Posted by: ctal August 21, 2009
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        
 गिरिजा एक्लै र फगत एक्लै काङ्ग्रेस हुन् । बाँकी काङ्ग्रेसीहरु केवल गनगनमार्गी रुन्चेहरु हुन् ।
खगेन्द्र संग्रौला


http://www.nagariknews.com/opinions/98-opinion/4181-2009-08-21-03-00-05.html

सुजाता महात्म्य

2


प्रधानमन्त्री माधवकुमार नेपाल कान्तिहीन स्वत्वहीन र निस्तेज अनुहार लिएर दिल्ली यात्रामा झरे। वास्तवमा यो माधवको मौलिक अनुहारै होइन । तिनको अनुहारमाथि सुजाताका अनुहारको कार्बनकपी खापिएको छ । खापिदिने कर्ता पिताश्री गिरिजाबाबु हुन् । राजनीतिका कतिपय भक्तहरु बिरामी भएको निहुँ बनाएर कुर्सी आरोहण गर्ने भर्याङ माग्न वा पाएको कुर्सी टिकाइमाग्न आपुना श्रीहजुरहरुको दर्शन गर्न खुत्रुक्क दिल्ली झर्ने गर्छन् । तर सुजाताले उल्टो गरिन् । तिनका काँधमा परराष्ट्र मन्त्रीको भूमिका थियो । ती परराष्ट्र मामिलाकी प्रवक्ता थिइन् । त्यसैले प्रधानमन्त्रीको भ्रमणमा तिनको उपस्थिति अनिवार्य थियो । यो मौका छोपेर पुत्री सुजाताले उपप्रधानमन्त्री बन्ने रहर गरिन् पिता गिरिजाले बनाइदेऊ भनेर माधवलाई अह्राए । बनाइदिउँ आपुनो स्वत्वविहीन अनुहार झनै स्वत्वविहीन हुने नबनाउँ गिरिजाबाबुका अनुकम्पाले आइलागेको अपुनो कुर्सी हल्लिने । माधव धर्मसङ्कटमा परे । उपप्रधानमन्त्री पद नपाउँदाको झोँकमा सुजाता हठात् स्वेच्छिक बिमारको सिकार हुन पुगिन् । तिनलाई अदृश्य झाडा-पखाला लाग्यो । ती मनमनै इन्तु न चिन्तु हुने गरी थला परिन् । तिनी उपचार गराउन दिल्ली जान पनि सकिनन् । र प्रधानमन्त्री माधव नेपाल परराष्ट्र मन्त्री सुजाताबिनाको ६३ व्यक्तीय खाओवादी जुलुस लिएर अशोभनीय र निरर्थक दिल्ली दौडाहामा हेलिए।

यस घडीमा नेपाली साचार सुजातमय भएको छ । सुजाताले राष्ट्रिय लज्जाको रचना गरिन् भनेर तिनको भत्स्रनामा सम्पादकीयसमेत लेखिएको छ । तर राष्ट्रिय लज्जाकी रचनाकार सुजाता होइनन् निजका पिता हुन् । राष्ट्रिय लज्जाकी रचनाकार सुजाता होइनन् तिनलाई परराष्ट्र मन्त्री स्वीकार गर्ने माधवकुमार नेपाल हुन् । राष्ट्रिय लज्जाकी रचनाकार सुजाता होइनन् तिनलाई परराष्ट्र मन्त्री बनाउने गिरिजाको आदेशलाई चुपचाप शिरोपर गर्ने बाइसे काजीहरु हुन् । अनि काङ्ग्रेसीगण काङ्ग्रेसीगण निस्तेज निरुपाय र निरीह जम्बोरी हो । गिरिजा एक्लै र फगत एक्लै काङ्ग्रेस हुन् । बाँकी काङ्ग्रेसीहरु केवल गनगनमार्गी रुन्चेहरु हुन् । ती गिरिजाको एकल तानाशाहीमाथि अर्थपूर्ण ढङ्गले हस्तक्षेप गर्न सक्दैनन् । ती गिरिजाको तानाशाही आज्ञाको अवज्ञा गर्न सक्दैनन् । ती न कहिल्यै साहसिक निर्णय गर्न सक्छन् न कहिल्यै जोखिम उठाउँछन् । एकल गिरिजाको स्वेच्छाचारी शक्ति काङ्ग्रेसीगणको सामूहिक अकर्मण्यतामा छ । तिनले गर्न सक्ने कुरा फगत उत्तानो सुतेर दुई खुट्टाले आकासलाई प्रहार गर्दै रुनु हो । जसरी अहिले रोइरहेका छन्।

सुजाताको मनोविकारग्रस्त बिमारमाथि बहस गर्न रुन्चे काङ्ग्रेसीहरु बैठक बसेछन्। र तिनले विचित्रको निर्णय गरेछन्। तिनको निर्णयमा अयोग्य सुजालाई दण्ड र सुयोग्य माधवलाई थप पुरस्कारको जिरह गरिएको छ। देउता सुन्दैनन् गिरिजाबाबु टेर्दैनन् । तिनले दण्डस्वरुप सुजाताको पदच्यूत गरिमागेको कोसँग हो थाहापत्तो छैन। बैठके काङ्ग्रेसीहरुलाई सुजाताको बिमार सल्किएर माधवको कुर्सी थला पर्ला कि भन्ने चिन्ता परेछ । र तिनले अगोचर र निराकार भगवानसँग पुकारा गरेछन् - परम् दयालु प्रभु! माधव सरकार संविधान जारी हुने दिनसम्म जारी रहोस् । मलाई लाग्छ सरकारमा सुजाता नरहनु र माधव रहनु कल्पनाबाहिरको कुरा हो । सुजाता माधव विद्या गच्छदार पाण्डे रावल चौधरी आदि सबै गिरिजाबाबुका रोज्जा पात्र हुन् । यिनमा सुजाता पात्र नम्बर एक हुन् । सरकारको अदृश्य वरियताक्रममा रोल नम्बर एक पनि तिनै हुन् । माधव अख्तियारसम्पन्न रोल नम्बर एक हुँदा हुन् त सुजाताले आपुनो दायित्वमाथि आगजनी गरेकै क्षणमा तिनलाई बर्खास्त गर्थे । वास्तवमा भीक्षार्थीले दाताकी प्रिय पुत्रीलाई बर्खास्त गर्ने तर्क नै हास्यास्पद हो । गिरिजाबाबुका वंशवादी दृष्टिमा सुजाता एकाघरकी हुन् माधव बाहिरका हुन् । गिरिजाबाबुले एकाघरकी सुजातालाई पाखा पारेर बाहिरका माधवलाई काखमा बोकिदेलान् भनी आशा गर्नु केवल मृगमरिचिका हो । सर्वेसर्वा कर्तालाई पुत्री सुजाता सर्वगुणसम्पन्न लागेपछि काङ्ग्रेसीगणले गुणविहीन देखेर के फरक पर्छ ?

सरकारका आसनहरुमा पुष्पकमल दाहाल प्रचण्डका ठाउँमा माधवकुमार नेपाल बाबुराम भट्टराईको ठाउँमा सुरेन्द्र पाण्डे र उपेन्द्र यादवको ठाउँमा सुजाता कोइरालालाई राखिनु लोकसम्मति योग्यता र दक्षता सबै कुराको सरासर उपहास हो । लाग्छ यो सरकार बनाउने बाइसे काजीहरुका दृष्टिमा पराजय नै विजय हो अयोग्यता नै योग्यता हो र अदक्षता नै दक्षता हो । यो सत्य हो भने उच्छृङखलतालाई मर्यादा मानिनु अन्यथा होओइन । माधव सरकार तर्क गर्ने यही तरिकाको धरातलमा उभिएको हो भने सुजाताको उच्छृङखलतालाई मर्यादा किन नमान्ने खराब बिरुवा रोपेर असल फलको आशा गर्न कसरी मिल्छ ?

काङ्ग्रेसीहरुको उत्कट चाहना छ माधव सरकारको आयु संविधानको घोषणा हुने दिनसम्म नै तन्किएर जाअेास् । माधव सरकारप्रति यिनको यति गहिरो मोह र विश्वास किन होला गिरिजाबाबुको मोह र विश्वास त बुझिने कुरा हो । यी बूढा मान्छेलाई प्रधानमन्त्रीमा जनविश्वासप्राप्त पात्र होइन सजिलो पात्र चाहिएको छ । माधव सजिला छन् । गिरिजाबाबुले प्रधानमन्त्री बनाइदिएपछि माधवबाबु जुनीजुनीसम्मका लागि उनीप्रति कृतकृत्य छन् । ती कृपाकारीले जे भन्छन् त्यो मान्नु यी कृपापात्रको अनिवार्य कर्तव्य हो । कर्तव्य पालनाको सिलसिलामा माधव कि त सुजातालाई उपप्रधानमन्त्री बनाउन वाध्य हुन्छन् कि यिनको कुर्सी धरापमा पर्छ । गनगने काङ्ग्रेसीहरु यी दुई कुरालाई रोक्न के गर्लान् उत्तानो सुतेर दुई खुट्टाले आकासलाई प्रहार गर्दै रोएर यो काम फत्ते हुने होइन क्यारे!

माधव सरकारको सेटमा सुजाता एक अनुपम आभूषण हुन् । माधव गच्छदार सुजाता विद्या सुरेन्द्र भीम मिस्टर चौधरी आदि गरी यो सेटमा चुनाव नजितीकन अतीतको ब्याज खाने नेताश्रीका कृपाले मनोनीत हुने बाबुकी छोरी लोग्नेकी स्वास्नी र मामाको भानिज हुँदैमा मन्त्री बन्न स्वतः योग्य मानिने मानकमा उत्तीर्ण पात्रहरुको रमितैलाग्दो जत्था छ । यो मानकमा सुजाताको सर्वोत्कृष्ट स्थान छ । कारण उनी प्रधानमन्त्रीदेखि सकल मन्त्रीहरुका भाग्यविधाता पिताकी भाग्यमानी पुत्री हुन् । उनीमाथि कार्बाइ गर्न कसका बाउको पिताम जब सुजाता जान्छिन् उनको पुच्छर समातेर सिङ्गो सरकारै जान्छ । गन्तीमा त बाइसे काजीहरु र तीन सय साठी विधायकहरु आउँछन् नै । तर ती सब केवल मूक थप्पडी बादक हुन् । गिरिजाबाबु यिनका ब्रह्मा विष्णु र महेश तीनै देवावतार हुन्।

गिरिजाबाबुका खल्तीमा सुजाताको राजनीतिक यात्राको स्पष्ट मार्गचित्र छ । भगवान दाहिना भए सुजाता छिटै नै उच्चस्तरीय संयन्त्रकी संयोजक बन्ने छिन् । अनि त्यसपछि कुन्नि त्यसपछि हामीले सुजातालाई प्रधानमन्त्री र बाबुराम भट्टराईलाई उनको उपप्रधानमन्त्रीको हैसियतमा पो देख्नुपर्ने हो कि आखिर लोकतान्त्रिक गणतन्त्रमा जे नदेखिनु पर्ने हो त्यो देख्न हामी श्रापित छँदै छौँ । के राजनीतिको यो उल्टो अहितकर धारको आयु लामै होला थाहा छैन । पराजित मनोनीत र कृपापात्रहरुको यो दख्खिनमुखी सरकारसँग संवाद गर्न एक लाख नागरिक सडकमा ओर्लिएको दिन के होला हेरौँला । हाललाई निरङ्कुशमति बृद्ध बाबुजी जे चाहन्छन् त्यो हुन्छ । राजनीतिमा यो सुजाताकाल हो। सुजाता वृक्ष हुन् माधव त्यो वृक्षको छायाँ हुन् । जब वृक्ष विलुप्त हुन्छ बबुरो छायाँ के रहन्छ ?

Read Full Discussion Thread for this article