प्रश्न ३ - सप्रषंग ब्याख्या गर्नुहोश !
.......................................................................................१०
तिम्रो नाम सँग मेरो नाम जोडियो !!! - कवि राहुलभाई
तिम्रो नामसँग आज मेरो नाम जोडियो
नाम संग संगै धेरै धेरै बदनाम जोडियो
बेप्रसङ्ग झसङ्ग हुने कस्तो सम्बन्ध
जस्तो कि राधा सँग श्री राम जोडियो।
एक दुई पल्ट मुस्काएं होला त्यत्ती हो ,
हल्ला चल्यो, प्रेम पत्रको खाम भेटियो।
सुम्सुम्याइ पिठ्यूमा छुरी धस्नेहरुको
हातमा फूल बोकेको लामो लाम देखियो।
(यस परिक्षामा उत्तिर्ण हुने आकांक्षाका साथ यस पाठशालाका फसभाई राम प्रसाद न्यौपाने ज्यूले उत्तर दिएको लगत्तै म सेकेनभाई बिर्ख बहादुर बोगटी पनि यहि प्रश्नको उत्तर दिने प्रयास गर्दैछु, आशा छ अव्वल अंकका साथ उत्तिर्ण हुनेछु।)
उत्तर ३
माथिका हरफहरु कवि श्री राहुलभाई रायमाझी द्वारा लिखित ‘तिम्रो नाम संग मेरो नाम जोडियो’ शीर्षकको कविताका हरफहरु हुन्। यस कवितामा कविले नाम जोडिनुलाई कपटी मानिसहरुको धुर्तता, दुष्ट्याईँ, वहशीपना, बिश्वाशघातीपन् तथा अवसरवादीपन संग तुलना गरेका छन्। समसामयीक झैझगडा, किचलो, भाँडभैलो, फोहोरी राजनिती तथा घात-प्रतिघातको अनौठो वर्णन पनि कविज्यूले अत्यन्तै कुशलताका साथ प्रस्तुत गरेका छन्।
‘नाम जोडिनु’ कुनै अनौठो कुरा हैन। तर कविज्यूले यहाँ नाम जोडिनुलाई एक किसिमको धोकामा फस्नुसंगको यथार्थलाई प्रस्तुत गरेका छन्, त्यसैले त ऊनि भन्छन- “नाम संग संगै धेरै धेरै बदनाम जोडियो”! साँच्चै, कुनै नामसंग आफ्नो नाम जोडिँदा आऊने त्यो सुखानुभूती, त्यो रोमांच त्यतिबेला तिरोहीत हुन्छ जब नाम संग संगै बदनाम टाँस्सिएर आउँछ। यहाँ बदनाम, सामाजिक र राजनितीक दुबै तहमा जोडिएको छ, यहाँ धोका दुबै तब्कामा भएका छन्, यहाँ मानसिक व्यभिचार दुबै क्षेत्रमा भएका छन् र यहाँ कविज्यू जस्ता सयौँ, हैन कयौँ; जसलाई हामि ‘मात्र मनुष्य’ को रुपमा चिन्छौँ, घाइते भएका छन्, फँसाईएका छन्, थिचिएका छन, मिचिएका छन् र पिल्सिएका छन्। परीवारहरु, खलकहरु, छिमेकीहरु, सथिभाईहरु सबैले बदनामीको माला लगाईदिएका छन्, मात्र केवल एक दुई पटक मुस्कुराईदिएकोमा। यहाँ काङ्ग्रेसहरु, एमालेहरु, माओवादीहरु सबै आफूलाई मनुष्य कम र पार्टी बढि देख्नेहरुले बदनामीको दोसल्ला ओढाईदिएका छन् केवल एक दुई पटक कुनै एउटा पार्टीतिर फर्केर मुस्कुराईदिएकोमा!
ईतिहास यिनीहरु बुझ्दैनन्, वर्तमान यिनीहरु जिउँदैनन् र भविष्य यिनीहरु हिँड्दैनन् तर मात्र वर्तमान जिऊने एक साधारण मनुष्यलाई यीनिहरु एक यूगले अर्को यूग थिचेर, एक समयले अर्को समय मिचेर, एक कालमाथि अर्को काल खप्टेर ईतिहासमा नै कलंक लगाऊने गरि बदनामीको तीलक लगाईदिन्छन्! यी ढाड कन्याईदिन काऊसो बोकेर हिँड्नेहरु, यी पिठ्युँ सुम्सुम्याऊन छुरि घोटेर जिउनेहरु, यी सरकार बनाऊन लाश चढेर हिँड्नेहरु; साधारण, सरल, गरिब ‘मात्र मनुष्यलाई’ देश गिजल्ने आफ्नो मतियार बनाऊन, देश रेट्ने आफ्नो हतियार बनाऊन कागजका फूल बोकेर लाम लाग्दै पर्खन्छन् र लाममा नथपिएमा नाम जोडेर बदनाम गराउँछन्।
उपसंहार-
यस कविताबाट, कवि राहुलभाई रायमाझीले समग्रमा, अति कुशलताकासाथ, अति स्पष्टताकासाथ; यध्यपी: अति कोमलताकासाथ, वर्तमान जिऊनेहरुमाथि वज्रप्रहार गर्नेहरुप्रती आफ्नो आक्रोश पोखेका छन् र साथसाथै आफू लगायत अरु करोडौँ ‘मात्र मनुष्य’ हरुको पिडा पोखेका छन्।