Posted by: chipledhunga March 26, 2009
दोलालघाटको माछा
Login in to Rate this Post:     0       ?        
आफ्नो उद्देश्य पूरा गर्न एउटा भोजनालयमा पसें। साहूनी माछा तार्नमा ब्यस्त थिइन्। एक सिसी सान मिगेल बियर र एक प्लेट माछा चिउरा मगाएँ। बियर तुरुन्तै जस्तो आयो। चिसो बियरको चुस्की लिंदै बाहिरका गतिबिधीहरु हेर्न थालें। काठमाडौं र बार्हबिसे, चौतारा, जिरी आदि बीच चल्ने बसहरु रोकिन्थे, यात्रीहरु चढ्ने र झर्ने गर्थे, अनि केटाकेटीहरु यात्रीहरुलाई खानेकुरा बेच्ने प्रयासमा हुन्थे। एकैछिनको रोकाइपछि बसहरु आफ्नो गन्तब्यतिर लाग्थे। अरु गाडीहरुको ओहोरदोहोर लगायत काठमाडौंतर्फ हानिएको ४-५ जना बिदेशी साईकल यात्रीहरुको समूह पनि देखियो। शायद ल्हासा वा त्यो भन्दा टाढा देखि नै साईकलमै आएका थिए होलान्। केही बेरमै पातलो स्टिलको प्लेटमा सानो सानो माछा अनि चिउरा आयो। एक टुक्रा माछा टोक्यो झुरुम्म, अनि चिसो बियर एक सिप घुटुक्क अनि अलिकति चिउरा। ओहो कस्तो स्वर्गीय आनन्द नै आयो। अर्को आधा प्लेट माछा पनि मगाएर बाँकी बियरसँग सिद्ध्याइदिएँ। पैसा तिरेपछि रोकीइरहेको काठमाडौं जाने बसको पछाडि पुगें अनि भर्र्याङ्गको डन्डीमा समातेर छानामा चढें।

छानामा बसेर यात्रा गर्नु जोखिमपूर्ण भन्ने थाहा नभएको त होइन तर पनि मौका पायो कि गर्ने गर्थें पहिले पनि। बोइङ ७४७ बिमानको बिज्नेस क्लासमा बसेको कल्पना गरें (सामान्यतया ७४७ बिमानमा बिज्नेस क्लासका सिट माथिल्लो तल्लामा हुन्छन्) बसको माथिल्लो भागमा भएको अनि बस्न पनि साँघुरो नहुने र हावा पनि पाइने भएकोले। कल्पना जे गरे पनि त्यो बस अर्को थोत्रो टाटा १२१० इ हुनुमा कुनै अपवाद थिएन। छानामा बस्नुको अर्को कारण भने गैर सरकारी संस्थाको कामले केही दिन बसेको पाँचखाल क्षेत्रलाई राम्ररी नियालेर हेर्नु पनि थियो।

बिज्नेस क्लासमा केही अरु यात्री, बाख्राहरु अनि एउटा टायर सहित ७४७ ले काठमाडौंतर्फको बाटो ततायो। पच्पन्न र त्रिपन्न किलोमा (राजमार्ग छेउ जुन किलोमिटर मार्कर छेउ नयाँ बस्ती बन्छ त्यही अनुसार तिनको नामाकरण हुने प्रचलन छ) केही यात्रु थपिए, इकनमी र बिज्नेस्स क्लास दुबैमा। एक ठाउँमा पहिरो गएको ठाउँमा बाटो माथि तार जाली बाँधिएको र त्यसमाथि भरखरैको जस्तो देखिने बिरुवाहरु देखें। शायद बायो ईन्जिनियरिङ गरी थप पहिरो जानबाट रोक्ने प्रयास थियो होला। त्यस्तै ८-९ किमीको यात्रा पछि मेलम्ची जाने कच्ची रातो माटे बाटो छुट्टीयो। त्यताबाट आउने सवारीहरुले बिशेषत: काठमाडौं जानेतिर आफ्नो चिनो स्वरुप बाटोको केही रातो माटो पक्की राजमार्गको अलकत्रामा छोडेका थिए। दोलालघाटबाट ११ किमीको यात्रा पश्चात् लामिडाँडा बजार पुगियो।

लामिडाँडा भनेको काठमाडौंतर्फ आउँदा दोलालघाट पछिको प्रमुख बजार हो र पलान्चोक जाने बाटो पनि यहीँबाट छुट्टीन्छ। शायद धेरै जसोलाई लामिडाँडाको यति नै ज्ञान, महत्व, अनुभव वा जेसुकै होला। मेरो भने लामिडाँडासँगको भिन्नै अनि ताजै साईनो थियो त्यति बेला। दोलालघाट यात्रा भन्दा एक महिना जति अघि गैर सरकारी संस्था अन्तर्गतको काम स्थानीय बिद्यार्थीहरुलाई बातावरण संरक्षण सम्बन्धी तालीम दिने थियो। तालीमको शिलशिलामा आधा दिन लामिडाँडा बजारको सरसफाइमा बिताइएको थियो। बिद्यार्थीहरुले दिलोज्यानले हामीलाई सहयोग गरेका थिए। दूर्भाग्यको कुरा, स्थानीय बासिन्दा मध्ये अधिकांशबाट कुनै सहयोग प्राप्त भएन। स्थानीय बिद्यार्थीहरुले चिनेकै मान्छेहरु भए पनि उनीहरुबाट सहयोग नपाउनु एकदमै दु:ख लाग्दो कुरा थियो। तैपनि केही घण्टाको प्रयासमा बाटो छेउको फोहोर अनि नालीमा खसेका ढुङ्गा र प्लास्टिकका टुक्राहरु हटाए पछि बजार धेरै सफा देखिएको थियो । सँधै झैं सरसफाइ पछिको साँझमा दिनभरिको गतिबिधि र भोलिपल्टको योजना बारे केही छलफल भयो। त्यति बेला हामीले बिद्यार्थीहरुको सहयोग प्रति हार्दिक आभार प्रकट गर्यौं अनि दिलोज्यानले उनीहरुको तारिफ गर्यौं। लामिडाँडाबासीहरुलाई भने "भेंडाहरु" भनेर गर्नु गाली गर्यौं। हुन पनि नेपाली परिप्रेक्ष्यमा भन्ने हो भने लामिडाँडा बिकसित ठाउँ नै थियो। ब्यस्त अरनिको राजमार्गमा पर्ने त्यो बजारबाट ४६ किमी टाढाको काठमाडौं जान १०-१५ मिनट कुरे बस पाइन्थ्यो र दुई घण्टामा पुगिन्थ्यो। फोन बूथ, केन्द्रीय प्रसारण प्रणालीको बिद्युत र माध्यमिक बिद्यालयको सुबिधा पनि उपलब्ध थियो। बिकसित ठाउँका मानिसको अबिकसित मानसिकताले हामीलाई साँच्चै नै दु:ख लागेको थियो। मैले बजारलाई सरसफाइ गर्न अघिकै रुपमा देख्नु कुनै आश्चर्यको कुरा थिएन। फेरि त्यहाँका मान्छेहरुलाई मनमनै गाली गरें "भेंडाहरु" भनेर।

केही बेर लामिडाँडामा रोकिएपछि बस अघि बढ्यो शान्ति सेनाको ब्यारेक (जहाँ कुख्यात मैना सुनुवार घटना भएको थियो), पाँचखाल अनि तामाघाट हुँदै। झिकु खोलाको पुल तरेर हाम्रो शिविर स्थल सर्वमंगला माध्यमिक बिद्यालय जाने स्थान पुगियो। त्यहाँबाट अलिकति ओर्लिएर एउटा खोल्सो तरी ढुङ्गा छापिएको बाटोमा एउटा रातोमाटे थुम्कामा ५ मिनट जति उक्लिए पछि उक्त बिद्यालय पुगिन्थ्यो। बाटोमा बिद्युत प्राधिकरणको सब स्टेसन थियो जसलाई द्वन्दकालमा माओवादीले क्षति गरेका थिए। बिद्यालयबाट राजमार्ग अनि त्यहाँबाट लामिडाँडासम्मको ३ किमी खन्डमा बिद्यार्थीहरुसँग बिभिन्न खेल खेल्दै अनि गीत गाउँदै सरसफाइको दिन हिंडेका थियौं। बस अलि अग्लो ठाउँमा पुगेपछी बिद्यालय पनि देखिन थाल्यो र त्यहाँ एक हप्ता बस्दाका क्षणहरु एक एक गरी सम्झना आउन थाल्यो। तीनपिप्ले देखिको ठाडो उकालो चढ्दा निकै बेरसम्म देखिएको बिद्यालयलाई अटुट रुपमा हेरिरहें। सम्झिएँ ती प्यारा बिद्यार्थीहरुलाई। सम्झिएँ उनीहरु र शिक्षकहरुसँगको दिनभरीका कृयाकलाप अनि सहकर्मीहरुसँगका साँझका छलफलहरुलाई। प्राथमिक उपचारको बट्टा मेरो जिम्मामा थियो। कसैलाई केही औसधी चाहिए मैसँग लिनु पर्थ्यो। यही कारणले सहकर्मीहरुबाट डाक्टर साबको उपनाम पाएको पनि सम्झिएँ। छलफल पछिको केही समय नाचगान अनि गफगाफमा बित्थ्यो। नेपथ्यको "छेक्यो छेक्यो देउराली डाँडा" भन्ने गीत पहिलो चोटि त्यहीं नै सुनेको थिएँ। त्यसै गरी हिमालय ब्यान्डको "कुखुरे बैंसले आँखा देखेन" भन्ने गीत पनि पहिलो चोटि त्यहीं नै सुनेको थिएँ। एक सहकर्मीले केही समय अघिको चितवनको त्यस्तै शिविरमा उनका अर्का सहकर्मीले सुनाएको गीती कथा "त्रिबेणी मेलैमा भेट भएको नक्कली केटी" हामीलाई सुनाँउदाको क्षण पनि कम्ती मनोरन्जक थिएन। दोलालघाटमा खाएको बियरको झम्झम अनि स्वाद अलिकति बाँकी नै थियो। बसले बिस्तारै उकालो चढ्दै जाँदा ती दिनहरु सम्झिरहें अनि त्यो बेला गाएका माथि उल्लेखित लगायत अरु गीतहरु गुनगुनाइरहें।

धुलिखेलको प्रहरी चौकी भन्दा अलिकति वरको एउटा घुम्तीमा बस रोकियो र छानामा बसेका सबै यात्रीहरुलाई बस भित्र कोचियो। प्रहरीको उपस्थिति र छानामा बस्न नपाईने नियम औपचारिकता भन्दा बढी केही जस्तो देखिन्नथ्यो। देशको कानूनी स्थितीको सानो उदाहरण मात्रै थियो त्यो घटना। बनेपासम्म उभिएरै गए पछि सिट पाएँ। ५ बजेतिर माइतीघरमा बसबाट ओर्लिएर घरतिर लम्किएँ। बियरको गन्ध मार्न कुपोन्डोलको एउटा पसलमा दुईटा हल्स किनें अनि खाँदै घर पुगें।

आमाबाबुको मन न हो, मलाई एक्लै घरबाट टाढा गएकोमा अलि आत्तिनु हुन्थ्यो। त्यो दिन पनौती गएको भनेर ढाँटे। एक डेढ घण्टाको बाटो कहीं जानुमा चाँही अघोषित छुट थियो मलाई। त्यो झुटो बोलाई भने धेरै टिकेन। लापरवाहीबस मैले दोलालघाटबाट ल्याएका ढुङ्गाहरु अनि शायद ३ इन्च लम्बाइ अनि २ इन्च चौडाइ भएको हलुका नीलो रङको अनि कन्डक्टरले मुस्किलले बुझ्न सकिने अक्षरमा "काठ" देखि "दोलाल" लेखेको बसको टिकट आफ्नो टेबलमा छोडेको थिएँ। आमाले त्यो देख्नु भएछ र "पनौती गएको भनेर ढाँटेर दोलालघाट गएर आउने" भनेर गाली गर्नु भयो। बुवाले भने हाँस्दै "माछा ल्याएनौ त त्यहाँ सम्म गएर" भन्नु भयो। ल्याएको त छैन गएको चाँही त्यही खान हो भनेर भन्नै पर्‍यो। फेरि गयौ भने भन र माछा पनि लिएर आउ रे त्यसपछि त।

त्यसको दुई बर्षपछि स्नातक तहको पढाई सिद्ध्याएपछि फेरि नेपाल गएको थिएँ अढाइ महिना जतिको लागि। त्यो बेला पनि दुई चोटि दोलालघाट गएँ। पहिले जस्तै गरी ईन्द्रवती, दोभान, अनि सुनकोशीमा हात धुने, दोलालेश्वरको दर्शन गर्ने, सुनकोशी माथिको झुलुङे पुल तर्ने, बजार फर्किएर माछा र बियर खाने, बसको छानामा बस्ने, लामिडाँडाका भेंडाहरुलाई गाली गर्ने, एक हप्ते बसाइका क्षणहरुलाई सम्झिने अनि गीतहरु गुनगुनाउने क्रमलाई जारी राखें। घरमा भन्न र माछा ल्याउन भने चुकिनँ। दूर्भाग्यबस मुलत: समयको अभावले गर्दा पछिल्ला नेपाल भ्रमणहरुमा दोलालघाटलाई समेट्न सकेको छैन तर अर्को चोटि जाँदा यो यात्रालाई यसै गरी दोहोर्याउन पाउने आशा गर्दछु।

समाप्त।
Read Full Discussion Thread for this article