Posted by: notavailable April 30, 2009
Mr. Kattuwala will be fired within three days from Toady (April 30th)
Login in to Rate this Post:     0       ?        
कटवाललाई हटाइए अस्वीकार गरी सरकारबाट बाहिरिने चेतावनी दिएको छ। एमाले
स्थायी कमिटीको बिहीवार साँझ बसेको आकस्मिक बैठकले माओवादी एक्लै अघि बढे
अमान्य हुने निर्णय गरेको हो।
'माओवादीले सहमतिमा निर्णय नगरे
एमालेका लागि मान्य हुने छैन'- एमाले महासचिव ईश्वर पोखरेलले
नागरिकन्युजसँग भने। आफूहरुले यसअघि नै सहमतिका साथ जानुपर्ने निर्णय
गरेको प्रसंग उल्लेख गर्दै उनले भने 'सहमतिवेगरका निर्णय एमालेको लागि
स्वीकार्य छैन।'

उपाध्यक्ष विद्या भण्डारीले माओवादीले जर्वजस्ती निर्णय गर्न खोजे
एमालेले मन्त्रिपरिषद् बैठक बहिस्कार गर्ने बताइन्। 'त्यसपछि सरकारबाटै
बाहिरिने पनि हुनसक्छ'- उनले भनिन्। 'माओवादीका एकल निर्णयका विरुद्ध
एमालेले स्पष्ट असहमति प्रकट गर्छ' सचिव शंकर पोखरेलले भने।







बिहीवार विहान माओवादी सचिवालय बैठकले प्रधानसेनापति कटवाललाई तुरुन्त
कारवाही गर्न सुझाव दिएपछि एमालेले त्यसै दिन साँझ ७ बजे स्थायी कमिटीको
आकस्मिक बैठक बोलाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार
मन्त्रीपरिषद बैठक बोलाएर सेनापतिलाई कारवाही गर्ने संभावना वढेपछि
एमालेले त्यसवारे निर्णय लिन बैठक बोलाएको हो।



स्थायी कमिटीले माओवादीको एकल निर्णयका विरुद्ध उभिने सर्वसम्मत
निर्णय गरेको हो। पार्टीमा यसअघि फरक धारणा राख्दै आएका उपप्रधानमन्त्री
तथा उपाध्यक्ष वामदेव गौतमले बैठकमा पार्टीको निर्णयलाई पुर्ण रुपमा
कार्यन्वयन गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए।



यता माओवादीले मे १ दिवसको उपलक्ष्यमा शुक्रवार गर्न लागेको
जनप्रर्दशनमार्फत सरकारलाई दबाव दिने र सेनापति कटवाललाई हटाए विजय
जुलुसमा रुपान्तरण गर्ने तयारी गरिरहेको स्रोत बताउछ। संभावित संकट टार्ने
प्रयासस्वरुप एमालेले यो निर्णय गरेको हो।



एमालेले स्थायी कमिटी बैठकमा पार्टीहरुबीच सहमतिको पहल गर्ने
विषयमा पनि छलफल भएको थियो। 'राष्ट्रिय सहमतिका साथ जानुपर्छ । संविधानको
भावना र जनादेश पनि यही हो भन्ने विषयमा छलफल भयो'- उपाध्यक्ष भण्डारीले
भनिन्।


सहमतिका प्रयास
सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीले
प्रधानसेनापति रुक्माङगत कटवाललाई कारवाही गर्ने विषयमा अर्को साझेदार दल
एमाले निर्णयलाई झण्डै पाँच दिनसम्म पर्खियो। तर बैशाख १३ को एमाले
निर्णयले माओवादीलाई अप्ठयारो पारिदियो। 'प्रमुख तीन दल माओवादी, नेपाली
काग्रेस र एमालेसहितका दलहरुको सहमतिमा यो विषयको टुङ्गो लाग्नुपर्छ'-
एमाले स्थायी कमिटीले यस्तो निर्णय गर्यो।


सत्ताको नेतृत्व गरिरहेको माओवादी र विपक्षी काग्रेस सम्मिलित बैठक
गर्ने जिम्मा पनि एमालेले लियो। भोलिपल्ट माओवादी र काग्रेससँग भएको
छलफलमा एमालेले आफनो प्रस्ताव राख्यो 'सेनापति प्रकरणमा विवादास्पद बनेका
पात्रहरु रक्षामन्त्री रामबहादुर थापा प्रधानसेनापति रुक्माङगत कटवाल र
रथी कुल बहादुर खडकालाई हटाएर तेस्रो वरियताक्रमका रथी छत्रमानिसंह
गुरुङलाई नयाँ सेनापति बनाउने।'


एमालेको यो प्रस्ताव दुवै पार्टीले अस्वीकार गरे। प्रधानमन्त्री
पुष्पकमल दाहालले त्यसै दिन एकल निर्णयबाट भएपनि सेनापतिलाई हटाएरै छाडने
उद्घोष गरे। 'कारवाही भएरै छाड्छ। भोलि बैशाख १५ मा टुङगो लाग्छ'- वीपी
राजमार्ग उद्घाटन कार्यक्रममा उनले भनेका थिए।


प्रधानमन्त्रीले भने झैं सेनापति प्रकरणलाई टुङग्याउन भोलीपल्ट प्रमुख
तीन दलबीच बैठक बस्यो। बैठकमा एमालेले अघिल्लै दिनको प्रस्ताव अघि सार्यो।
तर त्यो बैठकमा पनि माओवादी र काग्रेस आ-आफनै अडानमा रहेका कारण सहमति
जुटन सकेन।



यद्यपि एमालेले सहमतिको प्रयास गर्ने जिम्मा लियो। एमालेको यो
प्रयासका कारण सेनापतिमाथिको संभावित कारवाही त्यस दिनको लागि सर्यो।
बैशाख १६ को त्रि-दलीय बैठकमा एमालेले यही प्रस्ताव दोहोर्यायो । काग्रेस
नेताहरु 'ब्यक्तिको कुरा होइन पद्धतिको कुरा गरेका हौं भन्दै वाहिरिएपछि
माओवादी र एमालेबीच करिव आधा घण्टा वार्ता भयो।
माओवादी-एमाले
वार्तामा कांग्रेसलाई सरकारमा ल्याउनेदेखि रक्षामन्त्रीको सवालमा
कारवाहीको लागि अडान नलिनेसम्मको विषयमा अनौपचारिक वार्ता भएको थियो।
त्यसैअनुरुप काग्रेस र एमालेबीच फेरि छलफल भयो। तर वार्ता सकारात्मक हुन
सकेन।



पर्खाइमा माओवादी
प्रधानसेनापति रुक्माङगत कटवालबाट स्पष्टीकरण
आउनु अगावै माओवादी सचिवालयको बैठकले उनलाई कारवाही गर्ने निर्णय गर् यो ।
माओवादीको यो निर्णयपछि बैशाख ८ मा एमाले नेता केपी शर्मा ओलीले पत्रकार
सम्मेलन गरी प्रधानसेनापति कटवाललाई लिइएको स्पष्टीकरण खारेज गर्न माग
गरे। उनले स्पष्टीकरण प्रकरणमा माओवादीको चर्का आलोचना समेत गरे।
ओलीको
यो अभिब्यक्तिले एमालेमा मतभेद सुरु भयो। त्यसपछि माओवादीले चीन भ्रमणमा
रहेका एमाले अध्यक्ष झलनाथ खनाललाई पर्खियो। कम्तीमा सत्ता साझेदार
दलहरुवीच सहमति कायम गर्न माओवादीले खनाललाई पर्खिएका थिए। सायद त्यसैले
हुन सक्छ ९ गतेको सचिवालय बैठकमा एमाले निर्णयलाई हेरेर अघि बढने सहमति
भयो।
तर बैशाख १० मा अध्यक्ष खनाल स्वदेश फर्किएपछि पनि माओवादीको लागि
सहज भएन। एमाले केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रधानसेनापति प्रकरण
राष्ट्रिय सहमतिको साथ टुङग्याउनुपर्ने भन्दै स्थायी कमिटीलाई सुझाव दियो।



माओवादी एमाले निर्णयकै पर्खाइमा रहयो। माओवादी सचिवालयको बैशाख १२
गतेको बैठकले प्रधानसेनापति प्रकरणमा एमाले निर्णयको प्रतिक्षा गर्ने
निर्णय नै गर्यो। एकातिर उनीहरु एमाले निर्णयको पर्खाइमा थिए भने
अर्काेतिर प्रधानसेनापतिलाई हटाउन नदिए सरकारबाट बाहिरिने धम्की दिदै थिए।



त्यसै दिन बसेको एमाले स्थायी कमिटीको बैठकमा नेताहरुबीच मतविभाजन
भएपछि निर्णय हुन सकेन। स्थायी कमिटीमा अध्यक्ष झलनाथ खनाल महासचिव इश्वर
पोखरेल उपाध्यक्ष वामदेव गौतम र सचिव युवराज ज्ञवाली कारवाही गर्नुपर्ने
पक्षमा थिए भने वरिष्ठ नेता माधव नेपाल केपी शर्मा ओली उपाध्यक्ष विद्या
भण्डारी सचिवद्धय शंकर पोखरेल र विष्णु पौडेल कारवाही गर्न नहुने पक्षमा
थिए। उपाध्यक्ष अशोक राई तटस्थ देखिए। कारवाही गर्न नहुने पक्षमा वहुमत
भएपछि त्यस दिन निर्णय नभएको हो।



यता प्रधानमन्त्री दाहालले भने राष्ट्रपति रामवरण यादवलाई भेटी
पार्टीले कटवाललाई हटाउने निर्णय गरेको जानकारी गराए। प्रधानमन्त्री
दाहालदेखी माओवादीका अन्य नेताहरुले कटवाललाई हटाउने अडान नै लिनुपछि
एमाले निर्णयलाई प्रभावित गराउनु थियो। काग्रेसले त प्रधानसेनापति हटाउन
नपाए सरकार छाडने माओवादी भनाई फगत धम्की भएको बतायो । 'सत्ता साझेदार दल
एमालेलाई आफनो पक्षमा पार्न यो दवाव दिएको हो'- काग्रेस केन्द्रीय
कार्यसमितिको बैशाख १३ को अनौपचारिक बैठकको निष्कर्ष यस्तो थियो।



यता एमाले स्थायी कमिटीमा भने मतान्तर बाँकी नै रहयो। यद्यपि बीचको
बाटो खोज्ने कुरामा नेताहरुबीच सहमति भयो। परिणामस्वरुप सेनापतिसम्बन्धी
निर्णय गर्दा सत्तारुढ दल माओवादी र विपक्षी नेपाली काग्रेसको सहमति
आवश्यक भएको निर्णय गर्यो । 'विवादास्पद बनेका पात्रहरु रक्षामन्त्री
रामबहादुर थापा प्रधानसेनापति रुक्माङगत कटवाल र रथी कुल बहादुर खडकालाई
हटाएर तेस्रो वरियताक्रमका रथी छत्रमानिसंह गुरुङलाई नयाँ सेनापति बनाउने'
एमाले प्रस्तावमा लगातार चार दिनसम्म भएका अनौपचारिक र औपचारिक वार्ताहरु
फलदायी बन्न सकेका छैनन्। माओवादी र काग्रेसले अस्वीस्कार गरेपछि एमालेको
यो प्रस्ताव यता न उता भएको छ।


nagariknews . com

Read Full Discussion Thread for this article