Posted by: fucheketo March 13, 2010
एक रात दुइ कथा...
Login in to Rate this Post:     3       ?         Liked by
फेरी चुरोट को धूवाँ रुमलियो कोठामा । मलाई त्यो मन पर्दैन । तर एउटा मात्रै मन नपर्ने कुरा उसको !! मैले छेवैको झ्याल खोलेँ । हावा धेरै नै उग्र भएर बग्ने हुनाले मैले बन्द गरेको । पौषको महिना को चिसो हावाको उग्र रुप म सहन सक्दिन । साना तिना ज्याकेट हरु छेडेर छिर्छ । म उसलाइ गाली गर्न सक्दिन तर , अनुहार सुख्खा मायालाग्दो छ , त्यतिसाह्रो बोल्दैन उ ,  उसलाई चुरोट छोड भन्न पनि सक्दिन दिनका चौध पन्ध्र वटा फुक्नेलाई म कसरी छुटाउन सकुँला र !!!
“दाइ म पहिला चुरोट खान्नथेँ !” उसले आजको तेस्रो चुरोट मा सँधै जसो भन्ने वाक्य दोहोर्यायो । मैले झ्याल खोलेको देख्यो शायद । उसलाई गलत गरिरहेको छु जस्तो पनि लाग्छ तर छोड्न नसकेको बाध्यता बताउँछ उ !!! ठूलो कुरा हैन सामान्यतय मान्छे नशामा बाध्य नै हुन्छ । आज पिउँदिन भन्छ , फेरि भोलि देखि छोड्छु भन्छ यसो सोच्दा जीवन पनि त नशा हो , जिउँदिन भन्ने धेरै मान्छे भेटिन्छन् , तर पनि मान्छे जीउन बाध्य छ ।
प्रतिक भन्छ नाम आफ्नो उ , घर कहाँ हो ठेगाना के हो चाहिने भए म काम गर्न सक्दिन भनेर भनेको थियो । पहाडको सानो बजारमा मेरो मोबायल मेन्टेनेन्सको सानो पसल मलाई किन चाहियो उसको घर ,ठेगाना , तर कुरा विश्वासको पनि त आउँछ , मैले थोरै हिच्किचाएर मात्रै हुन्छ भनेको थिएँ । तर आफ्नो काम मा विश्वासिलो छ उ , साथै दक्ष पनि ! म धेरै पैसा चाहिने भए सक्दिन मैले उसलाई भेट्ने बित्तिकै भनेको थीएँ ।चुरोट र खाना , कोठालाई पुग्ने भए पुग्छ उसले सँधै जस्तै रुखो स्वरमा भनेको थियो ।मलाइ थाहा थिएन उसको चुरोट को खर्च उसको खानाको भन्दा धेर हुन्छ । तर उसलाइ पुगेको छ , प्रतिकले कहिल्यै गुनासो गरेको छैन उसको तलबको बारेमा !
प्रतिक सामान्यतय दाह्री काट्दैनथ्यो पन्ध्र बाइस दिन मा काटेको बेला मलाई अचम्म लाग्दो लाग्छ उसको अनुहार , कपाल कोर्दैनथ्यो कपाल काटेको त मलाई सम्झना समेत छैन , उसले एउटा मात्र झोला बोकेर आएको थियो त्यति खेर । उसको जिन्स मैलो भए पनि महँगो जस्तो लाग्यो ।त्यो ब्राण्ड मैले काठमाण्डौ जाँदा देखेको जस्तो छ , ठूला बडाका छोराहरुले लगाएको जस्तो छ । झोलामा एउटा डियोड्रेन्ट ,अरु दुइ तिनवटा जिन्स र टिशर्ट रहेछन् अनि उसले लगाएको ज्याकेट !!!कपडाहरु मैलो भए पनि प्रतिक गन्हाएको भने थिएन ।
“केहि चोरी सोरी गरेर भागेको त हैन ?” मैले उसलाई नियाल्दै सोधेको थिएँ पहिला उ आएको बेला । आजकलको यो भिँडमा चिनेका मान्छेमा त उसको विश्वासको संकट छ झन उसलाइ त मैले पहिलो चोटी देखेको मात्र !तिँ माथि ठेगाना सोध्ने भए काम गर्दिन भन्छ ।
“तँपाईलाई म सँग शंका छ भने मैले हैन भन्नुको के अर्थ र ?” उसको रुखो आवाज एक दम नै गहिरो थियो त्यतिखेरको ।
मैले सोचे आखिर म दिन भर उ सँगै हुन्छु राती चाबी म सँगै हुन्छ उ मात्र काम गर्नेछ , काम आउँछ नै भने मैले अरू कुरा जान्नु को औचित्य छैन ! ठिकै भन्छ उ , प्रोफेसनल कुरा प्रोफेसनल नै हो ,पर्सनल कुरा पर्सनल नै मेरो दोकान सानो भएता पनि !!!
“ अहिले चाहिँ किन फुकेको फुक्यै गरेको चुरोट त ?” म सोध्न पनि सक्दिन , मलाई थाहा छ प्रतिक ले उत्तर दिने छैन । मलाई केटो सोझो पढेको लाग्छ । उ कम्प्युटर राम्रो चलाउँछ । तर उ किन यहाँ आयो यहाँ आएर के गर्न चाहन्छ मलाई थाहा छैन । मैले उत्तर खोजेको प्रश्न , मैले सोध्न नसकेको प्रश्न !!
उसलाई कोठा पनि मैले मिलाइदिए । यो बजार सानो छ मेरो पसल जस्तै । मैले सबैजसो घरहरु चिनेको छु । म यो सानो कुवाको ठूलै भ्यागुतो हुँ भनौँ न !राम्रै चलेको छ मेरो कारोवार , नेपाल मा मोबायल चाहिँ गाउँ गाउँ मा फैलिएर होला !!!इन्टरमेडियट पढेपछि मैले सजिलो स्वरोजगार रोजेँ एक्लै चलाउन गाह्रो गाह्रो थियो त्यति नै खेर प्रतिक हो आएको ! मैले हुन्छ भनेँ !!!! प्रतिक आजकल मलाइ दाइ भन्थ्यो , मलाई पनि विश्वास लाग्छ उसको !!!
उसको मोबायल मा फोन आउँदैन । उसको मोबायलमा सिम थीएन जब उ यहाँ थियो । आएकै दिन उ टेलेकम अफिस गएर नयाँ नम्बर लियो । मोबायललाई उसले गित सुन्ने भाँडो बनाएको छ , फोन आओस् पनि कसको , दोकानमा उ अघि नै आएर चियापसलमा चिया खाएर बसिराखेको हुन्छ म आइपुग्दा । मलाई चिया पसलेले भन्छ यति कम बोल्ने मान्छे मैले देखेको थिइन , “चिनी कम हाल्दिनु “ भन्छ रे प्रतिक कहिले काहिँ त्यो बाहेको अहिले सम्म प्रतिकले दोकानेलाइ अरु कुरा भनेको समेत याद छैन रे !! कहिले काहिँ उ पत्रिका हेर्छ रे दोकानमा तर अनुहारमा परिवर्तन नदेखेपछि म छुट्याउन सक्दिन उ राम्रो समाचार पढ्दैछ कि नराम्रो !!!
बाटोमा उ इयरफोन लगाएर हिँड्छ , यताउताका मान्छे संग बोल्न मन नलागेर होला । प्रतिकको एकान्तको साथी उ स्वयं आँफै होला । मान्छेको सबैभन्दा ठूलो सफलता हो ,आफु भित्रको आफुलाइ साथि बनाउन सक्नु यसले घात हुने सम्भावना शुन्य हुन्छ आफ्नो एकान्त भोग गर्न सक्नु त्यसले मान्छेले भिँड खोज्दैनन् शहरको , अनि आफू भित्रको धुन गुनगुनाएर आफ्नो जीवनलाई एउटा गित जस्तो गाइरहन सक्नु प्रतिक ति थोरै मान्छे मध्येको एक होला !!!!

.............................. ...................... .......................... ............................... ............................. ...
“ प्रतिक चुरोट मात्रै पिउँछौ कि अरु पनि ?” एक दिन मैले उसलाई काम गर्दा गर्दै सोधेँ !त्यो दिन अघिल्लो दिन हामीले अलि ठूलै ब्यापार गरेका थियौँ । दोकान को साइज बढ्दै थियो भनौँ !!! मलाई उ सँग सेलेब्रेट गर्न मन थियो !
 उ हाँस्यो मात्र ! अनि मलाइ हेर्दै भन्यो !
“ के फरक पर्छ र दाइ त्यसले मैले पिए पनि भोलि सुर्य उदाउनेछ , नपिए पनि !”
 हामीले पिउनु र सुर्य उदाउन मा म केहि सम्बन्ध देख्दिन । हुन त उसले पनि देखेको छैन तर पनि उ जोडिदिन्छ । प्रतिकलाइ जब जब हेर्छु मलाई कहिले काहिँ चिसो कराइ मा हालेको तातो तेल मा पानी छुट्टिएर बसेको याद आउँछ उ सुक्न तयार छ तर घुल्न तैयार छैन !!!
“मलाई बेलुकालाई साथि चाहिएको !”
उसले मलाई हेर्यो । उसलाइ थाहा छ बेलुका म छेउछाउका भट्टिहरुमा कहिलेकाहिँ छिर्ने गरेको अनि रातभरको नशाले बिहान बिग्रेको अनुहार लिएर दोकान खोल्ने गरेको !!! सानो त बजार छ बेलुका मैले गरेको हल्ला पनि सुनेको छ होला !!!
“ मलाइ चुरोट नै ठिक छ दाइ !” उ फेरि आफ्नो काममा ब्यस्त हुन चाह्यो !
“ दाइ ले भनेको कहिले काहिँ मानी दिए नै पनि त के नै जान्छ र !”
“मलाइ भिँड मन पर्दैन दाइ , तिँ माथि त्यो नचाहिने गफ हुने ठाउँ !!!”
उसको कारण ठिक थियो हो उसलाई भिँड मन पर्दैन हो त्यो नचाहिने गफ हुने ठाउँ पनि हो !!!
“मैले खड्कालाई उसैको कोठामा सर्भ गरिदे भनेको छु हुन्छ भनेको छ !”
प्रतिक ले मलाइ हेर्यो ।अनि चुरोट झिक्यो । उसलाई खासै मन थिएन जस्तो छ । आज तर उसले मैले भनेको मानेको छ ।
क्रमश:




Read Full Discussion Thread for this article