाई जिस्क्याएँ
“ आँटी..... !”
    उ हाँस्यो अनि एकछिन मौन रह्यो ! संगिताले पर्दा उघारेर हेरी पानी वास्तवमै चाहिने हो कि नचाहिने भनेर ।वा भनौँ मेरो मन पग्लिएर उसलाई हेर्नलाई मात्र बोलाएको हो कि भन्ने आशमा !
“साँच्चैको पानी भनेको !”
    मैले पानीमा नै जोड दिएँ । उ जग लिएर बाहिर निस्किइ पानी तताएर ल्याउनु पर्ने होला करिव साढे दश बजेको थियो होला त्यतिखेर रात छिप्पिदै थियो । जुन उत्कर्शमा होला यति खेर आकाशमा ! बाटोमा कुकुर भुकेको मात्रै सुनिन्थ्यो । गस्तीमा परिनेहो कि भन्ने बाहेक कोठामा जान अरु डर छैन यो सानो बजारमा !
प्रतिक हाँस्यो !!!!!!!!!!!!!!
“किन तिमी आँटी छैनौ र ?”
“आफ्नो परिचयसँग भाग्ने मान्छेलाई आँटी कसरी भन्नु दाइ !”
“केहि विवशता थियो होला ! “
    मैले पनि आफ्नो घुट्को छिराएँ घाँटीमा । केहि कुरा हरु तिता छन् भन्ने थाहा हुँदा हुँदै पिउँ पिउँ घाँटी बाट उतारुँ उतारुँ जस्तो हुन्छ । यो रक्सी र उसको कथा त्यस्तै होला । मलाइ शंका छ यो कथाको अन्त्य सुखद छैन तर नशा जत्तिकै छ प्रतिकको कथा , मलाइ उसले कथा विचमै रोक्ला भन्ने पिर थियो म फेरि पनि कथामैँ फर्कन चाहन्थेँ ।
“विवशता शब्दनै कायरहरुको हो दाइ !”
“ अनि अरु भनन खुशीको बारेमा !”
“ कलेजमा ठूलै गाइँगुइँ थियो हामी दुइको बारेमा ! मलाइ त्यो सँग खासै मतलब थिएन र खुशि त्यो कुरामा रमाइलो मानिदिन्थी ! मेरा साथीहरु बेला बेलामा मलाइ जिस्क्याउँथे खुशि सँग भएको बेला । खुशि यो उनिहरुको तिमी प्रति दर्शाएको आत्मियता हो भन्थी केटाहरु गइसकेपछि । मलाइ पनि होला जस्तो लाग्थ्यो । मलाइ खुशिका शब्द शब्द साँचा लाग्थे ! मलाइ लाग्थ्यो कतै शब्दहरु जम्मा गरेर फेरि सुन्न पाउने भए कति रमाइलो हुन्थ्यो होला !!!!”
के भयो त खुशीलाइ यो अझै प्रश्न नै थियो । प्रतिकले यति धेरै खुशिको तारिफ गरीसकेको थियो कि मैले पनि बिस्तारै मनैँमा खुशिको आकृती कोरेँ मलाइ मेरो मन भित्रको कल्पना पनि बिछट्टै राम्री लागि !
“ फाइनल यियरमा थिएँ म मैले घरमा आखिर कुरा गरेँ यस्ती यस्ती केटी छे म मन पराउँछु उ पनि चार वर्ष भयो हामीले एक अर्कालाइ चिनेको भनेर !”
“अनि ?”
“घरबाट तँ सिध्याउँदै गर न पढाइ पहिला त्यसपछि तेरो बिहेको बारेमा सोचौँला अनि जहिले सोचौँला तहिले तँ सँग पनि सोधौँला भनेर लिवरल एन्सर नै आयो दाइ ! म घर तिरबाट लगभग लगभग पार भएँ दाइ !” उसले चुस्कि लियो । अनि गोजीमा हात हाल्यो । मलाइ थाहा छ उसले चुरोट खोजेको हो अब । धेरै बेर भएको थियो चुरोट नसल्काएको ।
क्रमश:



Read Full Discussion Thread for this article