बुधबार राति बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानीमा गस्तीमा आएको नेपाली सेनाले आमा र दिदीलाई गोली हानेर मारेपछि यी अवोध बालबालिकाहरुको बिचल्ली भएको छ। सँगै गएका बुवा कृष्णबहादुर पनि गोली लागेर घाइते भएका छन्। उनी निकुञ्जको हिरासतमा छन्। तीन महिनाअघि घरमा भित्रिएकी भाउजु देवीसरामाथि उनीहरुलाई हुर्काउने जिम्मेवारी आइलागेको छ। तर, अन्नको एक गेडा नभएको रित्तो घरमा उनीहरुलाई हुर्काउनु देवीसराको लागि कम्ति दुःख छैन। 'सासुससुरा काउलो बेचेर बजारबाट चामल किनौँला भनेर वन गएका हुन्, अहिले यस्तो बिपत आइलाग्यो,' १६ बर्षीया देवीसराले भनिन्, 'भइ नभई दुःखको भारी पनि हामी गरिबमाथि नै आउँदो रहेछ।'
साँच्च्ौ, देवीसराको घरमा अहिले दुःखको आकाश नै खसेको छ। बिहेलगत्तै पैसा कमाउन भारत गएका श्रीमान् रविलालको अत्तोपत्तो छैन। सेनाले कमाउने मान्छेहरु कसैलाई मारिसक्यो, कसैलाई घाइते बनाएर नियन्त्रणमा लियो। देवीसराले सुस्केरा हाल्दै भनिन्, 'श्रीमान् नआउँदासम्म बाँच्ने पो कसरी हो, थाहा छैन।'
निर्दयी घटनासँगै स्थानीय भैरव प्राथमिक विद्यालयमा कक्षा २ र १ मा अध्ययनरत हर्कबहादुर र देवीसराको विद्यालयजीवन पनि संकटमा परेको छ। घरको आर्थिक अवस्थाका कारण ढिलो स्कुल भर्ना भएका उनको स्कुल पढ्ने रहर छ। तर, घरमा भित्रिएको पीडाले उनको पढाइको भविष्य धर्मराएको छ।
छिमेकमै आमा अमृता बिकको मृत्युपछि उनका छोराहरु ६ वर्षीय हेमन्त, ८ वर्षीय बुद्धबहादुर र छोरी १२ वर्षीया कमलाको पनि बिचल्ली भएको छ। घटनामा बुवा दुर्गबहादुर बाँचेर घर फर्किए पनि आमाबाट पाउने मातृप्रेम उनले दिन सक्ने छैनन्। 'उताबाट फर्केदेखि घर जान सकेको छैन,' दुर्गबहादुरले भने, 'घरमा जानेबित्तिकै छोराछोरी 'आमा खै' भनेर रुन कराउन थाल्छन्, कसरी शान्त्वना दिने?'
वनबाट काउलोको बोक्रा र कुच्चो ल्याई बजारमा बेचेर जीविकोपार्जन गर्दै आएका कप्सेरीका दुई दलित परिवारमा जति ठूलो शोक भित्रिएको छ, त्योभन्दा बढी कलिला बालबालिकाहरुको भविष्यमाथि कालो बादल मडारिएको छ। 'पेट भर्ने चिन्ता भएको बेला पढ्ने त धेरै टाढाको कुरा भइसक्यो,' छिमेकी चन्द्रबहादुर बिकको भनाइले यस्तै संकेत गर्छ।