Posted by: Birkhe_Maila January 15, 2010
अमेरिकामा कसरी नेपालकोझै रसिलो मम र अचार बनाउने होला?
Login in to Rate this Post:     0       ?        

हाहाहहा बसन्ती, मेरो मासु पकाऊने स्टाइल रे!  ५०० सिट्ठिमा त ढुङ्गै गल्ला नि रिट्ठे।


जे होस मासुको भेटिएन, माछाको टाँस्छु है त!


 


ल जाडोमा तातो तातो ताजा माछाको झोल सहित भात खान मन गर्नेलाई माछाको करि बनाउने रेसिपि! J


 


चाहिने सामाग्रि-


१)      २ वटा मध्यम साइजको रहु, अन्य कार्प वा केहि नभेटिए टिलापिया माछा


२)     धैर्यता


३)     ४ वटा मध्यम साइजको गोलभेँडा


४)     तेल


५)    ६ केस्रा लसुन


६)      लगनशीलता


७)    एउटा टुक्रा अदुवा


८)     २ वटा धेरै पिरो नभएको हरियो खुर्सानी


९)      आधा प्याज


१०)  एक चम्चा सादा दही


११)   आधा चम्चा सरस्युँको धुलो( येलो मस्टर्ड)


१२)  नुन,बेसार,भिनेगर वा/अनि कागती, धनियाँको धुलो, मरिचको धुलो, ३-४ वटा तेज पत्ता, २ वटा ल्वाङ्ग, एउटा सानो टुक्रा दालचिनि। ( मन लागे थोरै जिराको धुलो पनि प्रयोग गरे हुन्छ।)


१३)  साइडमा हेल्प गर्न हेल्पर लहरे।


 


बिधी-


१)      माछाका टुक्राहरु पार्नुहोस, टाउकोलाई दुई चिरा गर्नुहोस।


२)     माछामा नुन, बेसार र भिनेगर हालेर मल्नुहोस र करिब १५ मिनट राख्नुहोस। झिँगा पर्ला कि भनेर लहरेलाई झिँगा धपाऊन स्ट्यान्डबाई राख्नुहोस।


३)     चौँडा फ्राइङ प्यानमा तेल तताउनुहोस र माछा हल्का लाल हुन्जेल फ्राई गर्नुहोस।


४)     माछा फ्राई गर्दा सावधानि अपनाऊनुहोस। टाँस्सिएमा वा पड्केर तेल उछिट्टिन पुगेमा त्यसको रिस लहरेमाथि पोख्नुहोस।


५)    फ्राई गरेको माछा झिक्नुहोस र एक टुक्रा खानुहोस।


६)      मुसुक्क हाँस्नुहोस।


७)    प्याज र हरियो खुर्सानि काट्नुहोस, लसुन र अदुवा पिस्नुहोस। अलिकता बेसार मिसाएर दहि र बेसार फिट्नुहोस।


८)     गहिरो भाँडामा तेल तताउनुहोस, तेज पत्ता, ल्वाङ्ग र दालचिनि हाल्नुहोस र एकैछिनमा प्याज र हरियो खुर्सानि हालेर फ्राई गर्नुहोस।


९)      प्याज रातो भए पछि लसुन र अदुवाको पेस्ट हाल्नुहोस र करिब १-२ मिनट फ्राई गर्नुहोस।


१०)  धनियाँको धुलो र मरिचको धुलो हाल्नुहोस अनि दहि र बेसारको पेस्ट अनि सरस्युँको धुलो हालेर चलाउनुहोस।


११)   मसलाबाट तेल निस्केको जस्तो लागेपछि गोलभेँडा र नुन हाल्नुहोस र गोलभेँडा नगले सम्म मजाले चलाउनुहोस।


१२)   गोलभेँडा गलेपछि २ कप पानि हाल्नुहोस र उम्लन थालेपछि फ्राइ गरिएका माछाका टुक्राहरु हाल्नुहोस। पन्यौले चलाउनुको सट्टा भाँडा नै हल्लाएर चलाउनुहोस अन्यथा माछा टुक्रिने डर हुन्छ।


१३)  करिब ५ -७ मिनट हल्का तापमा माछालाई भिज्दै पाक्न दिनुहोस।


१४) हरियो धनियाँको पात काटेर हाल्नुहोस।


१५) एक टुक्रा माछा र अलिकता झोल झिकेर चाख्नुहोस। यसपाली भने बिचरो लहरेलाई पनि चाख्न दिनुहोस।


 


माछाको तरकारि झोल सहित तयार भयो। तातो तातो माछाको झोल संग भात निल्नुहोस र काँडा पन्छाउँदै माछा खाने संघर्ष गर्नुहोस।


 


धन्यवाद्।


 

Last edited: 15-Jan-10 01:57 PM
Read Full Discussion Thread for this article