Posted by: crazy_love November 9, 2009
"बुझ्न नसकिएको कारण।"
Login in to Rate this Post:     0       ?        

भाग-१२


साँच्चै त्यो दिन देखि माँ र काकीको धेरै नैँ खासखुस कुरा हुन थालेको थियो। मलाइ भने माइजु र मामाको कुरा कहाँसम्म पुग्यो भन्ने चासो लाग्थ्यो। म माँ र काकीले थाहा नपाउने गरी सुन्न बस्थे। तर बेला बेलामा बच्चा भएर पनि ठुलो मान्छेको कुरा किन सुन्ने हँ भन्दै मलाइ धपाइ हाल्नु हुन्थ्यो। हरेक शनिबार काकी मामाघर जान थाल्नु भाकोथ्यो। तर सानु र मलाइ सङै लानु हुन्थेन। काकीको तवर हेर्दा केहि घटिरहेको छ भन्ने अनुमान गर्न सकिन्थ्यो। तर के भनेर मैले अड्कल गर्न सक्दिनथे। सानुलाइ सोध्थेँ, उसलाइ झन केहि थाहा थिएन। माइजु बोक्सी हो कि हैन होला भन्ने कुरामा मेरो रुचि बढेको थियो। तर म सङ पर्याप्त अबसर र उचित बाताबरणको कमी थियो।


स्कुल मेरो लागि अपरिहार्य तालिका थियो। चम्पा कम बोल्न थालेकी थि। धेरै जसो एकोहोरिएर बस्ने गर्थी। बोलाँउदा झस्किने गर्थी। कुनै सपनामा हराए झैँ गर्थी। उ अब मनका कुराहरु म सङ गर्दैनथी। उसको खासै कोहि साथी थिएन र पनि उ म बाट टाढिएको महसुस हुन थालेको थियो। स्कुलको दिक्क लाग्दो बातबरण मलाइ मन पर्दैनथ्यो। त्यही क्रममा एकदिन फेरि ट्वाँ मेरो बाटोमा देखा पर्‍यो। बहुलाउन नसकेको तर जिन्दगीदेखि हार खाइसकेको जस्तो ट्वाँको उदास अनुहार देखेर म छक्क परेँ। अब के हुन लाग्यो नि भनेर सोच्दैँथे, ट्वाँले भुमिका बाँध्न थाल्यो।


"क्रेजी, तिम्रो नजरमा म एउटा हुल्याहा र बेकामे केटो हुँ है?"


"कसरी थाहा पायौ?" मैले ट्वाँलाइ सोधेँ। उसले भनेको कुरा सत्य भए पनि मैले कसैलाइ भनेकी थिँइन।


"हेर ! मैले आफ्नो गल्तीको सजाँय पाइसकेँ। चम्पाको लब अर्कै सङ परिसक्यो, रुबिले त मलाइ फुट्या आँखाले नि हेर्दिन।" " ट्वाँले थकित पाराले भन्यो। रुबिले उहिले ट्वाँकै अगाडी उसले दिएको चिट्ठि च्यातेकी थिइ। चम्पा त ट्वाँ देख्नासाथै हतार हतार बाटो मोड्थी।


"ठिक छ! सुध्रिने चाह्यौ भने अझै मौका छ।" मैले अलिकति ठुलो भएर उपदेश दिँए।


"त्यो त छदैछ। तर मैले एउटा कुरा अझैसम्म बुझ्न सकेको छैन।" ट्वाँले सार्है नै दार्शनिक पारामा भन्यो।


"के ?" मैले भने।


"हेर न! जब हाम्रो मुटु यति ठुलो छ, हामी माया गर्न किन कन्जुस्याइ गर्छौ हँ?" ट्वाँको कुरा मैले केहि बुझिन।


"मतलब?" मैले ट्वाँलाइ उल्टै सोधेँ।


"जब मेरो मुटुमा धेरै जनालाइ माया गर्न सक्छौँ भने म किन एकै जनालाइ मात्र माया गर्ने हँ? तिमीले बुझ्यौ मेरो कुरा?" ट्वाँको कुराले मेरो टाउको भनन भयो। चक्कर लाग्यो। दिँउसै तारा देख्न थाँले।

"हो त! म चम्पा र रुबि दुबैलाइ चाहन्थे, तर उनिहरु एकजना सङ मात्र मैले माया गरोस् भन्ने चाहन्थे। कत्रो बिडम्बना! यत्रो बिशाल मुटुमा खालि एक्जनाको लागि मात्र माया ?" ट्वाँ नन्स्टप बोल्न थाल्यो।


"वाहियात!" मैले शब्दलाइ ठिक ठाँउमा प्रयोग गरेँ जस्तो लाग्यो।ट्वाँलाइ मैले आँखा तरेँ। ट्वाँ लुरुलुरु अर्कै बाटो लाग्यो।


ट्वाँको अन्तिम प्रश्न मेरो कानमा गुन्जिरह्यो, मैले मामालाइ सम्झेँ। शायद मामा पनि धेरैलाइ माया गर्ने सामर्थ्य राख्नु हुन्छ, माइजु अनि अर्को केटि, छुनु, मुनु। कति विशाल मुटु। हैन, हैन, त्यस्तो सम्भव छैन। समाजमा त एकजना सङ मात्रै बिहे गर्न मिल्छ। त्यो मोरो ट्वाँको कुरा मैले किन सोच्नु पर्‍यो। त्यो हुनै सक्दैन। तर यदि मामाले पनि त माइजु र अर्को केटि दुबैलाइ माया गर्छु भन्नु भयो भने के हुन्छ नि? मेरो मनमा प्रश्नहरु फेरि उब्जिए। साँच्चै एउटा मान्छेको मनमा कतिजनाको लागि माया हुन्छ हँ? मैले पनि ट्वाँको कुरा बुझिन। बुझ्ने कोशिश पनि गरिन।


दिनहरु कति छिट्टै बिते, पत्तै पाइएन। दशैंको लागि स्कुल बिदा पनि भयो। सानुको मामाघरमा पनि टिका लाउन जान पाइने भैयो बल्ल तल्ल कति पछि।  मनमा धेरै कौतुहुलता थियो। माइजुको कुरा, मामाको कुरा, छुनु, मुनुको कुरा सबै सुन्न मन थियो। दशैको नयाँ लुगा लाएर हामीहरु त्यो दिन बिहानै सानुको मामघर पुग्यौँ। हजुरामा हामीलाइ देखेर खुशी हुनु भयो। हामीमा अर्कै स्फुर्ति आयो। हामी तल माथि बाहिर भित्र सबैतिर दौडिन थाल्यौँ। टिका लाउने बेला भयो। दक्षिणाको लोभ थियो। मामाले जहिले पनि अरुले भन्दा धेरै दक्षिणा दिनु हुन्थ्यो। त्यसैले सानु, म र भाइ लाइन लागेर बस्यौँ। हजुरामा माथिबाट आउनुभयो, उहाँको पछि पछि अर्को महिला पनि आउनु भयो, त्यसपछि मामा एउटा फुच्चे बच्चाको हात समाउदै आउनु भयो।


"ल, माइजुलाइ दर्शन गर!" हजुरआमाले नयाँ महिलालाइ चिनाउनु भयो। सानु टक्क हेरीरही, उसलाइ पनि थाहा रहेनछ शायद। म झन अक्क न बक्क भएँ, भाइ सानु र मैले जे गर्छ त्यही गर्ने भनेर कुरीरहेको थियो।


"पर्दैन।" नयाँ माइजुले त्यति मात्र भन्नु भयो।


"यो सानु, यो --- " मामाले हामीलाइ नयाँ माइजुसङन चिनाइदिनु भयो। नजिकै आँउदा नयाँ माइजुलाइ मैले कहाँ देखेको, कहाँ देखेको जस्तो भयो। पक्कै पनि चम्पासङ फिलिम हेर्न जाँदा मामासन हात समाएर हिँड्ने नारी उनै थिइन्। मलाइ आफ्नै अगाडी अर्को फिलिम चलेको जस्तो भयो। मामाले फुच्चेलाइ काखमा राखेर फेरि भन्नु भयो।


"यो रुपेश! तिमीहरुको सबै भन्दा सानो भाइ।" रुपेश, सबैभन्दा सानो भाइ लजाएर मामाको काँधमा लुक्यो। भाइ दङ पर्दै" बल्ल मेरो साथी आयो।"उफ्रिदैँ रुपेशलाइ फकाउन गयो। केहि बेरमा नैँ रुपेश र भाइ साथी भए। रुपेशले आफ्नो स्कुलको चित्र भर्ने किताब ल्यायो र रङ भर्न थाल्यो। सानु र म आँखै आँखाले एक अर्कालाइ हेर्न थाल्यौँ। टिका लगाइयो, दक्षिणा पनि पाइयो। सानु र म तुरुन्तै बङैचामा आयौँ।


"तिमीले नि मलाइ केहि नभनेको सानु? हेर कस्तो छुच्चि तिमी।" मैले दुख पोखेँ।


"गड प्रमिस! मलाइ केहि थाहा थिएन। बल्ल आज त थाहा पाउदैछु। मामुले जहिले पनि मलाइ कुरा सुन्नु हुन्न भनेर गाली गर्नु हुन्थ्यो। अनि अर्को माइजुसङ कुरा गर्नु हुन्थ्यो। अहिले पो थाहा पाँए।" सानु उस्तै निर्दोष पाराले भन्दैथी।


"अर्को माइजु खोइ त?" मैले सानुलाइ सोधेँ।


"के थाहा?" उसले फेरि उस्तै गरी भनी।


"छुनु मुनु?" सानुले ओंठ लेब्र्याइ।


"मामाले यदि नयाँ माइजु बिहे गर्नु भएको भए पनि यति छिटै रुपेश कसरी जन्मियो? स्कुल जाने कसरी भयो?" मैले प्रश्न माथि प्रश्न गर्न थाँले।


"खोइ?" सानु अनभिज्ञ थी।


त्यसदिन पछि बिस्तारै थाहा पाइयो।  पुरानो माइजु र मामाको डिवोर्स भैसकेछ। छुनु मुनु पनि माइजुसङै गएछन्। मामाको नयाँ माइजुसङ धेरै पहिले देखि सम्बन्ध रहेछ। रुपेश त्यही सम्बन्धको परिणाम रहेछ। त्यति धेरै कुरा घटिसक्दा पनि पुरानो माइजु सहनशील भएर परिवारको लागि गर्नु पर्ने जिम्मेवारीहरु सम्हाल्दै हुनु हुन्थ्यो। सौभाग्यको खातिर पुजा आजा, अन्धबिस्वास सबै मानिरहनु भएको थियो। छरछिमेकतिर  मानिसहरु अझै मामाको दोस्रो बिहे गर्नुको  कारण पुरानो माइजु "बोक्सी" भएकोले भन्ने बिस्वास गर्थे। लोग्नेलाइ मार्नै लागि सकेकी थी रे भन्ने कुराहरु पनि सुनिन्थ्यो कतै कतै। जसले जे भने पनि मैले अझै पनि बुझ्न सकेकी छैन। आखिर माइजुलाइ बोक्सी नैँ किन बनाइयो ?

 

समाप्त।

Last edited: 09-Nov-09 03:23 AM
Read Full Discussion Thread for this article