Posted by: shirish June 5, 2009
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        

सुजातालाई खुला अस्वीकार



विश्वप्रकाश शर्मा


सुजाता कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा गइरहँदा एकसाथ पाँच प्रश्न उब्जिएका छन् । एक- आफूले विमति राखेको राजनीतिक परिदृश्यमा लज्जा बेगर नेतृत्व सम्हाल्न अघिसर्नुलाई लोकतन्त्रमा नैतिक स्वीकार्न सकिन्छ ? दुई- जोखिममा रहेको शान्ति प्रक्रियालाई सुगम मार्गमा ल्याउन कांग्रेस गम्भीर नरहेको हो ? तीन- के गिरिजाप्रसाद कोइराला आफ्नो उत्तराधिकार छोरीलाई सुम्पन

चाहनुहुन्छ ? चार- कांग्रेसलाई एक आधुनिक पार्टी बनाउने चाहनाहरू के अर्थहीन छन् ? अनि समग्रमा उराठलाग्दो यो चित्रले उठाउँछ प्रश्न- गणतन्त्र नेपाललाई यो कत्तिको सुहाएको छ ?

महिना दिन अघिसम्म सुजाता कोइराला माओवादी नेतृत्वको सरकारमा सामेल हुन आतुर देखिएकी थिइन् । उनको त्यो सोच र अवधारणालाई समर्थन जनाएर हेर्ने हो भने रुक्मांगद कटवाल पदमुक्त नभएको र माओवादी बाहिरिएको सरकारमा सुजाता सामेल हुने कुरा नैतिक तर्कभन्दा शतप्रतिशत विपरीत छ । कटवाललाई माओवादी सरकारले बर्खास्तको तयारी गरेका बेला कांग्रेस केन्द्रीय समिति त्यसका विरुद्ध उभिएको थियो भने पार्टी निर्णयका विरुद्ध उभिएकी थिइन् सुजाता । लगभग उही समयमा नरहरि आचार्यका हातमा स्पष्टीकरण पत्र थमाइराखेर सुजाताको ताजपोसीको तयारी गरिनुले मत्स्य न्याय स्मरण गराएको छ ।

सुजाता नै किन ? कुन छवि, तर्क, योग्यता र योगदानका लागि ? म स्मरण गर्छु पञ्चायतकालमा चन्द्रगढी कारागार बसिरहँदा हाम्रालागि अपरिचित थिइन् सुजाता । कारण- उनी संघर्षका लागि देशमै

थिइनन् । उमेरमा १७ वर्ष जेठी दिदी भए पनि राजनीतिमा १३ वर्ष 'सिनियर' रहेको पंक्तिकार विभिन्न कोणबाट जोख्छ, चित्त बुझ्दैन । लज्जा महसुस हुन्छ मानिसहरूका सामु । तीनवटा कोण छन् जसमध्ये एउटैले मात्रै पनि कांग्रेसका तर्फबाट सरकारमा सुजाताले नेतृत्व गर्ने विषयलाई युक्तिसंगत देख्दैन ।

जोखिममा रहेको शान्ति प्रक्रियालाई सहज अवतरण गराउन महत्त्वपूर्ण योगदानको अपेक्षा सुजाता कोइरालाबाट गर्न सकिन्छ ? शान्ति प्रक्रियाका लागि काल्पनिक रूपले सुयोग्य पात्र स्वीकारिदिने हो भने पनि उत्तर सकारात्मक देखिन्न । १२ बुँदे समझदारी निर्माण भइरहँदा उनको भूमिका जानकारी लिनमा सीमित थियो । तर पनि नयाँ राजनीतिक परिस्थितिमा माओवादीलाई सहकार्यमा फर्काउन भने उनी 'सूत्र' हुन सक्ने छिन् भन्ने टिप्पणी सुनिएका छन् । रुक्मांगद कटवाललाई पदमुक्त गर्न सुजाताको सत्ताकांक्षालाई माओवादीहरूले उपयोग मात्रै गरेका थिए भनी बुझ्ने हो भने त्यस्तो सम्भावना देखिँदैन । शान्तिप्रक्रिया सफलताका लागि बृहत्तर राजनीतिक सहकार्यको विकास निश्चय नै अनिवार्य छ, त्यसका लागि साझा प्रयत्नहरू जरुरी छन् । तर सानी कोइरालाबाट त्यस्तो क्षमताको आशा गर्न विगतका 'परफर्मेन्स' हरू हामीलाई अनुमति दिइरहेका छैनन् ।

वैचारिक क्षमता र छविको कोणबाट हेरिरहँदा निराशाको चित्र हातलागी हुन्छ । मुलुक संक्रमणकालमा छ र कांग्रेस एकखाले संकटमा । नवीन मुलुकका लागि निम्नबमोजिमका दृष्टिकोणहरू छन् भनेर दुई मिनेट लामो व्याख्यान सुजाता कोइरालासँग छैनन् भनेर बताउँछन् निकटस्थहरू । कांग्रेसलाई आधुनिक स्वरूपमा बदल्ने कुनै कार्ययोजनाको त कल्पनै नगरौं । छवि कस्तो रहिआयो ? हे प्रभु । किन कोही सल्लाहकार सत्य तथ्य पेस गरेर सहयोग पुर्‍याउँदैनन् ? उनको संलग्नताको आरोप म लगाउन्न तर अनेकौं आर्थिक बदनामीमा नाम मुछिएको तथ्य जगबाट लुकेको छैन । प्रमाणित यथार्थको कुरा गर्ने हो भने पटक-पटक पदलाभ गरिरहने तर उल्लेख्य योगदान पुष्टि गर्न नसक्ने छवि नवीन नेपालका लागि सान्दर्भिक छ त ? 

राष्ट्रलाई सन्देश दिने दृष्टिले पनि सुजाताको नेतृत्वमा सरकारमा जानु अनुपयुक्त ठहरिएको छ । परिभाषा के दिने उनको अगुवाइलाई ? पुराना सक्षम नेताको नेतृत्व या युवा ऊर्जाको प्रस्तुति ? कोइराला परिवारकै प्रतिनिधि चाहिएको थियो भने उपलब्ध थिए डा. शेखर, तुलनात्मक रूपले बौद्धिक छन् र छवि नराम्रो छैन । सरल स्वभावका डा. सशांक पनि थिए । तर परिवारभित्र र बाहिरका पचास विकल्प छाडेर यो निर्णयमा पुग्दा सभापतिलाई पुत्रीमोहको आरोप लाग्नु स्वाभाविक हो । जीवनको उत्तरार्द्धमा बेहद अलोकपि्रय निर्णय सभापतिबाट हुँदा जो नकारात्मक सन्देश बजारमा गएको छ, त्यसले कांग्रेसको भविष्यका लागि सुन्दर संकेत गरेको छैन । संयोग भनौं यही बेला उत्तर कोरियामा 'युवराज' को घोषणा भएको छ, स्वर्गीय किम इल सुङका नाति किम जोङ इलका छोरा २६ वषर्ीय किम जोङ उनलाई अब कोरियाली कम्युनिस्टहरूले निकट भविष्यमा 'श्रीपेच' पहिर्‍याउने छन् । त्यस्तै नियति हामी कांग्रेस कार्यकर्ताले यहाँ भोग्नुपर्ने सन्देशका रूपमा यो निर्णय आएको व्याख्या मेरा कतिपय मित्रले गरेका छन् । तर गिरिजाप्रसाद कोइरालालाई नेता मान्नु र उहाँकी छोरीलाई मान्नुका बीच सय आकाशको फरक म ठान्छु । पार्टी सभापतिको आशय यदि त्यस्तै हो भने विनम्र भाषामा जम्मा यतिमात्रै भन्नु छ- सुजाताको नेतृत्वलाई कठोर अस्वीकार छ । देशैभरिका स्वाभिमानी कांग्रेसजन गणतन्त्र नेपालमा युवराज्ञी बोक्न तयार छैनन् ।

कोइराला परिवारबाट राजनीतिक नेतृत्वमा कोही आउनै हुन्न ? म त्यसो भनिरहेको छैन । बरु आग्रह गरिरहेको छु, परिवारभित्र या बाहिर जहाँबाट जसले नेतृत्व गर्ने आकांक्षा राख्दा पनि केही गुण सौन्दर्य समाज र समयले जो माग्छ त्यो पस्कने क्षमता हुनैपर्छ । परिवारको पहिचानले या पिताको पसिनाले मात्रै अबको दुनियाँमा राजनीतिको खेती भिज्दैन भनेर सबैले बुझ्नुपर्छ । सुजाता कोइराला भविष्यमा नेपालकी सोनिया गान्धी बन्नेछिन् भन्नेहरूले सोनियाको परिभाषा पढेर सल्लाह पेस गरे कति जाती हुन्थ्यो । सोनियाले सुरुवातमा कांग्रेस अध्यक्ष पद अस्वीकार गरिन् र अध्यक्ष बनेपछि प्रधानमन्त्री पद । सत्तालिप्सा प्रस्तुत नगरेका कारण आज सोनिया राजनेताको सिंढी उक्लने विन्दुमा पुगेकी छन् । पिताको सहादत र आमाको शक्तिलाई प्रयोग गरेर राहुल गान्धी हतारिएका छैनन् सत्तामा जान । मन्त्री पद अस्वीकार गर्दैं उनले भर्खरै भने- मेरो योग्यता सत्ता सम्हाल्नका लागि विकसित भइसकेको छैन ।

त्यस्तै धैर्य हाम्री सुजाता दिदीमा भैदिएको भए... ? तर वृद्ध पिताको वात्सल्य प्रेमलाई दुरुपयोग गरेकी छन् यिनले । गिरिजाप्रसाद कोइरालाको पसिनालाई सर्बत बनाएर थुप्रैले पिएका थिए । मानिस भन्छन्- उहाँको रगतलाई हि्वस्की बनाएर चियर्स गरिएको दुःखद दृश्य यतिबेला हाम्रासामु उपस्थित छ ।

यो समग्र घटनाक्रममा कांग्रेसको पछिल्लो नेतृत्व हाइकमान्ड दोषमुक्त छैन । संस्थागत ढंगले महत्त्वपूर्ण निर्णय लिने परिपाटी विकसित नगर्नुमा पार्टी सभापति मात्रै दोषी होइनन् । छोरीलाई केही जिम्मेवारी दिने संकेत सभापतिले अलिअघि नै दिइसकेको बुझ्दा-बुझ्दै सभापतिलाई नै मन्त्री चयनको जिम्मा छोडिदिने नेताहरूले पनि आफ्नो गल्ती महसुस गर्नुपर्छ । काठमाडौंमा बार्‍है मास कुदिरहने एकथरी कार्यकर्ता पंक्ति पनि यो 'बहादुरी' का लागि श्रेयको हकदार छन् । तिनले सुजाता कोइरालाको कृत्रिम लोकपि्रयता पार्टी सभापतिकहाँ कलात्मक ढंगले पेस गरेकै हुन् । 'पराक्रम' को विश्वास छाडेर 'परिक्रमा' का बलमा माथि उक्लिइनेछ भन्ने मनोविज्ञान अझै कैंयन कार्यकर्तामा विद्यमान छ । माओवादीबाट प्रताडित भएर पनि देशैभरि असंख्य मानिस कांग्रेस भएर बाँचिरहेका छन् । तिनको बलमा कांग्रेसलाई बचाउने हो भने काठमाडौं रुँग्नेहरूले विवेक बोल्नुपर्छ । वंशको प्रमाणपत्र बोकेकै भरमा कुनै अयोग्य पात्रलाई पनि शिरमा उठाउने हो भने सामन्तवादको किर्तनमात्रै हो त्यो, कार्यकर्ताले बुझ्नुपर्छ ।

मुलुक नवीन युगका लागि प्रसव पीडामा छ । माओवादी बहिर्गमनपछि शान्ति प्रक्रिया जोखिममा छ । किस्तीमा राखेर प्रधानमन्त्री पद कांग्रेसले पेस गर्दा पनि एमालेको एउटा पंक्ति आफ्नै सरकारप्रति उत्साही बनेको छैन । फोरमभित्रको विवादले कुन दिन सत्ता समीकरणको करवट बदल्न पुग्ने छ भन्न सकिने स्थिति छैन । विद्रोही लडाकु समायोजन, राज्य पुनर्संरचना र नयाँ संविधान लेख्ने कार्य सिंहदरबारमा अलपत्र

जस्तै छ । यस्तो चुनौतीपूर्ण राष्ट्रिय अवस्थामा कांग्रेस परिवारले उच्चतम् विवेक, क्षमता, क्रियाशीलता र एकताबद्ध योग्यता प्रस्तुत गर्नुपथ्र्याे ।

तर 'आफंै त महादेव उत्तानो परे.... भन्ने प्रस्तुतिमा छ कांग्रेस  यतिबेला । तर फेरि पनि यथाशीघ्र सम्हालिनुको अर्को विकल्प छैन । तर

यसो भनिरहँदा फेरि पनि दोहोर्‍याऊँ- सुजाताको नेतृत्वलाई अस्वीकार,

अस्वीकार फेरि पनि । देशैभरिका आम कांग्रेसजनको संगठित

स्वाभिमानका साथ ।

लेखक कांग्रेसका युवा नेता हुन्




Posted on: 2009-06-04 20:27:44

Read Full Discussion Thread for this article