Posted by: eternalbliss March 19, 2009
व्यस्त सडकमा मन्त्रीको छड्के
Login in to Rate this Post:     0       ?        
व्यस्त सडकमा मन्त्रीको छड्के


विमल गौतम/मकर श्रेष्ठ

काठमाडौं, चैत ५ - श्रम तथा यातायात व्यवस्थामन्त्री लेखराज भट्टलाई भेट्न मन्त्रालयतिर जाँदै हुनुहुन्छ भने रुट परिवर्तन गर्नाेस् । उनी अचेल मन्त्रालयमा होइन, बग्गीखाना, यातायात कार्यालय वा राजधानीका व्यस्त सडक भेटिन्छन् ।
भाडादर लागू गरे/नगरेको, लाइसेन्स लिन 'घूस' लेनदेन भए/नभएको र यातायातमा दलालको बिगबिगी र भीडभाड कस्तो छ भन्ने थाहा पाउन उनी यी स्थानमा धाइरहेका हुन् ।

उनी बुधबार पनि बिहान सातै बजे भक्तपुरको मनोहरा पुलनजिक भेटिए । सरकारले तोकेको भाडादर लागू भए/नभएको छड्के गर्न त्यहाँ पुगेका थिए ।

सवारी साधनका लस्करको एकछेउमा उनी आफूसँगै उभिरहेका यातायात कर्मचारी र ट्राफिक प्रहरीलाई भन्दै थिए, 'राम्रोसँग खानतलासी लिनुहोस् ।'

त्यहाँ करिब एक घन्टा बिताएपछि उनी पुल्चोकतिर हुइँकिए तर मन्त्री क्वाटर छिरेनन् । व्यस्त सडकको छेवमै रोकिए र सार्वजनिक सवारीको छड्के गर्न थाले ।

सरकारले काठमाडौं उपत्यकाका लागि हालै निर्धारण गरेको

भाडादर लागू नगर्नेमाथि आवश्यक कारबाही गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

'जनताबाट धेरै गुनासो आएकाले आफैं अवलोकनमा निस्किएको हुँ,' उनले कान्तिपुरसित भने, 'धेरै सुधार

गर्नुपर्ने देखें ।'

उनले मंगलबार नागढुंगामा सवारी छड्के गरेका थिए । 'नागढुंगाभन्दा जडीबुटीमा थोरै कमजोरी पाइयो,' उनले सुनाए । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, सरकारले तोकेको भाडादर लागू नगर्ने र यात्रुबसमा मालसामान ओसार्ने करिब सय सवारी मन्त्री भट्टकै सक्रियतामा कारबाहीमा परे ।

सरकारले फागुन २० मा उपत्यकाभित्र गुड्ने मिनीबस र माइक्रोका लागि तीन किलोमिटरका लागि ९ रुपैयाँ भाडादर निर्धारण गरेको थियो । अधिकांशले यो दर लागू गरेका छैनन् । 'धेरैले प्रतितीन किलोमिटर १२ रुपैयाँ लिने गरेको पाइयो,' यातायात निरीक्ष्ाक दीपक देवकोटाले कान्तिपुरसित भने, 'एकाधले ११ रुपैयाँमा झारे पनि सरकारी निर्णय लागू नगर्नेको संख्या धेरै छ ।'

ट्राफिक व्यवस्थापन मिलाउन र भाडादर लागू गराउन निस्केका ट्राफिक प्रहरी र यातायात कर्मचारीलाई नटेरेपछि मन्त्री भट्ट आफैं छड्केमा निस्केका हुन् । कर्मचारीलाई सवारी चालकले सोमबार लगनखेलमा अपशब्द प्रयोग गर्दै आधा घन्टा चक्काजामसमेत गरेका थिए । मन्त्रीलाई देखेपछि चालकले अघिपछि जस्तो हेप्ने साहस गरेनन्,' कोटेश्वर ट्राफिकका प्रहरी निरीक्ष्ाक सीताराम हाछेथुले कान्तिपुरसित भने, 'यस्तो कारबाहीलाई निरन्तरता दिनु आवश्यक छ ।'

मन्त्री आफैंले सवारी छड्के गर्दै हिँडेको यो पहिलो हो । राजधानीका व्यस्त सडकमा मन्त्रीको छड्के यात्रुहरू रुचिपूर्वक हेरिरहेका देखिन्थे । 'यी मन्त्रीले चाहिँ केही गर्लान्जस्तो छ,' लगनखेलबाट जमल जाँदै गरेका यात्रु निरज सुवेदीले भने । मन्त्री भट्ट केही दिनअघि मात्र लाइसेन्सका लागि परीक्ष्ाण अभ्यास हुने ठाउँ बग्गीखाना पुगेका थिए । 'लाइसेन्सका लागि धेरै घूस लेनदेन हुने सुनेर त्यहाँ पुगेको थिएँ,' उनले भने, 'हाम्रो अगाडि त ठिकै गर्छन्, पछाडि अझै अनियमितता रोकिएका छैनन् ।' यातायात कार्यालय पुगी दलालको बिगबिगी र भीडलाई प्रत्यक्ष अवलोकन गर्नेक्रमलाई पनि उनले निरन्तरता दिएका छन् ।




Posted on: 2009-03-18 19:18:12
ekantipur.com
Read Full Discussion Thread for this article