Posted by: Nepe April 21, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

CANNES मा तीन नेपाली चलचित्र


 


लघु चलचित्र बनाउने नेपाली निर्देशक र निर्मातालाई खुसीको खबर । यसपटकको क्यान्स फिल्म फेस्टिबलमा तीनवटा नेपाली लघु चलचित्र प्रदर्शन हुने भएको छ । अन्तर्राष्ट्रियस्तरको सम्मानित फेस्टिबल मानिने फ्रान्सको क्यान्स फेस्टिबलमा यो पहिलो नेपाली प्रदर्शन हुनेछ ।


फेस्टिबलको एउटा महत्त्वपूर्ण अंग 'सर्ट फिल्म कर्नर' अन्तर्गत विनोद पौडेलको 'अवेकन आइज', दीपक रौनियारको 'चौकठी' र मनोजबाबु पन्तको 'ह्वेयर इज द स्टोरी' छनोटमा परेको हो । झन्डै दस हजार नेपाली रूपैयाँ तिरेर दर्ता गरेपछि चलचित्र प्रदर्शनीको सूचीमा राखिन्छ ।  प्रदर्शनपछि उत्कृष्ट फिल्मलाई विश्वभरबाट आएका वितरकले खरिद गरेर अन्तर्राष्ट्रिय बजारमा लैजान्छन् ।


दीपकको 'चौकठी' ले गत मंसिरमा राजधानीमा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव -किम्फ) मा तेस्रो अवार्ड पाएको थियो । विनोदको 'अवेकन आइज' पनि किम्फ, हल्यान्डको हिमालय फिल्म फेस्टिबल र भारतको पुनाको इन्टरनेसनल फिल्म फेस्टिबलमा प्रदर्शन भइसकेको छ ।


'निकै गौरवको कुरा हो,' क्यान्समा परेको प्रति खुसी जनाउँदै 'अवेकन आइज' का निर्देशक विनोदले भने, 'धेरै गर्न, सिक्न र विश्व बजारमा फैलिन सघाउने छ ।' उनले चलचित्रमा निम्नवर्गीय पात्रको विवशता उधिनेका छन् । बिरामी आमासँग एउटै झुपडीमा बस्नुपर्दा सुहागरातसमेत मनाउन नपाएको समस्या दृश्यमा उतारिएको छ । व्यक्तिगत आकांक्ष्ााका लागि व्यक्तिले कसरी सामाजिक-पारिवारिक दायित्व भुल्छन् भन्ने औंल्याइएको छ ।


मनोजबाबु निर्देशित 'ह्वेयर इज द स्टोरी' मा युद्धजनित पीडा छन् । द्वन्द्व र युद्धकालमा भोग्नुपरेको पीडा र त्यसले निर्माण गर्ने त्रासदीपूर्ण मनोविज्ञानलाई उनले दृश्यमा उतारेका छन् । उनले निर्देशन गरेको यो पहिलो चलचित्र हो । 'पहिलो कामले नै यसरी ठाउँ पाउँदा' उनले भने, 'अरू नयाँ र राम्रा कामका लागि उत्साह मिलेको छ ।'


दीपकको 'चौकठी' सांस्कृतिक बन्धनबीच बाँचिरहेका एक तराई महिलामाथि आधारित छ । रिसर्चका लागि काठमाडौंबाट गएकी एक आधुनिक युवतीको जीवनशैली, विवाह र यौनबारे उनको दृष्टिकोण र खुलापनबाट ती महिला प्रभावित हुन्छिन् । दुई फरक संस्कृति र जीवनशैलीबीचको अन्तर र त्यसको मनोवैज्ञानिक प्रभावलाई दीपकले ३० मिनेट लामो चलचित्रमा उतारेका छन् ।


Posted on: 2009-04-20 19:56:56


http://www.kantipuronline.com/kolnepalinews.php?&nid=190297


 


 

Read Full Discussion Thread for this article