Posted by: shirish December 13, 2009
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        

संविधानसभा हाजिरीपुस्तिकामा ३ मंसिरको बैठकमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको किर्ते हस्ताक्षर गरिएको छ । जब कि, त्यस दिन कोइराला सिंगापुरको ग्लेनिगल्स अस्पतालमा उपचार गराउँदै थिए ।

 

नयाँ पत्रिका

काठमाडौं, २६ मंसिर

संविधानसभा हाजिरीपुस्तिकामा कांग्रेस सभापति तथा सभासद् गिरिजाप्रसाद कोइरालाको किर्ते हस्ताक्षर गरिएको भेटिएको छ । ६ सय एक सभासद्कै हस्ताक्षरको नमुना राखेको संविधानसभा सचिवालय र कोइरालाकै दल कांग्रेसलाई भने हाजिरीपुस्तिकामा नेता कोइरालाको किर्ते हस्ताक्षर गरिएको पत्तै छैन ।

गत ३ मंसिरमा बसेको संविधानसभा बैठकमा कोइरालाको किर्ते हस्ताक्षर गरिएको नयाँ पत्रिकाले फेलापारेको छ । जब कि, कोइराला त्यस दिन सिंगापुरमा उपचार गराउँदै थिए । गत २८ कात्तिकमा उपचारका लागि सिंगापुर गएका कोइराला ७ मंसिरमा मात्रै स्वदेश फर्किएका थिए ।

फोक्सोमा लाग्ने क्रोनिक ब्रोन्काइटिसबाट पीडित कोइरालाको दाहिने फोक्सोको तल्लोभागमा देखिएको निमोनियाको इन्फेक्सनमा कमी नआएपछि थप उपचारका लागि उनलाई सिंगापुर लगिएको थियो । झन्डै डेढहप्ता सिंगापुरको ग्लेनिगल्स अस्पतालमा भर्ना भएका कोइरालासित २ मंसिरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले त्यही पुगेर वार्तासमेत गरेका थिए ।

संविधानसभामा कोइराला अहिलेसम्म दुई/तीनपटक मात्रै उपस्थित भएका छन् । त्यो पनि गतवर्षका बैठकहरूमा । तर, संविधानसभा सचिवालयले राख्ने सभासद्को हाजिरीपुस्तिकाको रेकर्डअनुसार त सभापति कोइराला संविधानसभाको एउटै बैठकमा पनि उपस्थित देखिँदैनन् । बैठकमा उपस्थित भएर पनि हाजिरीपुस्तिकामा हस्ताक्षर नगर्ने उनी ६ सय एक सभासद्मध्येका एक्ला हुन् ।

संविधानसभा सचिवालयका कर्मचारीका अनुसार कोइराला संविधानसभाको पहिलो बैठक बसेको गतवर्षको १५ जेठ, राष्ट्रपतिको चुनाव भएको गतवर्षकै ६ साउन र अर्को एक बैठकमा उपस्थित थिए । तर पनि, उनले सचिवालयको हाजिरीपुस्तिकामा हस्ताक्षर गर्ने 'कष्ट' भने गरेनन् ।

मंसिरमा बसेको संविधानसभा बैठकमा उपस्थित हुन त परै जाओस्, कोइराला बानेश्वरस्थित संविधानसभा भवनसमेत छिरेका छैनन् । फेरि पनि उनको उपस्थिति जनाउन कसले र किन किर्ते हस्ताक्षर गर्‍यो भन्ने कसैलाई थाहा छैन ।

हाजिरीपुस्तिकामा कोइरालाको किर्ते हस्ताक्षर गरिएको प्रस्ट बुझिन्छ । कोइरालाले हस्ताक्षर गर्दा आफ्नो पूरा नाम लेख्ने गर्छन् । उनको हस्ताक्षरमा गिरिजा प्र. कोइराला लेखेको प्रस्ट देखिन्छ । तर, किर्ते गरिएको हस्ताक्षरमा कोइरालाको पूरा नाम लेखिएको छैन । हस्ताक्षर हेर्दा गिरिजामात्रै लेख्न खोजिएको अनुमानमात्रै लगाउन सकिन्छ ।

सचिवालय कर्मचारीका अनुसार झुक्किएर वा नियतवश जसरी गरे पनि कुनै सभासद्ले नै कोइरालाको हस्ताक्षर गरेको हुनुपर्छ । किनभने कर्मचारीले हस्ताक्षर गर्ने कुरै भएन, गैरसभासद् हाजिरीपुस्तिका राखेको ठाउँसम्म जानै पाउँदैन । 'हाजिरीपुस्तिका राखेको ठाउँमा सभासद्बाहेक केही कर्मचारी मात्रै हुन्छन् । कर्मचारीले उहाँ (कोइराला) को नाममा हस्ताक्षर गर्ने कुरै भएन, झुक्किएर वा नियतवश जसरी भए पनि कुनै माननीयज्यूबाटै त्यस्तो भएको हुनसक्छ,' सचिवालयका एक कर्मचारीले नयाँ पत्रिकासित भने ।

हाजिरीपुस्तिकामा कोइरालाको क्रमसंख्या १०६ छ । उनको अगाडि क्रमसंख्या १०५ मा नेपाली जनता दलकी सभासद् गायत्री साहको नाम छ भने पछाडि क्रमसंख्या १०७ मा माओवादी सभासद् गिरिराजमणि पोखरेलको नाम छ । सभासद्द्वय साह र पोखरेल ३ मंसिरको बैठकमा उपस्थित देखिँदैनन् । हाजिरीपुस्तिकामा त्यस दिन दुवैजनाको हस्ताक्षर छैन ।

संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले कोइरालाको किर्ते हस्ताक्षर गरिएको बारेमा आफूलाई जानकारी नभएको बताए । 'यससम्बन्धमा मलाई जानकारी छैन, त्यसो त नहुनपर्ने हो,' प्रवक्ता शर्माले नयाँ पत्रिकासित भने । किर्ते हस्ताक्षर गरिएको पाइए सचिवालयले गम्भीरतापूर्वक छानबिन गर्ने उनले बताए ।

कोइरालाका स्वकीय सचिव शेखर थापाले पनि त्यस सम्बन्धमा कुनै जानकारी नभएको बताए । 'त्यो मिति (३ मंसिर) मा त सभापतिज्यू (कोइराला) सिंगापुरमा हुनुहुन्थ्यो । किर्ते हस्ताक्षर गरिएको बारेमा त हामीलाई केही थाहा छैन,' उनले भने ।

कोइरालाका नाममा किर्ते हस्ताक्षर गरिएको भए कसले र कुन नियतले गर्‍यो भन्ने संविधानसभा सचिवालयले छानबिन गर्नुपर्ने स्वकीय सचिव थापाले बताए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मण घिमिरेले कुनै सभासद्ले झुक्किएर कोइरालाको ठाउँमा हस्ताक्षर गरेको हुनसक्ने बताए । 'अब उहाँ (कोइराला) को नाममा कसैले झुक्किएर हस्ताक्षर गरेको भए थाहा भएन, नत्र कसले त्यस्तो गर्‍यो होला र ?' उनले भने । कुनै सभासद्ले नियतवश कोइरालाको किर्ते हस्ताक्षर गर्ने सम्भावना पनि आफूले कमै देखेको घिमिरेले बताए ।

संविधानसभा बैठकमा लगातार अनुपस्थित भएकै कारण संविधानतः कोइराला लगायत प्रमुख दलका शीर्ष नेताहरूको सभासद् पद खारेज हुने समाचार नयाँ पत्रिकाले गत १६ भदौको अंकमा छापेको थियो । अन्तरिम संविधानको धारा ६७ को 'ग' मा संविधानसभालाई जानकारी नदिईकन लगातार १० वटा बैठकमा अनुपस्थित हुने सभासद्को पद खारेज हुने व्यवस्था गरिएको छ ।

संविधानसभा सचिवालयको हाजिरीपुस्तिकाको रेकर्डअनुसार कोइराला संविधानसभाको एउटै बैठकमा पनि उपस्थित छैनन् । उनले अनुपस्थितिको जानकारी पनि सचिवालयलाई गराएका थिएनन् । नयाँ पत्रिकाले संविधानतः सभासद् पद खारेज भएको समाचार प्रकाशित गरेको भोलिपल्ट १७ भदौमा कोइरालाले बिदा स्वीकृतिका लागि सचिवालयमा निवेदन दिएका थिए ।


Read Full Discussion Thread for this article