Posted by: presidentofnepal2035 July 29, 2009
"I have a dream....- Dr. B. R. Bhattarai
Login in to Rate this Post:     0       ?        

काठमाडौं । गत साता बिहान नयाँबानेश्वरबाट माओवादी नेता डा. बाबुराम भट्टराई सहितको एक टोली तीनवटा अलग-अलग गाडीमा गोर्खा जिल्लातर्फ लाग्यो । गोर्खा क्षेत्र नं. २ बाट नेपालभरिमै सबैभन्दा बढी भोट ल्याएर चुनाव जितेका डा. भट्टराईको एउटा नयाँ खालको बानी रहेछ, प्रत्येक महिना आफ्नो गृहजिल्ला जाने र मतदाता एवं जनतासित घुलमिल गर्ने । चुनाव जितेपछि उत्तरी गोर्खाका एकाधबाहेक सबै गाविसमा पुगिसकेका रहेछन् । घुम्दै जाँदा गोर्खाको च्याङ्लीमा भने उनी शनिबार १४ महिनापछि पुगेका थिए ।

आफूलाई भोट हालेर जिताउने जनतालाई एकपटक पनि फर्केर नहेर्ने नेताहरूका लागि डा. भट्टराई एकजना नयाँ उदाहरण रहेछन् । गोर्खामा उनलाई जनताले आँगनमा गाग्री र लोहोटामा पानी राखेर स्वागत गरे । एकाबिहानै गोर्खाको च्याङ्लीमा ०५२ साल फागुन २ गते जनयुद्धको प्रारम्भ भएको प्रथम कारबाहीस्थलमा डा. भट्टराईले भाषण गरे । उनले सो स्थलमा जनयुद्धको स्मारक बनाउन चाहेको बताए । आफूले जनयुद्धका क्रममा च्याङ्लीमा बैंक कब्जा गरेर ऋणी किसानलाई धनीपुर्जा बाँडेको र तमसुकहरू जलाएको स्मरण गर्दै आफूहरू सरकारमा आएपछि त्यस्ता गरिब किसानको ऋण मिनाहा गरेर बोलेको कुरा पुर्‍याएको उनले बताए । माओवादी सरकारले ३० हजारभन्दा कम ऋण लिने किसानको पूर्णरूपमा सावाँ-ब्याज मिनाहा गरिदिएको र एक लाखभन्दा बढी ऋण लिनेको ब्याज मिनाहा गरिदिएको डा. भट्टराईले बताए । ऋण मिनाहा गर्दा सरकारले बैंकलाई १० अर्ब तिर्नुपर्नेमा आफ्नै पालामा पाँच अर्ब चुक्ता गरिसकेको पनि उनले किसानलाई बताए । कार्यक्रममा माओवादीका केन्द्रीय नेता हितराज पाण्डे -उत्तम) ले च्याङ्लीको बंैक कब्जा कसरी गरिएको थियो भन्ने कथा सुनाएका थिए । एकताकेन्द्रबाट माओवादीमा प्रवेश गरेका केन्द्रीय सदस्य एवं पूर्व विद्यार्थी नेता प्रकाश पोखरेल पनि कार्यक्रममा थिए ।

जनयुद्धको ऐतिहासिक स्थलको कार्यक्रम सकेर डा. भट्टराईले बिरुवा-गुठीमा आयोजित किसानसँगको अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए । उक्त कार्यक्रममा प्रौढ किसान शारदा लुईंटेलले बुँदागत रूपमा किसानका १० वटा समस्या डा. भट्टराईलाई सुनाएका थिए । लुईंटेलको प्रश्न थियो, पाँचवटा टाहार भएको त्यस क्षेत्रमा सिंचाइको व्यवस्था कसरी गर्ने ? कृषि कलेज चाहिएको छ, कसरी ल्याउने ? छेपाटार-पालुङ मोटरबाटो कालोपत्रे कसरी गर्ने ? पालुङटारलाई नगरपालिका कसरी बनाउने ? किसानका लागि बजार व्यवस्थापन कसरी गर्ने ? गरा सुधार कार्यक्रम कसरी गर्ने ? वन तस्करी कसरी रोक्ने ? खानेपानीको समस्या कसरी हल गर्ने ? दूधको बजार व्यवस्थापन कसरी गर्ने अनि टाहारहरू जोड्ने पुल कसरी र कहिले बनाउने ? कार्यक्रममा गोर्खाका अर्का सभासद् ज्ञानेन्द्र कुमाल पनि सँगै थिए ।

डा. बाबुराम भट्टराईले फटाफट किसानहरूका प्रश्नको जवाफ दिए- बजार व्यवस्थापनका लागि गाउँ-गाउँमा सहकारी आवश्यक छ । गरा सम्याउनेभन्दा सुर्कासुर्कीमा फलफूल, जंगल आदि लगाउनु र टाहारमा खेती गर्नु राम्रो हुन्छ । दूधको बजारका लागि दूध पाउडर फ्याक्ट्री खोल्नुपर्छ । सिंचाइका लागि चेपे दरौंदीबाट नहर ल्याउने, बिजुलीबाट मस्र्याङ्दीको पानी तान्ने आदि गर्न सकिन्छ । उनले त्यस क्षेत्रको सिंचाइ एवं विद्युत् विकासको सम्भाव्यता अध्ययनका लागि आफू अर्थमन्त्री हुँदा दुई करोड छुट्याइएको जानकारी आफ्ना मतदातालाई दिए ।

डा. भट्टराईले किसान क्रान्ति एवं किसानको समस्याबारे केही प्रश्न उठाउन लायक अभिव्यक्ति पनि दिए । उनको तर्क के थियो भने एकीकृत माओवादीको पहिलो जोड उत्पादनका साधनमा किसानको पहुँच पुर्‍याउने, जसको जोत उसको पोत लागू गर्ने, क्रान्तिकारी भूमिसुधार लागू गर्ने र जमिनको पुनर्वितरण गर्ने कार्यमा रहने । उत्पादकत्वको वृद्धि, सिंचाइ, बजार व्यवस्थापन आदिलाई आफ्नो पार्टीले दोस्रो प्राथमिकतामा पारेको भट्टराईले बताए । तर, उनले पहिलो प्राथमिकताभित्रका विषयलाई त्यस क्षेत्रमा कसरी कार्यान्वयन गर्ने भन्नेबारेचाहिं केही बताएनन् र खाली दोस्रो प्राथमिकताका कुरा जस्तै, सिंचाइ, बजार, सहकारी आदिका विषयमा मात्रै मन्तव्य दिए ।

शनिबार डा. बाबुरामले मन्तव्य दिएको च्याङ्ली गाविसको जनसंख्या करिब आठ हजार पाँच सय रहेको गाविस सचिव आनन्दकुमार श्रेष्ठ बताउँछन् । यस गाविसमा ५२ प्रतिशत कुमाल जातिको बसोवास छ । डा. बाबुरामले मन्तव्यमा भन्दै थिए, 'यहाँका टारी खेत निश्चित वर्गका हातमा छ, किसानहरू भूमिहीन छन्, त्यसैले जसको जोत उसको पोत लागू हुनुपर्छ । तर, गाविस सचिवका अनुसार पहिले-पहिले बन्दीपुरका नेवार एवं स्थानीय क्षेत्री-बाहुनका हातमा रहेका टारी खेतको स्वामित्वमा यतिवेला परिवर्तन भइसकेको छ । सचिव श्रेष्ठले त के दाबी गरे भने च्याङ्ली गाविसमा मोहीहरू नै छैनन् । पत्रकारले तथ्यांक हेर्न खोज्दा माओवादीले गाविस जलाएका कारण भिलेज प्रोफाइल वा कुनै पनि प्रमाण त्यहाँ रहेनछन् ।

छेउछाउका अन्य गाविसमा पनि माओवादीले कागजात जलाएका रहेछन् । डा. बाबुरामले भनेझैं कृषि क्रान्तिलाई जोड दिन, भूमिको पुनर्वितरण गर्न वा जसको जोत उसको पोत लागू गर्न जसरी उत्पादनका साधनमाथिको स्वामित्वबारे अध्ययन गर्नुपर्ने हुन्छ । तर, त्यसतर्फ माओवादीको कुनै ध्यान गएको पाइएन । बरु माओवादी नेताहरू 'विकासे मानसिकतामा मात्रै केन्दि्रत हुन थालेको डा. भट्टराईकै मन्तव्यले स्पष्ट पारेको छ ।

गोर्खाको कार्यक्रम सकेर डा. भट्टराईसहितको टोली तनहुँको दुलेगौंडामा आयोजित जनसभामा सहभागी भयो । बीच बाटोमा राजेन्द्रराज पन्त नामका किसानले तीन सय २२ वटा गाई पालेका रहेछन् । डा. भट्टराईले त्यसको निरीक्षण गरे, एक गिलास दही खाए । अनि, मेरो पनि यसैगरी व्यावसायिक रूपमा खेतीपाती वा पशुपालन गर्नुपर्छ भन्ने मान्यता रहेको धारणा राखे । पन्तले मासिक ७०/८० हजार रूपैयाँ कमाउँदारहेछन् ।

तनहुँमा डा. भट्टराईले करिब तीन सय ५० को नाम पढिएकोमा तीन सयजतिलाई टीका लगाएर माओवादीमा प्रवेश गराए । माओवादीमा आउनेमा बढीजसो एमालेका थिए । कार्यक्रममा अर्का नेता सुरेश आलेमगर पनि थिए । डा. भट्टराईको भाषण सुनेपछि मञ्चपछाडि एकजना वृद्ध भन्दै थिए- 'यो मान्छे सय वर्ष बाँच्नुपर्छ '

हुन पनि डा. भट्टराईको जनताप्रतिको लगाव र अर्जुनदृष्टि देख्दा लाग्थ्यो, उनी देशका लागि सय वर्षभन्दा बढी बाँच्नुपर्छ । अन्य पिएचडी गरेका बुद्धिजीवीहरू यतिवेला अमेरिका-युरोपतिर बसेर आफ्नो पेटका लागि सोचिरहेका छन् । यस्तो वेलामा डा. भट्टराई गाउँ-गाउँमा जनताका बीचमा जानु, नेपालीले गर्व गर्नैपर्ने विषय थियो । सम्भवतः: यही कुराबाट प्रभावित भएर होला, च्याङ्लीबाट र्फकने क्रममा पत्रकार रेवती सापकोटाले भने- 'म स्यालोट गर्छु यार भट्टराईलाई ! सबै नेताले यसैगरी जनतातिर र्फकने हो भने देश स्वर्ग बन्ने थियो '

बाटामा एक प्रहरी अफिसरले डा. भट्टराईको गाडी रोके । पत्रकारको टोलीसमेत होटलमा पस्यो र चिसो खाने कार्यक्रम सुरु भयो । ती प्रहरी हाकिमले आफ्नो १२/१३ वर्षको छोरोलाई डा. भट्टराईसित हात मिलाउन लगाए र भने- 'हेर्, उहाँ नेपालको बोर्डफस्र्ट हो । तैले पनि त्यसैगरी पढ्नुपर्छ । त्यही भएर तँलाई हात मिलाउन ल्याएको हुँ, बुझिस् ?' विचरा हाकिम साबले छोरो मात्रै होइन, श्रीमती पनि ल्याएका रहेछन् । श्रीमती गाडीमै थिइन् । आखिर सेतो प्लेटको सरकारी गाडीमा श्रीमती र छोराछोरी हालेर हिंड्नु प्रहरी र सेनाका अधिकारीहरूको पञ्चायतकालदेखिकै रोग पनि त हो ।

जनआस्था साप्ताहिक, ३१ असार २०६६

 
Read Full Discussion Thread for this article