Posted by: CHYAME KANCHA April 30, 2009
This is a <>> article
Login in to Rate this Post:     0       ?        

विदेश भ्रमणमा १० करोड



कान्तिपुर संवाददाता



काठमाडौं, माओवादी नेतृत्वको मन्त्रिपरिषदका सदस्यले विदेश भ्रमण गरी आठ महिनामा १० करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम अघिल्लो सरकारका मन्त्रीले उही अवधिमा उस्तै प्रयोजनका लागि गरेकोभन्दा झन्डै दोब्वर खर्च हो ।

गत भदौमा सरकारको नेतृत्व सम्हालेपछि अर्थमन्त्री डा. बाबुराम भट्टराईको पहलमा जारी आर्थिक मितव्ययिता निर्देशिकाको उल्लंघन गर्दै प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ कर्मचारीले अत्यधिक विदेश भ्रमण गरेपछि खर्च बढेको हो ।


सरकारले चालू आर्थिक वर्षको बजेटमा विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको विदेश भ्रमणका निम्ति ६ करोड विनियोजन गरेको थियो । उक्त रकम मन्त्रिपरिषद सदस्य र कर्मचारीले पाँच महिनामै सकाएका थिए । ८ महिनामा विदेश भ्रमण खर्च ५ करोडबाट साढे नौ करोड पुगेको हो । गर्त वर्ष यहीं अवधिमा विदेश भ्रमणका क्रममा साढे ६ करोड रुपैयाँ खर्च भएको जानकारी अर्थ मन्त्रालयका प्रवक्ता शंकर अधिकारीले दिए ।


गत वर्षको बजेटमा प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिका लागि विदेश भ्रमणका लागि २ करोड छुट्याएकोमा आठ महिनामा एक करोड १२ लाख रुपैयाँ खर्च भएको थियो ।


चालू आर्थिक वर्षमा प्रधानमन्त्री र विशिष्ठ व्यक्तिका निम्ति विदेश भ्रमण गर्न एक करोडमात्र विनियोजन गरिएकोमा दुई करोड ३१ लाख रुपैयाँ खर्च भएको हो ।


गत वर्ष प्रतिनिधिमण्डल र कर्मचारीका निम्ति ६ करोड रुपैयाँ छुट्याएकोमा आठ महिनामा त्यसबाट ५ करोड ४० लाख ३६ हजार रुपैयाँ खर्च भएको थियो । यसपालिको बजेटमा प्रतिनिधिमण्डलका लागि ५ करोड मात्र छुट्याइए पनि ७ करोड २२ लाख खर्च भएको हो ।


माओवादी नेतृत्वको सरकार गठन भएपछिका आठ महिनामा विदेश भ्रमणमा जम्मा नौ करोड ५३ लाख ७१ हजार रुपैयाँ खर्च भएको हो । 'आर्थिक खर्चमा मितव्ययिता कायम गर्ने निर्देशिका पालनामा सबै मन्त्रालय र मन्त्री प्रतिबद्ध भए/नभएकाबारे प्रश्न उठेको छ' अर्थ प्रवक्ता अधिकारीले कान्तिपुरसित भने, 'हामीले रोक्दारोक्दै पनि सोचेभन्दा बढी खर्च भएको छ ।' उनले अर्थमन्त्री र मन्त्रालयका पदाधीकारीचाहिँ विदेश भ्रमण गरी खर्च गर्नेमा पछाडि रहेको बताए ।


सबभन्दा बढी भ्रमण गर्नेमा परराष्ट्रमन्त्री उपेन्द्र यादव छन्विभिन्न मुलुकको भ्रमणबाट उनी र उनको प्रतिनिधिमण्डलले सबैभन्दा बढी खर्च गरेको स्रोतले बतायो । उनी हाल नर्वेको ट्रोम्सोमा सम्पन्न एउटा सम्मेलन, त्यसपछि क्युवाको हवानामा हुने असंलग्न आन्दोलनको १६ औं मन्त्रीस्तरीय बैठकमा भाग लिन विदेशमा छन् ।


यी दुई देशको भ्रमण सकाएपछि केही युरोपेली मुलुकको भ्रमण गर्ने योजना उनले बनाएका छन् । युरोपेली देशको भ्रमण उनी स्वैच्छाले गर्दैछन् । त्यहाँ उनलाई कुनै आयोजकले कुनै कार्यक्रममा लागि निम्तो दिएका छैनन् । तर, सरकारी खर्चमा उनी युरोपेली देशको भ्रमण गर्दै छन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको प्रतिनिधिमण्डलले करिब साढे दुई करोडभन्दा बढी खर्च गरेको छ । फिनल्यान्ड र नर्वेमा भएको उनको हालैको भ्रमणमा झन्डै एक करोड खर्च भएको थियो ।


अर्थमन्त्री भट्टराईले विदेश भ्रमण र निर्देशिका कार्यान्वयनमा कडाई गरिने बताए पनि विदेश जानेे मन्त्रीका संख्या घटेको छैन । यतिखेर पनि चार मन्त्री विदेश भ्रमणमा छन् । परराष्ट्रमन्त्री यादवसहित स्थानीय विकासमन्त्री रामचन्द्र झा, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री किरण गुरुङ यतिबेला विदेशमा छन् । उनीहरू सबै सरकारी खर्चमा विदेश गएका हुन् । झा मलेसिया, गुरुङ अमेरिका र पोखरेल चीनमा छन् ।




Posted on: 2009-04-29 20:09:02

Read Full Discussion Thread for this article