Posted by: khoikkhoik November 19, 2009
Wow this is our "dharmik sahisnuta"
Login in to Rate this Post:     1       ?         Liked by
Sorry to post this message on this thread


सद्भाव बिगारे भगवानले

रुपन्देहीका
बोधबार गाविस-२, पिप्रहियाका सदावृक्ष हरिजनले भदौको तेस्रो हप्ता आफ्नो आँगनमा शिवलिङ्ग आकारको ढुङ्गा भेटेपछि भगवान शिव प्रकट भएको भनेर गाउँलेसँग खुसी बाँड्दै सहयोगको लागि आग्रह गरेका थिए। तर उनको खुसी धेरै टिकेन। यसले दलितले भगवानको पूजा आराधना गर्नुहुँदैन भन्ने विवाद सिर्जना गर्दै दलित र गैरदलितबीच झ्डप निम्त्यायो। उनी भन्छन्, “शुरुमा त आफ्नै आँगनमा भगवान भेटिँदा खुसी लागेको थियो। तर, त्यो खुसी धेरै टिक्न सकेन। पटक-पटक झ्डप समेत भयो।”

सदावृक्षको आँगनमा शिवलिङ्ग भेटिएको एक हप्ता जति सो ठाउँका हरिजनले उनकै अध्यक्षतामा समिति बनाएर पूजापाठ शुरु गरेका थिए। पछि गाउँका अरू व्यक्तिलाई पनि समावेश गरेर अर्को समिति बनाउनुपर्छ भन्ने कुरा आयो र गाउँलेको भेलाबाट लक्ष्मणनाथ योगी अध्यक्ष,
पारसनाथ योगी उपाध्यक्ष, शैलेन्द्र उपाध्याय सचिव, धु्रव हरिजन उपसचिव र राजमणि यादव कोषाध्यक्ष रहेको समिति बन्यो। नयाँ समिति बनेपछि गैरदलितले पूजापाठ शुरु गरेको शिवलिङ्गमा दशैँको षष्ठीको दिन पूजा गर्ने विषयमा दलित र गैरदलितबीच झ्डप भयो। झ्डपपछि समितिले तोकेको व्यक्तिले पूजा गर्ने सहमतिअनुसार फेरि नियमित पूजापाठ चल्यो। त्यसपछि भेटीको बाकस कसले लैजाने भन्ने विवादले तिहारको लक्ष्मीपूजाको दिन अर्को झ्डपको रुप लियो, जसमा प्रहरीसहित १० जनाभन्दा बढी मानिस घाइते भए। स्थानीय जोखन हरिजन भन्छन्, “उनीहरूले दलबलसहित आएर बाकस लिएर गए। हामीलाई केही सोधेनन्।” यसअघि दुवै पक्षले मिलेर बाकस अध्यक्षकहाँ पुर्‍याउने र दिनभरि सङ्कलन भएको पैसाको
हिसाबकिताब गर्ने गरिन्थ्यो।

शिवलिङ्ग भेटिएको ठाउँको खाल्डो पुर्न पारसनाथ योगीले माटो खसालेको कुरा पनि विवादको विषय बनेको छ। जोखन भन्छन्, “यहाँ माटो खसाल्दा पनि हामीलाई सोधिएन। दलितले पूजाआजा गर्न मिल्दैन, अरूलाई टीका, प्रसाद दिन मिल्दैन भनेर हेपियो। यसले हामीलाई दुःखी बनाएको छ।” तर, कोषाध्यक्ष राजमणि यादव दलित भनेर आफूहरूले नहोच्याएको र उनीहरूकै आग्रहमा समिति बनाएर पूजाआजा गर्न थालेको बताउँछन्। शिवलिङ्गको नाममा गाउँमा भएको दलित-गैरदलित विवाद जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पनि पुगेको छ। प्रशासन कार्यालयले गैरदलित र दलित पक्षबाट तीन-तीन जना तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधि एक जना रहने गरी छानबिन समिति बनाएपछि तत्कालका लागि विवाद साम्य त भएको छ, तर यसअघिसम्म दलित र गैरदलित मिलेर बसेको पिप्रहिया गाउँमा भगवानको उत्पत्तिले सामाजिक सद्भाव बिगार्न शुरु गरेको छ।

मुकेश पोखरेल, भैरहवा


Last edited: 19-Nov-09 03:20 PM
Read Full Discussion Thread for this article