तिन
दिन पछि,
उसले चुरोट सल्काउन खोज्यो ,उ आमा सँग लुकेर कहिलेकाहिँ चुरोट सल्काउँथ्यो ।उसलाई धुवाँ मन पर्थ्यो , खरानी को रंगमा उसले जीवन देख्थ्यो तर उ आमा सँग डराउँथ्यो। आमा सँग मात्र किन उ त सबैसँग डराउँथ्यो । कहिले काहिँ भेट हुने आफ्नै बौलाएको प्रतिविम्व सँगै डराइदिन्थ्यो ।नडराओस् पनि किन ? उसको बौलाएको प्रतिविम्व उ आफैलाई भयावह लाग्थ्यो । उ सामना गर्न सक्दैन थियो तर सामना गर्न नसक्दा पनि प्रतिविम्ब उसलाई काँतर भनेर जिस्क्याईदिन्थ्यो अनि उ आफ्नो घोक्रो फुटुन्जेल चिच्याउँथ्यो म काँतर होईन भनेर । आमा दगुर्दै उसको कोठामा आउनुहुन्थ्यो प्रतिविम्व लुक्द्थ्यो । प्रतिविम्व त डराउने उसकी आमा सँग उ किन नडराओस् उ सोच्दथ्यो । त्यसपछि उसलाई आमासँगको डर पनि आधिकारिक छ जस्तो लाग्दथ्यो ।
“तँपाई चुरोट पनि खानुहुन्छ ?” तरकारी काट्दै गरेकी मायालाई एकदिन नजिकै बाट नियाल्दै गर्दा मायाले पत्ता लगाई । मायालाई नजिकै बाट लुकी लुकी नियाल्नु उसको विवशता थियो तर त्यो दिन मायाले झट्ट उ पछाडी बाट उसले नियाल्दै गरेको पत्ता लगाइदिई । त्यसको लगत्तै प्रश्न पनि प्रहार गरी । अचानक गरिएका प्रहार हरु नै त हो घातक हुने !
“किन?”
जसरी उ मायालाई स्वतन्त्र छोड्दैछ मायाले पनि उसलाई छोडोस् न उ चाहन्थ्यो ।एउटा नयाँ
सम्बन्ध को परिभाषा उ दिन चाहन्थ्यो तर अभिमानी समबन्ध उसले सोचे जस्तो बन्नै चाहिरहेको थिएन । तर केहि चासो नराख्ने मायाले उसको चुरोटमा चासो राखी !त्यसको खास कारण पनि त थियो ।
“त्यत्तिकै !”
माया तिन दिन बितुन्जेल सम्म पनि साधारण नै रहेको उसलाई चित्त बुझेन , घटनाक्रम लाई उसले असाधारण बनाउन खोज्यो तर उ साधारण नै रही रही ,प्रत्येक रात उ मायाले मलाई छून्छे की भनेर टाढा सुती टोपल्थ्यो , माया आएर घुप्लुक्क निदाईदिन्थी मानौँ उसलाई त्यो अघिका कुनै कार्यका बारेमा थाहा छैन , उ एक्लो जीवनै कटाउनलाई नै त्यो घरमा आएजस्तो ,छेउमा पल्टिरहेको उसको कुनै अस्तित्व छैन मात्र उसको लम्बाई र चौडाई ले मायाको खाटको खालि ठाउँलाई घटाइमात्र रहेछ ।बिहान उसको अनुहारमा केहि चिन्ताका रेखा हरु देखिन्छ कि भनेर नजिकै बाट नियाली टोपल्थ्यो ,खोई माया उसलाई समिप आएको सम्झिन्थि की उ मुस्कुराइदिन्थि , उ अपमानित भए जस्तो सम्झिन्थ्यो अनि चुपचाप किचन बाट फर्किन्थ्यो । उसले मायालाई यति कोण बाट नियाल्यो की उसले माया माथि शोधपत्र तयार पारिसक्थ्यो माया कुनै विषय भएकी भए! तर यी सबै रिसर्चको एउटै साधारण निष्कर्ष थियो आईमाई को जात बुझी नसक्नुको हुन्छ ।
पहिलो हारबाट उसले सिकेका पाठहरु उसले या त गलत सिकेको थियो या उ अर्को गल्ति को एकदम नजिकै थियो उसले सोच्यो । सुरुची भोगी थिई । उ प्रत्येक रात उसका अंग अंग लाई शिथिल बनाईदिन्थी ।तर अन्त्य मा उसलाई लागेको अन्त्य सुरुचीको शुरुवात पनि हुँदैनथ्यो अनि उ विवश हुन्थ्यो उसलाई ऐना हेर्न मन लाग्दैनथ्यो ।
माया बिलकुल अलग थिई उ उसलाई ब्याकुल बनाउन चाहन्थ्यो माया चाहनाको परिधि भन्दा पनि पर हुन्थि । उसको अनुहारमा सँधै तृप्तता हुन्थ्यो । उसको अनुहारमा सन्तुष्टि को उज्यालो किरण किरण चुहिन्थ्यो । उ छक्क परेर मायालाई नियाल्थ्यो आखिर उसले के नै गरेको छ जसले गर्दा माया यति साह्रो खुशि छे ? मायालाई जब जब उ नजिकै बाट नियाल्थ्यो माया अझ मुस्काईदिन्थि रहस्यमाथि अर्को रहस्य थप्दै अनि उ सोच्थ्यो के माया र सुरुची एकै वर्ग का प्राणी हुन ?स्त्रि को साधारण गुण को कुरा गर्ने हो भने दुई मध्ये एकलाई स्त्री वर्ग मा राख्नुहुन्न भन्ने उसको ठम्याई निक्लियो ।
उसको सल्केको ठुटो बिस्तारै बिस्तारै खरानी अवशेष छोड्दै जलेर सिद्दियो । उसले एकछिन सम्म खरानी नियाल्यो अनी सोच्यो यहि खरानी जोडेर एउटा अर्को चुरोट बनाउन पाए ! जीवन आखिर किन रिभर्सिबल छैन ?
“ माया को अतित र अहिले उसको मुस्कान ले केहि रहस्य लुकाएको छ । स्त्री बर्ग मा सुरुची नै पर्छे र माया पनि स्त्री नै हो यसको मतलव मायामा पनि सुरुचिकै जस्ता गुण छन् जसलाई उ लुकाइरहेकी छे तँ सँग !” अचानक भुईँको खरानी चिच्यायो ।
“तँलाई त्यो कुरा के थाहा र ?”
“कहिले काहिँ अर्काको कोण बाट आफ्नो संसार हेर , पत्ता नलागेका कुरा हरु पनि पत्ता लाग्छन् ।“ खरानी आफ्नो कुरो टुंग्याएर चुप लाग्यो ।
अब फेरि फेरि खरानीले उसलाई सम्झाउने छैन । उसले आफ्नो धर्म त्यागेर बोलिसक्यो ।
बोल्नु उसको गुण हैन तर उसको दोधार खरानीले देख्न नसकेको मात्रै त हो उसले माया माथि निगरानी राख्नै पर्छ ।
“आज पनि तँपाईले चुरोट खानु भयो हैन !”
मायाले आज पनि पत्ता लाईदिई , माया आफ्ना शत्रुहरु चिन्छे जस्तो छ त्यसैले त उसले कुशलता पुर्वक कुराहरु लुकाईदिन्छे । खरानीले पोल लगाएको उसलाई थाहा भइसके जस्तो छ ।
“हैन “ उसले टाढैबाट जवाफ फर्कायो । उसलाई खरानीको अस्तित्व जोगाइदिनु पनि त थियो ।
क्रमश: