Posted by: shirish August 21, 2009
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        

कूटनीति र राजनीतिमा सुजाता संकेत



गोपाल खनाल


प्रचण्ड क्रमभंगता तोडेर भारतबाट छिमेक भ्रमण सुरु गरेका प्रधानमन्त्री माधवकुमार नेपालका लागि कूटनीतिक सुरुवात सुखद रहेन । बेइजिङ असन्तुष्ट भएर वा नयाँदिल्लीको रेडकार्पेट नपाएर होइन । अथवा नेपाललाई कठपुतली प्रधानमन्त्रीको एकोहोरो आरोप लगाउने प्रचण्ड र बाबुरामका कारण पनि होइन । उनलाई अनपेक्षित र आश्चर्यजनक रूपमा प्रधानमन्त्री बनाउने उनै गिरिजाप्रसाद कोइराला र पुत्री सुजाताका कारण । उपप्रधानमन्त्री नबनाएको झोँकमा पिता निर्देशनमा पुत्रीले अन्तिममा भ्रमण अस्वीकार गरेपछि संशकित हुँदै दिल्ली ओर्लिएका नेपालको मन साउथब्लकसँगै महाराजगन्जतिर समेत बाँडिएको हुनुपर्छ- ठीक एक वर्षअघि प्रचण्डको मन दिल्ली तर यात्रा बेइजिङतिर भएजस्तै ।

सम्भवतः प्रधानमन्त्रीलाई एम्बुसमा पार्ने उद्देश्यले छोटो समयमा नयाँदिल्ली प्रस्थान गर्नुअघि पहिले पिता र पछि पुत्रीले उपप्रधानमन्त्रीको रूपमा शपथग्रहण गराउन दबाब दिएका थिए । कांग्रेसभित्रै किचलोमात्र होइन, सत्ता समीकरणसमेत असन्तुलित हुने छनक पाएका प्रधानमन्त्रीले दबाबलाई प्रतीक्षाको सूचीमा राखिदिए । तर संकेत यस्ता देखिँदै छन्- कोइराला डाइनेष्टीको अस्वाभाविक संरक्षण गर्न नसक्दा अब माधव नेपाल बढी कोइराला निर्भर वा विमुख हुनेछन् । त्यसले संक्रमणकालीन राजनीतिलाई सहयोग नपुर्‍याउन पनि सक्छ । किनभने सुजाता संकेतलाई 'पहिलो गाँसमै ढुंगा' भन्दै प्रचण्डले पुँजीकृत गरिसकेका छन् । एक साताअघि नयाँदिल्लीमा सुजाताले आफ्नो र माओवादीको प्रचण्ड विरोध गरेको पुष्पकमलले चटक्क बिर्सन पनि सक्छन्- हरेक मुद्दालाई रणनीतिक दृष्टिकोण भन्दै भ्रम छर्न सक्षम योग्यताका कारण ।

नेपाल सरकार निश्चिन्त भएको व्यापार सन्धिमा समेत हस्ताक्षर हुन नसकेको प्रधानमन्त्रीको हैदरावाद हाउस वार्ता जत्तिकै चर्चामा रहेको सुजाताको दिल्ली अनुपस्थितिले दुईखाले सन्देश र प्रवृत्तिलाई उदाङ्गो पारेको छ । पहिलो सन्देशले सूक्ष्म रूपमा छिमेक र बृहत्तर रूपमा नेपालको विदेश नीति र सम्बन्धसँग अर्थ राख्छ भने दोस्रोले सूक्ष्म रूपमा कांग्रेस र बृहत्तर रूपमा आन्तरिक राजनीतिको कमजोर धरातललाई संकेत गर्छ । पहिलो संकेत- प्रधानमन्त्रीको औपचारिक सद्भावना भ्रमणमा परराष्ट्रमन्त्री कोइराला अनुपस्थित रहिन् । परराष्ट्र जानकारका अनुसार, भ्रमण सद्भावनामात्र भएकाले यसमा द्विपक्षीय सन्धि र सम्झौता वा समग्रमा द्विपक्षीय लेनदेन हुँदैन । त्यस अर्थमा सुजाताको यो अनुपस्थितिलाई खासै मुद्दा बनाइरहनुपर्ने अवस्था होइन । फेरि नयाँ संविधान र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने उद्देश्यको यो संक्रमणकालीन सरकारले दीर्घकालीन महत्त्वका मुद्दामा छलफलमात्र गर्न सक्थ्यो, सम्झौता/सहमति गर्न सक्दैनथ्यो । अर्को, नयाँदिल्ली गएकी भए सुजाताले प्रधानमन्त्री भ्रमणलाई प्रोपोगान्डा गर्न पनि सक्थिन् । गोयबल्स प्रचारका लागि मिडिया प्रायोजनमा खप्पिस सुजाता शून्यमा समेत उपलब्धिको सार्वजनिकीकरण गर्न पछि पर्ने थिइनन् ।

तर अर्काथरी परराष्ट्र जानकारका अनुसार, छिमेकी राष्ट्र वा आतिथ्य प्रदान गर्ने राष्ट्रले सबै तयार भएपछि भ्रमणमा परराष्ट्रमन्त्री नरहेको जानकारीसमेत नपाउनु  कूटनीतिक दुर्घटना हो । राजकीय, औपचारिक वा सद्भाव जस्तोसुकै भ्रमण होस्, प्रधानमन्त्रीको साथमा परराष्ट्रमन्त्री अनिवार्यजस्तै हुन्छ । सामान्यतः द्विपक्षीय यस्ता भ्रमणका एजेन्डा तय गर्नदेखि भेटवार्ताका समय व्यवस्थापनमा समेत परराष्ट्रमन्त्री संलग्न हुन्छन् । प्रधानमन्त्रीको भारत भ्रमणअघि सुजाताले समेत यस्तो भूमिका निर्वाह गरेकी थिइन्, भलै उनले त्यसबेला नयाँदिल्लीका लागि कोइराला डाइनेस्टीभन्दा अर्को विकल्प हितकारी नहुने संकेत पनि गरिन् । योभन्दा अप्ठ्यारो संकेत अर्को छ । परराष्ट्रमन्त्रीका कारण वर्तमान सरकारप्रति शक्तिशाली छिमेक भारत, चीन र समग्रमा अन्तर्राष्ट्रिय समुदाय आश्वस्त हुन सक्नेछैनन् । प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापनका क्रममा दिल्ली जाँदा भारतीय सरकारले सुजातालाई नेपाल सरकारको प्रतिनिधिको रूपमा स्वागत गरेको हो, गिरिजाप्रसादको सुपुत्रीको रूपमा होइन । कोइराला परिवार र सुजाताको व्यक्तिगत पहुँच नयाँदिल्लीसम्म हुनसक्ला, त्यो फरक विषय हो । अर्थात् नेपाली कूटनीतिमा यो एउटा यस्तो नजिर हो, जसले अबका प्रधानमन्त्रीलाई परराष्ट्रमन्त्री नियुक्ति 'हर्कुलियन टास्क' बन्नेछ । मन्त्रिपरिषद् प्रधानमन्त्रीको सहयोगी टिम हो भन्ने संवैधानिक मान्यतामाथि यसले गम्भीर प्रश्न उठाएको छ ।

वास्तवमा परराष्ट्रमन्त्रीको अनुपस्थितिले भारत भ्रमणलाई तुलनात्मक रूपमा कमजोर बनाएको मात्र छैन, प्रधानमन्त्री स्वयम्को अपमानसमेत गरेको छ । कार्यकारी प्रधानमन्त्रीका रूपमा भ्रमणमा गएका उनलाई निरुत्साहित गर्नेमात्र होइन, असहयोग गर्ने कामसमेत पिता र पुत्री कोइरालाबाट भएको छ । आफ्नो मुलुकभित्र मानमर्दन सहेर छिमेक भ्रमणमा जाँदा उसले त्यहाँ कस्तो सम्मान पाउलान् ? परराष्ट्रबारे लगभग शून्य ज्ञान हुँंदा पनि सुजाता परराष्ट्रमन्त्री बनिन् । वास्तवमा भारतसँगको राम्रो व्यक्तिगत सम्बन्धलाई सुजाताले द्विपक्षीय हितमा प्रयोग गर्ने अपेक्षासमेत प्रधानमन्त्रीको थियो । किनभने कूटनीति परराष्ट्र मन्त्रालयको जिम्मेवारी होला तर सरकारले तोकेको अर्को कुनै पनि सदस्यले त्यो भूमिका खेल्न सक्थ्यो । जस्तो, तुलनात्मक रूपमा युरोपसँग राम्रो सम्बन्ध नरहेको ठानिएका शक्तिशाली अमेरिकी राष्ट्रपति बाराक ओबामाले पद सम्हालेपछि तीनपटक युरोपको भ्रमण गरे । तर उनले आफ्नो भ्रमणलाई मुख्यतः विश्व मुद्दा/समस्यामा बढी केन्दि्रत गरे, द्विपक्षीय सम्बन्धमा विशिष्टीकृत गरेनन् । ओबामाको सट्टामा उपराष्ट्रपति जोय बिडेनले चारपटकको आफ्नो युरोप भ्रमणमा मस्कोसँग सम्बन्ध सुधार्न चाहे, कोसोभो स्वतन्त्रता सुनिश्चित गरे, सर्बियाको तनाव कम गर्न सहयोग गरे, जर्जिया र उक्रेनमा राजनीतिक सुधार आवश्यक रहेको सार्वजनिक धारणा राखे । किनभने सिनेटमा परराष्ट्र समितिका सदस्य रहँदा उनले ती देशसँग तुलनात्मक रूपमा सहज सम्बन्ध कायम गरेका थिए । कोइरालाबाट प्रधानमन्त्रीले जे अपेक्षा गरेका थिए, त्यो सम्भवतः पाउन सकेनन्, जसको छिटा छिमेक र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत पर्ने निश्चित छ ।

सुजाता प्रवृत्तिको अर्को संकेत समग्रमा घरेलु राजनीतिको कमजोर धरातल र मुख्य रूपमा नेपाली कांग्रेसभित्र संरक्षण पाएको परिवारवाद र संकीर्ण संस्कार हो । सबैभन्दा ठूलो पार्टी विपक्षमा रहेको र गिरिजाप्रसादले प्रधानमन्त्री बनाएको अवस्थामा माधव नेपाल सुजाताका ठूला गल्तीमा समेत मौन बस्नुपर्ने बाध्यतामा छन् । अर्थात् उनी कोइरालाका बन्दीजस्ता देखिएका छन् । यद्यपि रामचन्द्र पौडेल र प्रकाशमान सिंहहरूले सुजाताका कारण सरकार अप्ठ्यारोमा नपर्ने निर्णय गरेर नेपाललाई नैतिकबल दिएका छन् । त्यसैले सुजाताको दिल्ली भ्रमण अस्वीकारोक्तिमा तुफान सिर्जना गरी माओवादी नेतृत्वमा नयाँ सरकार बन्ने प्रचण्ड विश्लेषण तत्कालका लागि आत्मरतिमात्र हुनसक्छ । 

सुजाताको यो महत्त्वाकांक्षाको कारण कांग्रेस आफैं हो । कांग्रेसभित्र अहिलेसम्म बहुलवाद अल्पमतमा छ । ठालुवादले बहुलवादमाथि नियन्त्रण गरेको छ । कांग्रेस संसदीय दलको नेतामा रामचन्द्र पौडेलको विजय बहुलवादतर्फको यात्राको प्रस्थानबिन्दुमात्र थियो ।  तर योजनाबद्ध नभएर प्रतिक्रियास्वरूप आएको यो संकीर्ण प्रस्थानबिन्दुभित्र परिवर्तनको सोच राख्ने नरहरि आचार्य र गगन थापा भावनात्मक रूपमा समेटिन सकेका छैनन् । त्यसैले गिरिजाबाबु सक्रिय रहुन्जेल यो रामचन्द्ररूपी यात्राको गति अति धीमा हुनेछ, दार्जिलिङको रेलजस्तो वा सार्कको खटारो गाडीजस्तो ।

राजनीतिक वैज्ञानिक गायतानो मोस्का -१८५८ देखि १९४१) ले अरस्तुद्वारा प्रतिपादित राजतन्त्र, कुलीनतन्त्र र प्रजातन्त्रलाई मन पराएनन् । उनले सरकार र शासकीय वर्गीकरणका यी धारणालाई खण्डित गर्दै भने- यो संसारमा केवल एक प्रकारको सरकारमात्र छ- अल्पमतको । सरकार यी अल्पमत वा ठालुवादको विनिमयमात्र हो । अर्थात् एउटा ठालु जान्छ, अर्को ठालु आउँछ । गिरिजाबाबु र शेरबहादुर कांग्रेसभित्रका ठालुवादका नेतृत्वकर्ता हुन् । मोस्काले भनेजस्तो कोइराला ठालुवादले देउवा ठालुवादलाई सत्ता र सरकार विनिमय गर्न खोजेको देखिन्छ । किनभने कांग्रेसभित्र शासित बहुमत एक्लो र असंगठित छ- रामचन्द्र र नरहरि आचार्यजस्तो । कोइराला ठालुवादकी सुजातालाई देउवा ठालुवादका विद्वान् डाक्टरद्वयले नाटकीय शैलीमा समर्थन गरे । किनभने डा. मिनेन्द्र रिजाल र डा. प्रकाशशरण महतलाई आफूप्रति विश्वास छैन, देउवाप्रति मात्र छ । कोइरालालाई राजनीतिक चुनौती दिने नरहरि आचार्यले निर्वाचन जित्दा वा नेविसंघ नेतृत्वबाट हठात हटाइएका गगन थापा सभासद बन्दासमेत आफ्ना विद्वतामाथि विश्वास नहुनु पनि राजनीतिक संकीर्णता हो ।

पिता गिरिजाप्रसादले आन्तरिक लोकतन्त्रका लागि तत्काल सक्रिय राजनीतिक जीवन छाडेर सामूहिक नेतृत्वको व्यावहारिक प्रयोगका लागि बाटो प्रशस्त गर्नुपर्छ । उनले हिम्मतसाथ भन्न सक्नुपर्छ, सुजातालाई क्षमताअनुसारको जिम्मेवारी दिनुहोस्, विशुद्ध सुजाताका रूपमा, छोरीका रूपमा होइन । सुजाता क्षमताशून्य होइनन्, अझ लबिङ गर्ने कलामा उनी माहिर छिन् । ठोरीको जंगल हुँदै नयाँदिल्ली पुगेर जनआन्दोलन, ०६२/६३ का पक्षमा भारतीय समर्थन बटुल्नेमा उनी पनि एक हुन् ।

gopal@kantipur.com.np




Posted on: 2009-08-20 22:48:10


kantipuronline.com

Read Full Discussion Thread for this article