""""अर्काकी बैनीको त मन चोर्ने हो, हैन जिम्बाल दाई?""""
कुरो को चुरो भने यता आयो। त्यो मन चोर्ने भन्ने चिज नि गजपकै रेछ, टुकुटुकु हिँड्न जाने देखुन अर्काको बैनिको मन चोर्ने कोशिसमा लाग्या हो क्यार, तर अन्तिममा गएर आफ्नै मन लुटाएर फर्कनु पर्यो कयौँ हैन हैन सयौँ पटक। पछि हुर्केसि पनि बेलाबखतमा चोर्न नखोज्या त हैन तर के गर्नु, कुनै अर्काको बैनिको मन अर्को धम्मरधुसेले लुकाएर राख्या भेटिने, कुनै अर्काको बैनिको मन उनकै बा'ले सन्दुकमा ताल्चा लगा'र बिहेमा झिक्ने गरि लुका'को भेटिने! लु भएन भनेर एकबाजि त एकजना धुरन्धरले 'अर्काको बैनिको मन चोर्ने तरिका १०१' भन्ने आशयको पुस्तक लेख्या रेछन, त्यो पनि पढियो कम्मर कसेर, पछि थाहा भयो लेखक महाशय आफैँ अधबैँशे उमेरमा पुग्दा सम्म एउटा सुको मन चोर्न सक्या रहेनछन्। एवंरित ले उमेरको यो स्लोपमा आईपुग्दा सम्म अब त एउटा मन नचोरे परान पनि राम्रोसित जाँदैन कि भन्या जस्तो लाग्छ क्यार्नु।