Posted by: commando May 3, 2009
Khagendra Sangraula's article on the President!
Login in to Rate this Post:     0       ?        
What do you guys have to say about this?





राष्ट्रपतिको बेवारिसे डायरी















































पुरानो अंक




खगेन्द्र संग्रौला

2009-05-02,Saturday



श्री राम-जानकीजी ! यो के भयो ? एक वर्षभित्रै बुढेसकालको मेरो जीवनमा ठूलो उथल-पुथल
भयो । आपै“mलाई छामेर हेर्छु, आखिर म के नै थिएँ र ? कांग्रेसको तेस्रो काँटको मधेसी
नेता थिएँ । मलाई कोइराला किचन क्याबिनेटको सदाबहार बफादार सदस्य भनेर गिज्याइन्थ्यो
। कोही त मलाई कोइराला किचन क्याबिनेटको प्युसोसमेत पनि भन्थे । यसो विचार गर्दा
मलाई यसरी गिज्याएको ठीकै हो भन्ने लाग्थ्यो । गणेशमानजी रुँदै पार्टीबाट हिँड्नुभयो
। म किचन क्याबिनेटमै रहेँ । किसुनजी गोता खाएर पार्टीबाट पाखा लाग्नुभयो । तैपनि
म जहाँको तहीँ रहेँ । सधैँ संस्थापन पक्षको छातामुनि अचल, अटल । म जोखिम उठाउन नचाहने
मान्छे । त्यो ठाउँ मलाई सुरक्षित लाग्थ्यो । त्यही छाताको ओत लागेर त हो मलाई दुईपटक
स्वास्थ्यमन्त्री बन्ने सौभाग्य प्राप्त भएको । हो, त्यो छाता मलाई खुबै फाप्यो ।
त्यो लाभदायक छाताको याद आउँदा अहिले कृतज्ञताले शिर झुकाएर मलाई 'गिरिजाबाबुकी जय'
भन्न मन लाग्छ । तर, डर लाग्छ, यो जयजयकार कसैले सुनिहाल्यो भने मलाई कोइराला कांग्रेसको
किचन क्याबिनेटको राष्ट्रपति भनेर पो गिज्याउला कि ! श्री राम-जानकीजी ! यो कति अप्ठ्यारो
पद ! आफूलाई लागेका कुरा निर्धक्क भएर भन्न पनि नपाइने ।








रुक्मांगद कटवाल
आए । तिनले शीतलनिवासभरि हल्का कम्पन उत्पन्न हुने गरी मलाई सलोट गरे । अनि
यी जंगी जर्नेल सहाराको याचना गर्दै तुरुक्क रोए । भने- महामहिम ! जिपीबाबु
र केपीबाबुले रायमाझी प्रतिवेदनबाट मलाई कति राम्रोसँग मुक्त गरिदिनुभएको थियो
। अहिले त्यही प्रतिवेदनको कुरा कोट्याएर मलाई घोचिँदै छ ।

अच्छा । म भन्न खोज्दै थिएँ, मेरो जीवनमा कति छिटो कत्रो कायापलट
भयो ! अतीततिर फर्केर हेर्दा मलाई बडो उदेक लाग्छ । राष्ट्रपतिको चुनाव नजिक आउँदै
थियो । रामराजाप्रसाद सिंह वा माधवकुमार नेपाल दुईमध्ये एकले सत्ताको यो सबैभन्दा
अग्लो कुर्सी पड्काउने निश्चित थियो । जनमतद्वारा लत्याइएका र दलहरूद्वारा एक्ल्याइएका
हामी कांग्रेसीहरूका ओठ-तालु सुकेका थिए । पुरानो पार्टी हो, चुनावमा उपस्थिति त
जनाउनैपर्छ भन्ने कुरा उठ्यो । अनि आइलाग्यो, उम्मेदवारीको खानु न पिउनुको लफडो ।
हार्नैका लागि कोही किन उम्मेदवार बनोस् ? जित्ने लक्षण भए तँ होइन म भनेर कत्रो
मारामार हुन्थ्यो ! पहाडी कांग्रेसीहरूले म मधेसी कांग्रेसीलाई उम्मेदवार बन्न त
के टाढैबाट उम्मेदवारी सुँघ्नसम्म पनि दिने थिएनन् । आखिरमा कांग्रेसको उपस्थितिका
लागि म हेपिएको मधेसीले हारिदिनुपर्ने भयो । गिरिजाबाबुले 'तँ उठ्' भन्नुभयो । हाम्रो
कांग्रेसमा गिरिजाबाबुको बोली भनेको भगवान्को बोली हो । आदेश पाउनेले बूढाको आदेश
काट्नु त परै जाओस्, त्यस्तो कल्पनासम्म पनि गर्न सक्दैन । व्यर्थमा यो क्या झ्याउलो
आइलाग्यो भनेर भित्रभित्रै मुर्मुरिँदै नेताश्रीको कष्टपूर्ण आदेश मैले निहुरिएर
स्वीकार गरेँ ।



तर, भाग्यको लेखान्तर भनुँ कि, दुर्घटनाको खेल भनुँ कि, मूल्यहीन राजनीतिको नौटंकी
भनुँ कि मेरो तालुमा नचिताएको आलु फल्यो । प्रचण्ड घरी-घरी चमत्कारका कुरा गर्थे
। चमत्कारको यो रटना मलाई कम्युनिस्टहरूको कुटिल वाक्छल हो भन्ने लाग्थ्यो । तर,
ममाथि चमत्कार भयो, प्रचण्डको चमत्कारले उनैलाई लोप्पा ख्वायो । म साँघुरो कांग्रेसी
वृत्तको रामवरण यादव सिंगो राष्ट्रको महामहिम राष्ट्रपति रामवरण बनेँ । चुनावमा भित्ता-भित्तामा
प्रचण्ड गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनेका थिए । हाम्रा गिरिजाबाबुको पनि
राष्ट्रपति बन्ने भयंकर धोको थियो । पुर्पुरोमा सधैँ हार मात्र लेखिएका अभागी माधवजीले
खुट्टा नउचाल्ने कुरै भएन । रामराजाप्रसाद सिंहलाई त कम्युनिस्टहरूले निर्विकल्प
विकल्प तिमी नै हो भनेर उचाल्नुसम्म उचालेका थिए । तर, यी सबैको हारको हदै पीडादायी
चाङमाथि मेरो जितको गौरवमय झन्डा फहरायो । त्यो देखेर म आफैं जिल्ल परेँ । अहो !
श्री राम-जानकीजी ! मलाई यो के भयो ? म गिरिजाबाबुको खटन खुरुखुरु मान्दै हिँडेको
थिएँ । मेरो काँधमाथि आफैंले सोच्नुपर्ने, निर्णय गर्नुपर्ने, जोखिम उठाउनुपर्ने,
विवाद झेल्नुपर्ने कुनै पनि जिम्मेवारी थिएन । म त सधैँको मूक अनुयायी । जब यो जिम्मेवारी
आयो, मलाई एकाएक सगरले थिचेजस्तो लाग्यो । मलाई भनन्न रिँगटा लाग्यो । सिंगो ब्रह्माण्ड
मेरा आँखाअघिल्तिर फन्फनी घुम्यो । अहो ! म मूच्छिर्त पो हुने हुँ कि ? विजयी राष्ट्रपति
मूच्र्छा पर्‍यो भन्ने अवगाल पो चल्ने हो कि ?

विस्फारित नजरले सेरोफेरोको वातावरण हेर्छु, त्यो सब रामवरणमय छ । चर्चा उही रामवरणको
छ, महिमा उसैको छ, सर्वत्र गगनभेदी जयजयकार उसैको छ । त्यो सब सुन्दा लाग्छ, मलाई
करिबन यसो भनिँदै छ :

त्वमेव माता च पिता त्वमेव,

त्वमेव रक्षक पालक तुमेव ।

त्वमेव गौरव महिमा त्वमेव,

त्वमेव सर्व मम देवदेवः ।।

छाती छाम्दै आफैंलाई सोधेँ- ए रामवरण, हिजोको आजै के भइस् तँ ? भित्र कताकता राजापछिको
राजै पो भएँ कि भन्ने लाग्यो । तर, गणतन्त्रमा यो भन्न नमिल्ने अनुभूति थियो । यस
आशयलाई मैले आफैंभित्र भूमिगत राखेँ ।



खचाखच भीडको बीचमा म देख्छु, अलिबेर अघिसम्मका परचक्रीहरू सबका सब ओठमा औपचारिकताको
कृत्रिक मुस्कान झुन्ड्याएर म महामहिम रामवरणलाई बधाई दिन तँछाड-मछाड गरिरहेका छन्
। तिनलाई मेरो अनुहारको छेवैमा आफ्नो अनुहारलाई सजाएर टेलिभिजनमा देखिन कत्रो रहर
छ ! यता मलाई भने उकुस-मुकुस भएको छ । उभिँदा लड्छु कि, लड्छु कि जस्तो लाग्छ । तिनलाई
हेर्ने कसरी हो ? तिनका अभिवादन फर्काउने कसरी हो ? मुसुक्क हाँस्ने हो कि अनुहार
अह्ररो पार्ने हो मलाई केही थाहा छैन । बधाईको जवाफमा धन्यवाद भन्ने हो कि राजाले
झैँ दुई हत्केला अघि सारेर कृपाको आशीर्वाद दिने हो, मलाई त्यो पनि थाहा छैन । भित्र
कताकता लाग्छ, राजापछि राजाको ठाउँमा आएको राष्ट्रपति हुँ, मैले केही न केही राजसी
गुण त देखाउनुपर्ने नै होला । खै, के हो के होइन, म अलमलमा छु । म गोलमालमा छु ।
म त्यसै-त्यसै जिल्लाराम भएको छु ।



जब फूलमाला पहिराएर, घर्‍याप्प सलामी अर्पण गरेर पहिलोपटक मेरो सवारी चलाइयो, त्यो
वेला म अर्कै, अलि बेग्लै भइसकेको थिएँ । म माथि आकाशमा उठेँ, अरू तल धुलामा छुटे
। राष्ट्रभरिको समस्त सम्मानको म एकाधिकारी बने, अरूहरू सम्मानकर्ताको दर्जामा रहे
। हेर्छु, राजाको सवारीमा झैँ अगाडि सडक पूरै खाली छ । सुन्छु, राजाकै सवारीमा झैँ
साइरनको एकोहोरो आवाजले आकाश चिरा-चिरा पारिरहेको छ । म राष्ट्रपति कि राजा ? विधि,
शैली, औपचारिकता, हातमलाइ, शिरझुकाइको ताल सब उही छ । गोप्य रूपले आफ्नो अन्तरलाई
भनेँ, 'हेर्, रामवरण ! आजका मितिले तँ अघोषित राजा भइस् ।' सित्तीमिति नमुस्कुराउने
म अरसिक मानव गमक्क पर्दै आफ्नै सम्मानमा मुसुक्क हाँसे ।

म सोझै भगवान् पशुपतिनाथको दर्शन गर्न गएँ । जाँदाजाँदै लाग्यो- आखिर गिरिजाबाबु
पनि त मेरा नाथै हुन् । त्यसैले रोलक्रमले पहिले बाबुजीको दर्शन गरेँ, त्यसपछि आराध्यदेव
भगवान् पशुपतिनाथको । सुरुका मेरा दिन बेचैनी र दुःखमा बिते । म जे गर्छु, कुरा काटिहालिन्छ
। गिरिजाबाबुको दर्शन गर्‍यो, कांग्रेसी राष्ट्रपतिको बात लाग्ने । कुमारी जात्रा
र भोटो जात्राको दर्शन गर्न गयो, हिन्दु राष्ट्रपतिको आरोप आइलाग्ने । गर्नलाई काम
केही छैन । परम्पराको पुच्छर समातेर हिँडु, परम्परै छैन । संविधानले कतै पनि मलाई
यो गर्नू, त्यो नगर्नू भनेको छैन । म आफ्नै निवासमा कैदी बनेँ । अनि दिक्क भएको
वेला बसिबियाँलो गर्न बालबालिकालाई भेट्न थालेँ । पद छ त्यत्रो राष्ट्रपतिको, काम
छ केवल केटाकेटीलाई दर्शन दिनु र तीसँग ठट्टा गर्नु । मलाई यो पद एकदमै खल्लो लाग्यो
। अनि चार थान सल्लाहकार नियुक्त गरेँ । संविधानले सल्लाह दिएर होइन, यिनै सल्लाहकारले
सल्लाह दिएर राज्यमन्त्रीसरह तलब-भत्ता-सुविधा भोग गर्न पाउने गरी सल्लाहकारहरू राखेँ




लुकाउन नमिल्ने कुरा भनुँ, यी सबै सल्लाहकार मेरो मातृसंस्थाका सन्तति हुन् । हाम्रो
भाषा मिल्छ, संस्कार मिल्छ । अल्छी छन्, यिनले मलाई उठाउने सल्लाह त के देलान् र
? तैपनि यिनले मलाई गिराउने सल्लाह निश्चय नै नदेलान् भन्ने मेरो आशा थियो । सल्लाहकारको
रायबाट कहाँ जाने कहाँ नजाने, के बोल्ने के नबोल्ने म सिक्दै गएँ । गुणग्राही लोकले
प्रतिक्रिया राम्रै गर्‍यो । हेर, राष्ट्रपति यादव साँचो अर्थमा कांग्रेसी वृत्तबाट
माथि उठेर राष्ट्रकै राष्ट्रपति बन्ने सिकाइको तीव्र प्रक्रियामा छन् । यी महामहिम
वचन र व्यवहारको पदीय मर्यादा सिक्दै छन् । यी विवादास्पद मामिलामा तौलिएर बोल्ने
कूटनीतिक भाषाको अभ्यास गर्दै छन् । हेर है, यिनले गणतन्त्रको धर्म थाम्ने भए । यिनले
राष्ट्रको गौरव उठाउने भए । अहाहा, कति राम्रो !



सबै चीज शान्त थियो । मलाई आनन्द थियो । तर, जब कटवालकाण्ड सुरु भयो, मेरो जीवनमा
अर्को उथलपुथल आइलाग्यो । मकहाँ कोही निवेदन गर्न आउन थाले । कोही मेरो चाकरीमा धाउन
थाले । मलाई उक्साउन आउनेहरू त झन् कति हो कति ! दर्शन दिन मलाई भ्याइ-नभ्याई भो
। एउटा लर्को आउँछ र भन्छ- महामहिम ! माओवादी अतिवादले डसेर लोकतन्त्र धरापमा पर्‍यो
। अर्को लर्को आउँछ र आक्रोश पोख्छ, महामहिम ! माओवादी सर्वसत्तावादले विधिलाई खरानी
बनाउने भयो । कर्मचारीतन्त्रमा राजनीतिकरण, न्यायपालिकामा राजनीतिकरण, सेनामा राजनीतिकरण-
महामहिम ! सृष्टिमा पैरो जाने खतरा उत्पन्न भयो ।

- त म के गरूँ ?

- महामहिमले लोकतन्त्रलाई उद्धार गरिदिनुपर्‍यो । महामहिमले नागरिक सर्वोच्चताको
रक्षा गरिदिनुपर्‍यो ।

- कसरी ?

- कटवालबाबुलाई काँध थापेर । यिनलाई कारबाहीमुक्त गरेर ।

पहिले त कुरा सुनेर म झस्केँ । शाही संस्कार लिएर आएका जर्नेललाई मैले काँध थापेर
लोकतन्त्रको उद्धार हुन्छ ? अनि नागरिक सर्वोच्चता ? नागरिक सर्वोच्चताको रक्षा गर्ने
काम व्यवस्थापिका-संसद्को होइन ? न्यायपालिकाको होइन ? जागरुक नागरिकगणको होइन ?
मेरो क्षेत्राधिकारभित्रको काम हो र यो ? म ज्यादै पीडादायी द्विविधामा परेँ । सन्तापको
चक्रवात्ले मलाई फन्फनी रिँगायो । श्री राम-जानकीजी ! म विवादको भुमरीमा पो परूँला
कि ? कत्रो दुःखले आर्जेको यो मेरो छवि ध्वस्त पो होला कि ? अनि भोलिको पुस्ताले
मलाई थुक्ला कि ?



असैह्य मानसिक अन्तर्द्वन्द्वले गर्दा म थलापरेँ । अनि आफ्ना वकिल र सल्लाहकारहरूलाई
सोधेँ- कुरो के हो, भन । मेरो अधिकार कति हो ? मेरो कर्तव्य के हो ? यो गन्जागोल
परिस्थितिमा मैले गर्नुपर्ने के हो ? तिनले एकस्वरले भने- महामहिम संवैधानिक राष्ट्रपति
होइसिन्छ । लोकतन्त्रमा ग्रहण लाग्दा त्यसको उद्धार गर्नु हजुरको दायित्व पनि हो,
कर्तव्य पनि हो । 'ए हो र ?' भनेर मैले सोधेँ । 'हो कि हो' भनेर तिनले मलाई विश्वस्त
तुल्याए । विज्ञ हुन् भनेर दह्रो तलब-भत्ता दिएर राखेको छु । यिनले भनेको नपत्याए
मैले कसले भनेको पत्याउनु ? आखिरमा मैले पत्याएँ ।



एकदिन गजब भयो । मेरो दर्शन गर्न र आफ्नो गुनासो पोख्न शीतलनिवासमा सत्रदलको संयुक्त
जुलस आउने भयो भनी सल्लाहकारहरूले दंग पर्दै मलाई सुनाए । सत्रदल रे ? जम्मा दल त्यही
बाइस-चौबीसवटा होलान् । सत्रदल भनेको त दुईतिहाइ दल पो हो बा । श्री राम-जानकीजी
! संसारका आँखा मतिर फर्किएका छन् । संसारको आशा मैमाथि एकोहोरिएको छ । सारा गगनमण्डलमा
आवाज घन्किरहेछ- रामवरण आऊ, लोकतन्त्र बचाऊ । पहिले निर्दलवालहरू राजालाई यसै भन्थे,
अहिले बहुदलवालहरू मलाई यसो भन्न थाले । होइन, म राजै पो बनाइँदै छु कि !



झ्यालछापडि छेलिएर बाहिर चियाएँ, सत्रदलको संयुक्त जुलुस मलामीको लस्करजस्तो छ ।
सबभन्दा अगाडि पहिले हाम्रो पार्टीले प्रधानमन्त्री बनाएका सूर्यबहादुर थापा छन्
। उनको नेतृत्वमा पछि लागेका छन् कांग्रेसीहरू र कम्युनिस्टहरू । अनुहार हेर्दा ती
रुन, कराउन, गुहार माग्न आएका हुन् भनेर यसै बुझिन्छ । हो, आएर तिनले त्यसै गरे ।
दर्शनार्थीलाई बसाएर आफू अलिबेरमा आउने मेरो तरिका छ । त्यसै गरेँ । सत्रदलका नेताहरू
अताल्लिँदै जुरुक्क उठे । तिनका अनुहारमा आतंकको भाव थियो । मलाई पहिले राजाको दर्शन
गर्न नारायणहिटी राजदरबार जाँदाको याद आयो । हामीले यसै गरेका थियौँ । समय फरक छ,
स्थान फरक छ, सन्दर्भ फरक छ । तर, तरिका ठ्याक्कै उस्तै छ । होइन, म राजै भएँ कि
कसो ? यी सब कटवाल जोगाऊ अभियानमा मेराअगाडि हात मलिरहेका छन् । रोइरहेका छन् । घुँडासम्म
निहुरिएर मेरो चाकरी गरिरहेका छन् । श्री राम-जानकीजी !



रुक्मांगद कटवाल त्यसैगरी आए । तिनले शीतलनिवासभरि हल्का कम्पन उत्पन्न हुने गरी
मलाई सलोट गरे । अनि यी जंगी जर्नेल सहाराको याचना गर्दै तुरुक्क रोए । भने- महामहिम
! जिपीबाबु र केपीबाबुले रायमाझी प्रतिवेदनबाट मलाई कति राम्रोसँग मुक्त गरिदिनुभएको
थियो । अहिले त्यही प्रतिवेदनको कुरा कोट्याएर मलाई घोचिँदै छ । जिपीबाबु र केपीबाबुको
फैसलालाई बदर गर्ने तागत यो देशमा कुन पाजीको छ ? तैपनि हेरिस्योस् महामहिम ! त्यो
पत्रु प्रतिवेदनलाई चिहानमुनिबाट झिकेर मलाई घोचिँदै छ । आफ्नो त कामै आशीर्वाद
र सान्त्वना दिने । मैले दिएँ । भनेँ- यसरी घोच्न पाइँदैन । अनि कटवालले हौसिँदै
सैनिक लबजमा निवेदन गरे- हजुर अघि लागिदिनूस्, हजुरका लागि म ढाड ओछ्याउन तयार छु




अब आउन थाले मकहाँ एकपछि अर्को गर्दै विदेशी राजदूत । अरूका कुरा त्यस्तै हुन्, हिन्दुस्थानका
राकेश सुदले हाक्काहाक्की कुरा गरे । तिनले के कुरा गरे, मैले यहाँ भन्न मिल्दैन
। भन्नूस् त, सुदले नै कटवाललाई बोकेपछि बोक्न बाँकी अब को रह्यो ? कटवाल जोगाऊ,
प्रचण्ड हटाऊ- कुरो घुमाएर तिनले करिबन यसो भने । मेरो शुष्क नेपाली विवेकको एक कुनामा
एउटा विचार-तरंग उठ्यो । सुदले जे भन्छन्, त्यो नै लोकतान्त्रिक विधि हुने हो र ?
हाम्रो सम्प्रभुता, हाम्रो राष्ट्रिय स्वाभिमान, हाम्रो आत्म-निर्णयको हक भन्ने चिजै
हुँदैन ? मेरो यो विचार-तरंगलाई वे अफ बंगालबाट आएको कालो बादलले तत्कालै ढाकिदियो
। अनि मनको अर्को कुनामा अर्को विचार-तरंग उठ्यो । नेपालमा कसैलाई नरेश बनाइदिने
र बनाइएको नरेश मन नपरे त्यसलाई बिगारिने यिनीहरू नै त हुन् । हाम्रो आजसम्मको इतिहास
यस्तै छ, परम्परा यस्तै छ । मौकाको कुरा हो, मौकामा म पनि केही किन नबनूँ ? जिपी,
केपी, सुद र सेना मेरो पछाडि भएपछि मतिर लाग्न बाँकी अब को रह्यो ? आखिर शक्तिको
सर्वाेच्चता नै त नागरिक सर्वोच्चता होला ।


श्री राम-जानकीजी ! म भैँसीको ढाडमा चढेर गोठालो लाग्ने सोझो मानिस । म घेराउमा छु
। म के गरूँ ? मन बेहद बेचैन छ । आत्मामा आँधी उठेको छ । सन्तापले मेरो कलेजो जलिरहेको
छ । म नरेश बनाइएँ रे लौ, त्यसपछि मेरो नियति के हुने हो ? भोलि इतिहासका भित्तामा
मेरो कस्तो छवि टाँसिने हो ? मानवीय कि दानवीय ? लोकतान्त्रिक कि निरंकुश ? सुन्दर
कि कुरूप ? राम-जानकीय जी आऊ ! यो विकराल भवसागरबाट मलाई बचाऊ ।

Read Full Discussion Thread for this article