Posted by: RajaHarischandra July 27, 2009
Login in to Rate this Post:
0
?
भाग- छ
अस्टमीको दिन, खसी काट्ने दिन| हाम्रो खसी जमुनीकोमा काट्ने भएकोले, हाम्रोमा घिरौला बली दिनु पर्ने भयो| एउटा लामो भेट्नु सहितको घिरौलामा बासका छेस्काका खुट्टा हालेर जमराले पूजा गरी दैलो तिर फर्काएर मार हान्ने चलन थियो|तेही घिरौलो पनि एकै पटकमा छिन्नु पर्ने, नभए फेरी अर्को काट्नु पर्थ्यो|दैलोको सिधा अगाडि बलेसी चुहुने ठाउँमा आमाले थोरै चोखो माटोले लिपिदिनुभयो, तेही नै घिरौलो मार हानियो र हामी बाउ छोरा जमुनिको तिर झर्यौ|| सबैले दसैंको खसी अस्टमीमा नै काट्ने भएकाले, खसी मार हान्ने मान्छे पाउन पनि गार्हो पर्थ्यो| रतन दाई र बिष्णुहरी २ जनामात्र थिए गाउमा अलिक नाम चलेका| फेरी जो पाये तेल्लाई एक चोटि भन्दा बढी लगाउछ कि भनेर हत्पती दसैंको खसी काट्न पनि दिदैनथे|
"ए रतन! ल आइज बाबु हाम्रो खसी काट्न" बाले रतन दाइको घरको तहरोबाट नै कराउनु भयो|
"ए ल तेरो अझै सम्म काटेको छैन? त्यो रत्ने त खोइ, कान्छा बाको पनि खसी मार हान्दिन्छु भनेर अघिनै झरेको छ त| पुगी सक्यो होला जमुनीको घर तिर |"रतन दाइका बाले गिलासमा राखेको पानी पिउदै भने|
"यो बर्ष त मै हान्छु मार भन्दै थियो त बा स्यान्दाइले, किन फेरी रतन लाई बोलाउनु पर्यो र?" जमुनीको स्यान्दाइ माथि को विश्वाश पोखे|
"हान्छ तेल्ले मार, बोकाले दाँई हालेर हुने भए गोरू किन चाहिन्थ्यो?" बा ले मतिर फर्केर भन्नु भयो|
रतन दाइको तहरो नेर एउटा गिदेरीको रूख थियो|गिदेरीको फेदबाट हेर्दा गाउको पुछ्छर सम्म देखिन्थ्यो|"ओई राजेश, त्यो तल्लो पधेरा जाने बाटेगरामा हिंड्ने रतन हैन? हेर्त" बालाई आफना आँखामा भन्दा मेरा आँखामा भर लागे जस्तै गरी भन्नु भयो|हातमा खसी मार हान्ने खुंडा लिएर बाटेगरामा हिडिरहेका उनी नै थिए| सोर सरात लाग्नु भन्दा अघाडी नै गाउलेले हसिंया, खुकुरी , खुंडा अर्चापी सकेका थिए| रतन दाईले चाँही मार हान्ने खुंडा झर्छ भनेर पाइन नलगाइ धार मात्रै लगाएका थिए|
हामी जमुनीको मा पुग्दा स्यानदाइ आगनको एउटा कुनामा खसी खुइल्याउने पानी तताउदै रहेछन| "ल एक पटक यो ढुङ्राले आगो फुक्त राजेश" कहिले काम लगाउ जस्ता भएका रहेछन स्यान्दाइ, मलाई देख्ने बित्तिकै चोयाको थोत्रो डोको आगो भित्र हाल्दै भने| २-४ पटक जोडले आगो फुकेको, आगो बल्ला भन्दा, झन धुवा कुहिरी मन्डल पो भयो| एक पटक एसो कोल्टे परेर पिध हेरेको त चुहिने ताउलो बसालेका रहेछन|
"ए स्यान्दाइ, ताउलो त चुहिने रहेछ, सक्दिन म त आगो फुक्न" आशु पुछ्दै मैले भने| तेसबेला सम्म जमुनी देखिएकी थिन, नभए "बाट बाटै धारो लाउदै हिड्छस, अनी तेरा तिर धुंवा नआए कता जान्छ त ?" भनी सक्थी|
कुन बेलामा, कल्लाई के भन्दा ठेगान लाउन सकिन्छ, सब थाहा थियो तेल्लाई|भित्र बाट एक मुठी खरानी ल्याएर पानीमा हाले पछी बल्ल ताउलो चुहिन रोकियो|
"ए स्यान्दाइ, ताउलो त चुहिने रहेछ, सक्दिन म त आगो फुक्न" आशु पुछ्दै मैले भने| तेसबेला सम्म जमुनी देखिएकी थिन, नभए "बाट बाटै धारो लाउदै हिड्छस, अनी तेरा तिर धुंवा नआए कता जान्छ त ?" भनी सक्थी|
कुन बेलामा, कल्लाई के भन्दा ठेगान लाउन सकिन्छ, सब थाहा थियो तेल्लाई|भित्र बाट एक मुठी खरानी ल्याएर पानीमा हाले पछी बल्ल ताउलो चुहिन रोकियो|
आगनको अर्को छेउमा खसी बादेका थिए |बा र जमुनिका बा मिलेर एउटा केराको थम्बा घिसारेर आगनको बिच तिर ल्याउदै हुनुहुन्थ्यो| रतन दाई चाँही आगनको छेउमा बसेर खुंडामा धार लाउदै थिए| तुरुन्तै हुने आफ्नो अवस्थाको जानकारी भएर हो वा किन हो, खसी चाँही कहिले केराको थम्बा तिर, कहिले रतन दाई तिर , र कहिले तातिरहेको ताउलो तिर हेर्थ्यो|जमुनीले जती नामर्द भने पनि मैले कहिले खसी काटेको हेर्ने आँट गर्न सकिन| खसी मनाउने पानी, जमरा र रगत थाप्न तामाको आरी बाहिर ल्याउने बित्तिकै भित्र गँए| एक छिन पछी एक पटक "भ्वाक्क" आवाज आयो, खसी छिनेको| लाग्यो- एकै पटक मा छिने| बाहिर आए, खसी अझै फ्याट फ्याट गरी रहेको थियो, बा र जमुनीका बा खसी को खुट्टा समाती रहेका थिए, स्यान्दाइ रगत थाप्दै थियो, रतन दाई खुंडाको रगत पखल्दै थिए|
एकै छिनमा जमुनी पनि आई| खसिको भुँडी धुनलाई भनेर दीपककी आमालाई बोलाउन गएकी रहिछे|हाम्रो गाउ भन्दा १०-१५ मिनेट पर एउटा सानो बस्ती थियो, तेही बस्तीमा थियो दीपकको घर|दीपक र म एउटै कक्षामा पड्थ्यौ|म प्राय: पहिला हुन्थे, उ दोश्रा हुन्थो| तर, उस्को घरको र परिवारको अवस्था हेरेर सरहरु दीपकबाट धेरै प्रभाबित हुन्थे|एउटै सेरोफेरोमा हुर्कदै गरेका म, जमुनी र दीपकको बाल्यजीबन नितान्त्य भिन्न थियो|दीपकको परिवारको सम्पत्तिका नाममा ओत लुकाउने एउटा झुपडी र तेही झुपडी उभिएको एउटा गरो मात्र थियो|छोरा छोरीको सुन्दर भबिश्यका निम्ती भनेर देश गएका दीपकका बालाई छ बर्ष अघाडी औलोले लगे पछी त्यो घरमा सोच्नै नसक्ने बिपत्ती आईपर्यो|गरीबीको पराकाष्टामा रहेकी दीपककी आमाले कहाली लाग्दो एक्लो बाँकी जीबन, दीपक र दीपकको गर्भे टुहुरो भाईको जिम्मेवारी सम्हाल्नु पर्ने भयो|दु:ख एक्लै आउदो रहेनछ| हिजो दीपककी आमाको सिन्दुर पुछिदा कठै भन्नेहरु घरमा एउटा हसिया फेलापरेन भने भारामा एक पटक पनि नहेरी "दीपकेकी आमाले चोरी" भन्थे|गाउका केटा केटीले काँचो आरु बखडा खाएर रगत मासी पर्यो भने पनि दीपककी आमाले बोक्सीको आरोप खेप्नु पर्थ्यो|दीपककी आमाको लागि जस्तो सुकै समाजिक अपमानलाई पनि थुक सँगै निलेर बाँच्नुको अर्को बिकल्प थिएन| दीपक र दीपकको भाई सानै भए पनि आमाको मर्म बुझेका थिए|अवस्थाले मान्छेलाई व्याबहारिक बनाउदो रहेछ| न त तिनिहरुले कुनै दसैंमा नयाँ लुगा खै भने, न त दसैंमा खसी खै भने| दसैंमा २-४ घरको भुँडी धोएर पाएको अलिकती मासुले दसैं चलाऊनु पर्थ्यो| कती गाउले ले त "भुँडी धुंदा आन्द्रा चोर्छे" भनेर त्यो पनि दिदैनथे|
"ए जमुनी, आमालाई भित्र्यास राख्ने आरी तयार पार्नु भन्त" थ्याच्छ बसेको खसीको जिउमा बेसार, तेल र खरानी दल्दै जमुनीका बाले भने| स्यान्दाइ चाँही खसी खुइल्याएको ठाउँ सफा गर्दै थियो|पिढीमा केराको पात ओछ्याएर खसी टुक्र्याउने ठाउँ बनाएको थियो|बा र जमुनी का बाले खसी ल्याएर तेही केराको पात माथि माथि राखेर खसी छुट्याएको म चाँही बढो रुची पूर्वक हेरी रहेको थिए| "ल यो भुँडी दीपककी आमालाई धुन देल" खसीको भुँडी प्लस्टिक को एउटा बाल्टीमा राख्दै बा ले स्यान्दाइ लाई अराउनु भयो र सफा गर्न सजिलो होस् भनेर भुँडीमा एउटा प्वाल पनि पारीदिनु भयो|"तिमीहरु तल्लो पधेरामा गएर दीपककी आमालाई सहयोग गर त" भुँडीमाथी घुमी रहेको हरियो झिङा धपाउदै स्यान्दाइले मलाई र जमुनिलाई खटन लगायो|तल्लो पधेराको छेउमा एउटा ठुलो चिदुको रुख थियो| पधेरा पुग्ने बित्तिकै जमुनी तेही रुखतिर हान्नी हाली| "ओई राजेशे, तेरो जिउलाई घिसर्न सक्छस भने आईज चिदु खान" रुखको एउटा हाँगाबाट अर्को हाँगामा सर्दै जमुनीले भनी |रूखको टोड्कामा चराका बचेँरा हेर्न होस् वा पाकेको पदेल खान होस्, जमुनीलाई रुख रुखै चाहर्न कसैले रोक्न सक्दैनथ्यो|"हाँगा हांगै नचाहार है जमुनी, फेरी दसैंको बेलामा झिक्रो बाट खसेको काँक्रो फुटे झै होलिस"|आफ्नो लाछीपन लुकाउदै जमुनिलाई डर देखाउने चेष्ठा गरे|"तलाई पानी मरुवा, तेरो भ्यागुताको जस्तो भुँडी घिसारेर सुरेली खेलेर यहाँ सम्म आईज न सक्छस भने, किन रुखको फेदमा बसेर अलक्षिण लाउछस?" उड्दा उड्दैको चरो खसालुला जस्तो गर्ने मरीचेले मेरा कुरा किन बुझ्दैन थि र खुबै शेर हुँ जस्तो गरेर प्याच् बोली| आफ्नो कम्जोरी माथि जमुनीले गरेको आक्रमणको पिडा कम गर्न भए भरको बल लगाएर रुख चड्ने चेष्ठा गरे|बल्ल बल्ल जमुनी बसेको हाँगाको फेदमा पुगे|तेर्सो तेर्सो परेको त्यो हाँगा अली अली हल्लिन थाल्यो, जमुनी डराएको थाहा पाए पछी झन जोड जोड ले हल्लाउन थाले|मज्जाले हल्लिरहेको हाँगो च्याप्प समातेर जमुनी रुदै थि| म भने एकै छिन अघाडी कि "शेर" जमुनीलाई "स्याल" बनाउन सकेकोमा दङ थिए |
क्र्मश:
Last edited: 27-Jul-09 09:53 AM