विचलित वर्तमान
आफुले देख्ता दुइ ढुङ्गा बिचको तरुल जस्तो
तर विश्वले देख्ता दुइ तरुल बिचको सानो ढुङ्गा जस्तो
बुद्ध र सगरमाथाको बिज्ञापनले सधै पेट भर्ने सोचिरहेको
अस्त व्यस्त, तर आफैंमा मस्त – कमल पित्तको रोगी जस्तो
बुढो कुकुर ले हड्डी चुस्ता खाएको आफ्नै रगत जस्तो
आँफैसँग को युद्धमा आँफै पराजित
अविरल स्खलित, पल पल विचलित
मानौ झम्टी रहेंछ्न् एक हूल बाजहरु
प्रगाढ निद्रामा सुतिरहेका परेवाहरु ।
देवकोटा लेख्यौ - नेपाल, सुन्दर, शान्त, विशाल
सुन्दर त डढेलो लागेर सकिएका जङ्गलहरु
पहिरोले बगाएका पाखाहरु
वर्तमानको त्रासदीमा सपना खोजिरहेका निर्दोष आँखाहरु
शान्त त हिउँको चिसोमा पनि पड्किरहेछ ज्वलामुखि
दिउँसै हराउँदै गइरहेछन् दक्षिणकाली र बगलामुखी
कसैलाई क्रान्तिको भ्रान्ति, कसैलाई शान्तिको भ्रान्ती
विशाल त चार लाख छत्तीस वर्णमा बिभाजित
नाकको उचाइ र आँखाको गोलाइमा बिभाजित
आमाको जिब्रो र बाबुको बिडोंमा बिभाजित
नेपाल, सुन्दर, शान्त, विशाल
हाम्रा टिशीयन र टर्नर अरबमा भेडा चराइरहेका होलान्
असारको पन्ध्र मा अचेल कालीदास
धाराप्रवाह गोली चलाइ रहेका होलान्
औंसी मा जुनकिरी खोज्दै गरेको,
अनि मरुस्थल मा पानीको थोपो,
दग्ध, स्तब्ध, त्रसित, विचलित
अव्यक्त पीडामा मौन, विकलित।