Posted by: crazy_love February 8, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        

“There is no greater agony than bearing an untold story inside you.”-Maya Angelou


भाग-१


"सोचाइका क्रमहरु सकिए जस्तो, यात्राको अन्तिम बिन्दुमा पुगिएजस्तो, कतै केहि बाकी नरहे जस्तो, यस्तै हुन्छ मलाइ आजकाल। केही कुराको अर्थ भेट्टाउदिन म, कहिँ पनि कारण पाँउदिन म। जीबन वाक्कै लाग्दो रुटिन भएको छ। हरेक कुरा निरस छन्, हरेक क्षण उदास पनि। म भित्र भित्रै थाकेकी छु, आफैभित्र उब्जिने प्रश्नहरुसङ  भाग्न थालेकी छु। यो जिबन के हो? म को हुँ? यी आबश्यक्ताहरु के हुन्? मलाइ यस्तै कुराहरुले हरदम पिरोलीरहन्छन्। मलाइ लाग्छ म कुनै दिन यस्तै लहडमा आत्महत्या गर्छु। मेरो लागी जिबन अस्तित्वबिहीन छ। भ्रमको भुँवरीमा रुमल्लिने सपनाका कुराहरु जस्तो। साँच्चै, म आजभोली डराउन थालेकी छु।"


"डर ?? के को डर? फेरि पागल पागल कुरा नगर त। हे भगवान! कुन पागल फिलिमको असर हो यो?" फोनमा मेरो कुरा सुनिरहेकी मीली उता हाँस्छे। म छक्क पर्छु। के मीली पनि मेरो कुरालाइ गम्भिरता पुर्बक लिन्न। म फेरि सोच्न थाल्छु, कोही मेरो कुरालाइ किन बुझ्दैनन्?


"एक पेग "मार्गरिटा अन द रक", पिउनु पर्छ जिबन सुन्दर देखिन्छ थाल्छ, साथी! ल, भरै ७ बजे आउ त्यही रेस्टुरेन्टमा, आजको ड्रिन्क्स् मेरो तर्फबाट।" भन्दै मीलीले फोन राख्दी।


मलाइ बाहिर जाने मन छैन, म कोठाभित्र एक कुनाबाट अर्को कुना गरी हिँडि रहन्छु। छटपटि जस्तो भैरहन्छ, मेरो प्यारो लेखकको नयाँ उपन्यास किनेकी छु, तर यो पढ्नै मन छैन। यसपाली लेखकले लेख्ने शैली परिबर्तन गरेको छ। उपन्यासमा एकपछि अर्को हत्या हुँदैछ, शायाद ३-४ भन्दा बढी मान्छे मरीसके, तर हत्यारा अझै मस्त हिँडीरहेको छ, बिना कुनै पस्चाताप। मलाइ उदेक लाग्छ, म  आधी पढेर उपन्यास राखिदिन्छु। हो, मलाइ केही गर्न मन छैन।

 

एकछिन झ्याल बाहिर हेर्छु, पानी उदेकलाग्दो गरी दर्की रहेछ। यो झरीको मौसम हैन तर पनि केहि दिनदेखी लगातार बर्षीरहेछ। मौसमले पनि मुडमा असर गर्छ। कतै मलाइ यही मौसमले त डिप्रेस गरेको छैन? झ्यालबाहिर सडक सफा छ, पानीले फोहोरहरु सबै बगाएको छ, सडक सुनसान छ। मानौँ, सडकमा हिँड्ने मानिसहरु गायब भएका छन्। लाग्छ, उनिहरुलाइ अरु कुनै ग्रहका प्राणीहरुले अपहरण गरेर लगेका छन्।


फोनको घन्टी बज्छ, मलाइ उठाउन मन लाग्दैन। मिली हुन सक्छे, अथवा अरु कोही। जो भए पनि के मतलब? कोहि मेरो कुरा बुझ्न तयार छैनन्। म मात्र किन उनिहरुको कुरा सुनु? म त्यतिकै झ्याल बाहिर हेरि रहन्छु, बल्ल एउटा मोटर देखिन्छ सडकमा, त्यसपछि केही अरु मोटरहरु देखिन थाल्छन्। फोनको घन्टी बजि नैं रहन्छ। म उठाँउदिन।


अल्छि लाग्छ, दराजको लुगाहरु मिलाउनु पर्नी। एसो हेर्छु छ्यालब्याल छन्, ह्या जति मिलाए त्यस्तै हो। झर्को लाग्छ। हैन, म मिलाउछु भरै सम्म। कोठा सफा राखे मन पनि आनन्द हुन्छ। यति जाबो कोठा मिलाए पनि नमिलाए पनि मेरै हो। यी भित्ताहरु मेरो दुखसुखका साक्षी बनेका छन्। जब संसारदेखि लुकेर म रुन्छु, यिनीहरु चुपचाप हेरिरहन्छन्, अरुलाइ भन्न सक्दैनन् न त सहानुभुतिको लागि केहि शब्द नैं सुनाउछन्। यिनीहरुले मेरो मनलाइ देखेका छन्, शायद बुझेका पनि होलान्।


"ढक" "ढक"  आबाज सुन्छु, त्यो अर्कै कोठामा होला। मलाइ ढोका खोलेर हेर्न मन छैन। "ढ्याङ, ढ्याङ" ढोकै फोर्ला जस्तो आवाज आएपछि खोलेर हेर्छु। मीली उभिएकी छे, उ मलाइ अङाल्छे, मेरो आँखा त्यतिकै रसाउछन्।


"ल, जाउ अब।" मीली ढोकाबाटै भन्छे।


"कहाँ?" मलाइ फेरि अल्छि लाग्छ।


"कहाँ रे? अघि फोनमा मैले के भनेको थिए?" उ रिसाउदै भित्र पस्छे।


"जान्न म कतै।" मलाइ झर्को लाग्छ।


"खुरुक्क हिँड्ने।" उ मेरो नजिकै उभिएर मलाइ आदेश दिन्छे। यहा मेरो साथी भने पनि परिवार भने पनि उही एकजना साथी हो। साथीहरु अरु पनि छन्, तर उ सङ जस्तो मेरो मनको कुरा अरुसङ हुँदैन। म अगाडी मेचमा फ्यालेको निलो जिन्स समात्छु र एउटा कुनामा जान्छु। उ मेरो पछि पछि आँउछे, जिन्स थुतेर लान्छे।


"के भयो?" मलाइ अचम्म लाग्छ।


"यो  खुइलिएको जिन्स मात्रै तिम्रो लुगा? जहिले यही थोत्रो पाइट लगाँउछे। अर्को लगाउने आज। जस्तो लुगा लगायो त्यस्तै हुन्छ मन।" मीली दराज खोलेर हेर्छे, कालो जिन्स झिक्छे।


"लगाउने म, तिम्रो च्वाइस?" मलाइ पनि रिस उठ्छ। म फेरि निलो जिन्स लगाउन थाल्छु, मीली एकछिनसम्म मलाइ हेर्छे अनि टि वि खोल्छे।


हामी ७ बजे अघि नैँ हाम्रो नियमित रेस्टुरेन्टमा पुग्छौ। यो नयाँ हो र त्यति मानिसहरु आँउदैनन्, हामीहरु बस्ने एउटा कौसी छ, जहाँबाट हामी अगाडीको हरियो बङैचा देख्छौ। बङैचाका रुखहरुमा झिलिमिलि बत्ति बालिएको छ। शायद नयाँ भएर होला रेस्टुरेन्ट धेरै सफा छ र शान्त पनि। भित्र पस्नासाथ ढोकैमा स्वागत गर्न बसेको छ एउटा युबक। उ हसिंलो छ र सुन्दर पनि। म भन्दा पनि मीलीसङ त्यो धेरै कुरा गर्छ। तर हामीलाइ थाहा छ उ खराब नियतको छैन। किनभने उ अर्कै समुहको जस्तो देखिन्छ। उसको साथीहरु केटै मात्र छन्, त्यो रेस्टुरेन्टमा सबै त्यस्तै छन्। हामीलाइ ढुक्क छ, कतैबाट टेन्सन छैन।


हाम्रो ठाँउमा कोहि बसेका छैनन्। मीली र बस्न नपाउदै "कोटुन" मेनु लिएर आँउछ। हामीलाइ अभिवादन गर्छ। हामीलाइ अर्डर सोध्छ। मीली उसको हालखबर सोध्छे। उ सन्चो छैन। उसलाइ सधै टाउको दुखेको हुन्छ, त्यो दुखाइ बिस्तारै गर्दन हुँदै हाततिर सर्छ। डाक्टरले उसको रोग पत्ता लगाउन सकेको छैन। मीली कुनै दिन २ वटा जिनटोनिक पछि ख्यालख्यालमा मलाइ देखाउदै भन्छे "डाक्टरले निको पार्न नसक्ने रोग उसैले निको पार्न सक्छे।" भनेर मलाइ देखाँउछे। त्यसदिनदेखि मैले कोटुनको मानसिक उपचार गर्नु परेको छ। कोटुन मलाइ देख्नासाथ खुशी हुन्छ। सधै झैँ आज पनि मैले उसको ब्यथा सुनिदिनु पर्छ।


"अहिले कस्तो छ कोटुन?" म आफुभित्रको निराशालाइ छोप्दै सोध्छु।


"अलि फरक छ।" कोटुनको अनुहारमा दुखाइको संकुचन उस्तै छ।


"अलि कम भयो?" मलाइ सकेसम्म छिटो सकाउन मन लाग्छ उ सङको कुरा।


"हैन के, पहिला भन्दा दुखाइ फरक भएको छ।" कोटुन टाउको कनाउदै भन्छ।


"कस्तो फरक?" मीली सोध्छे।


"पहिला टाउको हुँदै यसरी पाखुरा, कुहिना हुँदै हातको औंलाहरु झमझम पोल्थ्यो अहिले चाहिँ हातहरुबाट पेटतिर सरेको छ दुखाइ। पेटभित्र भित्रैबाट कसैले टोक्या जस्तो।" कोटुनको अनुहारमा अरु मुजा पर्छन्।


"लौ न, झन बढेछ कोटुनको दुखाइ। अब क्रेजीले तुरुन्तै औषधी दिनु पर्‍यो।" मीली कोटुनले नदेखिने गरी मलाइ दाँया आँखा झिम्काउछे।


"कोटुन! मलाइ लाग्छ तिमी राम्रो डाक्टरका जानु पर्छ। मलाइ त्यस बिषयमा त्यति ज्ञान छैन। साँच्चै भनेको म आफै डाक्टरका जाने बेला भएको छ। तिमी पनि जाउ।" मैले कोटुनको आँखामा म प्रतिको आशालाइ बेवास्ता गर्दै भने।


"हैन, मिस क्रेजी! मलाइ त तपाइले अस्ती सिकाउनु भएको कुराले केहि दिन आराम भएको थियो। मलाइ बिस्वाश छ तपाइले मेरो रोग निको पार्न सक्नु हुन्छ।" उसको बिस्वास देखेर मलाइ अचम्म लाग्यो। यो सबै ककटेल र मीलीको बदमाशी हो। मैले मीलीलाइ आँखा तरें।


"कोटुन! तिम्रो डाक्टर आज बिरामी हुनुहुन्छ।" उसले छड्के छड्के गर्दै मतिर इशारा गर्दै भनी। "त्यसैले डाक्टरको औषधी ल्याउनु पर्‍यो, जब उसलाइ औषधीले छुन्छ, त्यसपछी मात्र तिम्रो उपचार हुन सक्छ। हैन त?" भन्दै फेरी मलाइ जिस्काइ।


"सरी।" भन्दै कोटुन अर्डर नली फर्किन थाल्यो।


"म आज ककटेल पिउदिन, मलाइ खर्बुजाको जुस ल्याउदेउ।" मैले कोटुनलाइ भने।


कोटुन एकछिन रोकियो, अनि मीलीलाइ सोध्यो "तपाइलाइ नि मिस मीली?"


"मलाइ सधैं झैं जिनटोनिक ल्याउ। आज मैले तिमीहरु दुबैको उपचार गर्नु पर्छ जस्तो लाग्छ।" भन्दै हाँसी। कोटुन हाँस्दै गयो।


"बिचरा त्यो सोझो केटोलाइ उल्लु बनाउनु भयेन नि, मीली। उसको समस्या मानसिक जस्तो देखिन्छ। बेकारमा मलाइ डाक्टर बनाएर उसको पीडाको जोक बनाउने  है तिमी?" मैले मीलीलाइ सोझै भने, रिसाए नि रिसाओस भनेर।


"डाक्टरको समस्या पनि मानसिक त हो नि हैन र? अनि मानसिक डाक्टर र मानसिक रोगी भएपछि रोगको उपचार त सजिलै हुन्छ नि।" उसले उल्टो म प्रति ब्यंग गरी।


म चुपचाप आकाशतिर हेर्दै बसें। कोटुनले एकैछिनमा ड्रिंक्स लिएर आयो, मीलीको जिन टोनिक राखि दियो। मैले खरबुजाको जुस देखिन।


"यो तपाइको औषधी।" भन्दै कोटुनले मार्गरिटा राखिदियो। म मार्गरिटा, कोटुन र मीलीलाइ पालैपालो हेरिरहे।


क्रमश:

Last edited: 08-Feb-10 11:55 AM
Last edited: 08-Feb-10 12:00 PM
Last edited: 21-Feb-10 05:22 AM
Read Full Discussion Thread for this article