Posted by: fucheketo March 10, 2010
माया.....
Login in to Rate this Post:     0       ?        
    उसलाई अझै याद छ त्यो ताल्चाले उसलाई गिज्याएको । उसको मन धत ताल्चा त निर्जीव पो हो त भनीरहन्छ तर मनलाई के थाहा थाहै नपाउने गरी ताल्चा उसलाई जिस्क्याइरहन्छ ।आज उ त्यहि ताल्चा तोड्दैछ ।

    तोडफोडको सामान्य सिद्दान्त हो जब सम्म गरिँदैन योजनाको जानकारी कसैलाई दिनुहुन्न । उसले कसैलाई आज ताल्चा तोड्ने कुरा भनेन ।
उसलाई आज त्यो ताल्चा गिडगिडाउँदै छ जस्तो लाग्छ ।साँची त्यो ताल्चाको मन कहाँ होला जो सँग उ सल्लाह लिँदो हो , झगडा गर्दो हो । उसले ताल्चालाई नियालेर हेर्यो उसले ताल्चा भित्र मुटु भेट्टाएन । उ निष्कर्षमा पुग्यो ताल्चा अविश्वासको प्रतिक हो , निषेधको धरोहर हो त्यसैले ताल्चामा मुटु हुन्न ।

.....................   ..............................   ............................  ................................
    उसले ताल्चा तोड्यो । एउटा निष्पट्ट मौनता चिरेर त्यो कोठाको ढोका कुइयँ करायो । हलुका किरणहरु पनि डराउँदै उ सँगै भित्र छिरे । उसले पछि फर्किएर हेर्यो उसको पछि त्यो कोठामा उसको मन र केहि किरणहरु छिरेका थिए । उ एक्लै थिएन ।

“चुप लाग !” ढोका बन्द गर्दै गर्दा उसले ढोकालाई अराएको पनि थियो ।
ढोकाले यसपाली टेर्यो शायद , बन्द हुँदा उ चुपचाप थियो । उज्याला किरणहरु बाहिरै फर्के ।
    बत्ति अँध्यारै होस् भन्ने चाहन्थ्यो शायद , बलेन उसले बाल्न चाहँदा पनि । उसले खाट छामिहेर्यो । धुलै धुलो भएको थियो होला उसको हात खस्रो भएर आयो । छेवैको ड्रेसिंग टेबलको ऐना मा उसको अनुहार थिएन । माया ऐना हेर्दिन थिई खासै , उ मख्ख पर्थ्यो मायालाई आफ्नो सुन्दरतामा विश्वास छ भन्ठानेर । माया मात्र झ्याल बाट बाहिर हेर्थी । उ झ्यालको छेवैमा गयो । झ्यालको एउटापल्ला खोल्यो । बाहिर को स्ट्रिट ल्याम्प त्यो झ्याल बाट प्रश्ट देखिन्थ्यो । उसले जुनलाई हेर्यो त्यहि झ्यालबाट अनि स्ट्रिट ल्याम्प पनि ।
“स्ट्रिट ल्याम्प बिरामी छ क्यारे , थोरै पहेँलिएको छ !” उसले सोच्यो
“के नचाहिने कुरा सोच्छ !” मनलाई सँधै उसको सोचाइ मै आपत्ति हुन्छ ।
“ किन उ बिरामी हुन पनि नपाओस् त ?”
“ त्यसको रंग नै त्यस्तो हुन चाहिँ पाउन्न र?” मनले फेरि प्रतिकार गर्यो ।
“ कस्तो बिरामी रंग त?”
उसले आफ्नो ढिपी छोडेन ।
“ तँ मायाको बारेमा पत्ता लगाउन आएको की स्ट्रिट ल्याम्प को बारेमा ?”
    उसलाई थाहा छ कसैले प्रश्न सोध्नु पर्दैन उ माया कै बारेमा पत्ता लगाउन आएको हो । तर खै मायाले आफु जानु अघि केहि खासै कुरा छोडीन पनि त आखिर ! उसको कपडा भएको सुटकेश मा केहि नै छैन होला । उसको दवाइ को शिशि त्यहि खाट को खापा मा राखेकी थिइ ।स्लिपिंग ट्याब्लेट को शिशि होला । मान्छेले सपना देख्न पनि त सुत्नु पर्छ । शायद माया सपनाहरु नटुटुन् भन्ने चाहन्थी ।

...................  ............................  ............................ ...................... ..................
    कोठा समग्रमा यथावत नै लाग्यो उसलाई , केहि त परिवर्तन छैन ।हुन त माया पनि त परिवर्तन चाहन्नथी । उसलाई परिवर्तन भइरहने जीवन यति नराम्रो लागेको हुन सक्छ की उसले स्थायी उपाय रोजी !!!!
कोठाको स्थायित्व यति यथावत थियो कि त्यो पंखा पनि मुस्कुराइरहेथ्यो
“किन केहि छ र हाँस्नु पर्ने ?” उ आवेशमा आयो ।
“को संग बोलेको ?” उसको मन छक्क पर्यो ।
“त्यो पंखालाई हेर त , हाँस्दै छ !’
“ त्यो हाँसेको हैन ,बुट्टा हो त्यसको !”
“ काहिँ बुट्टा पनि हाँसे जस्तो हुन्छ त ?”
“हैन म हाँसेकै हो !”
पंखाले फेरि जिस्क्यायो उसलाई । पंखालाई उसको पिडामा नुनचुक दलिदिने पुरानो वानी छ । के माया सँग साडी मात्र भएको भए उ झुण्डीन सक्थी झुंडिन प्रेरित गर्ने उसको रातो सितारा जडेको साडि हैन , पंखा हो जो छतमा बसेर मुस्कुराइरहन्थ्यो ।
“ किन त ?” उ फेरि मन छोडेर पंखा तिर फर्कियो !
“मायाको बारेमा बुझ्न आएको हैन ? उ सँग अन्तिम भेट मेरो थियो !”
“तँ मायाको हत्यारा होस् त्यसो भए !”
“ मैले त मात्र उसलाई स्वतन्त्र हुन सघाएको हुँ !” पंखा शालिन थीयो ।
“ के म उसको कारागार हुँ र ?”
“तेरो आवाज बढ्दै छ , बाहिर सुनिएला !” मनमा शंका पलायो !
पंखा मात्र हाँसिरह्यो । मानौँ उ उत्तरबिहिन हुँदा पनि मुस्काउन सक्ने अद्वितिय क्षमता राख्दछ । अरु कसैको लागि पंखाले दुरी बिनाको यात्रा गर्छ ।
“खोइ त मेरो उत्तर ? किन आफुले गरेको हत्यामा शालिनताको कात्रो बेरेर स्वतन्त्रता भन्छस् ” उ जंगियो ।
“ तँ जे भन् उ मरेकी हैन ,स्वतन्त्र भएकी हो !”
अचानक उसले पदचाप सुन्यो वाहिर कसैको ,आवाज बढ्दै गयो उसैको मुटुको वाटो भएर कोहि कोठामा निक्ले जस्तो लाग्यो । बिस्तारी आकृती देखा पर्यो कोठामा !!!!!!!!!!!!!!
उसको मन उसले नटेरे पनि चिच्याइ रह्यो त्यो भ्रम हो माया हैन भ्रम हो माया हैन !!!!!!

समाप्त !!!!

Read Full Discussion Thread for this article