Posted by: naivelyStupid August 15, 2009
मैले मारेको हु राजालाई , i killed Birendra - HQ
Login in to Rate this Post:     0       ?        

राजदरबार हत्याकाण्डको निर्मम पक्ष

२७-साउन-२०६६,मंगलवार 

देवप्रकाश त्रिपाठी / पागल प्रमाणित भइनसकेका कुनै तुलप्रसाद शेरचन नामक पात्रले वि.सं. २०५८ सालमा भएको नारायणहिटी राजदरबार हत्याकाण्डको योजनाकार तथा ज्ञाता रहेको दाबी सार्वजनिक रूपमै गरेपछि उक्त हत्याकाण्डबारेको जिज्ञाशा पुनः तरङ्गित हुन पुगेको छ।

हत्याकाण्डका प्रत्यक्षदर्शी साक्षीहरू जीवित हुँदाहुँदै पनि रहस्यमयी बनाइएको यस घटनाको रचना कसले किन गर्योग भन्नेबारेमा सरकारले आजसम्म औपचारिक जानकारी गराएको छैन। जसका कारण घटनालाई आधार बनाएर नियोजित राजनीति गर्न चाहने तथा अवाञ्छित रूपमा रातारात चर्चित हुन चाहनेहरूले जनतालाई गुमराहमा पार्ने काम गर्दै आएका छन्, तुलप्रसाद प्रकरण यसैको पछिल्लो दृष्टान्त हो।
त्यस्ता घटना, विषय वा सन्दर्भलाई रहस्यमयी मानिन्छ जुन परिणाममा देखापर्छ तर त्यसबारे कसैलाई कुनै जानकारी हुँदैन, तर्क र बहसका आधारमा तथ्य पत्ता लगाउने कोसिस गर्नुपर्ने हुन्छ। बर्मुदा त्रिकोणको प्रभाव क्षेत्रभित्र पुगेका पानीजहाज र हवाईजहाजहरू अचानक हराउने गर्छन्– यो परिणाम हो, तर यो किन र कसरी भइरहेछ भन्नेबारेमा कुनै जानकारी पाउन सकिएको छैन त्यसैले यो रहस्य हो। विभिन्न समयमा आकाशमा उडन तस्तरी देखापर्ने गरेको सत्य हो, तर त्यसका बारेमा तथ्य पत्ता लाग्न सकेको छैन त्यसैले यसलाई रहस्यपूर्ण मानिएको छ। त्यसैगरी अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको करिब पाँच दशकअघि हत्या भयो। केनेडी मारिए– यो परिणाम हो, परिणामबारे सबै जानकार पनि छन् तर उक्त घटना कसले, कसरी, किन गरायो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन, घटनाका साक्षी, प्रत्यक्षदर्शी र योजनाकार कसैका बारेमा कुनै सूचना प्राप्त गर्न सकिएको छैन, त्यसैले केनेडी हत्याकाण्ड रहस्यपूर्ण बनेको छ र रहस्यपूर्ण मानिनु त्यसर्थ स्वाभाविक पनि छ। यदि घटनाको योजनाकार साक्षी या प्रत्यक्षदर्शी कोही जीवित रहेर उसले वास्तविकता बताइदिएको भए उक्त घटना आजसम्म रहस्यमयी बनिरहन सम्भव थिएन।
कुनै पनि चर्चित मानिसहरूको मृत्यु अस्वाभाविक र असामान्य किसिमबाट भयो भने त्यसप्रति सबैको ध्यानाकृष्ट हुनु र विभिन्न प्रश्नहरू उठाइनु स्वाभाविक हुन्छ। अमेरिकी अभिनेत्री मार्लिन मुनरोको आत्महत्यालाई अझै रहस्यमयी मानिँदै छ भने तथ्यहरू खुला हुँदाहुँदै पनि माइकल ज्याक्सनको मृत्युलाई स्वाभाविक प्रमाणित गर्न अनेक कसरत भइरहेका छन्। राजकुमारी डायनाको निधन एउटा कार दुर्घटनामा भएको स्पष्ट हुँदाहुँदै पनि कतिपय मानिस त्यसमा रहस्य देख्दै छन्। करमचन्द्र गान्धीको बध नत्थुराम गोड्सेले गरे, हत्याराको पहिचान स्पष्ट खुलेकोले त्यस घटनालाई रहस्यमयी बनाइएन। इन्दिरा गान्धी र राजीव गान्धीका हत्यारा पनि स्पष्ट चिनिएका कारण ती घटनाहरूलाई थप रहस्यमयी बनाउने प्रयास भारतीयहरूले गरेनन्। नेपालमा लोकप्रिय नेता मदन भण्डारीको मोटर दुर्घटनामा निधन भयो, तर धेरैले त्यसलाई नियोजित घटनाका रूपमा बुझ्न चाहे। मदनको मृत्युलाई सामान्य दुर्घटनाका कारण भएको मान्नुभन्दा नियोजित हत्याकै रूपमा बुझेर रहस्यमयी ठान्दै धेरैले 'सन्तुष्टि' लिइरहेका छन्। यदि उक्त घटना नियोजित थियो भने कसले, कसरी, किन त्यसप्रकारको 'हत्या–योजना' रचेको थियो त्यसको सङ्केत अहिलेसम्म मिलेको छैन। त्यसैले मदन भण्डारीको मृत्युलाई सदा रहस्यमयी घटनाका रूपमा लिइने सम्भावना बढेको छ। तर, २०५८ सालमा भएको नारायणहिटी राजदरबार हत्याकाण्डका साक्षी, प्रत्यक्षदर्शी र घटनाका पीडितहरू जीवित हुँदाहुँदै सत्यतथ्य बुझ्ने र जनतालाई वास्तविकताबारे जानकारी गराउन सरकार उदासीन रहनुचाहिँ आफैंमा आश्चर्य र रहस्यको विषय बनेको छ। उक्त घटनाका साक्षी, प्रत्यक्षदर्शी एवम् सबैभन्दा ठूला पीडित गोरखशमशेर जीवित छन्। शरीरमा अझै पनि गोलीको घाउ बोकेर हिँडिरहेका गोरखकी प्रिय पत्नी पनि मारिएकी हुँदा उनलाई जीवितहरूमध्ये ठूला पीडित भन्न सकिन्छ। तत्कालिक अधिराजकुमारी कोमल पनि गोली लागेर घाइते बन्नुभएकोमा उहाँ पनि घटनाको एक प्रत्यक्षदर्शी हुनुहुन्छ। उहाँहरूबाहेक पनि अन्य दर्जनौं व्यक्तिहरू जो घटनास्थलमा थिए र अहिलेसम्म जीवितै छन्, ती सबैले हत्याराको पहिचान गरेका छन् र स्पष्ट रूपमा बताएका पनि छन्। घटनाका प्रत्यक्षदर्शी, पीडित तथा साक्षीहरू सबैको एउटै भनाइ छ– 'हत्याकाण्ड तत्कालिक युवराज दीपेन्द्रले गराएका हुन्।' रोचक, उदेकलाग्दो र निर्मम पक्ष के छ भने हामी नेपाली घटनाका प्रत्यक्षदर्शी र पीडितहरूको भनाइमा विश्वास गर्न तयार भएनौँ, बरु त्यसताका जङ्गलजीवन बिताइरहेका प्रचण्ड–बाबुरामहरूले उद्घोष गरेका कुरा पत्याउन राजी भयौँ। निष्पक्ष ढङ्गले र बिनापूर्वाग्रह वस्तविकता बुझ्नेतर्फ लाग्नुभन्दा जङ्गलकालीन प्रचण्ड–बाबुरामका 'उद्घोष' या आ–आफ्नै घरमा बसेर आफूले अनुमान गरेका कुराको वशीभूत भएर बनेको धारणाचाहिँ सही मान्न प्रे्ररित भयौँ, कस्तो विडम्बना!
सर्वसाधारण मानिस जसको तत्कालिक राजदरबारभित्रको सूचना प्राप्त गर्नसक्ने हैसियत थिएन, ती गुमराहमा पर्नु स्वाभाविक छ। उनीहरू 'सबैले दीपेन्द्रले होइन, पारसबाट नै घटना भएको हो भन्छन्, त्यसैले मलाई पनि दीपेन्द्रले आफ्नै बाबुआमा मारे होलान् भन्नेमा विश्वास छैन' भन्ने धारणा राख्छन्। तर, वास्तविकता भनेको वास्तविकता नै हो। घटनाको सत्य–तथ्य पत्ता लगाउने आधार जनमतसङ्ग्रह हुन सक्दैन। भारतको एक अर्ब दस करोड जनतामध्ये एक अर्बले नै नत्थुरामद्वारा गान्धीको हत्या भएको होइन भन्ने धारणा बनाए पनि त्यसले वास्तविकतालाई फरक पार्न सक्दैन। राजदरबार हत्याकाण्डका बारेमा गोरखशमशेरसहित घटनाका प्रत्यक्षदर्शीसँग बयान लिइँदा घटनास्थलको सम्पूर्ण तथ्य विवरण प्राप्त हुनेछ। त्यसैगरी देवयानी राणा र दीपेन्द्रका अङ्गरक्षक राजु कार्कीलगायत खास–खास मानिससँग बयान लिइने हो भने दीपेन्द्रले उक्त हत्याकाण्ड कुन पृष्ठभूमिमा, किन रचेका थिए र उनलाई कसले कसरी प्रेरित गरेका थिए भन्ने बेहोरा पनि खुलस्त हुने विश्वास गर्न सकिन्छ। तर, त्यसका लागि हामी सबै पूर्वाग्रहविहीन हुनुपर्छ र सत्य बुझ्ने चाहनाबाट मात्र अभिपे्ररित हुनुपर्नेछ। पूर्वराजा ज्ञानेन्द्र या पूर्वयुवराज पारस या अरू कसैलाई नै दोषी ठहर गर्नुपर्ने मानसिकता बनाएर गरिने अनुसन्धानले हामीलाई सत्य जान्न सहयोग पुर्यावउने छैन। वास्तविकता जनसमक्ष औपचारिक रूपमै नल्याइँदा अनेक आकार–प्रकारका 'तुलप्रसाद'हरू समय–समयमा प्रकट हुने र नेपाली जनतालाई इतिहासमा पटक–पटक भ्रमित पारिरहने सम्भावना रहेको हुँदा नेपाल सरकारले दरबार हत्याकाण्डबारे वास्तविकता सार्वजनिक गरिहाल्नुपर्ने आवश्यकता अनिवार्य बन्दै गएको छ।
तथ्य र प्रमाणहरूले हत्यारा तत्कालिक युवराज दीपेन्द्र नै भएको पुष्टि गरिसकेको भए पनि तत्कालिक शाहज्यादा पारस र पारसका पिता भएका कारण पूर्वराजा ज्ञानेन्द्रलाई नै मूल दोषी मान्ने वामइच्छा प्रबल भएकोले छानबिन प्रक्रियामा अवरोध पैदा भएको तथ्य कसैबाट छिपेको छैन। घटनाबारे वास्तविकता पत्ता लगाउने र जनतालाई जानकारी गराउने जिम्मेवारी पाएका माधवकुमार नेपालले उच्चस्तरीय छानबिन समितिमा बस्न इन्कार गरेर तत्कालिक राजालाई भन्दा हामी सर्वसाधारण नेपालीलाई नै धोका दिएका थिए भन्न सकिन्छ। 'सत्य बुझ्न नचाहने तर गलत प्रचारमा मस्त रहने' वाम प्रवृत्तिका कारण मुलुकवासीहरू अन्योलमा परेका हुन् भन्न माधव नेपालजीले पनि त्यसबेला सघाउ पुर्या्उनुभएकै हो।
ग्यालिलियोले सूर्यलाई पृथ्वीले परिक्रममा गर्छ भन्दा त्यसबेलाको सत्ता र समाज कसैले विश्वास गरेनन्। जनमतसङ्ग्रह गराइएको भए अतुलनीय मतले ग्यालिलियोको मत पराजित हुने निश्चित थियो। तर, कालान्तरमा सत्यकै जित भयो। ग्यालिलियोकै कुरा सही प्रमाणित भएको छ। त्यस्तै राजदरबार हत्याकाण्ड तत्कालिक युवराज दीपेन्द्रबाट भएको हो भन्नेमा शङ्का गरिरहनुपर्ने कुनै कारण देखिँदैन, तथापि कतिपय मानिसहरूले केही त्यस्ता प्रश्न उठाएका छन् जसले दीपेन्द्रबाट हत्याकाण्ड भएको थियो भन्नेमा आशङ्का जन्माउँछ। मदिराको नशामा लठ्ठ परेका दीपेन्द्र जसलाई चारजनाले बोकेर उनको सुत्ने कोठामा पुर्यााएका थिए। तिनले तुरुन्तै कसरी 'त्यति ठूलो' घटना गराउन सके? एक्लो दीपेन्द्रले 'त्यति धेरैको' हत्या कसरी गर्न सक्छन्? ज्ञानेन्द्रको परिवारका सदस्यहरूचाहिँ सबै बाँच्ने र वीरेन्द्रको परिवार मात्र सबै नास हुने स्थिति कसरी भयो? भद्र र स्वच्छ छविका दीपेन्द्रबाट त्यस्तो बीभत्स घटना भयो भनेर कसरी विश्वास गर्न सकिन्छ? यस्ता अनेक प्रश्नहरू यसकारण अघि सार्ने गरिएको छ कि दोषी तत्कालिक अधिराजकुमार ज्ञानेन्द्र र शाहज्यादा पारस नै हुन् भन्न सकियोस्। पूर्वराजा ज्ञानेन्द्र या उहाँका पुत्र कति असल या खराब हुन् यो बेग्लै विश्लेषणको विषय हुनसक्छ। तर, हत्याकाण्डमा उहाँहरूको संलग्नता या असंलग्नता नितान्त पृथक् सन्दर्भ हो। राजदरबार हत्याकाण्ड एउटा घटना–सन्दर्भमा मात्र छिरेर हेर्दा तत्कालिक इतिहासको पूर्ण ज्ञान प्राप्त गर्न सकिँदैन। राजा वीरेन्द्रले नागरिकता विधेयक पारित हुन र लागू गर्न खडा गरेको व्यवधान, आर्मी बैंक खोलेर चीनबाट विशेष सहयोग प्राप्त गर्न गरिएको प्रयास, २०५८ सालभित्रै वामदेव गौतमलाई प्रधानमन्त्री बनाएर (स्वयम् गौतमका अनुसार) वीरेन्द्रद्वारा 'टेकओभर' को योजना बनेको सन्दर्भ र बोआओ सम्मेलनमा भाग लिएपछि झनै कसिलो हुँदै गएको चीन–वीरेन्द्रको सम्बन्ध तथा विवाहसम्बन्धी विषयलाई लिएर दीपेन्द्रसँग उनका बाबुआमाको विवाद र यसै सम्बन्धमा उत्पन्न तनावको स्थितिसमेतलाई विस्तृत रूपमा अध्ययन नगरी हत्याकाण्डको वास्तविकता बुझ्न कदापि सकिँदैन। घटना दीपेन्द्रबाट भएको भन्नेमा शङ्का गरिरहनुपर्ने अवस्था नरहेको भए पनि क–कसको उक्साहट, पे्ररणा र कुन व्यक्तिगत असन्तुष्टिका कारण दीपेन्द्र आफ्ना बाबुको हत्या गर्ने निष्कर्षमा पुगेका थिए भन्ने कुराको सबैभन्दा भरपर्दो साक्षी देवयानी राणा हुन्। त्यतिबेलै देवयानीलाई गिरफ्तार गरी सोधपुछ गरिएको भए दीपेन्द्रको मानसिकता र उनको पे्ररणाश्रोतबारे जानकारी पाउन सकिन्थ्यो। अब देवयानी भारतीय नागरिक भइसकेकी छिन्, बयानका लागि भारत सरकारले देवयानीलाई 'सुपुर्दगी' गर्नुपर्ने हुन्छ, जुन सम्भव देखिँदैन। दीपेन्द्र र देवयानीबीच पहिलो भेट गराइदिने विवादास्पद व्यक्ति ताराबहादुर थापाले कसको कुन योजनाअनुसार भेटघाट कार्यक्रमको रचना गरेका थिए भन्ने स्पष्ट हुन सकेको छैन। दिउँसो सार्वजनिक स्थलमा भद्र, मिलनसार र असल मानिसझैं देखिने दीपेन्द्र रातमा, एकान्तमा र आफ्ना खास–खास मानिसका बीच वास्तविक स्वरूपमा प्रस्तुत हुँदा कति हिंस्रक र तानाशाही विचार–चरित्रका थिए भन्ने पनि सार्वजनिक जानकारीको विषय बन्न अझै सकेको छैन। राजा सहभागी हुने कुनै पनि सभा–समारोहमा राजाको पदार्पण भइसकेपछि कोही पनि बाहिर निस्कन नपाउने र भित्र प्रवेश गर्न पनि राजाको विशेष अनुमतिले मात्र सकिने प्रचलन रहेको हुनाले दीपेन्द्रले दुई/तीन पेग मदिरा सेवन गर्नेबित्तिकै धेरै नसा लागेको अभिनय गर्नुपरेकोतर्फ पनि धेरैले ध्यान पुर्याेउन सकेका छैनन्। स्मरणीय छ, दीपेन्द्रले मदिराको नसा धेरै लागेको अभिनय गरेपछि राजा वीरेन्द्रले 'आराम गराउनू' भन्ने आदेश दिएपछि मात्र दीपेन्द्रले हलबाट बाहिरिने मौका पाएका हुन्। एक लिटर मदिरा सजिलै पचाउन सक्ने क्षमताका दीपेन्द्रलाई दुई/चार पेगले ढाल्न कदापि सम्भव थिएन। हतियार लिएर आउनका लागि मात्र उनले लठ्ठिएको अभिनय गरेको वास्तविकता सजिलै बुझ्न सकिन्छ। वीरेन्द्र दीपेन्द्रलाई राजा होस् भन्ने चाहँदैनथे र दीपेन्द्रलाई पनि आफ्नो पिताको सोचबारे राम्रो जानकारी थियो। आफ्नो विवाह नगरी भाइ नीराजनको विवाह गराएर प्रथम (जेठो) सन्तान पैदा गर्ने र नवजात शिशुलाई नवयुवराजाधिराज घोषणा गर्ने तथा आफू संरक्षक रहेर नीराजनलाई राजपाठ सुम्पने तयारी राजा वीरेन्द्रबाट भइरहेको 'सूचना' दीपेन्द्रले प्राप्त गरेपछि उनी जिउँदै मर्नुभन्दा बाबुलाई मारेर राजा बन्ने योनजामा थिए भन्ने तर्फ पनि कसैको ध्यान गएको पाइएको छैन। यस कुराको पुष्टि सायद अर्काे जीवन ९क्भअयलम षिभ० बाँचिरहेका गोरखशमशेरबाट पनि हुन सक्नेछ। एकपटक राजदरबारमा दीपेन्द्रले आफ्नी बहिनी तथा गोरखपत्नी श्रुतिलाई सबैका सामु साङ्घातिक हमला गरेका दिन 'यस्तो मान्छे कसरी देशको राजा बन्न सक्छ' भनी राजा वीरेन्द्रले भनेको सुन्ने एक साक्षी गोरखशमशेर पनि हुन्। खोजी र अनुसन्धान गर्दै जाने हो भने यस्ता धेरै तथ्यहरू फेला पर्छन्, जसले राजा वीरेन्द्र दीपेन्द्र राजा नहोस् भन्ने चाहन्थे भन्ने कुराको पुष्टि गर्दछ। 'उक्त दिन' राजा वीरेन्द्रलाई दागेर गोली हानेपछि बाहिर निस्किएका दीपेन्द्रले 'मेरो पेटमा गोली लागेको छ' भनी वीरेन्द्र बोल्दै गरेको नसुनेका भए फेरि फर्केर गोली चलाउने सायदै थिए। पिता मरेका रहेनछन् भन्ने परेपछि पुनः गोली हान्न आउँदा जो जसले उनलाई व्यवधान पैदा गरे ती सबैलाई दीपेन्द्रले ढालिदिए। यस क्रममा सबभन्दा पहिला धीरेन्द्र शाह ढालिएका थिए, त्यसपछि फुपू, फुपाज्यू, बहिनी, आमा र भाइ क्रमशः ढालिँदै गएको तथ्यले देखाउँछ। यसबाट दीपेन्द्रले छानीछानी गोली हानेको नभई राजा वीरेन्द्रको बचाउ गर्न तथा उनी स्वयम्को प्रतिवाद गर्न अग्रसर भएकाहरू मारिएका र बाँकी अरूहरू जो भागेर या लम्पसार परेर ज्यान जोगाउन चाहन्थे उनीहरूचाहिँ बाँचेका थिए भन्ने स्पष्ट गर्दछ। सेनाको औपचारिक पोसाकमा सजिएर बाबु (राजा) लाई हत्या गर्न आउनुले दीपेन्द्र पिताको हत्यापश्चात् सेनाको साथ लिएर आफूलाई राजा घोषणा गर्न चाहन्थे भन्ने स्पष्ट गराउँछ। तर 'अनपेक्षित रूपमा' आमाको हत्या गर्नुपरेपछि भने सायद उनले सन्तुलन गुमाए। भाइ नीराजन जसलाई उनी त्यसअघि निकै माया गर्थे भनी विश्वास गरिन्थ्यो, सबैभन्दा धेरै गोली (शरीर नै छियाछिया हुने गरी) दीपेन्द्रले तिनै भाइलाई हान्नुले उनी भाइसँग कति क्रूद्ध हुन पुगेका थिए भन्ने पनि स्पष्ट गरेको छ।
हतियार चलाउन निपुण मानिने दीपेन्द्रले दुवै हातमा बन्दुक लिएर एकैपटक निसाना लगाउन सक्थे भन्ने कुराको जानकारी राजदरबार निकटका व्यक्ति र नेपाली सेनाका कतिपय उच्चाधिकारीहरूलाई पनि थियो। नारायणहिटी परिसरमा रहेका बाँसको झाङ र रूखहरूमा रहेका चराको गुँड दिउँसो हेर्ने र राति अँध्यारोमा गुँडमा निसाना लगाएर बास बसेको चरा खसाल्ने सामर्थ्य दीपेन्द्रले राख्थे। हातहतियारसम्बन्धी अत्यन्तै रुचि राख्ने र चलाउन पनि निपुण भएकोले राज्यले नयाँ हतियार खरिद गर्नुपर्ने भएमा नमुना परीक्षणका लागि उनैलाई दिने गरिन्थ्यो। यस्तो क्षमताका दीपेन्द्रले दुई/चार हतियार बोक्नु र हतियारविहीनहरूको बीचमा घुसेर आठ–दसजनालाई ठहरै पार्नु अस्वाभाविक होइन।
आफ्ना पतिको हत्या गरिएपछि बडामहारानी ऐश्वर्य छोरा दीपेन्द्रसँग बदला लिने निष्कर्षमा पुगेकी थिइन् र उनी 'कि म मर्छु कि तँलाई मार्छु' भन्दै हतियार लिन जाँदा भर्यारङमै दीपेन्द्रद्वारा मारिएकी र त्यसपछि आमालाई पछ्याउँदै गएका भाइ नीराजन मारिएको तथ्य सार्वजनिक भए पनि दीपेन्द्रले आत्महत्या गरेको देख्नेहरूचाहिँ अहिलेसम्म कोही प्रकट भएका छैनन्। मुमा बडामहारानी रत्नको आदेशमा उनकै अङ्गरक्षकले चलाएको गोलीबाट दीपेन्द्र मारिएका हुन् भन्ने पनि कतिपयको भनाइ छ। तर, यस कुराको पनि पुष्टि भइसकेको छैन।
लोकप्रिय राजा वीरेन्द्रको वंशनास भइसकेपछि उक्त बीभत्स घटनाको निम्ति राजपरिवारका बाँकी सदस्यहरूलाई दोष लगाउँदा अन्ततः यही दोष नै गणतन्त्र स्थापनाका निम्ति बलियो आधार बन्न पुग्यो। वीरेन्द्रको वंशनास हुनेबित्तिकै गणतन्त्र स्थापना हुनेछ र यो देशलाई तहसनहस बनाउन सकिन्छ भन्ने जसले सोचेको हुँदो हो, ज्ञानेन्द्र बाँच्नु र राजतन्त्रलाई निरन्तरता दिन अग्रसर हुनुले त्यस्तो सोच कार्यान्वयन हुन थप केही वर्ष लाग्यो। पूर्वराजा ज्ञानेन्द्र तथा पारसलगायतका व्यक्ति दरबार हत्याकाण्डमा परेर नमर्नु नै उहाँहरूको गल्तीझैं भएको छ। ज्ञानेन्द्र घटनास्थलमा नभएका कारण संयोगले बाँच्नुभएको देखिन्छ भने दीपेन्द्रले आफू राजा भइसकेपछि 'हत्याकाण्डको दोषीका रूपमा गिरफ्तार गरी जनतामा आफू निर्दोष दर्शाउने चालबाजीअनुरूप पारसलाई गोली नहानिएको' हुनसक्छ भन्ने तर्क कतिपयले गर्ने गरेका छन्। आखिर दीपेन्द्रले आफूलाई राजा घोषणा गर्दै हत्याकाण्ड पारसद्वारा रचिएको भनी सार्वजनिक रूपमा बताएका भए नेपाली जनताको ठूलो हिस्साले दीपेन्द्रको कुरामा विश्वास नगर्ने स्थिति पनि थिएन।
जे होस्, राजदरबार हत्याकाण्डबारे निष्पक्ष छानबिन गरी जनसमक्ष वास्तविकता ल्याउने मूल दायित्व नेपाल सरकारको हो र कम्तीमा पनि घटनाका साक्षी, पीडित र प्रत्यक्षदर्शीहरू जीवित रहँदै सरकारले आफ्नो कर्तव्य पूरा गरेर नेपाली जनतालाई यथार्थ बोध गराउने तत्परता लेओस्, अहिलेलाई यति नै अपेक्षा गर्नु उचित होला।
ओरालो लागेपछि मृगलाई पनि खेद्ने 'संस्कार र संस्कृति' भएको हाम्रोजस्तो मुलुकमा ओरालो लागिसकेका पूर्वराजा ज्ञानेन्द्रलाई सहयोग पुग्ने प्रकारको कुरा गर्नु भनेको आफैंमा एउटा जोखिम उठाउनु हो भन्ने नबुझिएको होइन। यतिबेला पूर्वराजा ज्ञानेन्द्रलाई न्वारानदेखिको बल निकालेर जसले गाली गर्न या खेद्न सक्छ ऊ नै 'महान् क्रान्तिकारी र सही मानिस' बन्ने अवस्था छ। झुट र हावादारी अभिव्यक्ति दिएर 'महान्' हुनुभन्दा जनतालाई वास्तविकता बताउँदा अलोकप्रिय र निन्दित होइनु ठीक हुन्छ भन्ने सामर्थ्य जुटाएपछि यो सामग्री तयार हुन पुगेको हो। पूर्वराजा ज्ञानेन्द्रसँग विगतमा सामाजिक, आर्थिक, राजनीतिक, पारिवारिक तथा कुनै पनि प्रकारको वैयक्तिक वा सार्वजनिक सम्बन्ध नरहेको, उहाँबाट कहिल्यै कुनै स्तर र आकार–प्रकारको लाभ प्राप्त नगरेको तथा भविष्यमा पनि त्यस्तो सम्भावना नरहेको हुँदा मभित्र यसप्रकारको 'साहस' पैदा भएको हो। कुनै स्वार्थबाट पे्ररित हुनेले विगतमा शक्तिशाली हुँदा राजालाई रिझाएका थिए र तिनले आफ्नो जीवनलाई वास्नादार बनाएका पनि थिए। जनतालाई वास्तविकता बताउन प्रेरित हुँदा ओरालिएका राजाबाट कुनै लाभ कसैलाई प्राप्त हुन सक्दैन भन्ने पनि स्पष्ट बुझिने सत्य हो। यस प्रकरणलाई यही रूपमा पाठकहरूले बुझिदिनुहुनेछ भन्ने विश्वास लिइएको छ।

Last edited: 15-Aug-09 01:45 PM
Read Full Discussion Thread for this article