Posted by: Rahuldai December 8, 2009
माँ र द्यो माँ हरु !
Login in to Rate this Post:     0       ?        

माँ र द्योमाँहरु



भाग २


त्यो दु:खद घट्नाको बारे मा द्यो माँ लाई कसरी थाहा भयो, कसरी द्यो माँले आज भोली नै भेटिन्छ भन्नु भयो भन्ने यक्ष प्रशनहरुले मेरो माथिंगल घुमिरह्यो। स्कूलमा बिज्ञानका सर ले संसार बिज्ञानको आधारमा चलेको छ भनेर ज्ञान दिनु हुन्थ्यो। दैबी चमत्कार, भूतप्रेत सबै भ्रम हो भन्नु हुन्थ्यो। म दुबिधा मा परें, महर्जन सर को विश्वास गरुं या आफ्नै आँखा कान लाई। ( २०३४ -३५ साल तिर एस् एल सी दिने दाजु दिदिहरुलाई यो घट्ना बारे अबश्य थाहा हुन्छ होला नै । )


 


यस घट्ना पछी मलाई द्यो माँ प्रती आस्था र विश्वाश जाग्न थाल्यो । आमा त त्यसै धार्मिक तथा पुरातन बिचारका हुनुहुन्थ्यो नै । जे गरे नि, जे भए नि  फलाना देउताको दोष लाग्छ भनी सतर्क गराउनु हुन्थ्यो। पेट दुखे, चामल ढोगाएर छानामा राखिदिनु हुन्थ्यो । विश्वाश को कुरा हो, आफुलाई विश्वाश न लागे नि आमा को आस्था माथि कहिलेइ प्रश्न गरिन । मलाई लाग्छ, कसैको प्रत्यक्ष- अप्रत्यक्ष हानी नोक्सानी गर्दैन भने कुनै पनि आस्था भक्ती ले भलो नगरे पनि कु-भलो गर्दैन ।


 



यही मूल मन्त्रले गर्दा म पनि आमा सँग द्यो माँ को जाने गर्न थालें । आमा लाई लाग्दो होला द्यो माँ को मा गएर हाम्रो दु:खका रात  छोटो हुँदै गै रहेको छ ।  एउटा नेपाली धूप ( नेपाली कागजले बनेको)मा फुकिदिनु हुन्थ्यो । अनी मलाई ४-५ गेडा चामल फुकेर कागजमा पोको पारेन दिनु हुन्थ्यो र भन्नु हुन्थ्यो - जहाँ गए नि यो साथ लिएर हिंड्नु, जीत हुन्छ ।


 



घरमा धूप बालिन्थ्यो। धूपको वास्ना ले कतै नोक्सानी गर्दैन, सुबास नै फैलिन्थ्यो। दु:खको रात छोटिदै गएको महसूस हुन थाल्यो नै । दाई र म मिलेर तयार पारेको ज्वेलरीहरु किन्ने र कामको अर्डर दिने साहुजी भेटिसकेको थियो । भोकै बिताएका दिनहरु, अनिदो काटेका रातहरु बिगत भैसकेका थिए। समय सधैं एकनास रहन्न, प्रक्रिती को नियम नै हो । बुवाको स्वास्थ मा पनि उल्लेख्य सुधार भैसकेको थियो । समग्रमा भन्नु पर्दा जीवन सामान्य हुन हुन खोजिराखेको थियो। तै पनि स्कूले राहुले ले काम गरेरै खानु पर्ने बाध्यता थियो नै।


यी सबै परिवर्तनमा द्यो माँको कृपा देख्नु हुन्थ्यो माँ । स्वाभाबिक थियो नै। म भने समयको खेल सम्झन्थें । द्यो माँ को चामलको पोकाले कहिलेइ घाटा चाँही गरेन। म मा एक किसिमको आत्म विश्वाश बढेको थियो । गर्न सक्छु र गर्नु पर्छ भन्ने सकरात्मक् सोचको बिकास भएको थियो। यस मानेमा पनि द्यो माँ प्रती म क्रितज्ञ नै थिएं ।


 


बुवा लगभग ठीक हुनु भयो। सामान्य हिडडुल गर्ने सक्ने हुनु भयो । आर्थिक अवस्था सुध्रेर अब केही संचय गर्न सक्ने अवस्थामा पुगी सकेको थियो । चाडपर्ब फेरी हर्ष कै पर्ब हुन थालेको थियो ।


 


अचानक फेरी एउटा अनौठो घट्ना घट्यो । एक साँझ बुवाले रायोको साग किनेर ल्याउनु भयो । दिदीले भन्सा सम्हाल्नु भएको थियो। साग पकाउदा पकाउदै हरियो साग खैरो कालो हुन गएछ । दिदी ले अचम्म मानेर आमालाई बोलाउनु भएछ। आमा पनि तीन छक्क । न पाकेको साग पुरै खैरो कालो ।



" के हालिस यस मा " आमा को स्वाभाबिक प्रश्न थियो ।



"नून र बेसार मात्र हो " दिदी को सामान्य जवाफ।



" पक्कै पनि बेसार या नून को खराबी हुनु पर्छ, खाएर हेर कस्तो छ स्वाद ।"



तिख्खर तीतो भन्दै दिदीले मुखाक्रिती बिगार्नु भयो ।



राहुले,  छिटो गएर ध्याको बनियाकोमा गएर  बेसार र चिकं माइलाकोमा गएर नून किनेर ल्याउ । अन्तको हुँदैन फेरी ।
( अहिले सम्म पनि कष्ठमण्डप को अगाडि को ध्याको बनिया को पसलका मरमसालाहरु मा जन विश्वाश छदै छ । )


साग फालेर आलु पकाउन थालियो । नयाँ नून र बेसार सहित् । पकाउदा पकाउदै आलु पनि कालो भएर गयो ।



जीरा फेर्न बिर्सेंको थियो , जीरा पनि नयाँ किनेर हालियो । तै पनि कालो को कालै । त्यो बेलुकी अनेक शंकाहरु सँग मुछेर, नमिठो भात खाइयो ।



अर्को दिन बिहानै सबै भाडा कुडा सरसफाइ गरेर चुलोमा आगो बल्यो । नयाँ दाल, ताजा तरकारी अनी नयाँ भाँडा। पाक्नै लाग्दा पुन: खैरो कालो भएरै गयो । अब भने अनिष्ठ को शंकाले डंका बजाइ छाड्यो।



क्रमश:
 

Read Full Discussion Thread for this article