Posted by: Birkhe_Maila November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

पुरेले के गर्यो?(अंतिम भाग)


पसलबाट निकै पर पुग्दासम्म पुरेको लाज र डर धेरै हदसम्म कम भैसकेको थियो। सडकको मोड काटेपछि पुरेले प्लास्टिकको थैलाभित्र राखिएको सामान निकै पटक बाहिरबाटै हातले छामछुम पारेको थियो र ऊ खोलेर हेर्नमा व्यग्र देखिन्थ्यो। अर्को मोडमा एउटा पसलको सटर बन्द थियो र बाहिर र सडकमा मान्छेहरु त्यति थिएनन्। पुरेले पल्याक पुलुक यताउता हेर्यो र सटर तल सिमेन्टको पेटिमा धुलो फुकेर बस्यो। प्लास्टिकबाट सामान निकाल्यो,दुईवटा बट्टाहरु थिए। ऊ सामानको बट्टमा लेखिएको कुराहरु पढ्न व्यस्त भयो।
दुवै बट्टाहरुमा,सजिलो,ढुक्क र आरामदाई काम गर्न सक्ने ग्यारेन्टि थिए भने, एउटा बट्टामा उचित तरिकाले प्रयोग नगरेमा हुनसक्ने दुर्घटनाहरुको बारेमा पनि उल्लेख गरिएका थिए। उसलाई थाहा थियो सावधानिपूर्वक प्रयोग नगरेमा दुर्घटना घट्न सक्छ भन्ने, तर ऊ अहिले दुर्घटना भन्दा पनि काम सकाऊने कुरामा तल्लिन देखिन्थ्यो।
पुरेले घडि हेर्यो। १० बज्न लागेको रहेछ।
अबको केहि बेर पछि उसका बुबा आमा शहरको बजार जान्छन् र त्यसको केहि घन्टा भित्रमा कुनै अवरोध नआएमा ऊ अहिले भन्दा भिन्न, बेग्लै मानिस बन्ने छ।
सोचेर उसको जिऊ सिरिंग भयो।
ऊसले सुन्तलीलाई सम्झियो।
उसलाई प्याकेट भित्रको सामान खोलेर हेर्न मन लाग्यो।


ऊ केहि सोच्दै थियो, त्यत्तिकैमा माथि सडकबाट उसको बुबा र आमा आउँदै थिए।
ऊ हडबडायो र हतपत प्याकेटहरुलाई प्लास्टिककै थैलामा हाल्यो र हिँड्न थाल्यो।
बुबा आमा नजिकै आईपुगे।
"बाबु हामि भात-सात खाएर हिँड्न लागिसक्यौँ तँ कता गा' थिस ब्यान ब्यानै? ल घर गएर भात खा हामि शहर हिँड्यौँ!"
उसकि आमाले भनिन्।
उसका बुबा कालो र ठाडो जुङ्गा लिएर कहिले पुरेलाई त कहिले पुरेले लिएको प्याकेट भएको प्लास्टिकको झोलालाई हेरिरहेका थिए।
पुरे फेरि व्यग्र देखिन थाल्यो।
"के किनेर ल्याईस नालायक?"
बाबुको कडा स्वर सुनेर यसै त डराऊने पुरे झन डरायो।
केहि भन्न खोज्दै थियो, त्यत्तिकैमा उसकि आमा बोलिन-
"ह्या हिन्नुस जाउँ, हतार भईसक्यो...ल्यायो होला नि केहि उसको सरसामान!ल बाबु छिटो जा घर!"
उनकि आमा बुबालाई लगभग तानेर हिनिन्।
बुबा भने अलिक आँखा च्यात्दै प्ला्सटिकभित्रबाट हल्का देखिएको बट्टाको लेवल पढ्ने प्रयास गर्दै थिए।
पुरे लगभग दौडिएको जसरी घरतिर हिँड्यो।
पुरेका बुबाले शायद त्यति प्रश्ट नदेखिएको भएता पनि प्लास्टिक भित्रको प्याकेटको लेवल राम्रोसंग चिनेछन क्यार,पर आमासित खुसुक्क बोलेको कुरा पुरे हिँड्दा हिँड्दै कानमा पर्यो!
"ओइ बुडि...पुरेले त...किन्या जस्तो छ..!"
यो भन्दा बढि पुरेले सुनेन।
पुरे र बाबु आमा बिचको सडकको दूरी बढ्दै थियो।
पुरेले फर्केर हेर्यो।
पुरेका बुबा पनि फर्केर यतै हेर्दै रहेछन्।
पुरेको सातो गयो।
एउटा बस रोकियो।
पुरेले देख्यो पुरेकि आमाले पुरेको बुबालाई केहि भनेर बसमा चढाईन्।
बस गुड्यो।
पुरेको सास आयो।
**********
पुरे घर पुग्यो।
घरको ढोका खोल्ने बेलामा पुरेले अर्कोघर तिर हेर्यो। सुन्तली शायद भित्र थिइन्।
ढोका खोल्नुभन्दा पहिला उसलाई फेरि एकपटक किन हो प्याकेट हेर्न मन लाग्यो।
ऊ टुक्रुक्क ढोका अगाडि बस्यो र प्याकेट झिकेर फेरि पढ्न थाल्यो।
अगाडिको घरमा घुरुक्क गरेको आवाज आयो।
उसले आवाजको दिशा तर्फ हेर्यो।
सुन्तली घरको ढोकामा उभिएर उसलाई उत्सुक भावले हेर्दै थिइन। पुरेसित आँखा जुध्नासाथ सुन्तली फेरि भित्र पसिन्।
पुरे हत्त न पत्त ढोका खोलेर भित्र छिर्यो।


------------------------(लगभग १ घन्टा पछि)-----------------------------------------------


पुरे संतुष्ट थियो। जिवनमा पहिलो पटक यस्तो गरेको थियो उसले। उसले प्याकेटमा लेखेको निर्देशनहरु पालना गर्दै प्रयोग गरेको थियो जसले गर्दा कुनै दुर्घटना हुन पाएन।उसलाई निकै भिन्न अनुभव भैरहेको थियो।
उसले ऐना हेर्यो। आफ्नो गाला तथा नाक मुनि चिल्लो र सफा लाग्यो।
उसको आत्मबिश्वास बढ्यो।
धेरै पहिलेदेखि उसले सेभ गर्न खोजेको थियो र आज बल्ल मौका मिलेको थियो।
उसले आफैँमाथि गर्व गर्यो।
"यति जावो सेभ गर्ने रेजर र क्रिम किन्न पनि यस्तो डराईराको म"
उसले आफैँसंग भन्यो।
अब ऊ पहिले जस्तो सोह्र बर्षे झुसे थिएन, ऊ त सेभ गरेको दाह्रि-जुङगारहितको राम्रो तथा चिल्लो ठिटो थियो जसलाई नहेर्ने र दिल नदिने दुश्शाहस सुन्तलीले गर्न सक्दैनथिइन।
बडो आत्मविश्वासका साथ उसले मुल ढोका खोल्यो र बाहिर निस्कियो।
सुन्तलि आँगनमा रहिछिन्।
उसले सुन्तलीलाई हेर्यो। पहिले जस्तो हिनभावनाको शीकार ऊ भएन,उसको ओठबाट सुन्तलीलाई हल्का मुस्कान निस्कियो।
सुन्तली अवाक भएर पुरेलाई हेर्न थालिन्। अनुहारमा अझै विस्मयको भाव ल्याउँदै सुन्तली पनि जवाफत: मुस्कुराईन्।
आँगनमा गाग्रि थियो, सुन्तलीले पुरेतर्फ फर्केर केहि झुक्दै गाग्रिबाट जगमा पानि सार्न थालिन्।
यसपटक सुन्तलिले घाँटिमा लगभग बेरिएको सललाई अगाडि तानिनन्।झुकेको झुक्यै पुरेतिर हेरेर मिठो हाँसो हाँसिन्।
हाँसो अनि सुन्तलीको सल हटेको निर्विरोध झुकाई; पुरेको संसार फेरि उज्यालो भयो।


(बाबु नानीहो, यसरी पुरेले गर्नु गर्यो, भन्नेलाई जाँडको माला, सुन्नेलाई बियरको माला)


लोल!

Read Full Discussion Thread for this article