Posted by: _____ January 20, 2010
"Thopa thopa pani le samudra bancha"
Login in to Rate this Post:     0       ?        
Some people are desperately trying to prove that they are the indigenous people. some are telling they don't want entire Nepal they just want a piece of it and they want to name it with a name that belong to their race ( funny part is that these people call them anti racist) but out of this crowd one gurung guy is trying to give back to the society.

ppl with negative thoughts may say " sala supermarket kholera tanna kamayoo, ahiley swang parcha"
ppl will positive thoughts will comment " yes he made profit but now he is giving back to the society, here he is not just talking the talk, he is practicing in real life"

same article, how you comment depends upon the seeing capacity of your brain.

अर्बपतिले आँसु झार्दा


काठमाडौ, २०६६ माघ ६ -
आफ्नो विगतको स्थिति सम्झीदा उनी भावुक
भए र उनको गला अवरुद्ध भयो । अनि देशको वर्तमान स्थिति सम्झीदा उनले
भक्कानो फुटाए र आँसु झारे । खल्तीबाट रूमाल झिकेर आँखा पुछ्दै र अनुहार
छोप्दै माइकबाट टाडा सरेर उनी एकछिन रोइरहे । यो कुनै नाटक थिएन र ती
आँसुभित्र अलिकति पनि आडम्बरको लेस थिएन । म श्रद्धा-विभोर भएँ,
अन्तर्वार्ता रिकर्डिङमा सघाइरहेका मेरा प्राविधिक मित्र विनोद गिरी
अश्रु-विभोर भए । एकछिनको मौनतापछि उनी बोल्न थाले ।


'यत्रा सोझा नेपालीको, यस्तो सुन्दर देशको जुन हालत छ, त्यसले गर्दा म
भावुक भएछु । हुन त राजनीति मेरो विषय होइन, तर पनि नेपाल संसारकै सबभन्दा
सुन्दर देश हुनुपर्ने, संसारकै सबभन्दा सम्पन्न देश हुनुपर्ने । अहिले यो
छियाछिया, टुक्राटुक्रा र विभत्स भएको छ । तैपनि म संघर्ष गरिरहेको छु,
देशको लागि केही गरौं भनेर ।'


उनले त्यसो भन्दा मलाई लागिरहेको थियो, त्यस्तो पीडा त देशका सबै शीर्ष र
अन्य नेता भनाउँदाहरूलाई हुनुपर्ने थियो । देशको स्थितिका कारण भक्कानो
फोरेर त तिनीहरूले आँसु झार्नुपर्ने थियो । एकपल्ट खुलामञ्चमा सबै भेला
भएर, घ्वाँघ्वाँ रोएर आत्मशुद्धि गर्नुपर्ने थियो । तर तीमध्ये अधिकांश
गोहीको आँसुमात्र बगाउँछन् । ती हरेक दिन एउटाले अर्कोलाई पछार्ने
षडयन्त्र गर्छन् र त्यही क्रममा यो देशलाई बारम्बार उफार्छन्, थेचार्छन् र
बजार्छन् । टेलिभिजनमा हेर्दा पनि घिनलाग्ने हाँसो हाँस्छन् । थोत्रो
चप्पल लगाएको विगतबारे न ती भावुक हुन्छन्, न आफैंले बिगारेको वर्तमानबाट
ती आहत हुन्छन् । केही समयअघि एकजना महिला स्रोताले एउटा एफएम कार्यक्रममा
भनेकी थिइन्, 'मलाई त यिनीहरूको मुख हेर्न पनि नपरे हुन्थ्यो जस्तै लाग्छ
।' निश्चय पनि त्यो घृणा त्यसै जागेको होइन । तर विडम्बना नै भन्नुपर्छ,
राजनीतिको जातै त्यस्तो, तैपनि मानिसका भीडहरू तिनकै पछि लाग्छन् ।


माथि चर्चा गरिएको भावुकता र भक्कानोको सन्दर्भ जोडिएको छ, नेपालको
सबभन्दा ठूलो सुपरमार्केट भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ।
काठमाडौंको शिक्षण अस्पतालमा पाँच करोड रुपैयाँको लागतमा एउटा भव्य
आकस्मिक कक्ष निर्माण गर्दैछन् भन्ने थाहा नपाएसम्म मैले उनलाई एउटा सफल
व्यापारीको रूपमा मात्र चिनेको थिएँ । उनको सफलतालाई मैले असामान्य माने
पनि प्रेरणादायीचाहिँ मान्नसकेको थिइन । व्यक्ति केन्दि्रत सफलतालाई
प्रेरणाका रूपमा हेर्न हुँदैन, किनभने त्यसले मान्छेलाई स्वार्थी बन्न
सिकाउँछ । त्यसैले होला, लोककल्याणकारी भावना नभएका व्यापारीहरूलाई मैले
कहिले श्रद्धाको दृष्टिले हेरिन । 'व्यापारमार्फत मैले सयौंलाई रोजगारी
दिएर देश र समाजलाई ठूलो योगदान पुर्‍याएको छु, स्कुल र अस्पताल खोल्दै
हिँड्ने मेरो काम होइन' भनेर गरिने तर्कसँग म कहिल्यै सहमत हुन सकिन ।
सामान्यतया त्यस्ता व्यापारीले सेवाको लागि होइन, पैसाको लागि रोजगारी
दिएका हुन्छन् । तिनमा मानवप्रेम कम र पुँजीप्रेम बढी हुने गर्छ ।


मीनबहादुर गुरुङ त्यही वर्गका व्यापारी हुन् या होइनन् भन्ने हालैसम्म
खुल्नसकेको थिएन । त्यो स्वाभाविक पनि थियो, किनभने उनले व्यक्तिगत स्तरमा
कतिपय मानवीय कामहरू गरिसकेका भए पनि ठूलो स्तरमा त्यस्तो कुनै काम गरेको
सुनिएको थिएन । खोटाङको एउटा किसान परिवारमा जन्मिएर, काठमाडौं झरेर,
बैंकमा कार्यालय सहायकको जागिर खाएर, रात्रिकालीन पढाइ गरेर, बाटोछेउ एउटा
सानो कोल्डस्टोर खोलेर, २०/२५ वर्षको अन्तरालमा त्यसलाई अर्बौं रुपैयाँको
पुँजी भएको विशाल सुपरमार्केटमा परिणत गर्नु चानचुने कुरा थिएन । तर
अर्बौं रुपैयाँको पुँजीको शक्ति केवल व्यक्तिगत मुनाफाका लागि सीमित
हुनुहुँदैन भन्ने यो स्तम्भकारको मान्यता हो । खुला अर्थशास्त्रका ठेलीहरू
कण्ठस्थ पारेका धेरैलाई मेरा तर्कहरू अपाच्य र मूर्खता लाग्ला, तर
वास्तविकता के हो भने पुँजीलाई व्यापारमा मात्र सीमित गर्दा बृहत्तर
सामाजिक हितका लागि प्रयोग हुनसक्ने त्यसको अपार शक्ति अत्यन्त संकुचित
हुन जान्छ । पुँजीको शक्ति अपरम्पार छ भन्ने कुरामा कुनै शंका छैन ।
त्यसैले बूढो भइसक्दा पनि अर्बाैंको पुँजीमा अर्बाैं थप्नमात्र खोज्ने र
आफ्नो सम्पत्तिको अनुपातमा अत्यन्त साना कल्याणको काम गरेर ठूला कुरा
गर्ने व्यापारी जति नै सफल भए पनि असल मान्छे हुन सक्दैनन् । त्यस्तो
सफलता तिनैले राखुन् र डकार आउन्जेल खाउन् । त्यस्तो दुर्गन्धित सफलताबारे
अरूले गर्व गर्नुपर्ने कुनै कारण छैन ।


मीनबहादुर गुरुङ माथि चर्चा गरिएको चरित्रभन्दा नितान्त फरक रूपमा
प्रस्तुत भएका छन् । नेपालमा मात्र होइन, संसारमै धन र मन दुवै भएका
व्यापारीहरूको संख्या ज्यादै न्यून छ । गुरुङ धन र मनको स्वच्छ संगमका
रूपमा देखापरेका छन् । अन्तर्वार्ता लिनु अगाडि मैले गुरुङलाई भनेँ, उनको
व्यापारका बारेमा कुरा गर्नु भइदिएको भए, म खोजीखोजी बांगा प्रश्नहरू
गर्ने थिएँ । तर सो अन्तर्वार्ताको उद्देश्य गुरुङले आफ्नै अग्रसरतामा
शिक्षण अस्पतालमा पाँच करोडको लागतमा निर्माण गरिदिन लागेको आकस्मिक
कक्षबारे श्रोतालाई जानकारी दिनु र उनीभित्र रहेको कल्याणकारी भावनालाई
उजागर गर्ने प्रयास गर्नु थियो । तर अन्तर्वार्ताको क्रममा उनको
कल्याणकारी भावनामात्र उजागर भएन, त्यो भावना पछाडि एकजना आदर्श
व्यापारीमा हुनुपर्ने गहिरो मानवीय दर्शन पनि उजागर भयो ।


गुरुङले भने, 'आदरणीय नेपाली दाजुभाइहरूले हामीलाई माया गरेर जुन उचाइमा
पर्‍याइदिनुभयो, त्यसका लागि हामी उहाँहरूप्रति धेरै-धेरै आभारी छौं ।
हामीले पनि त केही गर्नुपर्‍यो । नेपाली जनसमुदायले हामीलाई दिने, हामीले
चाहिँ केही फिर्ता नदिने ? त्यसैकारणले शिक्षण अस्पतालको आकस्मिक कक्ष
बनाइदिन लागेका हौं ।' धेरै व्यापारीहरूले रोजगारी दिएको कुरालाई नै आफूले
समाजलाई फिर्ता दिएर गुन लगाएको तर्क गर्ने थिए । नत उनीहरूले आदरणीय
नेपाली दाजुभाइहरूप्रति आभार नै प्रकट गर्ने थिए । अन्तर्वार्ता जति अगाडि
बढ्दै गयो, म गुरुङप्रति त्यति बढी नतमस्तक हुँदै गइरहेको थिएँ । एक छोरा
र एक छोरीका पिता ५१ वषर्ीय गुरुङले जब नेपाली जनसमुदायले दिएको शुभेच्छा
र शुभकामनाको ऋण तिर्नुछ, त्यसैले अर्बौं रुपैयाँको सम्पत्ति हामी हाम्रा
छोरा र छोरीलाई मात्र दिनेवाला छैनौं भने म विश्वकै धनाढ्य बिल गेट्सलाई
सम्भिmरहेको थिएँ । आफ्ना सन्तानलाई थोरैमात्र छोडेर बिल गेट्सले खर्बौंको
सम्पत्ति लोककल्याणकारी कार्यहरूमा लगाउँदैछन् ।


एउटा रोचक तथ्य के भने हरेक वर्ष विश्वका सबभन्दा धनाढ्यहरूको सूची
प्रकाशित गर्ने फोब्स पत्रिकामा ती धनाढ्यहरूको परिचय पढ्दा सामान्यतया
दुईवटा विशेषता देखिन्छ । पहिलो, ती अधिकांश गुरुङजस्तै पैत्रिक
सम्पत्तिले भन्दा पनि आफ्नो बुद्धि, मिहेनत र अवसरले धनी भएका देखिन्छन् ।
र दोस्रो, धेरैजसो ठूलो स्तरका लोककल्याणकारी कामहरूमा आफ्नै प्रयासबाट
धनी हुनेहरूले नै गर्ने गरेका छन् । जुन विशेषता गुरुङमा पनि देखिएको छ ।
पैत्रिक सम्पत्तिको आडमा मात्र धनी भएकाहरू शान त खुब देखाउँछन्, तर
समाजमा तिनले आफ्नै प्रयासले धनी भएका र ठूलठूला लोककल्याणकारी कामहरू
गरेकाहरूले जस्तो सम्मान र प्रेम नपाउने रहेछन् ।


अन्तर्वार्ताको अन्त्यमा गुरुङले ३५ वर्ष अगाडि आफूले 'एउटा गेडा सिटामोल
खान नपाएर झन्डै-झन्डै अपांग भएको' दिन सम्झीदै भने, 'मजस्तै लाखौं
नेपालीहरू अहिले पनि सिटामोल खान नपाएर अपांग हुने स्थिति छ । मेरो र मेरी
श्रीमतीको इच्छा उनीहरूका लागि हाम्रो नाममा अर्बौ रुपैयाँको अक्षयकोष खडा
गरी निकट भविष्यमा सामुदायिक स्वास्थ्यको क्षेत्रमा सेवा गर्ने छ ।'


यो देशमा मीनबहादुर गुरुङजति या उनीभन्दा धनी धेरै व्यापारीहरू हुनुपर्छ ।
कतिपयले कति राम्रा कामहरू गरेका पनि छन् । ती सब आदरणीय छन् । तर
सम्पूर्णतामा हेर्ने हो भने गर्दै नगर्ने या अत्यन्त थोरै गर्नेहरूकै
संख्या बढी हुनजान्छ । ती सबैमा गुरुङको जस्तै सोच र कर्मभाव हुने हो भने
अनुमान गरौं, यो देशमा कतिवटा भव्य विद्यालय र कतिवटा भव्य अस्पतालहरू
सहजै निर्माण हुन्थे होलान् । हामी सबै कामना गरौं, गुरुङको भावि इच्छा
साकार होस् । उनको प्रेरणाले धेरैभन्दा धेरै धनाढ्यहरूमा सत्बुद्धि छाओस्

Source: http://www.ekantipur.com/np/news/news-detail.php?news_id=305429
Read Full Discussion Thread for this article