Posted by: Regal June 15, 2009
हाईस्कूल पुनर्मिलन {..........}
Login in to Rate this Post:     0       ?        
भाग-४

काँहा जाने हो आफुलाई केही थाहा छैन, उता जाउँ भनेर जोस्स्याउने शंकरे चाँही थाहा दिए मोर्ला जस्तो गर्न लाग्यो । सिल्बन्दी घिच्ने र accelerator थिच्नेमात्र गरेर मलाई suspenseमा राख्न खोज्यो । खास भन्ने हो भने मलाई पनि त्यत्ती सारो मत्लब थिएन । आफु खोयाबिर्केलाई न उस्को सिल्बन्दी सुरामा रुची , न उस्को suspense राख्या कुरामा । बरु भोलीको मन्दिर जाने प्लान सम्झदा मात्र पनि मनमा thriller फिल्म सुरु हुन्थ्यो , नायिका प्रसाद भै हालिन , आफु भने कहिले नायक-कहिले खलनायक ।

" ए सत्तुर ! माथिको मुखबाट पनि बाफ फालेर गाडुन तलाई कहिले-काँही त । मुहारमा मौन-ब्रत पेटमा भने ग्यासको ट्रक ? थु-थु-थु-थु हेर त यो कुइरिपुत्त्योल पारेर, नाकको बह त के सुनाइ भो र ,आँखामा समेत बादल लगाएर गाडे बन्दुकेलाई " संकरेले एउटा हात्ले गाडीको झ्याल खोल्दै भुत्-भुतायो । दिउँसो मासु र ढेँडो भक्कु पेलेको पेटमा हल्का प्रेसर परेछ । अब प्रेसर बढी भएसी सिट्टी त लाग्ने नै भो ।
" काँहा जाने हो भन्ने चुइँक्क समेत भन्दैनस अनी के बोल्नु त म मात्र ?" अरु भन्ने ठाउँ थिएन आफ्नो ।
" यह ! चुइँक्क नभन्या रिसमा पो पुइँक्क भा हो ? एत्रो torture दिएपछी त अल-काएदाको लडाकु पनि बोल्थे होला, मेरो त के कुरा भो र । हामी आज खोलापारी नयाँ बस्तीमा जान लागेको हो । त्याहा एउटा बिहे attend गर्न निम्तो छ । ल क्याप्टेन साब ! कुरो एत्ती हो अब भने प्लिज मलाई यो बम्-बारीबाट रक्षा दिनुस् " घोच्न पाएको बेलामा शंकरेले किन छाड्थ्यो र ।
" अनी त्यो उजाडी टोलमा काँहाबाट नाता गास्न पुगिस त थरे ?" मौका मिलेको बेला कुरा मोड्नै उचित थियो मेरो लागि । फेरी मलाई अलिक आश्चर्य पनि लागेको थियो नयाँ बस्तीमा काँहाबाट शंकरेलाई बिहेमा बोलाउने मान्छे आएछन भनेर । खासमा त्यो टोल हाम्रोबाट अली टाढा नै थियो । खोला कीनारमा बस्ने राजी-बादीहरुले जङल फडाँनी गरेर सुरु गरेको बस्ती भएकाले हामी त्यस्लाई उजाडी टोल भन्थ्एउँ । केही बर्ष अघी नापी आएर पास गर्न सुरु गरेपछी चाँही हाम्रा गाउँ लगायत अन्य ठाउँबाट समेत ऐलानीहरु बस्न आएका छन भन्ने सुनेको थिए । तर पनि मुलत: दलित बस्ती भएकाले अन्य गाउँका मान्छे उनिहरुको मेला-पर्बमा चासो देखाउदैन थिए ।
" त्यही स्कूलको आवास गृह बनाउदाताका चिनेको हो मैले उन्लाई । सार्है इमान्दार र मिहेनती छन । स्कूल रङ-रोगन गर्ने ठेक्का उनैलाई दिएको थिए । उन्कै छोराको बिहे रहेछ । निस्ठा-भावले बोलएपछी जानु हाम्रो धर्म हो । पेन्टर बाबु we are coming " थरे हाँस्यो ।
" पेन्टर बाबुको छोराको नाम फेरी गूफी पेन्टल होला नि , महा....... भा..... रत्.....टुँ............... "


हामी हाम्रो बस्ती छाडेर पनि जंगल छिरी सकेको थियौँ । थरे गाडी हाँक्न र सिल्बन्दी धोक्न नै ब्यस्त थियो । म भने एस्सो बाटो नियाल्न लागेँ । अँध्यारामा बाटो पनि के नै देखिन्थ्यो र राम्ररी ? तैपनी हेड्लाइट्ले देखा जती भए नि हेरेर चित्त बुझाउनै पर्‍यो । एक्छिन पछी मेरा आँखा गाडीको अगाडिको सिसामा परे , अघिसम्म ठिकै देख्या जस्तो लाग्थ्यो अहिले त ठाउँ-ठाँउमा कस्ले पान खाएर थुक्या जस्ता स-साना दाग पो छन त ए । के भएछ त भनेर एक्छिन घोरिएर सिसालाई मात्रै हेरी बसेसी चाल् पाइयो । बाटाका किरा-किरी हाम्रै गाडी कुरेर बस्या जस्तो गरी आत्महत्या गर्न तछाड्-माछाडमा उत्रिएका रहेछन । आयो -ट्वाक्क ठोक्कियो-गयो-टारेर टर्दैन त्यो , भन्ने मौतका खेल खेल्दै रहेछन किराका बगाल । तिन्को पनि के दोश ,अनेक दु:ख अैपरेका होलान तिन्का पनि जीवनमा । संसारकै सर्बश्रेस्ठ प्रणी मान्छेलाई त छिन्-छिनमै मरुँ जस्तो लाग्छ जिन्दगीसँग जुध्न नसक्दा । अनी किरा-फट्याङ्राजस्ता निक्रिस्ट प्राणिलाइ झन किन नलागोस । कम्ता पीर पर्या होला र त्यो ज्यानलाई पनि । प्रेममा धोखा खाएको पीर , घर-बार बिग्र्या पीर , चुनाव हार्या पीर ( हो के मोटोबुद्धी ! किराको बथानमा पनि राजा-रानी-मन्त्री-सिपाहि-काम्दार अनेक पोस्ट हुन्छ रे नि त चुनाव हुने ) । बेपत्ता दु:ख परेर आत्म-हत्या गर्नु एउटा कुरा हो तर कतिपय किरा त आफु बच्छु भन्ने लाख कोशीश गर्दा गर्दै पनि फ्लाईटको ताल्-मेल मिलाउन नसक्नाले चेट भए । हामीजस्तै जड्याहा किरा पनि हुन्छन कि क्या हो ?
" हैन यी किरा आज किन सामुहिक आत्महत्यामा उत्रिएका एसरी । भोली यताका चरालाई त बिस्कुन सुकाइद्या जस्तो हुने भो त ? " मलाई अचम्मै भाथ्यो ।
" बल्ल थाहा पाईस किन कमिलाको मर्ने बेलामा पखेटा पलाउछ भनेर " सन्केरेले आँफैलाई सब थाहा भा जस्तो गर्‍यो । मलाई पनि जवाफ नफर्काइ त भा थेन ।
" भगवानले पनि सोच्न त दरै सोच्ने हुन है , धन्न हात्तीको पनि मर्ने बेलामा पखेटा पलाउने बनाएनछन् । "


जंगल काटेर केही छिनमै पूल पनि तरियो अनी ठ्याक्कै अगाडितिर क्च्याक्-कुचुक्क परेको उजाडी टोल पनि अैपुगियो । पेन्टर बाबुको घर पत्ता लाउन पनि खासै गार्हो परेन । छेउकै घरमा वरपरका स्याल समेत् तर्साउने जस्तो स्वोरले भाका हाल्दै थे जन्ते बाख्रो कोपर्न मुन्टेकाहरु । एक हुल आईमाई आगनमै बसेर मन्-परी फलाक्दै रैछन् , तिन्का गीत पनि उस्तै , घर गरी खाने त हैनन केरे अलच्छिनाहरु :
" कुवाको पानी आँफै भर बज्यै, मेरो त कम्मर खायो बरी लै ......"
" जमाना फेरियो साँहिली , अब लोकतन्त्र आयो बरी लै ......." यस्तै सोचले त डुबायो नि भन्ने लाग्यो आफुलाई चाँही ।

" यह ! सर पो आउनु भा रैछ त, कती बेला होल कुन्नी आएको । आफुलाई यता-उता मेसो मिलाउदैमा फुर्सद नभएर याद नै भएनछ " एक जना बुढा लुक्या ठाउँबाट ढ्याप्पा गर्न निस्क्या जसरी बोले ।
" होइन दाई , भर्खर मात्र आउँदैछौँ । बरु दुलाहा-दुलही कता छन एक फेर बधाई त दिनु पर्‍यो नि " संकरे फेरी सामाजिक जन्तु बनेर मोर्यो । आफु भने यता बिहेमा समेत् धारिलो दाँत र अघोरी आँत मात्र लिएर अैइयाछ ।
" यह ! यता तिर छन छोरा-बुहारी, सर आउनुस् न " भनेसी पेन्टर बाबु यिनी नै रहेछन । हुन त सरलाई बोलाउथे तर आफु पनि पछी-पछी लागियो । भित्रै जलपान सुरु गराए भने त छुटाउन मिलेन केरे ।

भित्र डोरिको खाटमा चौँरिकोट ओछ्याएर गम्मक्क परेर बस्या रैछन् दुलाहा-दुलही । टुकीको अन्ध्यारोमा मुख त राम्ररी के देखिन्थ्यो र , अझ तेस्माथि पनि आसिश दिनेले मन अघाउन्जेल वारी कन्चट् देखी पारी कन्चटसम्म् रातै हुने गरी टिका लाइदिएकाले लाखे-भक्कु जस्ता देखिन्थे नव-बिवाहित जोडी । थाप्लामा ठाउँँ खाली त कहीँ थिएन तैपनी संकरे टिका थोपरिदिन अघी सर्यो , आफु नि पछी लागेँ गोडा बिसेक दमौडिलाई बाइ-बाइ भन्न ।
" ल यो चाँही हामी दुइ-जना दाइहरुबाट भाई-बुहारिलाई ३ महिना कम्प्युटर तालिम गर्ने भर्पाइ गरिदिएको बिल । के गर्नु SLC सक्ने बित्तिकै घरजम गर्ने निधो गरेछौ , अब घर चलाऊने तालिम पनि त गर्नै पर्‍यो नि । दिन्का-दिन बजार गएर यो तालिम सक्यौ भने सानो-तिनो जागिर खोजिदिने जिम्मा मेरो भो है " शंकरेले तार्-तम्य मिलाई सक्या रैछ । हैन के भाको एस्तो , मेरो कमाइले त यो देशमा केही उपती नलाग्ने पो भो त बा ।

टिका-टालो सकिने बित्तिकै पेन्टर बुढा मुख मिठ्याउदै आए । " अनी उहा हजुर चाँही को नि , मैले त राम्ररी चिनेन नि ?"
" उ मेरो स्कूले साथी , घर पनि उता बजारमै हो । अहिले indian-armyमा क्याप्टेन साब छ " थरेले परिचय गरायो ।
" यह ! क्याप्टेन भनेपछी चौतारे बिष्टको नाती पो पर्नु भएको कि के हो " बुढाको झटारो ठीक ठाउँमा लाग्यो अहिले । हाम्रा बाजेले कुन जुगमा हो गाउँमा चौतारी बनाइदिएका रहेछन , अहिलेसम्म पनि त्यही हाम्रो परिचय भएको छ ।
" यह ! बाबु मलाई चिनेउ त , म सोमे के त , पहिला तिम्रै घरभन्दा माथि कुवा नजिकको गल्लीमा बस्थेउँ हामी पनि " सोमे बुढा साख्खै हुन आए आफुलाई भने याद आएन । क्यार्नु बुढा ! सोमबारको धपेडीमा जन्मेछौ , शन्सरबार् तिर बिदा पारेर जन्म्या भये पो फुर्सद मिलाएर सम्झना हुन्थ्यो जस्तो लाग्यो ।
" यह ! बाबुले कस्तो नसम्झ्या होला , म सोमे के , सोमे कामी । तिम्ले त मलाई खम्बे दाई भन्थेउ र " बुढाको बोलिले मलाई एक्कासी बाल्यकालमा धकेल्यो । बुढेउलिको बादल फाट्दा तिन्को तन्नेरी अनुहार मैले छर्लङै देखेँ ।


सोमे कामी माहिला कामीका जेठा छोरा थिए । गाउघरका खन्ति-फरुवा देखी लिएर खुर्पाको बिँड हाल्न र धान काट्ने हँसिया धार लाउन समेत् उन्को बाको आरनमा जानु पर्थ्यो । तर मेरो र उन्को दोस्ती भने अर्कै जमघटमा भएको थियो । म ४-५ बर्षको हुने बेला गाउमा साक्षरता कार्यक्रम भनेर एउटा टोली आएको थियो । मेरा लाख नाइ-नास्तीको बावजुत पनि आमाले अक्षर चिन्न सिक्छ भनेर मलाई त्याहा नाम लेखाइदिनु भो । सब बुढा-खाडाको बिचमा म चल्लो त्यसै हराउथेँ । त्यही भएर सबै भन्दा पर एक्लै बस्थेँ । हुन त जता बसे नि के , त्यो खुइले डाँडाको धुलोमा एउटा पाटी ठड्याएर कपुरी 'क' चिच्याउथिन मिस भनौदी । आफुलाई भने आमाले मकैको पोस्करको एउटा नयाँ चकटी बुनीदिनु भको थियो तेही झोलामा हालेर जान्थेँ र सके जती टाढै बस्थेँ, ल्याएको खाजा सिद्द्याउथेँ अनी लुसुक्क फरार हान्थेँ । त्यही क्रममा मेरो भेट सोमे कामीसँग भएको हो । म पढ्न मन नलागेर टाढा बस्थेँ , उ बिचरा भने पढ्न मन भएर पनि टाढै बस्न वाध्य थिए । घर नजिकै को कुवामा त उनिहरुको पहुँच थिएन झन लेखापढिको भेलामा के खाएर हुनु । यसैबिच हाम्रो चिन्-जान दोस्तिमा बद्लियो । सानै देखी कामको बोझले बानी परेर भनुम या बिष्टहरुलाई खुशी राख्नु पर्छ भन्ने सोचले बानी परेर हो सोमे दाइले मलाई घर फर्किदा जहिले पनि काँढमा बोकेर घरसम्म पुर्यैदिन्थे । म पनि आफ्नो खाजा उनिसँग बाँढेर खान्थेँ, मेरो स्लेटमा उनिलाई लेख्न दिन्थे र बेला-मौकामा उन्को घरसम्म पनि पुग्थेँ घुम्दै । उन्को घरमा जाँदा उन्की आमाले पनि मलाई माया गर्नु हुन्थ्यो । अरु कुरा बिर्सें पनि उहाले खान दिने गिठा मैले अहिलेसम्म भुलेको छैन । ताउलो भरी भक्-भक उम्लिएको पानीमा २-४ पसर खरानी हालेर उसिनेको गिठा मैले खुब खाएँ । हुन त उनिहरुको आफ्नो छाक्-टार्ने खान्की पो हो कि तर पनि उन्की आमाले मलाई आफ्नै छोरो जस्तो माया गरेर त्यो दिनु हुन्थ्यो र मैले पनि खुब मिठो मानि-मानी खान्थेँ । उनिसँग खेल्दा दिन कटेको थाहै हुन्थेन मलाई । रुखका हाँगा काटेर भुरुङ बनाउन , ब्लाइडरको गुलेली , पुरानो ज्यामिती बक्समा थोत्रा चप्पल काटेर पङ्रा हालेको गाडी बनाउन , बाँसको सिटाको धनु र छाताको करङलाई आरनमा पिटेर बाण बनाउन सब्थोक जानेका थिए सोमे दाईले । साक्षरता क्लासमा पनि हामी रमाइलो गर्थेउँ , म उन्लाई बर्णमाला पढ्न दिन्थे अनी उन्ले बसी बसी साइडको बुटाबाट सुपारी आँप झारिदिन्थे मलाई । एसैगरी साक्षरता टोलिको कार्यक्रम पनि सकिने दिन आयो । प्रमाणपत्र बाँढ्ने दिन जिल्ला शिक्षा अधिकारी आउने भएकाले हामी सब्लाई गल्लिको वरपर लाम लागेर बसैइयो । गेट बनाउने नौटन्की गर्न समेत् पछी नपर्ने मन्सायले दुइटा केराको थम्बा पनि ल्याएर मोरे गाउलेले । तर त्यस्तो दुङै-दुङा भा बाटो खन्ने बल कस्का बाउले देखाउने ? लास्टमा आएर केराको थम्बा समाएरै उब्भिने जुक्ती निकाले । अरुबेलामा सधैं पछाडि घचेट्ने पातकीहरुले सोमे दाइलाई नै एउटा थम्बा अडेस लागाएर अगाडि राखे । आफ्नो हातमा त एउटा थुङा केरा फूल थियो तर सोमे दाइले भने थिर्-थिर गर्दै केराको थम्बा अड्ड्याएको देखेर मलाई मर्नु हासो लागेको थियो । त्यही दिन पछी म उन्लाई खम्बे दाई भन्थेँ ।

तर पछी बा-आमाले मेरो नाम स्कूलमा लेखाइदिनु भो । नयाँ माहौल , नयाँ साथीहरु अनी मोचे दिमाग , म नयाँ संसारमै हराएँ । खम्बे दाईहरु पनि जग्गा पाइने आसले उजाडी टोल तिर हिंडेछन । अहिले सोच्दा यो जिन्दगीले कहाँ पुर्यायो जस्तो लाग्छ । ति दिनहरु त सबै एका-देशमा जस्तो पो लाग्छ त ।


यस्तै कुरा सोच्दै हिँड्दा हामी बाहिर आगनमा पुगी सकेका रहेछौँ । स्याल्-भाकेहरुको हुईयाँ अझै उस्तै थियो । एउटी नखरमाउलिको काखमा बस्या बच्चोले रोएर भाका बिथोल्न खोजेको थियो तर उस्को रुवाइ भन्दा नि चर्को डाको छाडेर अरुले गाइदिएपछी उस्को पनि केही सिप लागेन, थपक्क चुप लायो त्यो बच्चो । गीत भने जारी नै थियो :
" माथिबाट मैना चरी झर्यो, बसेर मार्यो मण्डल ..............."
" आमाले हैन न नि बाबाले हैन , करिमै मेरो चण्डाल ..........."

खम्बे दाई र संकरे मादले नजिकै बस्न समेत् भ्याइसकेका रहेछन । संकरे मादले सँग के हो कुरा गर्दै थियो , मादले भने थरेको कुरामा मुन्टो हल्लाउदै झम्-झम मादल गम्काइराथ्यो । यो थरेले पनि संसार चिन्या छ । आफु पनि त्यतै लागियो ।
"अनी खम्बे दाई के छ त तपाईंको खबर अचेल " अब त चिनेँ है भन्नु पर्ने थियो आफुलाई ।
" यह ! बाबुले जे होश ढिलै भए नि चिनेछन । ठीक छ बा मेरो । बरु तिमी पो कस्तो या'मानको ज्यानको भएछौ । जे होश यत्रो बर्षपछी भेट्दा एक्दम खुशी लागो मलाई त " खम्बे दाई हाँसे, खुशी मलाई पनि लागेकै थियो ।
" त्यैत हामी नभेटेको पनि जुगै भाथ्यो है दाई , तपाईंहरु पनि यता लाग्नु भएछ म पनि स्कूल सकेर तल्तिर लागेँ अनी त काँहाबाट भेट हुनु " आफ्नो बच्चाउ गर्दै बोले मैले ।
" अनी दाई आज्कल त पेन्टिङ बिजनेसतिर लाग्नु भा रैछ । चित्र-सित्र त पहिला नि बनाउनु हुन्थ्यो केरे , अहिले कत्तिको गर्नुहुन्छ नि " मैले अतित नभुलेको सबुत टक्राएँ ।
" खै के गर्नु र , चित्रकला गर्ने त मनको धोको हो तर तेस्ले खान नपुग्ने भै हालो । सुरुमा त बजार एउटा तेस्तै चित्र कोर्ने , साइन बोड लेख्ने दोकान खोलेको थिएँ , आम्दानी पनि ठिकै थ्यो । पछी त्यो हिकोलाले साइन्-बोडनै छाप्ने फ्लेक्स मेसिन कि के जाती ल्याएपछी त दुई गास कमाउन नि गार्हो पर्‍यो । अनी घर रङाउनेतिर लाग्या छु , त्यो पनि कुन दिन मेसिन ल्याउछन अनी खोइ के गर्ने हो । अहिले त के हो के हो बाबु , सिप जानेर पनि बाँच्न नसकिने भो । बाको पनि त्यस्तै भो , पहिला आरानले नै खान पुग्थ्यो पछी त हसिया-चक्कु सबै रेडि-मेट आउन लागे ,रसाको टाल्ने नि के जाती वोल्डिङ मेसिन पाइने रैछ , आरनेको के काम । मेरो पनि त्यस्तै होला जस्तो छ बाबु । यो मेसिन भन्ने चीजले पनि बाच्नै गर्हो भो गरीबलाई त । किन्ने सेठलाई मस्ती भो तर काम गरी खानेको सास्ती भो ।" खम्बे दाइले बिरह पोखे ।
" अहिले भने आँतै रसाउने कुरो गर्‍यो है ज्वान्ले " मादलेले पनि कुरा सुनी बस्या रैछ ,पालो मिचेर बोली हाल्यो " म पनि के त सर , एउटा बादिको छोरो हुँ । हाम्रा बा एही खोलामा माछा मार्थे , डुंगामा मान्छे तार्थे गुजारा चलेकै थियो के त । तर हाम्रो पालामा त्यो गरी खानै पुग्दैन । नयाँ बस्ती बढेपछी खोलाको माछा क-कस्ले मात्र मार्ने ? फेरी पूल हालिद्याछन डुंगा कस्ले चढ्ने । तल खोलामा गिट्टी कुट्थेम , बालुवा निकाल्थेम अहिले त बलुवा निकाल्न पनि बजार धाएर पुर्जी काट्नु पर्नी भो , रोडा पेल्ने त मेसिनै ल्याउन लागे । अब हामी क्यारी पाल्लीने ? सर्खारले बाटो-पूल त बनायो तर पूलमुनी चोपिल्टामा बाच्नेलाई हेरेन । खोलो चप्रक्कै सुकाएर बिजुली निकाल्यो अब तेरा घट्ट चलाऊनी भा बिजुली किन भन्छ , पहिला घट्ट चलाऊन दिये पो बिजुली किन्ने आम्दानी होला त ? मुसोलाई र हात्तीलाई एउटै लट्ठोले पिटेर हुन्छ त ? हँ सर भन्नुस् न आँफै । " मदलेले गाउँखाने कथा जस्तो सवाल सोध्यो , उत्तर सजिलो थिएन , चुप लाग्नै बेस ठाँने मैले । उ आँफै बोल्न सुरु गर्‍यो ।
" यस्तै यस्तै कारनले अन्त लाग्न पर्ने रैछ के सर , हैन भने आफ्ना चेलीको इजेत बेचेर पाल्लिन हाम्लाई खुशी लाग्दो हो र सर । हाम्रो जात पनि मान्छे नै त हो सर । तेत्ती नगरे के गर्नु , सधैँ इन्ड्यातिर हन्निन पनि त घर-बेभारले मिल्दैन । मेरै हेर्नुस् , साहुको अद्धियाँ रोपाइ सकाएँ भर्खर । अब आउने बालीले ३-४ मैना धन्ला जान्-केटा-केटिलाई ,तेत्तिबेला सम्म तल्तिर गएर केही कमाउन सकिन्छ कि भनेर पर्सी जाने बिचार गर्या छु इन्डिया । आफ्नै गाउँमा बस्ने मन त छ सर , झन दसैं मुख्-मुख छ तर आफु बसे भने छोरा-छोरिको दशै समेत् बिग्रिन्छ , मनै खिन्न पारेर पनि के चाड मनाइएला र भन्छु । बरु उता दु:ख गरे यता केटा-केटा एक सरो राम्रो लाउन र एक गास मिठो खान पाउलान " मादल बजाउन बन्द गरेर मुख अँध्यारो बनायो ।
" हेर्नुस् जिन्दगी सजिलो छैन , जहाँँ गए पनि र जो भए पनि सबैलाई दु:ख परेकै हुन्छ । तपाईं पनि दशैको मुखमा तलतिर लाग्ने कुरा नगरनुस् । मेरो स्कूलमा नयाँ आवस गृह खुलेकाले थप् पालेहरु चहिएको छ । हुन्छ भने अहिले त्यही जागिर गर्नुस् । फेरी तपाईं मादल पनि राम्रो बजाउनुहुने रहेछ । आफ्नो देशको बाजा हो विद्यार्थीहरुले सिक्न चाहेछन भने त्यो पनि सिकाउनु होला । तपाईं जस्तो आफ्नो बेथा बोल्न सक्ने मान्छे एही बसेर आफ्ना जातका अरु दाइ-भाइलाई समेत् स्वाभिमानी काम गरेर बाँच्न सिकाउनु पर्छ । बाजेकै पाला बाच्छु भनेर त कहाँ हुन्छ र , परिस्थिती बद्लिये पनि नियत असल राख्नु पर्छ अगाडि बढ्न सकिन्छ । बरु म अरु स्कूलहरु सँग पनि कुरा चलाम्ला सबैले जागिर नदिये पनि यो टोलका केही बच्चाहरुलाई निसुल्क पढ्ने बेबस्ता मिलाइदिये भने मात्र पनि त परिस्थिती बिस्तारै राम्रो हुँदै जान्छ नि होइन ?" शंकरेले सम्झाउदै भन्यो । उस्को प्रस्तावले मलाई पनि खुशी लाग्यो । थरे कसैलाई पनि निरास भएको हेर्न सक्दैन तर एही कारनले जिवनमा कतै उ नै निरास हुनु पर्ने हो कि भन्ने डर पनि लाग्यो ।
" किन नहुनु सर एसरी नै ठुला सरहरुले दया गरेर हात दिनु भो भने त हामी खाल्टामा खसेकाहरु पनि बाहिर उक्लिन सकम्ला नि सर । अब त के जादाम र सर म अर्काको देशमा, कम्ताको बेभार देखाउँछन र ति धोतीका जात " मादलेको कुराले मलाई पनि घोच्यो ।

" माथिबाट फिस्टो चरी झर्यो बसेर मार्यो मण्डल ......." बिना म्युजिक पनि चलिररैछ उता स्याल्-भाका । भोजको खोया-बिर्के खाएर झूल पर्या होलान बाइफाला भामतिहरु , अब तिन्लाई मादल बजे नि के नबजे नि के ।
" ए बेसोमती हो ! तिम्रा अरु गीत छैनन ? अघी मैना चरी बाट सुरु गरेको गीत अहिले बिचरा फिस्टो सम्मन अैपुग्दा पनि त्यही गाउछौ । झन सरहरु आको बेला हाम्रै आफ्नो गीत गाओ । अब टप्पा गाउने टप्पा " मादले जोस्सिएको थियो थरेको कुराले । गीत पनि आँफै सुरु गर्‍यो :
" घिउ खाने बटुकी , जुम्लाबाट बगाइ ल्यायो ......."
" मन भरिको माया , बल्ल आज मुखमा आयो ...." घिनि-घिन्-नाक्धिन च्याट , च्याट - च्याट । मादल पनि काइदाको जोसिलो बजायो अहिले त मुरदारले ।
" कस्तुरिको बिना , बास उडाउछ बयालोले ......"
" मन उडाउछ किन , मन उडाउछ किन मायाले ......" आमाइ पाटी किन चुप लाग्थे , दोहोरीमा आई हाले । भुइमा खस्न नपाउदै जवाफ फर्काए । हुन त तिन्का बगालले जिन्दगीमा जन्या स्लोक भन्या यिनै होलान ।

" यह ! बाबुहरु जाउँ भित्र, केही खानु पर्‍यो नि पाहुनाहरुले । यिनिहरुले त दोहोरी सुरु गरे भने बिहान छर्लङै हुने बेलासम्म गाइदिन्छन , के छ र यिन्लाई , अफिस जान पर्ने नाइ " खम्बे दाई बोले " क्याप्टेन बाबुलाई भातिको झोल मन पर्छ कि नाइ अचेल कुन्नी , उ बेला त लुकी-लुकी त्यो कजिलो जाँड गुलियो हुन्छ भन्दै खुब खन्थेउ "
" किन मन नपर्नु खम्बे दाई , मान्छे छिप्पे पछी अचेल छिप्पेको जाँड त झनै मन पर्छ " मैले एक सासमा उत्तर फर्काएँ ।
" यह ! जाम त उसो भए मैले सर आउनुहुन्छ भनेर एक्दुम छिप्पेको सङ्लो झोल कसैलाई छुन नदिएर राख्या छु " खम्बे दाइको बोलिले मात्र पनि मुखमा थुक आए आफ्नो । थरे झन अघी नै उठेए सक्या रैछ ।

गाउले पाराको अस्सली झोल खान पाउदा त स्वोर्गै पुग्या जस्तो भो , घैटो पनि रित्त्याईयो क्यारे । रिम्-झिम भएर बाहिर आएको दोहोरी मज्जाले जम्या रैछ , कोइकोइ नाच्दै पनि थिए ।
" अब म नाच्छु, छोराको बिहेमा अैसकेपछी एक फन्को त नाच्नै पर्‍यो नि यार " थरे लर्बरायो । उ टिल्ल परेको पुष्टी भो ।
" हो सर नाचम -नाचम " मादाले बज्जियाले आज थरेमा देउता देख्या थ्यो , आग्या सिरोपर त हुने नै भो ।
" हो भाई , तिमीले मादल गज्जब झम्काउछौ, एउटा उधूमको गीत पानी गाइदेउ त " थरे आगनको बिचमा पुगिसक्या थ्यो । हेरी बस्ने बाहेक अरु उपाय थिएन । त्यस्को चेलाले गीत सुरु गर्‍यो :
" खुट्टामा नेल परे पर्ला , झाँप्रे म ननाची छोड्दिन ......." मादल पनि बेपत्ता ठट्टायो । थरे पनि उठि-बसी मज्जाले नाच्यो । एक्छिन सम्म सबैलाई रमिता देखायो । एक्दुइजना मोरिहरुले ताली बजाइदिये अनी अरु के चाहियो र ? नाच लामै गयो ।

" अब तँ नाच " पसिन्यौल हुँदैँ आएसी मलाई पो भन्छ बा ।
" नाच न त नाच , एक फेरा " खम्बे बुढाले पनि जोस्स्याए , जोश र जाँड मिस्सिँदा के हुँदो रैछ कुन्नी, मलाई पनि हो त भन्या जस्तो भो , पल्टनमा पनि एक दुई फेर नाचेकै मान्छे नाचिदिम कि जस्तो पो लाग्यो त ।
" ल त ल गीत गाएर मोरुन " मैले नि बाहुला सिमल्दै भनेँ ।

मादलेले गाएको भए त केही बिसेक ठीक हुने थियो होला तर थरे कुरिला हाल्न रेडी पर्‍यो । लौ बर्बाद , गीत उही तोरिलाउरे आउने हो भन्ने कुरामा दुइ-मत रहेन ।
" तिम्रो घर चाँचरी, तिँ तल होइन र ? तिम्लाई मैले चाँचरी चिनेको छैन र ? "
" बाँबरी फूलको बोट ! आयो झल्काँउदै झम्-झम इस्टकोट ........."
मैदानमा उत्री सके पछी एक्-दुइ फन्को त हान्न करै लाग्यो । तर गीत सक्किसक्दा पनि बस्न काँ दिने हो र लोक्-गायक थरेले ।
" हुर्र.....र , लैजा.... लैजा । ठोक्... ठोक , give me the maadal beat ।थरे चिच्याएर मोर्न लाग्यो । मादले बज्जियाले पनि बेसमारी ठोक्यो । एक्छिनपछी भ्वाट्ट गर्या आवाज आयो अनी मादल बन्द । आखिरमा मादलले मेरो नाच सहन सकेनछ ।
" मादलको दुइ-तिर भ्वाँङ पर्‍यो , मुसो मर्यो बिरालो दङ् पर्‍यो ....."
" बल्ल पर्‍यो निरमाया , माकुरी जालैमा .................." थरेका गीत अझै जादै थिए ।

मादल सङ्-सङै नाच्-गान टोली पनि फुट्यो । हामी पनि खम्बे दाईसँग फेरी भेट्ने बाचा गरी बिदा भएउँ । मादले साथी गाडी भए सम्म पुर्याउन आए र थरेले भेट्न आउने मिति-तिथी फिक्स गर्‍यो ।
" ओ ई ! थरे त टिल पर्या छस खोइ छोड् गाडी म चलाऊछु " मैले आफु चोखै भा जस्तो गरेँ ।
" पर्दैन पर्दैन , मैले खाँदै याँहा सम्म ल्याएँ अब पुर्याउन सक्दिन होला र, खुरुक्क बस " थरे किन मान्थ्यो र ।

लौ त हजुर भन्दै बसेँ । जाँड लागेर उम्सो-उम्सो भाथ्यो झ्याल खोलेको चिसो बतास आयो । थरेले पनि बेपता दौडायो । राती पख बाटोमा गाडी हुने नाइ मैले पनि त्यती वास्ता गरिनँ ।

कतिखेर निदाएको रहेछु ड्वाँङ गर्या आवाजले बिउँझीएँ, टाउको पनि कता नराम्रो सँग ठोकिएको जस्तो लागेर छामेको टुटुल्कै उठ्या रैछ । लौ न के भो भनेर संकरेतिर हेर्छु त उ स्वाँ-स्वाँ लामो सास तान्दै मुख रातो पारेर थर्-थर कामिराछ ।
" हैन के भो थरे ! किन अन्ध्यारामा तर्साउन दिने मसानको जस्तो मुख पारेर , हरर फिलिम्को साउन्ड निकालेर मोरेको " टाउको थोक्या बेला दिमाग तात्तिने नै भो मेरो ।
" हेर न यार अगाडि खाल्डो जस्तो देखेर स्टेरिङ्ग हल्का काटेको त स्पीडको गाडी झ्यम्मै नालिमा गैगो नि " थरेका कुराले बल्ल बेतोडले मुटु थर्कियो आफ्नो । अघी सम्म त कुरै नबुझेर पो । धन्न , भिरतिर स्वीईक्याएनछ । कस्सो भित्तातिर परेर मात्रै बच्यो जस्तो लाग्यो । के गरुँ भा बेलामा पिसाब गरुं जस्तो गरी च्यापो । ढोका खोलेर झर्न खोजेको आफ्नै तिर धल्क्या रैछ गाडी नालिमा । हे भगवान , भै पारी सबै मेरै भागमा ?

" ए थरे खोइ बाहिर निस्की " मैले रिस पोखेँ । उ चुप्-चाप निस्कियो । म अली परसम्मा दौडिएँ ।
" होइन तैले के गर्न लाग्या ?" आफुलाई छाडेर जान लाग्यो कि भन्या जसरी डर मिस्स्या स्वरमा करायो संकरे ।
" Teacher say water the plants" मैले झाडितिर फर्कदै भने ।
" ओ हो ! मलाई नि कस्तो च्यापा छ नि यार पिसाबले । बल्ल याद आयो । अघी खा तेत्रो झोल कता जावोस " थरे पनि नजिक्कै आयो शिँचाई योजना लिएर ।
" अल्ली उता जा , बिचमा कमसेकम के हातको gap राखेर " यो हाम्रो बच्चै देखिको बानी किन जान्थ्यो र ।

यस्सो यता उता हेरेको अहिले हामी पूल तरेर पनि जंगलको बिचमा अैपुगेका रहेछौ । रातिको बेला, सुन्सान जंगलमा एस्तो स्थितिमा , अलिकती डर पनि लाग्यो । झन तेसैबेला नजिकै तिरबाट स्याल कराएर मोर्यो । हँशले ठाउँ छाड्ने नै भो ।
" यह थरे ! यो जंगलमा त बाग पनि लाग्छन कि क्या हो , भाग " म zipper बन्द गर्दै दौडिएँ । थरे पनि रहल्-पहल चुहाउँदै आयो पछी-पछी । गाडीमा छिरेर ड्याम्-डुम ढोका लगाइम । एक्छिन अर्कोले फेर्या सास सुन्दा पनि डर लाग्या जस्तो भो ।

"ई ! हेर न यहाँ अगाडि सिसामा केस्को दाग लाग्या रैछ कालो , मैले अघी एही देखेर होला के खाल्डो जस्तो मानेको अगाडि " थरेले भित्रबाट दाग लागेको सिसामा औंला राख्दै भन्यो ।
" अघी हामी आउँदा आत्महत्या गर्ने किराको दाग होला नि थरे , बेक्कार मलाई चलाऊन नदिएर । किरा ठोक्या दागलाई खाल्डो बनाएर मोरेछ
टिल पर्या आँखाले । उही एउटा किस्सा थ्यो नि , एक फेर एउटा सिकारीले रूख्मा लोखर्के देखेँ भनेर ड्याम्-कि-ड्याम बन्दुक पड्क्याएछ रे तर लास्टमा तेस्कै परेलामा जुम्रा पर्या रैछ के । हो त्यो जुम्रे सिकारी पक्कै पनि तेरो बाउ-बाजे कोइ त हुनै पर्छ " मैले मौका पाएको बेलामा पेलेँ ।
" तेरै बा होलान नि " थरे पनि के कम् ।
" हैन हैन नाता पर्ने त स्योरं नै होला , राम्ररी सम्झे त ल ल " म हाँसे ।
" अँ हासेर बस तँ त , आफुलाई पो टेन्सन भो त , यो गाडी नालिबाट निकाल्न हामीले मात्र सक्दैनौँ , स्कूलमा फोन गरौँ हेड्सरले जाड खाएर गाडी पल्टाए भन्ने हल्ला हुन्छ । मेकानिक बोलाम एती राती को अैइदिने , मेकानिक त के कुरा बजार जाने गाडी समेत् पाइदैन यती राती । भोली बिहान स्कूल भेटाउनै पर्‍यो । हैन क्याप्टेन के गर्ने होला यार , बर्बाद भो त ?" शंकरेले चिन्ता पोख्यो ।
" अँ , तलाई मात्र भाछ बर्बाद , म त झन जान्न-जान्न भन्दा पनि जबर्जस्ती लिएर अैइस, उता सरुले भोली बिहानै मन्दिर जाम्ला है भन्थी , मेरो घर-बार भाको हुन खान नदिने भै हालिस नि तँ पापिले । हाम्लाई कम् पिर पर्या छ , सम्झि-सम्झी रुन मन लाग्छ " म फेरी हासेँ ।
" तै होलास नि पापी , सरु जस्ती सोझीलाई फसाउने हवसको सिकारी-प्यासा सैतान , तँ त मन्दिर जान नपाएकै ठीक भाछ । गए नि मन्दिरमा ढोग्न निहुरिएको बेला घण्ट चुटेर लागेर त्यहीँ ठहरै हुन बेर छैन । झन मैले तेरो ज्यान बचाइदिएँ भन् न ।" थरेका आफ्नै तर्क ।
" ल ल थरे , तिमी धन्ने छौ । ल अब म पनि तेरो ज्यान बच्चाइदिन्छु है त । कस्तो भुली राको तैले मेरो भाईको मोटरसाइकल त अहिलेसम्म नि उ त्यहा पछाडि फाली राछ नि , मोटरसाइकल त्यहाँ छ extra तेल यहाँ छ । अब तेरो र मेरो दुबैको समस्याको समाधान भए न त । कस्तो हुस्सु होला , यती बेला सम्म पनि याद आको थिएन ? मैले त अघिनै सोचेर पो हासेर बसेको त , केही गरी म भोली मन्दिर नपुग्ने भा भए त तलाई अर्को दिन तेही मन्दिरमा लगेर मार हान्थेँ "
" कसरी याद आउनु त , गाडी ठोक्केर होश्-हवास् उड्या बेला , ल क्याप्टेन बरु जाउँ-जाउँ "
" तर अब भने म चलाऊछु नि , नत्र भने तैले फेरी के के देख्ने होश बाटमा "

शंकरेको जिप त्यहीँ छाड्ने त भोली कसैलाई लिना पठाउने निर्णय भो । बल्ल-बल्ल ढल्के पर्या गाडीबाट मोटरसाइकल निकालियो , तेल्-सेल हालेपछी बस्यो थरे पछी , त्यो पाजीलाई पछाडि बसाल्दा आनन्द त के आउथ्यो र नाइ तर दुई जना साथी धेरै पछी यसरी मध्य रातमा हिड्दा रमाइलो भने लागेकै थियो ।
" यह ! क्याप्टेन एक छिन् रोक त रोक " संकरे पछाडिबाट करायो ।
" किन थरे ! फेरी के देखेर मरिस " मैले रोकेपछी भनेँ ।
" ला ( अर्को सिल्बन्दी निकाल्यो थरेले फेरी कताबाट ), यो स्टक गाडीमै छाड्यो भने त फेरी भोली गाडी लिन आउनेले गाडी पल्टनुको रहस्या थाहा पाइहाल्छ नि , त्यही भएर लिएर आएको । स्वाट्ट पार " थरेले थाडो घाँटी लगायो । म पनि के कम् । बोतल रित्तिएपछी दरो kick दियो , मेरो पालो मैले नि दरै किक दिएर स्टार्ट गरेँ मोटरसाइकल र अगाडि हुत्याएँ । थरे बाग्-भालु समेत् ब्युझने गरी चिच्यायो :
" यह दोस्ती , हम नहीँ छोडेङ्गे ............................"
Read Full Discussion Thread for this article