Posted by: fucheketo June 10, 2009
एउटा अपुरो कथा चियापसलमा!!!!
Login in to Rate this Post:     0       ?        


उ सँग त्यो दिन पनि मोबाइल नम्बर माग्न बिर्सिएछ
। हामी किन सँधै आवश्यकता भन्दा गहिरा कुरा गरेर आवश्यकताका कुराहरु बिर्सिदिन्छौँ
। मैले भोलिपल्टको भेटमानै उसको मोबायल नम्बर मागेँ । आभाष पहिला त खुबै हाँस्यो
पछि उसले मेरो मोबायल खोसेर आफै सेभ गरिदियो ।



आभाष आयो मेरो कथा पनि अघि बढ्यो आखिर ! उ त्यति
ज्यादा बोल्दैन ,धेरै नै कम पनि बोल्दैन म त भन्छु उ बोल्दै बोल्दैन उ आवाजले मनमा
शब्दहरु कुँदिदिन्छ उ एउटा चित्रकार हो उसका आवाजहरु चित्र बनाउँछन् मलाइ प्रकृति
चिनाउँछन् धेरै जसो उ कतै कतै हराउँछ म उसलाई फर्काउन खोज्छु फेरि उ आफ्ना
शब्दहरुबाट कहिले साउने झरि झार्छ ,कहिले झरि पछिको इन्द्रेणि देखाउँछ म मख्ख
पर्छु उसलाई नियालिरहन्छु उसले देखाएका तस्विरहरु को सानो अंशलाई म फलैँचामा
उतारिदिन्छु फलैँचाका मेरा प्रशंशक त्यहि अंशमा पनि प्रशंशाका हरफ हरु लेखिदिन्छन्
। म मख्ख पर्छु सोच्छु आजकल म फलैँचामा इम्पोर्ट ,एक्सपोर्टको ब्यापार गर्दैछु ।



अस्ति मात्रैको कुरा हो , उ त्यो दिन हतारमा आएको
थियो ।



तिमीले बदामी आँखाको बारेमा सुनेको छौ ?



अहँ कुनै विशेष प्रकारको आँखा हो ? मैले उ तिर हेर्दै अनभिग्यता दर्शाएँ ।



हो निकै नै बिशेष हो ,जब ति आँखाहरु
उठ्छन् तब झन विशेष लाग्छन् ,ति आँखा हरु ठुला हुन्छन् र जब परेलाहरु लामा हुन्छन्
ति ताल जस्तै लाग्छन् हरेकलाई डुबु डुबु लाग्छ ! मैले देखेको छु त्यस्ता आँखाहरु
तिम्रो ! तिमी कहिले काहिँ ऐना पनि हेर्ने गर ! देख्नेछौ विशेष आँखाहरु !
उसले सरल शब्दमा मेरो तारिफ गरिदियो ।
हुन त म तारिफ कि शौखिन होइन तर जब जब उ कहिले काहिँ समय निकालेर मेरो तारिफ गर्छ
। मलाई लाग्छ उ मलाई केहि उपहार दिँदैछ ,फूलका गुच्छाहरु जस्तो अथवा अझ नरम अरु
केहि !



मैले केहि पनि बोलिन ,
तर
मनमनैँ गुम्सिएका खुशिहरु दबाउन मलाई त्यो दिन अफ्ठ्यारो भयो ।



बिस्तारै बिस्तारै आभाष एउटा अनौठो शुरुवात दिँदै
छ मेरो जीवनलाई । उ बुझाउँदैछ ति कुराहरु जसलाई मैले किताबमा हालसम्म पनि भेटेको
छैन । माया गर्नलाई बुझिरहन जरुरि छैन ।उसलाई मैले उ सफ्टवेयर प्रोग्रामर हो ,एउटा
कम्प्युटर इन्जिनियर हो भन्ने बाहेक ज्यादा चिनेको छैन र उसलाइ शायद साधना सँधै
सात नम्बर टेबलमा बस्छे र उसले कफि मा चिनी नहालिकन खान्छे भन्ने बाहेक अरु कुरा थाहा
छैन होला । हामी घण्टौ समय बिताउँछौ त्यस्ता टपिक्सहरुमा जसको कुनै औचित्य र
प्राथमिकता छैन हाम्रो जीवनमा ,सँधै पानी पर्ने बेलामा देखिने कालो बादल नदेखिइकन
पानी पर्न सक्छ सक्दैन , आइसक्रिम नपगालिकन बाइकमा बानेश्वर बाट कहाँ सम्म पुग्न
सकिन्छ भन्ने कुराले कमसेकम उसको प्रोग्रामिंगमा कुनै महत्व राख्दैनन् । ति
कुराहरुले मेरो कथामा महत्व राख्न सक्छन् कसैको क्यारेक्टराइजेसनमा तर पनि !!! कथा
त जीवन बाट निक्लिनु पर्छ ,कल्पना बाट भन्दा !!!!



मलाई लाग्छ हामी जे पनि गफ गर्छौँ ति मात्र हामी
दुई बिचको समयको सिमा लम्ब्याउन लाई गर्छौ ,हामीलाई लाग्छ हामी हाम्रा बाध्यता लाई
जित्न चाहन्छौँ । तर त्यो त एउटै बाटो हुँदा मात्र न सम्भव छ । करिब एक महिना भयो म
र आभाषको भेटघाटको शुरुवात भएको , न उ मलाई कतै जाउँ भन्छ ,न मैले उ सँग कतै
हिँड्ने रहर देखाएकी छु । जीवन त्यहि क्याफेमा अड्किएको छ ।तर अड्किएको जीवन पनि रमाइलो
लागिरहेको छ ।



तर यो सम्बन्धको दोश्रो प्रहर के हो त ? उसले
मलाई कहिले भन्छ त आफ्नो मनमाँ पकाइराखेका कुराहरु ! मैले धेरै बेर सोचिरहेँ
सम्बन्धको अर्को पाइला मैले बढाउँदा के हुन्छ ?मैले उसलाई प्रस्ताव राख्दा के
हुन्छ ? मैले निर्क्योल गरेँ म नै उसलाई स्तब्ध बनाइदिनेछु । मेरो जीवनको पहिलो
प्रेम प्रस्ताव उताबाट आउने होइन म नै राखिदिनेछु ।



 



 



आज क्याफे मलाई उज्यालो लागिरहेको थियो । मैले
धेरै हिम्मत जुटाएँ यो निर्क्यौलमा पुग्नलाई । आज अरु केहि काम गर्न मन थिएन मात्र
आभाषको प्रतिक्षा ,मिठो प्रतिक्षा ,लामो प्रतिक्षा !



दिदी ब्ल्याक कफि खानु हुन्न ? मैले ल्याएको टि-शर्टले उसलाई एउटा नयाँ
सम्बन्ध स्थापित गर्न सजिलो भएछ । अस्ति भख्खरै उसको च्यातिएको टिशर्ट देखेर मैले
नयाँ किनेर भोलिपल्ट दिएकी थिएँ उसलाई । आज उसले मलाई दिदी भन्यो पहिलो पटक !



अली पछि खान्छु ल भाइ !



मैले पनि उसको सम्बोधनलाई आधिकारिकता दिएँ । उ
खुशि भयो । मान्छेले भेटेका साना साना खुशिहरुको महत्व ठूलो ठूलो हुन्छ मान्छेको
जीवनमा !



ढोका माथी राखेको घडि म बसेको टेबलबाट
स्पष्ट देखिन्छ । आज घडि साह्रै नै लोसे भएर घुमिरहेको छ । मैले त्यो घडिको
रफ्तारलाई अरु दुई तिन वटा घडी सँग चेक गरिसकेको छु । आझ सबै घडीहरु बिस्तारै
हिँडिरहेका छन् ।



 



आखिर दुई पनि बज्यो आभाष परबाट झुल्कियो
। मेरो मुटुको ढुकढुकि बिस्तारै बढे जस्तो भयो । मैले जति हिम्मतका साथ हिजो फैसला
गरेकी थिएँ म उ समक्ष प्रेम प्रस्ताव राखीदिन्छु भनेर त्यो भन्दा गाह्रो रहेछ ।
मेरो हिम्मत हार्दै गयो । उ नजिकै आयो । म मात्र मुस्कुराएँ ।



मेरो मुस्कान शायद मेरो डरको उपज थियो ।



आज नर्भस छौ नि किन ? आभाषले  मलाई प्रश्न राख्यो ।



मैले तिम्रो कारणले हो भन्न किन सकिन ,
मेरा
शब्दहरु घाँटीमै कतै अड्किए ।



छैन त ! किन म त्यस्तो देखीइरहेको छु र?



मलाई त्यस्तै लाग्यो । 
उ मेरो अघिल्तिरको कुर्सिमा बस्यो । मेरो बाहिरि विश्व छेकेर । म मात्र
उसलाई देखिरहेकी थिएँ अहिले !



तिमी सँग एउटा कुरा सोध्नु छ !



के भन न ! उसले मलाई हेर्यो । मैले उसले नदेख्ने
गरी आफ्ना औँला हरु पड्काउन खोजेँ । के मेरा हातहरु कामिरहेका छन् । आफ्ना खुट्टाहरुलाई
हेरेँ ।



तिमीलाई थाहा छ हाम्रो भेट भएको ठ्याक्क
कति दिन भयो ?



तेत्तिस दिन हुन बिस मिनट बाँकी छ ! उसले भित्ताको घडी हेर्दै जवाफ फर्कायो ।



उ मैले सोचे भन्दा दुइ कदम अघि थियो । के उसलाई थाहा थियो मैले उसलाई
यो प्रश्न राख्नेछु भनेर पक्कै पनि थिएन होला !! मैले शब्दका पुलहरु भेटिरहेको
थिइन जसलाई जोड्दै जोड्दै उसको मुटु सम्म पुगुँ ।



भाई ब्ल्याक कफी ! आखिर मैले फुच्चे सँग ब्ल्याक कफि माग्नै
पर्ने भयो !



क्रमश:



 

Read Full Discussion Thread for this article