Posted by: shirish August 15, 2009
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        

परराष्ट्र मन्त्रीको भारत भ्रमण: व्यक्तिगत उचाइ बढाउँदै

दिनेश वाग्ले

नयाँदिल्ली, दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेबाहेक परराष्ट्रमन्त्री सुजाता कोइरालाको शुक्रबार सकिएको भारत भ्रमणको अर्को उद्देश्य पनि थियो जो सार्वजनिक गरिएको थिएन । त्यो हो, नेपाली कांग्रेसभित्र र पार्टीका भारतीय शुभचिन्तकमाझ आफ्नो राजनीतिक उचाइ बढाउने ।

पार्टीभित्रको संघर्ष र केही वरिष्ठ नेताहरूको असन्तुष्टिबीच तीन महिनाअघि सरकारमा कांग्रेसको नेतृत्व गर्दै पराराष्ट्रमन्त्रीको बाजी मारेकी थिइन् कोइरालाले । केही वर्षयता काठमाडौंमा कूटनीतिज्ञहरूलाई प्रधानमन्त्रीसँग लगभग असीमित पहुँच मिल्दा परराष्ट्र सरकार प्रमुखको छायामा हराउँथ्यो । गिरिजाप्रसादको नेतृत्वको पछिल्लो सरकारकी परराष्ट्रमन्त्री साहना प्रधानले त्यसबारे सार्वजनिक टिप्पणी नै गरेकी थिइन् । यो सरकारमा प्रधानमन्त्रीको भन्दा ठूलो पार्टीको प्रतिनिधित्व गर्ने कोइरालाले पहिलो भारत यात्रामार्फत परराष्ट्रलाई प्रधानमन्त्रीको छायाबाट निकालेको उनका समर्थकको विश्वास छ ।

'पार्टीमा त अब शशांकहरूले नचिताए हुन्छ,' सुजातासँगै भारत आएका उनका एक सहयोगीले कांग्रेस र कोइराला परिवारमा सुजाताका प्रतिस्पर्धी मानिने व्यक्तिको नाम लिँदै भने, 'मन्त्री हुँदै उनको हैसियत बढेको थियो । अब यो भ्रमणपछि त अरूले -सुजातालाई उछिन्ने) नसोचे हुन्छ ।'

कोइरालाले आफ्नो भ्रमणलाई लगभग 'प्रधानमन्त्रीय' जस्तै बनाएकी थिइन् । सरकारी र गैरसरकारी उच्च नेतृत्वलाई खोजीखोजी भेट्नुबाहेक उनले आफ्नै अग्रसरतामा यहाँस्थित एउटा विश्वविद्यालयमा कार्यक्रम गराएर त्यसलाई सम्बोधन गरिन्, 'कोइराला छात्रवृत्ति' को घोषणा भएको सुनिन्, अर्को एउटा कलेजमा 'सम्मान' समारोह गराएर भारतीय व्यापारीहरूलाई सुरक्षाको ग्यारेन्टी आफैं लिने आश्वासन दिँदै नेपालमा लगानी गर्न बोलाइन् ।

केहीअघि भारत आएकी अर्की मन्त्री विद्या भण्डारीको तुलनामा कोइरालाको भ्रमण निश्चितै 'हाइप्रोफाइल' थियो । मुख्यतः उपचार गर्न आएकी रक्षामन्त्री भण्डारीसँग निजी सहायकसम्म थिएनन् भने भारतीय विदेश सचिवसँगको भेटमा उनकी छोरी उषाकिरणले सहयोगीको भूमिका खेलेर आमालाई खुसी तुल्याएकी थिइन् ।

कोइराला यहाँ परराष्ट्रका सचिवसहितको एउटा टोली लिएर आएकी थिइन् र उनलाई सघाउनेमा यहाँस्थित नेपाली दूतावासबाहेक उनका निजी सचिव र सल्लाहकार थिए । भारतीय मिडियाको सानै शीर्षकमा भए पनि कोइरालाले ध्यान तानिन् र नेपालमा यात्राको राम्रो प्रचार दिलाउन यता आउनु एक दिनअघि मन्त्रिपरिषदको निर्णय गराएर नेपाल टीभीका पत्रकार/क्यामेराम्यान डेलिगेसनकै सदस्यका रूपमा ल्याएकी थिइन् ।

पछिल्लोपटक पाँच महिनाअघि सुजाता बिरामी बुवा गिरिजाप्रसाद कोइरालालाई उपचार गराउन भारत आएकी थिइन् । त्यतिखेर र अघिल्ला भ्रमणहरूमा गिरिजाप्रसादले यहाँका उच्च नेतृत्वसँग भेट्दा उनको भूमिका पाहुनालाई होटलको मुख्य गेटदेखि स्वागत गरेर बुवा बसेको कोठासम्म लैजानुमा सीमित थियो । तीमध्येका केही नेता यसपालि उनैलाई भेट्न ताजमहल होटलको आठौं तलासम्म पुगेका थिए । 'विदेशमन्त्रीको रूपमा स्वागत छ भारतमा,' नमस्ते गर्दैगर्दा प्रभावशाली कम्युनिस्ट नेता सीताराम यचुरीले सुजातालाई भने । लालु, मुलायमसिंह र शरद यादवजस्ता वरिष्ठ नेताहरूलाई भेट्न आफैं तिनका निवास पुगेकी थिइन् ।

उनले पाँचदिने भ्रमणमा भएसम्मका उच्च व्यक्ति भेट्न र अन्तक्रिर्या गर्न चाहेकी थिइन् जसले गर्दा सहयोगीहरूलाई समय मिलाउन हम्मे परेको थियो । -अन्तिम दिन शुक्रबार उनले भाजपाका नेता राजनाथ सिंहसँग भेटिन् । प्रयास गरेका सोनिया र राहुल गान्धीसँग मात्र कोइरालाको भेट हुन सकेन । मन्त्री र केही नेतालाई मायादेवीको चाँदीको मूर्ति दिएकी कोइरालाले राहुललाई सुन पोतिएको मूर्ति दिने योजना बनाएकी थिइन् ।) 'छाड्नुस् तपाईंहरू, मेरो भेटघाटको समय मैं मिलाउँछु,' बैठकहरूको समय जुधेपछि अप्ठ्यारोमा परेकी कोइरालाले र्झकंदै निजी सहयोगीलाई भनिन्, समयतालिका अठ्याइन् र कुर्सीमा बसिन् ।

भेटघाटको चापले उनलाई थकित पारेको थियो र एउटा टीभीलाई अन्तर्वार्ता दिनलाग्दा उनलाई थुप्रैपटक हाइ आएको थियो ।

त्यस्ता हरेक भेट र अन्तक्रिर्यात्मक कार्यक्रमहरूमा सुजाताले 'गिरिजाबाबुले यसो गर्दै हुनुहुन्छ,' या 'गिरिजाबाबुले सम्भिmनुभएको छ' जस्ता वाक्यहरूको प्रयोग गर्दै आफूलाई नेपालको कोइराला परिवारको एकैमात्र उत्तराधिकारीका रूपमा प्रस्तुत गरिन् । कतिपय ठाउँमा उनका लागि बोलिदिने भारतीयहरू नै थिए । 'उहाँ एसियाली लोकतन्त्रको एउटा नयाँ अनुहार,' जवाहरलाल नेहरू विश्वविद्यालय -जेएनयू) मा आयोजित अन्तक्रिर्यामा नेपाली कांग्रेसका शभेच्छुक भारतीय प्राध्यापक आनन्द कुमारले कोइरालाको प्रशंसाले भरिएको एउटा मन्तव्यमा भने,

'उहाँहरू प्रतिज्ञा गर्ने र त्यसलाई आफ्नो जीवन अवधिमा पूरा गर्ने २१ औं शताब्दीका व्यक्तिहरू । उहाँको परिवारले लोकतन्त्रका लागि लड्यो र जीवन गुमायो ।'

कोइरालाले पनि आफ्नो लिखित मन्तव्यमा ठूलोबुवा बीपी र बुवाको सम्झना गर्दै भारतसँगको सम्बन्ध आफू मन्त्री हुँदानहुँदा उस्तै प्रगाढ रहने

बताइन् । त्यसै कार्यक्रममा नेपाली लोकतान्त्रिक आन्दोलनमा कोइराला परिवारले पुर्‍याएको योगदानको

सम्मान गर्न जेएनयूले 'कोइराला छात्रवृत्ति' स्थापना गर्ने घोषणा 'स्कुल अफ इन्टरनेसनल स्टडिज' का डीन प्राध्यापक योगेश त्यागीले गरे ।

मन्त्रीका रूपमा गरेको पहिलो भारत भ्रमणमा आफूलाई राजनीतिक रूपले प्रवर्द्धन गर्ने सन्दर्भमा कोइराला सफल भएकी हुनुपर्छ तर दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने कुरामा सबैको मत एउटै नहुन सक्छ । नेपाली पक्षबाट माग्ने मात्रै र भारतबाट आश्वासन मिल्नु मात्रैलाई भ्रमण सफल भएको मान्ने हो भने कोइरालाको यो यात्रा पूरै सफल भयो । उनले अघिल्ला मन्त्री या प्रधानमन्त्रीको झैं भारतबाट थुप्रै आश्वासन बटुलिन् जो शब्दबाट काममा बदलिने कुरामा विगतलाई हेर्दा धेरै आशावादी हुन भने सकिँदैन ।

कोइराला भारत भ्रमण सकी शुक्रबार नेपाल फर्किएकी  छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई उनले भनिन्, 'मैले नेपालका सबै विषयमा कुरा उठाएँ, उहाँहरू सहयोगका लागि सकारात्मक हुनुहन्छ ।'

Posted on: 2009-08-14 22:59:28 

Read Full Discussion Thread for this article