Posted by: lakhe August 31, 2009
Wow Nepalko pratham Uparastrapati Parmananda Jha
Login in to Rate this Post:     0       ?        

सुदले रोके शपथ !

Font size: Decrease font Enlarge font
image

मन्त्रिपरिषद्सँग सहमति जनाएर पनि परमानन्दले शपथ नखानुको कारण भारतीय राजदूत !

शपथग्रहण । किन भएन शपथ ? 'भारतीय राजदूत राकेश सुदको सल्लाहमा झाले नेपालीमा शपथ लिएनन्' स्रोतको दाबी छ ।

उपराष्ट्रपति झाको शपथका विषयमा सर्वोच्चबाट ९ साउन, २८ साउन र ७ भदौमा गरी एक महिनामा तीनवटा आदेश आएपछि सरकारले आइतबार शपथका लागि तयारी गरेको थियो । शपथका लागि उपराष्ट्रपतिलाई मनाउन प्रधानमन्त्री माधवकुमार नेपालले लिखित तथा मौखिक अनुरोध पनि गरेका थिए । उपराष्ट्रपतिले दिएको सकारात्मक वचनका आधारमा आइतबार बिहान मन्त्रिपरिषद्ले अपराह्न सवा चार बजे शपथग्रहण कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मन्त्रिपरिषद्का सदस्यकै दाबी छ ।

'अन्योलमा शपथग्रहण कार्यक्रम तय भएको त होइन नि,' कानुनमन्त्री प्रेमबहादुर सिंहले आइतबार साँझ नयाँ पत्रिकासित भने, 'प्रधानमन्त्रीज्यूसँग उहाँ (उपराष्ट्रपति) को पटक-पटक कुरा भएको हो, त्यसैको आधारमा शपथग्रहण कार्यक्रम तोकिएको हो, तर अन्तिममा उहाँ आउनुभएन ।'

उता कांग्रेस उपसभापति गोपालमान श्रेष्ठले पनि अन्तिममा आएर उपराष्ट्रपतिले सरकारलाई धोका दिएको आरोप लगाए । 'शपथ लिन आउँछु भनेपछि सरकारले समय तोकेको हो भन्ने जानकारी आएको छ, तर अन्तिममा आएर उनले धोका दिए,' श्रेष्ठले भने ।

स्रोतका अनुसार झाले आफ्नो 'इगो' बचाउन नेपाली र मैथिली दुवै भाषामा शपथ लिने अडान राखेका थिए । उनको आग्रहअनुसार दुईवटै भाषामा शपथको व्यहोरा पनि तयार भएको थियो । तर, अन्तिममा झाले कुनै पनि भाषामा शपथ नलिने र राजीनामा पनि नदिने घोषणा गरे । भारतीय राजदूत सुदले 'शपथ नलिनोस्, राजीनामा नदिनोस्, बाँकी देखाजायगा' भनेपछि उनले पत्रकार सम्मेलन गरेको स्रोतको दाबी छ । आफ्नै कार्यालय बहादुरभवनमा आयोजित पत्रकार सम्मेलनमा झाले भने, 'म नेपाली भाषामा शपथ पनि लिन्नँ, राजीनामा पनि दिन्नँ ।'

झाले पत्रकार सम्मेलन गर्नुअघि उपप्रधानमन्त्री विजय गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतोसँग छलफल गरेका थिए । गच्छदार र महतोले सरकारी निर्णयमा आफूहरू पनि सहमत नभएकाले शपथग्रहण पनि नगर्न र राजीनामा पनि नदिन सुझाब दिएका थिए । नेतात्रयसँगको कुराकानीका कारण झाको पत्रकार सम्मेलन निर्धारित समयभन्दा ४५ मिनेट ढिलो सुरु भएको थियो ।

झाले दिउँसो दुई नबज्दै पत्रकार सम्मेलन गरेर शपथ नलिने स्पष्ट पारिसकेका थिए । तर राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू भने सवा चार बजे शपथग्रहण गराउन जोडतोडले तयारी गरिरहेका थिए । शपथ नलिने भन्दै झाले घोषणा गरेको तीन घन्टा भइसकेको थियो, तर प्रधानमन्त्री माधवकुमार नेपाल पौने चार बजेतिर शीतलनिवास पुगेर तयारी के-कस्तो छ भनेर जानकारी लिइरहेका थिए ।

प्रधानमन्त्री नेपालसहित सभामुख सुवास नेम्वाङ, प्रधानन्यायाधीश मीनबहादुर रायमाझीसहित सुरक्षा निकाय एवं संवैधानिक निकायका प्रमुख सबैले मिडियाबाट थाहा पाइसकेका थिए, झा शपथका लागि आउँदैनन् । तर पनि सवा पाँच बजेसम्म कुरेर फिर्ता भए ।

राष्ट्रपति कार्यालयबाटै फोन गरेर प्रधानमन्त्री नेपालले झालाईर् मनाउन खोजे, तर झाले अडान त्यागेनन् र उनीहरू र्फकनुपर्‍यो । तयारी पूरा भइसकेपछि पनि उच्चपदस्थ अधिकारीको शपथ स्थगित भएको यो घटना नेपालको इतिहासमा पहिलो हो ।

आइतबार बिहान मन्त्रिपरिषद्ले नेपाली भाषामा शपथग्रहण गर्न अनुरोध गर्दै उपराष्ट्रपतिको कार्यालयमा चिठी पठाएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रपतिको कार्यालयलाई पनि पत्र पठाएपछि अपराह्न शपथको तयारी भइसकेको थियो ।

तर, उपराष्ट्रपति झाले नेपाली भाषामा शपथ लिन सर्वोच्च अदालतले दिएको आदेश तथा सरकारी अनुरोध अवज्ञा गरे । शपथ पनि नलिएका र राजीनामा पनि नदिएका झालाई कार्यालय जान दिने वा नदिने ? सरकार अस्पष्ट छ । तर, झा सोमबारदेखि कार्यालय नजाने र सरकारी गाडी पनि प्रयोग नगर्ने मनस्थितिमा छन् । 'उहाँ सोमबारदेखि कार्यालय जानुहुन्न, गाडी पनि प्रयोग गर्नुहुन्न,' उपराष्ट्रपतिकी स्वकीय सचिव रहेकी छोरी ज्योति झाले नयाँ पत्रिकासँग भनिन्, 'उपराष्ट्रपतिको कामकाज गर्नुहुन्न, घरमै बस्नुहुन्छ ।'

यद्यपि उपराष्ट्रपतिको हैसियतमा पाएको सुविधा र सुरक्षागार्डका बारेमा सोचिनसकेको ज्योतिको भनाइ थियो । 'अहिलेसम्मको सुविधाका बारेमा कानुनले केही भनेको छैन, सुरक्षागार्डहरूलाई पनि साँझसम्म केही पनि आदेश आएको छैन,' ज्योतिले भनिन् ।

पत्रकार सम्मेलनमा उनले सर्वोच्चको फैसलालाई आलोचना गर्न बढी समय खर्चेका थिए । उनले नेपालमा बोलिने सबै मातृभाषालाई सम्मान गर्ने गरी संविधानसभाबाट संविधानको सातौँ संशोधन नभएसम्म शपथ नलिने अडान व्यक्त गरे । 'नेपाली जनताको मातृभाषाको सम्मान सरकारीस्तर र सर्वोच्च अदालतकै पूर्वफैसलाहरूबाट हालसम्म हुन नसकेको अवस्था छ,' उपराष्ट्रपति कार्यालय बहादुरभवनमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी झाले भने, 'हाल संविधानसभामा विचाराधीन रहेको संविधानसभाको सातौँ संशोधन विधेयकलाई सरकार र संविधानसभाले पारित गरी नेपालमा बोलिने सम्पूर्ण मातृभाषाहरूलाई सम्मान गरेपश्चात् मात्र मैले पुनः शपथ लिने विषयमा सोच्न सक्छु ।'

अन्तरिम संविधानलाई भारत वा अमेरिकी संविधानको समकक्षमा राख्न नमिल्ने तर्क गर्दै झाले भने, 'बंगलादेशको संविधानबमोजिम मातृभाषा बंगला हो तर देशको अधिकांश कामकाज अंग्रेजी भाषामा हुन्छ ।'

Read Full Discussion Thread for this article