Posted by: Birkhe_Maila January 12, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

..माथिबाट क्रमश...


पुरेले फेरि कोल्टो फेर्यो। उसलाई अझै सजिलो भएन।
रातको ११ भन्दा बढि बजिसकेको थियो तर निद्रा पुरेका आँखा बाट कोशौँ टाढा थिए। उसको र सुन्तलीको घरको आँगन एउटै भए पनि आज बेलुकि देखि नै पुरेले सुन्तलीलाई देखेको थिएन। बेलुका साँझ पर्ने बेलातिर उसले सुन्तलीकी आमा, सुन्तलीको बाबु र भाई सबैलाई देखेको थियो तर सुन्तलीको पत्तो थिएन। साँझ देखि नै उसको छटपटि बढेको थियो। दिनहुँ पटक पटक आँखा जुधाउनु, मुसुक्क हाँस्नु, सुन्तलीका हरेक चालहरु नियाल्नु उसकोलागि कुनै अम्मल जस्तै भैसकेका थिए। उसलाई सुन्तलीको एक एक जोर लुगाहरुका रंग र किसिम कण्ठ थिए भने सुन्तली कतिबेला के गर्छे पनि सबै उसलाई थाहा भैसकेको थियो। प्रत्यक्षत:उनिहरु त्यति बोलेका कहिले पनि थिएनन तर मनमनै कयौँ पटक पुरेले सुन्तलीलाई सहयात्री मानेको थियो। पुरेले जीवनको जुनसुकै कुरा कल्पना गर्दा पनि अन्त्यमा सुन्तलीमा पुगेर टुङ्गिन्थ्यो। उसले सुन्तलीलाई हेर्दा ऊ बोलिदिए हुन्थ्यो भन्ने सुन्तलीको आशय कयौँ पटक पुरेले बुझेको थियो तर उसले न हिच्किचाई बोल्न कहिले पनि सकेको थिएन, तर पनि ऊ ढुक्क थियो किन भने सुन्तलीको आँखामा ऊ प्रतीको प्रेम उसले देखेको थियो र ऊ शायद आफू बोल्न सक्ने नभए सम्म कुर्नको लागि तयार देखिन्थ्यो। एक किसिमले भन्ने हो भने पुरेको आन्तरिक मन शायद अलिकता त्रसित थियो र ऊ पहिलो पहल सुन्तलीबाट होस भन्ने चाहन्थ्यो। उसको नजर जुधाई र मुस्कानको प्रेममा ऊ कुनै चलचित्रको दर्शक जस्तो थियो जो आरामदायी कुर्सिमा बसेर आफूअगाडिको दृष्यमा आफूलाई देख्दथ्यो। उसको अगाडि भर्खरै पस्किएको भात थियो जुन उसले कुनै पनि समयमा लिएर खान सक्दथ्यो तर ऊ कसैले कोखाई कोखाई गरेर खुवाउने पर्खाईमा थियो शायद!
"कता गई होलि?"
कोल्टे फेर्दै उसले सुन्तलीलाई सम्झियो।
"न कुनै झिल्केले हरेर लग्यो कि?"
कल्पनाले उसको छातिमा कतै तातो र अमिलो दुखाई जन्मायो।
"ह्या हैन,कतै गईहोलिन मामाघर सामाघरतिर नत्र त तेसका आमा बाउ छटपटिएर खोज्न गइआल्थे नि!"
पुरेले मन बुझायो।
" जो सित नि मस्केर बोल्छे फेरि!"
पुरेको छाति फेरि पोल्न थाल्यो। अस्ति उसको आँखा अगाडि सुन्तलीकै घरको आँगनमा लहरे सुन्तलीसित जिस्किएको उसले आफ्नो घरको बार्दलीबाट हेरेको थियो। लहरेले केहि भनेको सुनेर सुन्तली खुलेर हाँसेको थिइन र लहरेको हातमा प्याट्ट पिटेकि थिइन्। यो दृष्यले उसको मुटु उफारेको थियो र ऊ बार्दलीको ढोकामा छेकिएर बाहिर आँगनको दृष्य हेरिरहेको थियो। तत्कालै लहरेले सुन्तलीलाई कतै चिमोटिदिएको थियो र सुन्तलीको मुखबाट निस्किएको रिसमिश्रित चिच्याईसंगै पुरेको छातिमा तातो लहर कतै घुम्दै उसको मुटु जोडजोडले धडकिएको थियो, उसका खुट्टा हलुंगा कतै उडेको जस्तो उसले अनुभव गरेको थियो। त्यसपछि तुरन्तै केहि भनेर हाँस्दै लहरे त्यहाँबाट हिँडेपछि बल्ल ऊ बार्दलीमा देखिएको थियो।
"त्यो मुरदारलाई त तेसको जुल्फि समातेर खोलाको ढुङ्गामा पछार्छु म!" यति भन्दै सुन्तलीले पुरेलाई मायाले हेर्दै घरभित्र छिरेपछि बल्ल पुरेको मुटु ठेगानमा आएको थियो।
"जिस्किने ठिटाहरुसित त बिचरी रिसाउँछे नि!"
पुरेले फेरि कोल्टे फर्कँदै मन बुझायो।
" तर लहरे बजियाले चिमोट्यो!"
पुरेले फेरि लहरेले सुन्तलीलाई चिमोटेको सम्झियो, उसको छाति पोल्यो!अहँ उसलाई सजिलो भएन।
ऊ उठ्यो र भान्सामा गएर गाग्रिबाट पानी सारेर एक अम्खोरा पानी घुटुघुटु पियो र अर्को अम्खोरा पानी लिएर बाहिर आँगनमा आएर मुख धुन थाल्यो।
मुख दोएर एकछिन त्यत्तिकै टोलाएर उभिइरह्यो।
खुल्ला आकाश थियो र चन्द्रमा आफ्नो आधा उज्यालो पोख्दै आकाशको सुन्दरतामा आफ्नै चाँदनी भएकोमा गर्व गर्दै थियो। तारा हरु आकाशभरि छरपस्ट चमचमाउँदै थिए र  झ्याउँकिरि र राति कराऊने किराहरुको आवाज ले रातको निस्तब्धता चिर्दै थिए। उसलाई बाहिरको वातावरणले हल्का महशुस भयो।
कुन्नि के ले गर्दा हो पुरेको नजर आँगनको डिलतिर गयो।
एउटा छायाँ डिलबाट सुन्तलीको घरतिर जाँदै थियो। उसले छायाँले नै सुन्तलीलाई चिन्यो।
सुन्तली भुइँ हेर्दै फटाफट घरतिर जाँदै थिइन्।
सुन्तलीले ढोका उघारीन र भित्र पसेर ढोका लगाऊने बेलामा उनले पुरे आफ्नो घरअगाडि उभिएको चाल पाउँदा ढोका लागिसकेको थियो।
गोबरको तीव्र गन्ध पुरेको नाकमा पस्यो।
अवाक् पुरे, सुन्तलीको घरको बन्द ढोका क्वार्क्वार्ती हेर्न थाल्यो!


केहि बेर पुरे सुन्तलीको ढोका हेरेर बस्यो र निकै बेर झ्याल वा ढोका कुनै खुलेर सुन्तलीको दर्शन पाऊने आशामा बस्यो।
रात उस्तै निस्तब्ध रह्यो तर ढोका वा झ्याल केहि खुलेनन्।
पुरेको छटपटि बढ्यो। उसका मनमा कयौँ प्रश्नहरु उब्जिए। कयौँ प्रश्नका उत्तरहरु उसको आफ्नै मनले दिए भने कयौँ प्रश्नहरु अनुत्तरित रहे।
पुरेलाई धेरै नरमाईलो लाग्यो। उसलाई भित्र गएर सुत्न मन लागेन, ढोका ढप्क्याएर ऊ एकातिर लाग्यो।
उसको घरबाट तेर्सो गएपछि बाटो ओरालो बाटोसित मिसिन्थ्यो। ओरालो झरेपछि केहि तल पँधेरा थियो भने माथि गए गाउँको पुर्वि भाग भेटिन्थ्यो जहाँ जिम्माल बुढाको घर थियो।
पुरे दोबाटोमा पुग्यो। ऊ त्यहाँ पुग्दा पुग्दै उसले एउटा मानिसको छायाँ माथिबाट दौडँदै ओरालो झर्दै गरेको देख्यो।
पुरे डरायो।
छायाँ पुरे भन्दा अलिकता परबाट दौडँदै ओरालो झर्यो।
जुन त्यति उज्यायो नभएता पनि ओरालो झर्ने क्रममा छायाँको अनुहार अलिकता टल्कियो।
पुरेले अँध्यारैमा भए पनि लहरेलाई चिन्यो। उ चकित भयो।
यहाँ पनि उसको नाकले गोबरको तीव्र गन्ध महशुस गर्यो।
पुरेको मुटु जोडजोडले धड्किन थाल्यो।
उसले धेरै कुरा बुझ्यो!


...बाँकि पछि...

Read Full Discussion Thread for this article