Posted by: arahat January 4, 2010
Who is Amresh Kumar Singh and What is Indian National Security Threat
Login in to Rate this Post:     0       ?        

पतिपत्‍नीको झगडामा ‘राष्ट्रिय सुरक्षामा खतरा'को आरोप

smaller text tool iconmedium text tool iconlarger text tool icon
अमरेशको दबाबमा पत्‍नी भारत निकाला-
गिरीश गिरी, काठमाडौं, पुस १९- पूर्वसांसद अमरेशकुमार सिंहको दबाबमा भारतले उनकी पत्‍नी नितु सिंहलाई गम्भीर र आपत्तिजनक आरोप लगाउँदै देश निकाला गरेको छ।

  पुनास्थित भारतीय फिल्म तथा टेलिभिजन संस्थानमा अध्ययनरत ३२ वर्षीया नितु सिंह बेइज्जतीपूर्वक फर्कनु परेपछि मानसिक तनावका कारण बिरामी छिन्। पति एवं नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहको राजनीतिक प्रभावमा परेर उनी फर्काइएपछि धेरै दिनसम्म झापास्थित घरमा पनि प्रहरी नियन्त्रणभित्र बन्दीका रूपमा बस्नु परेको खुलेको छ। 

नितुलाई डिसेम्बर ५ तारिख राति साढे दस बजे ‘भारतको राष्ट्रिय सुरक्षाका निम्ति खतरा भएको' भन्दै होस्टलबाट पक्राउ गरेको पुनाका डिसिपी रविन्द्र सेनगावकरले बताएका छन्। पक्राउ गर्नुभन्दा निकैअघि अमरेशले सासुससुरालाई छोरी जिम्मा लिन काठमाडौं बोलाएका थिए। छोरी पक्राउ पर्नुभन्दा अगावै ज्वाइँको सूचनाअनुसार छोरी लिन सपत्नी झापाबाट काठमाडौं पुगेको पिता रामसुरेश सिंहले नागरिकलाई बताए। 
‘५ तारिख राति हामी काठमाडौंमा ज्वाइँसँगै बसेका थियौं,' रामसुरेश भन्छन्, ‘रातभर पुनाबाट आएका फोनहरूको ज्वाइँले जवाफ दिँदै गरेको अर्को कोठामा बसेका हामीले सुने पनि खोजबिन गरेनौं।'

छोरीले भारतमै अर्कै युवकसँग बिहे गर्न लागेको सूचना दिएका ज्वाइँले लगत्तै छोरी फर्किन लागेको बताउँदै काठमाडौं निम्त्याएका थिए।

भारत सरकारको छात्रवृत्तिमा फिल्म सम्पादन पढ्दै गरेकी नितुलाई पक्राउ गरेपछि ५ तारिखकै राति दौडादौड मुम्बई पठाइएको थियो भने ६ तारिखका दिन उनलाई काठमाडौं फर्काइएको थियो। ‘त्रिभुवन विमानस्थलमा उनलाई बाहिर निस्कनै नदिई माथि नै रोकेर राखियो,' रामसुरेशले भने। 
भद्रपुर उड्न बुद्ध एयरको विमान तयार थियो। छोरी आन्तरिक विमानस्थलमै पुग्छिन् भन्ने जानकारी पाएपछि दौडँदै गएको उनले बताए। ‘डेढ घन्टापछि आन्तरिक विमानस्थलमा छोरीसँग भेट भयो, तर उनी बोल्नै सकिनन्,' उनले भने, ‘विमानभित्र चढेपछि डाँको छाड्दै सबै बताएपछि यथार्थ थाहा पायौं।' 
अन्तर्राष्ट्रिय विमानस्थलमै अमरेशका सहयोगी पसेर नितुको मोबाइल, गहना, कागजात र ल्यापटप लुटेको थाहा पाएपछि कहाली लागेको उनले बताए। ‘ल्यापटप आन्तरिक विमानस्थलमा फिर्ता पाइयो,' उनले भने। 
‘सिनेमामा पनि नदेखेको दृश्य थियो,' उनले भने, ‘एकपछि अर्को आश्चर्यलाग्दा घटना भइरहेका थिए।' झापा ओर्लिएपछि स्थानीय प्रहरीबाट परिवारले यातना भोग्नु परेको उनी बताउँछन्। 
‘घर पुगेदेखि लगातार नौ दिनसम्म दुई महिला प्रहरी तैनाथ राखेर छोरीलाई हामी कसैसँग बोलचाल गर्न दिइएन,' उनले भने, ‘आफ्नै घरमा थुनिएपछि मैले प्रहरी अधिकृतलाई तुरुन्त बोलाउन माग गरें।'
घर आएका जिल्ला प्रहरी प्रमुखले अन्तर्राष्ट्रिय स्तरमै संवेदनशील घटना भएकाले केही नबोलिदिनुस् भन्दै प्रहरी तैनाथ जारी गराएको उनी बताउँछन्। 
‘मेरो गोप्य सुराकीका आधारमा ‘डिपोर्ट' भएर एकजना नेपाली झापास्थित घरमा फर्किंदै गरेको थाहा पाएपछि के रहेछ भनेर बु‰न प्रहरी खटाएको हुँ,' झापाका प्रहरी प्रमुख उपरीक्षक रवीन्द्रप्रसाद शर्माले शनिबार भने, ‘डिपोर्ट भएर आएकालाई हामीले ‘अब्जर्भेसन'मा राख्नैपर्छ।' गृह प्रवक्ता जयमुकुन्द खनालले भने मन्त्रालयलाई यसबारे कुनै जानकारी नभएको स्पष्ट पारेका छन्।
नितुको माइतमा त्रासको वातावरण अझै हटेको छैन। ‘फोनमा आएका ज्यान मार्ने कैयन धम्कीमात्र होइन, मोबाइलमा आएका लिखित धम्की सुरक्षित छन्,' रामसुरेश भन्छन्, ‘सादा पोशाकका प्रहरीको दिनभर ओहोरदोहोरले घरैभित्र शरणार्थी महसुस भइरहेको छ।' नितुकी आमा शिक्षिका हुन् भने सरकारी जागिरे रहिसकेका बुवा प्राथमिक शिक्षा परियोजना संयोजक थिए।
‘मेहनत गरेर पढाएकी छोरीले अन्यत्र कतै ध्यान दिएकी छैन,' रामसुरेश भन्छन्, ‘आपत्तिजनक आरोपले गर्दा उसले बोल्न पनि बन्द गरेकी छे।' 
जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यावारिधि गर्दागर्दै शान्ति प्रक्रिया थालनीसँगै राजनीतिमा सक्रिय भएका अमरेशले दुई वर्षअघि सामाजिक संस्कारअनुसार मागी विवाह गरेका थिए।
‘बिहे लगत्तै ज्वाइँले ‘लभम्यारिज' भन्न थालेपछि अचम्ममा परेका थियौं,' रामसुरेश भन्छन्, ‘केही समयपछि नै उहाँले छोरीलाई हैकम देखाउन थाल्नु भयो।'
अमरेश ज्योतिष र तान्त्रिकमा विश्वास गर्ने उनी बताउँछन्। ‘उनीहरूले नै मेरी छोरी उहाँका निम्ति अफाप भएको बताइदिए,' उनले थपे, ‘त्यसबाहेक राजनीतिमा सफलता नमिल्नुको कारण पनि नितु नै हो भनेर यातना दिन सुरु गर्नुभयो।'
छात्रवृत्ति पाएर पढ्न नितु भारत गएदेखि उतै गएर तर्साउने र छोरीको चरित्र खराब भएको भन्दै लान्छना लगाउन थालेको उनी बताउँछन्। नितुका तीनै इमेल ह्याक गर्न लगाएर नियन्त्रणमा लिएको बताउने उनका अनुसार छोरी काठमाडौं पढ्दाताका त्रिपुरेश्वरस्थित कृषि विकास बैंकमा खाता खोलेर राखिदिएको रकमसमेत किर्ते हस्ताक्षर गरेर निकालिएको छ। छोरीको पासपोर्ट, नागरिकतादेखि शैक्षिक प्रमाणपत्रसमेत उनैले कब्जामा लिएको रामसुरेशले सुनाए।
‘इज्जत र पैसा सबै गयो,' उनी भन्छन्, ‘त्यसमाथि धम्कीबीच बाँच्नु परेको छ।'

घरबाट प्रहरी घेरा हटेलगत्तै छोरीले सबै विवरण लेखेर भारतस्थित महिला संगठनमा फ्याक्स गरिदिएको उनले बताए। त्यही सूचनाका कारण यतिबेला भारतमा महिलावादी र विद्यार्थी संगठनहरूले नितुको पक्षमा आन्दोलन गरिरहेका छन्। भारतीय कम्युनिष्ट पार्टीको महिला संगठनकी महाराष्ट्र प्रमुख किरण मोघेलाई अमरेश र नितुको सम्बन्ध बिग्रिएकोबारे पहिल्यै थाहा थियो। 
‘पढाइ छाडेर नेपाल फर्कन पतिले बारम्बार पुना आएरै दबाब दिएपछि नितु उतिबेलै मकहाँ आएकी थिइन्,' किरण सोध्छिन्, ‘उनीबाट राष्ट्रिय सुरक्षामा खतरा थियो भने यतै छानबिन नगरेर किन नेपाल पठाइयो?'
दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका नेपाली विद्यार्थीले पनि यसबारे चासो देखाउन सुरु गरेका छन्। उनीहरूले शुक्रबार राजदूतावासका नियोग उपप्रमुख कुशनारायण श्रेष्ठसँग यसबारे कुराकानी गरेका थिए। श्रेष्ठले यस विषयमा दूतावासको ध्यानाकर्षण भएको उल्लेख गर्दै सोमबारसम्म राजदूतले नै विद्यार्थीलाई यसबारे विस्तारमा बताउने जवाफ दिएका छन्।
परराष्ट्र मन्त्रालयले यसबारे कुनै जानकारी नभएको बताएको छ। ‘हामीलाई औपचारिक जानकारी आएको छैन,' प्रवक्ता दुर्गा भट्टराईले भने, ‘जानकारी आएपछि बु‰ने प्रक्रिया थाल्छौं।' 
महिला र विद्यार्थी समूहसाथै भारतीय दैनिक र टेलिभिजन च्यानलले प्राथमिकतासाथ उठाएपछि भारतीय गृह मन्त्रालयले महाराष्ट्र सरकारलाई यसबारे स्पष्ट पार्न पत्राचार गरेको छ। भाकपा (मार्क्सवादी)की नेतृ वृन्दा कारातले समेत यो विषयमा गृहमन्त्री पि चिदम्बरमसँग जवाफ मागेकी छन्।

सम्पूर्ण प्रकरणबारे अमरेशसँग बुझ्न खोज्दा शनिबार रातिसम्म सम्पर्क भएन


Saman
January 03, 2010
193.205.206.26
...

It is same for Indian intelligence and policy. we can imagine, if India can involve in a simple case between husband and wife, then imagine how Indian government involves in Nepalese politics.

Read Full Discussion Thread for this article